सत्ता संघर्षले जनता निराश
भूवन पोख्रेल
नेपालमा देखिएको सत्तासंघर्षले सबै जनतालाई निराश तुल्याएको छ । पूर्व एमाले र माओवादी केन्द्र एक हुने बेला प्रचण्ड र केपी ओलीलाई एउटा ठूलो जहाजका दुईवटा क्याप्टेन हुन्छन् भन्थे तर अहिले दुई अध्यक्षबीच आन्तरिक रस्साकस्सी चलेको छ । कोरोनाको महामारीले मुलुक थला परेको बेला पार्टीभित्रको आन्तरिक द्वन्द्व चर्किनुले देश र जनतामा सही सन्देश जाँदैन । अहिले प्रधानमन्त्री केपी ओली नेकपा अन्य शीर्ष नेताबाट घेराबन्दीमा परेका छन् ।
कालापानी, लिपुलेक, लिम्पियाधुरा सहितको नक्सा जारी गरेपछि आफूलाई प्रधानमन्त्रीबाट हटाउन भारतीय इसारामा आफ्नै पार्टीका शीर्ष नेताहरु लागिपरेको भनेर केही दिन अघि प्रधानमन्त्री ओलीले बताएसँगै दाहाल र नेपाल आक्रोशित भई यस्तो अभिव्यक्तिले पार्टीलाई नोक्सान पु¥याउने भन्दै प्रधानमन्त्री र पार्टी अध्यष दई पदबाटै केपी शर्मा ओलीको राजिनामाको अड्को थाप्ने मौका पाएका हुन् । जनताले नेकपालाई दुइतिहाई पुग्नेगरी निर्वाचनमा मत दिएका हुन् । अहिले संघ, प्रदेश र स्थानीय तहका सरकारमा नेकपाको स्पष्ट वहुमत छ ।
स्थायी सरकार जनताको चाहना हो । जनचाहना विपरित सत्ता र पद प्राप्तिका लागि पार्टीभित्र कलह मच्चिनु भनेको जनमतको अपमान गर्नु हो । जनताले सत्तामा पु¥याएको दलले जनमतको वेवस्ता गर्दै देशका लागि आवश्यक कानुन निर्माण गर्ने थलो संसद्लाई आफूखुशी स्थगन गरी जनता र जनप्रतिनिधिको अपहेलना गरेको छ । जसले गर्दा सार्वजनिक महत्वका विधेयकहरु पारित हुन अझै ढिला हुने भएको छ । सदनको सत्रलाई यसरी अन्त्य गर्दा सभामुख, राष्ट्रिय सभा अध्यक्ष र विपक्षी दललाई जानकारी गराउन समेत उचित नठानी राष्ट्रपतिलाई समेत गलत ढङ्गले प्रयोग गर्नुलाई सत्ता निरंकुशतिर उन्मुख भएको देखिन्छ ।
एक व्यक्ति एक पदको मागबाट अघि बढेर अध्यक्ष र प्रधानमन्त्री दुवै पद छोड्न प्रधानमन्त्री ओलीलाई दबाब बढ्दो छ । अहिले केपी ओली अल्पमतमात्र नभई एक्लिँदै गएका छन् । यो नेकपाभित्र नेतृत्वका लागि शक्ति संघर्ष हो कि एकताको चुनौती वा व्यवस्थापन संकट छुट्याउन गाह्रो भएको छ ।
