Goraksha

National Daily

राप्ती लाइफले पायो आरडीटी परीक्षण गर्ने अनुमति

तुलसीपुर, २४ असार । दाङ तुलसीपुरस्थित राप्ती लाइफ केयर हस्पिटल प्रालिले आरडीटी परीक्षण गर्ने अनुमति पाएको छ । प्रदेश नं. ५ को सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयले हस्पिटललाई आरडीटी परीक्षण गर्ने अनुमति दिएको हो । निर्देशनालयले असार २१ गते अस्पताललाई अनुमति दिएको पत्र अस्पतालमा उपलब्ध गराएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ‘निजी तथा सामुदायिक अस्पताललाई कोभिड–१९ परीक्षणका लागि आरडीटीबाट परीक्षण गर्न दिनेसम्बन्धी निर्देशिका २०७७’ अनुसार राप्ती लाइफ केयर अस्पताललाई आरडीटी परीक्षण गर्ने अनुमति प्रदान गरिएको हो ।

डाक्टरले परामर्शका आधारमा हस्पिटलले आरडीटी परीक्षण गर्ने अस्पतालका अध्यक्ष हरि रिजालले बताए । ‘दाङमै पहिलोपटक हामीले आरडीटी परीक्षण गर्ने अनुमति पाएका छौं’, उनले भने– ‘आम नागरिकको मागअनुसार हामीले यो सेवा पनि प्रदान गर्न थालेका हौं ।’ आरडीटी पोजेटिभ आएमा पिसिआर जाँचका लागि रिफर गरिने अस्पतालका प्रवक्ता जीवन भण्डारीले बताए ।

उनका अनुसार परीक्षणको अभिलेखीकरण चुस्त–दुरुस्त राखिनुका साथै सेवा लिएका व्यक्तिको नाम र ठेगानासहितको प्रतिवेदन सम्बन्धित जिल्लाको स्वास्थ्य कार्यालय र स्वास्थ्य निर्देशनालयमा पठाइने उनको भनाइ छ । इच्छुक ब्यक्तिले अस्पतालमा आएर आरडीटी गर्न सक्ने उनले बताए ।

आइसोलसन केन्द्र पनि सञ्चालनमा
हस्पिटलले आइसोलेसन केन्द्र पनि सञ्चालनमा ल्याएको छ । उपमहानगरपालिकासँग समन्वय गरेर अस्पतालले २० बेडको आइसोलेसन कक्ष सञ्चालनमा ल्याएका अध्यक्ष रिजालले बताए । साथै अस्पतालले ५० बेडको क्वारेन्टाइन पनि सञ्चालनमा ल्याएको छ । अस्पतालको क्वारेन्टाइनमा करिब एक सय ब्यक्ति बसिसकेका छन् ।

कोरोना भाइरससँग लड्न अस्पतालको भूमिका महत्वपूर्ण रहेको छ । लकडाउनको समयमा पनि अस्पतालले २४सै घण्टा सेवा प्रदान गरेको थियो । साथै तुलसीपुर उपमहनगरपालिका, दंगीशरण, शान्तिनगरका नागरिकलाई लकडाउनको समयमा राहतसमेत उपलब्ध गराएको थियो । सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर राहत उपलब्ध गराएको प्रबक्ता भण्डारीले बताए ।