बाढीको वितण्डा : देशभर २८ जनाको मृत्यु

गोरक्ष समाचारदाता
काठमाडौं, २६ गते । अविरल वर्षासँगै आएको बाढीपहिरोले देशभरि जनधनको ठूलो क्षति भएको छ । शुक्रवारसम्म २८ जनाको मृत्यु, दर्जनौँ घाइते र वेपत्ता भएका छन् । गृहमन्त्रालयको राष्ट्रिय आपतालीन कार्यसञ्चालन केन्द्रका अनुसार म्याग्दीका विभिन्न स्थानमा बाढीपहिरोबाट ११ जनाको मृत्यु भएको छ भने २२ जना पहिरोमा परी सम्पर्कविहीन भएका छन् ।

पहिरोका कारण ३५ वटा घर पूर्णरुपमा क्षति भएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । धौलागिरी गाउँपालिका–७ ताकममा पहिरोमा परी दुई जना, मालिका गाउँपालिका–७ बिममा ८ जना र रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीमा एक जना गरी ११ जनाको मृत्यु भएको छ । पश्चिम म्याग्दीको धौलागिरी गाउँपालिका–६ मराङमा पहिरोका कारणले २१ जना वेपत्ता भएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए ।

त्यसैगरी मङ्गला गाउँपालिका र मालिका गाउँपालिकाको सीमानामा रहेको दुखुखोलाले बगाउँदा एक जना वेपत्ता भएका छन् । उनकाअनुसार धौलागिरी गाउँपालिका मराङमा २० घर, ताकममा पाँच घर, मालिका गाउँपालिका–७ बिममा १० घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

यसैगरेर जाजरकोटको बारेकोट गाउँपालिका–४ सार्कीगाउँमा विहीवार राति गएको पहिरोमा वेपत्ता भएका १२ जनामध्ये पाँच जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी जवान टेकराज बिसीका अनुसार बारेकोट–४ का ५२ वर्षीय गोपाल सार्कीे, ११ वर्षीय अजुर्न सार्की र कोसे गाउँपालिका–९ का २० वर्षीय डिल्ली सार्की र १८ वर्षीय वीरेन्द्र सार्कीको शव फेला परेको हो । अर्को एक जनाको शवको पहिचान हुनसकेको छैन ।

लमजुङको बेसीसहर नगरपालिका–७ मा आएको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने तीन जनता घाइते भएका छन् । कास्कीका विभिन्न स्थानमा गएको पहिरोमा परी ७ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । रूकुम पश्चिमको आठबिसकोट ३ मा आएको पहिरोमा २ जनाको मृत्यु भएको छ भने १ घाइते भएका छन् ।

पहिरोले ठाउँ–ठाउँमा पहिरो गएपछि राजमार्गहरू अवरूद्ध भएका छन् । पृथ्वी राजमार्गको धादिङ बेनीघाटमा पहरो आएपछि राजमार्ग अवरूद्ध भएको केन्द्रले जनाएको छ । तराईका जिल्लामा नदीहरूमा पानीको सतह बढिरहेको छ । पश्चिमी न्यूनचाँपीय प्रणालीको प्रभावले विहीवारदेखि सक्रिय मनसुन सोमवारसम्म कायम रहने भएको छ ।

मनसुनी न्यूनचाँपीय रेखा नेपालको तराई भू–भाग नजिक रहेकाले बदलीसहित वर्षा भइरहेको मौसमविद् विभूति पोखरेलले बताइन् । ‘आगामी सोमवारसम्म यी प्रणालीको प्रभाव रहन्छ । अबको चार दिन सतर्क रहनुपर्छ’– मौसमविद् पोखरेलले भनिन् । मौसमविद्का अनुसार यस वर्ष बैशाखदेखि अहिलेसम्म प्रशस्त पानी परिरहेकाले जमिन गलिसकेको हुनाले केही समयको हल्कादेखि मध्यम वर्षाले पनि बाढी, डुबान र पहिरोको जोखिम बढेको बताइएको छ ।

विशेष गरी प्रदेश १, २, बाग्मती र गण्डकी प्रदेशमा धेरै वर्षा हुने मौसमविद्को अनुमान छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । देशैभर सामान्यदेखि पूर्ण बदली रही सातै प्रदेशका धेरै जसो स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।