नेकपा विवादमा वाह्य सक्रियता
सत्तारुढ दल नेकपाभित्र देखिँदै आएको विवाद समाधानका सन्दर्भमा अनेकन प्रयत्नहरू भइरहेका छन् । नेताहरूबीचमा सहमति भएमा मात्र बैठक बस्ने सहमति भएको छ । नेताहरूका बीचमा यो बीचमा फाटफुट छलफल पनि भइरहेको अवस्था छ । तर, निर्णायक रूपमा भने छलफल हुन सकिरहेको छैन । बरु यो बीचमा चिनिया राजदुतको भेटघाट तीव्र भएको छ । उनको यो सक्रियता आफैमा अस्वाभाविक त छ नै त्यस्तो गतिविधिको विरोध समेत भइरहेको छ । हिजोका दिनमा भारतीय राजदूतका यस्ता गतिविधि देखिन्थे र ती पनि विवादित हुने गर्दथे । अस्वाभाविक मानिन्थे र विरोध पनि गरिन्थे । तर, अहिले भारतीय राजदूतको दृश्य भूमिका भेटिएको छैन, चिनिया दूत भने सक्रिय भएकी छिन् ।
नेपालका समस्याहरू नेपालीले नै समाधान गर्ने हो । छलफलमार्फत् नै समाधन पहिल्याउने हो । यो प्रक्रियामा मध्यस्तकर्ताको भूमिका कहिलेकाहीँ आवश्यक पनि पर्दछ । कुनै पनि पूर्वशर्त बिना मध्यस्तकर्ताको भूमिका खेल्ने सन्दर्भमा पनि छिमेकी मित्र राष्ट्रहरूको त्यो ढङ्गको उपस्थिति सुहाउँदैन । बरु उनीहरूको आवश्यक सुझावहरू भने सहयोगी हुन सक्दछन् । सम्बन्ध भनेको त्यस्तै विशिष्ट परिवेशमा आवश्यक इमानदार सहयोगको जगमा नै प्रगाढ हुने हो । यो कुरालाई अन्यथा भन्न मिल्दैन । तर, उनीहरू नै सक्रिय अग्रसर भएर समाधान खोज्ने गरेका दृश्यहरू सुहाउँदैनन् र पाच्य पनि हुँदैनन् । फेरि अहिलेको सत्तारुढ नेकपाको कुरा गर्ने हो भने यो एउटा दलको आन्तरिक समस्या हो ।
त्यसमा पनि नितान्त नेताहरूको व्यवस्थापनको कुरा हो । यो कुरामा विदेशी राजदूतको त्यति धेरै सक्रियता आवश्यकता पर्नै नुहेन हो । कि त चिनिया कम्युनिष्ट पार्टीबाट प्रशिक्षण लिने क्रमको यो पनि एउटा चरण हो भन्न सक्नुप¥यो होइन भने नेकपाको नेतृत्वले यस्तो सक्रियतालाई अस्वीकार गर्नु प¥यो । अन्यथा यो संस्कारले नेतृत्व परजीवि बन्ने, अरुको विवेकका आधारमा चल्ने र स्वनिर्णय क्षमता परित्याग गर्ने खतरा उत्पन्न हुनसक्छ । त्यस्तो अवस्थाको अपेक्षा पक्कै नेकपाका नेताहरूले गरेका छैनन् ।
आफूलाई अप्ठ्यारो पर्दा राजदूतदेखि राष्ट्रपतिसम्मलाई सक्रिय तुल्याएर सहजता खोज्ने नेकपाको अभ्यास कुनै पनि हालतमा सुहाउने कुरा होइन । आवश्यक परामर्श लिने विधिहरू प्रशस्तै छन् । यो प्रविधिको जवानामा प्रत्यक्ष कुराकानी गर्न पनि घर–घर र निवसमा भेट्नै जानुपर्छ भन्ने छैन । यसो गर्नु भनेको आफ्नो भूमिका र शक्ति अनि चासो सार्वजनिक गर्ने नियत नै हो । चीनले यो नियत देखाउन थाल्यो भने राष्ट्रपतिले पार्टीभित्रको विवादमा खुला रूपमा प्रवेश गरेर त्यो संस्थाको गरिमा घटाउने काम गर्दै छिन् । यी दुवै यत्नहरू उचित होइनन् । प्रधानमन्त्री भइसकेका ४ जना नेताका साथै अन्य वरिष्ठ नेताहरूसमेत सक्रिय रहेको नेकपाले आफ्नो विवाद आफै मिलाउने सामथ्र्य देखाउनु पर्छ । कुनै राष्ट्रको दूतलाई र राष्ट्रपतिलाई यो प्रक्रियामा मुछ्नु उचित हुँदैन ।