टिम स्पिरिटको अभावमा पार्टी चल्न सक्तैन । नेकपामा गुट मात्र छ, टिम छैन । टिम भनेको आसेपासेको झुण्ड होइन, योग्य र आफूसरहको कार्यशैली हो । अहिले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र भएको तीव्र विवादका कारण संघीय संसद्को वर्षे अधिवेशन हठात रुपमा अन्त्य गरिनलाई सही कदम मनिँदैन । कानुनी रुपमा यो कदम सही भए पनि व्यावहारिक रुपमा यसलाई जायज ठानिँदैन । संसदमा विधेयक पारितका लागि लाइनमा छन् । कोरोना महामारी र सलहजस्ता संकटहरुका कारण जनताले भोग्नुपरेका दुःख पीडाका आवाज संसद्मा प्रकट हुनुपर्ने बेलामा हठात अधिवेशन अन्त्य गर्नु सान्दर्भिक मानिँदैन ।
नेकपाका शीर्ष नेताहरुबीचको मोर्चाबन्दी र आन्तरिक संघर्ष निकै नै पेचिलो बन्दै गइरहेको छ । प्रम ओलीले अध्यक्ष र प्रम दुवै पद छाड्नुपर्ने माग स्थायी समितिका सदस्यहरुको छ । यही कारण सत्तारुढ नेकपाभित्रको स्थिति अझ असहज बन्न पुगेको हो । संसद सार्वभौम थलो हो तर सरकारले प्रमुख प्रतिपक्ष, सभामुख र अन्य सरोकारवालासँग छलफल नै नगरी एकाएक संसद अधिवेशनको अन्त्यको सिफारिस गर्नु संसदीय अभ्यासमा राम्रो मानिँदैन । यसलाई अधिकारको दुरुपयोग नै मान्नु पर्छ । दलभित्रको आन्तरिक कलहले संसदमै असर पुग्नु सही होइन ।
शक्ति संघर्षका कारण एउटै पार्टीभित्रका दुई पक्षबीचको रस्साकस्सी चरमोत्कर्षमा पुगेको छ । नेकपाको आन्तरिक विवाद चर्किएर फुटको संघारमा पुगेको छ । यसमा मध्यस्थकर्ताको रुपमा युवा नेताहरु देखिएका छन् । नेकपा विवादमा राष्ट्रपतिको सक्रिय भूमिका छ जसले गर्दा पदीय गरिमा र महिमामै प्रश्न चिह्न उब्जेको छ । फुटलाई छोड्ने एउटा स्थल शीतल निवास बनेको छ । नेतृत्व तहमा बढ्दै गउको तिक्ततालाई हटाउन नेताहरु दुईपक्षीय वार्तामा बस्दै छन् । तछाडमछाड गर्दै राष्ट्रपतिलाई भेट्दै छन् । नेकपाले कस्तो बाटो लिन्छ अझै तय भएको छैन ।
पार्टीभित्रको आन्तरिक कोलाहलले सत्तामोहको ज्वलान्त उदाहरणको साथसाथै जसरी पनि आफू पार्टी र सरकारमा टिकिरहने खेलमा प्रतिस्पर्धा कसिलो देखिन्छ । नेताहरुमा जिम्मेवारीभन्दा कुर्सीको मोह बढी देखिन्छ । नेकपाको ४४ संसदीय स्थायी कमिटीमा ओली सहित उनको पक्षमा १२ जना मात्रै छन् । सचिवालयमा पनि अहिले उनी पक्षधरको उपस्थिति अल्पमतमा छ । उनकै पक्षमा रहेका नेताहरुले पनि उनलाई दुई पदमध्ये एक पद छाड्न सुझाव दिइरहेका छन् । प्रधानमन्त्री ओलीको सबैभन्दा ठूलो अवगुण व्यक्तिगत इगो हो । उनी सच्चिनै चाहँदैनन्, जसले पार्टीभित्रका प्रमुख नेता आक्रोशित छन् ।
