भाग्य र कर्मको सिद्धान्त
सुप्रिया मां
हामीले देखिरहेका छौँ, यो संसारमा कुनै बालबालिकाहरु सम्पन्न मातापिताका घरमा जन्म लिएका हुन्छन् र जन्मँदै अर्बौं भौतिक सम्पत्तिका मालिक र सुखसुविधाले सम्पन्न हुन्छन् । सूनको कोक्रोमा खेल्दै र विभिन्न मिष्ठान्न व्यञ्जनहरु खाँदै हुर्किन्छन् । तर यही संसारमा कुनै बालबालिकाहरु जन्मँदै ऋणमा डुबेका हुन्छन् र कुनै पनि खाने कुरा नपाएर कतै गल्लीमा फालिएका पनि भेटिन्छन् ।
कतिपय मानिस जन्मँदै भौतिक रुपमा सुखसुविधाले सम्पन्न हुन्छन् र कतिपय मानिस जन्मँदै दुःख र विपन्नताले सताएका पनि हुन्छन् । यस्तो असमानता देखेर हामीलाई अचम्म लाग्नु र प्रश्न उठ्नु स्वभाविक हो । कुन अदृश्य शक्तिले कहाँ बसेर यस्तो पक्षपात गरेको होला ? हाम्रो कर्मको फल कसले दिन्छ र कसरी आउँछ होला भन्ने सोचविचार आउनु स्वभाविक हो । आफूले गरेको कर्मको फल आउने हो कि भाग्यले पाइने हो भन्ने कुरामा धेरै विवादहरु पनि हुने गरेका छन् । कसैले भन्छन् भाग्यमा भए पाइन्छ र कसैले भन्छन् भाग्य भन्ने कुरा हुँदैन आफूले गरेको कर्मले नै भाग्य निर्माण हुने हो ।
हामीलाई बारम्बार यस्तो पनि लाग्न सक्छ कि मैले त कुनै दुःख आउने कर्म कहिल्यै गरेकै छैन । यो दुःख मलाई कहाँबाट आएको होला ? ईश्वरले दिएको हो कि अरु कसैले दिएको हो ? मेरो ग्रहदशा बिग्रिएर पो यस्तो भएको हो कि भन्ने भ्रम पनि मनमा हुनसक्छ । हामीले गरेको कर्मले हामीलाई कसरी प्रभाव पार्छ र भाग्य कसरी निर्माण हुन्छ भन्ने कुरा हाम्रो आजको चिन्तनको विषय हो ।
हामीले गरेका सबै कर्मको फल निश्चित रुपमा आउँछ । न्युटनको गतिको तेस्रो नियमले पनि यो कुरा प्रमाणित गरेको छ, Every action (force) in nature there is an equal and opposite reaction. अर्थात् हरेक क्रियामा बराबर विपरित प्रतिक्रिया हुन्छ । कुनै कर्मको फल तुरुन्तै आउँछ र कुनै कर्मको फल आउन केही समय लाग्छ, तर फल निश्चित रुपमा आउँछ । थोरै कर्मको फल धेरै भएर पनि आउन सक्छ, किनकि प्रकृतिको नियम यस्तो पनि छ । जस्तै हामीले जमिनमा एउटा वीऊ रोपेका हुन्छौँ तर फल अनन्त गुणा भएर प्राप्त भएको हुन्छ ।
जुन कर्मको फल वा परिणाम तुरुन्तै आउँछ त्यस्तो कर्मफलमा हामीलाई कुनै प्रकारको भ्रम रहँदैन । तर जुन कर्मको फल वा परिणाम आउन केही समय लाग्छ त्यस्तो प्रकारको कर्मफल वा परिणाममा हामीलाई भ्रम भएको हुन्छ । जस्तै आगोमा हात हाल्यौँ भने तुरुन्तै हात जल्छ । यहाँ कर्मको फल वा परिणाम आउन कुनै समय लाग्दैन र लागेन । यो कर्मफल वा परिणाम आउँदा हामीलाई कुनै भ्रम पनि हुँदैन । हामीले यस्तो कर्मको परिणाम वा फल अरु मानिस, ईश्वर वा अरु कुनै अदृश्य शक्तिले दिएको हो भनेर कसैलाई पनि दोष लगाउँदैनौँ । यस्तो प्रकारको कर्मफलको जिम्मेवार हामी आफै बन्दछौँ ।