हिजो केपी ओलीलाई प्रधानमन्त्री बनाउन समर्थन गर्ने सांसदहरु आज हात झिक्दै छन् । नेकपाको स्थायी कमिटीको बैठकभित्र अहिले सत्ता टिकाउ र फेरबदलको रस्साकस्सी छ । राजनीतिक दाउँपेचको फोहरी खेलमा जनताले सबै खेलाडीहरुलाई राम्रोसँग चिनिसकेका छन् । कोही पनि पानीमाथिको ओभानो बन्नुपर्ने जरुरी छैन । नेपालको सत्ता हत्याउने राजनीतिक दाउँपेचसँग जनता अघाइसकेका छन् । जुन अनुहार नेतृत्व र शासनसत्तामा पुगे पनि प्रवृत्ति उही पुरानै दोहोरिन्छ । प्रधानमन्त्री ओली आफ्नो पद जोगाउन केही तिकडम गर्न वा अप्रिय कदम चाल्न पनि पछि नपर्ने स्वभावका छन् ।
अब परिस्थिति थप जटिल बन्न पुगेकाले ओलीले दुईमध्ये एक पद छाड्दा नै घटनाक्रम सही दिशानिर्देशतर्फ अघि बढ्ने छ । केपी ओलीले आत्मालोचना गरेर अहंकार न्यून गर्नसके पार्टी विभाजनको दिशातिर नगई एकताबद्ध हुन्छ । पार्टीभित्र गुटको राजनीतिले गर्दा पार्टी अनुशासन कायम हुँदैन । पार्टीभित्रको अन्तरविरोध छ, त्यसलाई हटाउन नसक्ने हो भने राजनीतिक अस्थिरता आउँछ । पदका लागि पार्टीभित्र आन्तरिक कोलाहल मच्चिएको छ । यस्तो आन्तरिक विवादले पार्टीलाई फुटको संघारमा पु¥याउँछ ।
पार्टीभित्रको अन्तर विरोध चलिरहेको बेला प्रतिपक्षलाई भेट्नुभन्दा आफ्नै पार्टीभित्रै बहस चलाउनुपर्ने देखिन्छ । प्रधानमन्त्री र प्रतिपक्षीय नेताको बीचमा अहिले भएको भेटलाई संशयपूर्ण ढङ्गले हेरिएको छ । नेपाली कांग्रेस पार्टी अहिले नेकपाको आन्तरिक द्वन्द्वप्रति निरपेक्ष छ । विवादहरु नेकपाको पार्टीभित्र छताछुल्ला भएर बाहिर आएको छ । सत्तामा रहेको पार्टीले के चाहिँ बिर्सन हुन्न भने राज्य अहिले संक्रमणको स्थितिमा छ । स्वास्थ्यकर्मी अहिले पीडामा छन् ।
बेरोजगारलाई राहत छैन, एकल महिला, अपाङ्गहरुको अवस्था जटिल छ । सबै आन्दोलनमा होमिएका छन् । यस बेला सरकारलाई संकट समाधान गर्नेतर्फ निर्देश गर्नु पर्दथ्यो । कोरोना विरुद्धको लडाईमा सत्तामोह देखाउनुले जनमतलाई अपमान गरेको छ । कोरोनाको बेलामा सरकारले जुन नेतृत्वदायी भूमिका देखाउनु पर्दथ्यो त्यसमा असक्षमता देखाएको छ । अहिले सरकार कोरोनाबाट जनतालाई बचाउने अभियान र कोरोना विरुद्धको संघर्षमा गम्भीर भएन । अहिले नेकपाका लागि सत्ताप्रधान भएको छ, देश र जनताको जीवन रक्षाभन्दा पनि । कोरोनाको प्रतिकूलतासँग जुध्दै अघि बढ्न देश र जनतालाई मार्ग प्रशस्त गर्ने बेलामा नेकपा सत्ता संघर्षको आन्तरिक राजनीतिक कलहमा रुमलिएको छ ।
जनताले नेकपालाई दुइतिहाईको वहुमत देश र जनतालाई संकटबाट बचाएर मुलुकमा समृद्धिका सपना देखेर दिएका हुन् तर सरकारमा पुगेपछि नेकपाले जनतासँग गरेका वाचा र उनीहरुलाई देखाएका सपनालाई भत्काएको छ ।