किनकि मैले गरेको कर्मको परिणाम आएको हो भनेर हामीलाई यो कुरा स्पष्ट थाहा हुन्छ । तर कुनै कर्मको फल आउन केही समय लाग्छ । जस्तै आज कुनै एउटा फलको विरुवा रोपेका छौँ भने त्यसको फल लाग्न केही माहिना वा केही वर्ष पनि लाग्न सक्छ ।
त्यसरी नै आज हामीले कुनै कर्म गरेका छौँ भने त्यसको परिणाम आउन केही दिन, महिना वा केही वर्ष पनि लाग्न सक्छ । धेरै समय बितेपछि हामीले गरेको कर्म के थियो भनेर बिर्सिसकेका हुन्छौँ र कर्मको परिणाम आउँदा मैले गरेको कर्मको परिणाम होइन भन्ने हामीलाई लाग्छ ।
हाम्रा धर्मशास्त्र र हाम्रा ऋषिमुनिहरुले के भन्नुहुन्छ भने हामीले गरेको कर्मको परिणाम आउन केही जन्म पनि लाग्नसक्छ । अर्थात् पहिलाको कुनै जन्ममा गरेको कर्मको फल वा परिणाम अहिले यो जन्ममा पनि आउनसक्छ वा अहिले यो जन्ममा गरेको कर्मको फल वा परिणाम अरु कुनै जन्ममा पनि आउनसक्छ । अर्थात् हामीले गरेको कर्मको फल तुरुन्तै आउन पनि सक्छ र सञ्चित भएर धेरै समयसम्म पनि रहन सक्छ ।
हाम्रा धर्मशास्त्रले बताए अनुसार कर्मलाई तीन प्रकारले विभाजन गर्न सकिन्छ । (१) क्रियमाण कर्म, (२) सञ्चित कर्म र (३) प्रारब्ध । कर्म गर्दागर्दै तुरुन्तै फल आउने कर्मलाई क्रियमाण कर्म भनिन्छ । तुरुन्तै फल नआइकन सञ्चित भएर रहेको कर्म वा एकतृत भएर रहेको कर्मलाई सञ्चित कर्म भनिन्छ । यसरी सञ्चित भएको कर्म अनन्त हुनसक्छ, किनकि हाम्रो जन्म पनि धेरै पल्ट भएको हुनसक्छ ।
सञ्चित भएर रहेको कर्मबाट जुन फल तयार भएर अहिले यो जन्ममा प्राप्त हुन्छ त्यसलाई प्रारब्ध भनिन्छ । सञ्चित भएको कर्मबाट फल प्राप्त हुने उपयुक्त वातावरण बनेपछि जुन फल तयार भएर हामीलाई प्राप्त हुन्छ त्यो नै प्रारब्ध हो र त्यसैलाई भाग्य पनि भनिन्छ । सञ्चित भएको कर्म मध्येबाट थोरै मात्र हामीले यो जन्ममा भोगेका हुन्छौँ र बाँकी सञ्चित भएरै रहेको हुन्छ ।
हामीले गरेका कर्मले नै हाम्रो भाग्य निर्माण हुन्छ । आज हामी जुन अवस्थामा छौँ खुशी, सुखी, दुःखी, आनन्दित, धनी वा गरिब त्यो हामी आफैले विगत वा वर्तमानमा गरेको कर्मको परिणाम हो । हामीले आफ्नो भाग्य आफै लेख्छौँ । राम्रो कर्म गर्छौँ भने राम्रो फल र राम्रो भाग्य र नराम्रो कर्म गर्छौँ भने नराम्रो फल र नराम्रो भाग्य बन्दछ । जस्तै आँपको विरुवा रोपेका छौँ भने त्यहाँ फल पनि आँपको नै लाग्दछ, कागतीको फल लाग्दैन । यो प्रकृतिको नियम हो र यो नियममा कहिल्यै पनि फरक पर्दैन ।
भाग्य भनेको कुनै फरक कुरा नभएर हामीले गरेको कर्मकै परिणाम हो । भाग्य निर्माण हुनुमा अरु धेरै कुराहरुले पनि प्रभाव पारेको हुन्छ । भाग्यलाई अझ विस्तृत रुपमा यसरी बुझ्न सकिन्छ ।