मुलुक कोरोनाको कहर र सलहको प्रकोपमा परेको जटिल परिस्थितिमा राजनीतिक कलहमा समय खेर फालेर सत्ता र शक्ति हत्याउने खेलमा राजनीतिक नेतृत्व अल्झिनु कदापि जनताका लागि सैह्य हुँदैन । जनताको जीवनरक्षा गर्नुपर्ने महत्वपूर्ण घडीमा कुर्सी रक्षाको प्रतिस्पर्धात्मक खेलमा एउटै पार्टीभित्र अन्तरद्वन्द्व हुनु जनता र मुलुकका लागि कदापि शोभनीय हुँदैन । शक्ति संघर्षमा उत्रेर देश र जनताले दिइएको दुइतिहाई वहुमतको आकांक्षा पूरा गर्न सरकार कटिबद्ध हुनसकेको छैन । पार्टीभित्रका दुई पक्ष आ–आफ्नै अडानमा छन् जसले गर्दा आन्तरिक कलह मिलाउन सकेका छैनन् ।
नेपालको राष्ट्रियता, सार्वभौमिकतालाई आफ्नो सत्ता टिकाउने हतियारको रुपमा नेकपाले प्रयोग गर्ने प्रवृत्ति बढेको छ, जसले गर्दा नेपालको परराष्ट्र नीति कहाा पुग्दछ ? नेपालको सरकार बचाउने र टिकाउनेमा छिमेकी मुलुकको हात भयो भने नेपालको राष्ट्रियता कहाँ पुग्ला ? मुलुकभित्र वाह्य मुलुकको चलखेल देखिन्छ । सत्तामा अड्नका लागि विदेशीको वा शक्ति राष्ट्रको भूमिका सक्रिय हुने हो भने देश र जनताको किन आवश्यकता प¥यो र ? दुईवटा शक्ति राष्ट्रको स्वार्थको खेलमा नेपाल भुकुण्डी बन्न पुगेको छ । नेपालको परराष्ट्र नीति सन्तुलित बन्न सकेन । नेपालको राजनीतिक घटनाक्रम शक्ति राष्ट्र छिमेकी मुलुक भारत र चीनको इसारामा अघि बढ्ने देखिन्छ ।
कोरोना संक्रमण तीब्र संक्रमण भइरहेको छ, परिस्थिति जटिल बढ्दै छ, देशमा कठिनाइ छ, आम नागरिक निराश छन् । सीमा विवाद छ, यस्तो अवस्थामा कम्युनिष्ट पार्टीको आन्तरिक कलह चर्किएको छ । जनताले दुइतिहाई वहुमत दिएर केपी ओलीलाई सरकारमा पु¥याएका हुन् । उनले बाँडेका समृद्धिका सपना बाँडेका थिए । तर जनताका आशा र अपेक्षा पूरा गर्ने सकेनन्, यसलाई अत्यन्त दुःखद् मान्नुपर्छ । नेपाल कम्युनिष्ट पार्टीलाई जनताले पत्याएर भोट दिएर सत्तामा पु¥याए तर त्यो सरकार किन विदेशी इसारामा चल्ने भयो ।
एकथरिले एउटा देशलाई धारे हात लगाएर गाली गर्ने अर्कोथरिले अर्को देशलाई आरोप लगाउने गर्दा आन्तरिक द्वन्द्व झनै चर्किएको छ । उपत्यकामा कोरोना संक्रमण बढिरहेको छ । यसतो संवेदनशील घडीमा राष्ट्रको ध्यान जनतालाई कसरी संक्रमणबाट जोगाएर सुरक्षित राख्ने भन्नेतिर हुनुपर्ने हो तर शीर्ष नेताहरु कुर्सी र पदका लागि आफ्नै पार्टीभित्रको आन्तरिक कोलाहलमा रुमलिएका छन् । राष्ट्रवादको चर्को नारा लगाई जनविश्वास प्राप्त गरेको नेकपाले अहिले आन्तरिक झगडा र पद लोलुपताको कारण जनमतको अपमान गरेको छ ।