यो विशाल ब्रह्माण्डमा म एक जना मानिस मात्र छैन अरु धेरै मानिसहरु, असंख्य अरु प्राणीहरु, विराट प्रकृति, ठूला–ठूला ग्रह, नक्षेत्रहरु र विशाल सौर्यमण्डलहरु पनि छन् । यो विशाल जगतमा अनन्त गतिविधिहरु प्रत्येक क्षण–क्षणमा भइरहेका छन् र सामूहिक रुपमा अरु धेरै कर्महरु पनि भइरहेका छन् । यस्ता गतिविधिहरु र सामूहिक कर्मको परिणाम पनि म आफूले पनि भोग्नुपर्ने हुन्छ, किनकि यो विशाल ब्रह्माण्डसँग हामी सम्बन्धित छौँ र हामी यो विशाल ब्रह्माण्डको एउटा सानो अंश मात्र हौँ । यो विशाल ब्रह्माण्डमा भएको अन्य गतिविधिहरुको प्रभाव पनि हाम्रो जीवनमा परेको हुन्छ ।
संसारका अरु मानिसहरुले गरेको कर्मको फल वा परिणाम, समाजले गरेको कर्मको परिणाम र विश्वमा भएको अन्य कर्मको परिणाम पनि म एक जना व्यक्तिले पनि भोग्नुपर्ने हुन्छ । मानिसले गरेको कर्म मात्र होइन प्रकृतिमा घटेको राम्रो र नराम्रो कुनै पनि घटनाको परिणाम म एक जना व्यक्तिले पनि भोग्नुपर्छ । जस्तै पेट्रोल जलेको धुवाँले हामीलाई रोगी बनाइरहेको छ । मैले गाडी नचलाए पनि र पेट्रोल नजलाए पनि हावामा फैलिएको जहरले मलाई पनि विरामी बनाउँछ । अरुले हालेको किट्नाशक औषधिले मलाई पनि विरामी बनाइरहेको हुन्छ । अरुले फालेको चुरोटको धुवाँले मलाई पनि प्रभाव पार्छ र विरामी बनाउँछ । कर्म मैले गरेको होइन तर परिणाम भोग्न मलाई पनि बाध्य बनाउँछ । यसरी सबैले गरेको कर्मको संयुक्त परिणाम प्रत्येक्ष वा अप्रत्येक्ष रुपमा हामीले भोगिरहेका हुन्छौँ ।
त्यसैगरी अर्बौँ वर्ष पहिला पृथ्वी बनेको हो तर पृथ्वीभित्रको लाभा अहिले बारम्बार निस्किएर कति मानिसहरुलाई दुःख दिइरहेको छ । हामीले गरेको कर्म होइन तर प्रकृतिको गतिविधिको प्रभाव हामीलाई पनि परिरहेको छ । सौर्यमण्डलमा केही भयो भने त्यसको प्रभाव पनि हामीलाई पर्दछ । सूर्यको गर्मी बढ्दा वा घट्दा हामीलाई पनि प्रभाव पार्छ ।
यसरी संयुक्त रुपमा यो विश्व ब्रह्माण्डमा भएको सबै कर्मको गतिविधिहरुको प्रभाव हामीले भोगिरहेका छौँ । हामी आफूले गरेको कर्मको फल मात्र होइन अरु मानिसहरु र अरु प्राणीहरुले गरेको कर्मको केही संयुक्त परिणाम, प्रकृति र पुरै सौर्यमण्डलमा भएको स्वतः कर्मको परिणाम पनि हामीले स्वतः भोग्नु पर्दछ । यसरी आफूले गरेको सञ्चित कर्मको फल र संयुक्त कर्मफललाई नै भाग्य भनिन्छ ।
अब भाग्य भन्ने बित्तिकै म आफूले गरेको सम्पूर्ण कर्मको परिणाम र अरुले पनि गरेको कर्मको संयुक्त परिणाम पनि हो । यो सबैलाई मिलाएर हाम्रो भाग्य बन्दछ । त्यसैले कर्म गर्दा होश् राखेर आफ्नो विवेकले देखेको राम्रो कर्म गर्नुपर्छ । किनकि त्यो कर्मको फल हामी आफूले निश्चित रुपमा ढिलो वा चाँडो भोग्नु नै पर्ने हुन्छ र त्यो कर्मले नै हाम्रो भाग्य निर्माण गर्दछ । राम्रो भाग्य चाहन्छौँ भने कर्म गर्ने बेलामा ध्यान दिएर राम्रो कर्म गर्न अत्यन्त आवश्यक छ । हामीले भाग्य भनेको पनि कुनै फरक कुरा नभएर हामीले गरेको कर्मकै फल वा परिणामहरु हो । त्यसैले कर्म र भाग्य भनेको एउटै सिक्काका दुईवटा पाटाहरु हुन् । आजलाई यत्ति नै, हरि ॐ !
सुप्रिया मां आनन्दपथ संस्थाका संस्थापक हुनुहुन्छ ।
