Goraksha

National Daily

समस्या आफै आउँदैन, ल्याइन्छ

नारायणप्रसाद श्रेष्ठ

समय र परिस्थितिलाई दोष दिई आफूलाई चोखो बनाउने प्रवृत्ति वर्तमानमा निकै देखिएको छ । वास्तवमा यो आधुनिक सभ्यताले ल्याएको मानवीय चरित्रको परिणाम मान्नु पर्छ । जीवनको उकाली ओरालीमा देखापर्ने जति पनि अवस्था छन्, ती सबै मानिसको दूरदर्शी चिन्तन नहुनुका कारणले भएको पाइन्छ । वर्तमान समयमा मानिस जुन अवस्थामा गुज्रनुपरेको छ, यसको उपज केवल परिस्थितिमाथि थोपरेर मानिस आफूलाई पानीमाथिको ओभानो बनाइरहेको पाइन्छ ।

सुख, दुःख, लाभ, हानी, जय, पराजय जति पनि समस्या जीवनको आरोह अवरोहमा देखापर्ने गरेका छन्, त्यसलाई केवल मानिसले परिस्थितिसँग गाँसेर व्याख्या गर्ने गरेको पाइन्छ । परिस्थितिले नै उनीहरुलाई समस्या खडा गरेको अवस्था छ भनी भन्ने गरेको पाइन्छ । के गर्ने, मैले त यस्तो उस्तो गर्ने उद्देश्य राखेको थिएँ, परिस्थिति त्यस्तै भयो हुन सकेन वा यस्तो हुनुपर्नेमा यस्तो भयो भन्ने प्रतिक्रिया प्रायः सुन्नमा आएको अवस्था छ ।

परिस्थिति त्यस्तो नहुँदो हो त मैले यस्तो गरिदिन्थेँ उस्तो गरिदिन्थे भनी मानिस आफूलाई उच्च वर्गको राखी व्याख्या गरेको पनि अवस्था छ । राजनीतिक वृत्तचित्रमा भने यस्तो परिवेश निकै मौलाएको देखिन्छ । अब सोचौँ के साच्चिकै परिस्थितिले मानिसलाई आफ्नो कर्मबाट विचलित बनाएको हो त ? परिस्थितिले नै मानिसलाई कर्म गर्न विचलित बनाएको हो र ? विकृति र विसंगति जति पनि आएका छन् के ती सबै समय र परिस्थितिले ल्याएका परिणाम हुन् ? यी र यस्तै विचारले मानिसको वर्तमान निकै उकुसमुकुस भएर गुज्रिएको छ ।

जीवन छ त संसार छ, यदि जीवन नै छैन भने यो संसारको के काम भनी कतिपय व्यक्तिहरु निराशाको बादलमा मडारिरहेको अवस्था पनि छ । तसर्थ, परिस्थिति कसरी र किन उत्पन्न हुन्छ ? के परिस्थितिले मानिसलाई समस्या खडा गरेको छ ? यसो भनुभन्दा परिस्थिति अनुकूल आफूलाई कसरी प्रस्तुत गर्ने ? यो कुरा मानवीय जीवनले बुझ्न जरुरी हुन्छ ।

दिनमा २४ घण्टा हुन्छ । प्रत्येक दिनमा रात र दिन हुन्छ । विहान सूर्योदय भएपछिको समय र दिउँसो मध्याह्न हुँदै गोधुली साँझसँगै सन्ध्याकालीन अवस्था भएर रात्री सुरु हुन्छ र पुनः विहानको आभाष देखापर्दै दिन सुरु हुन्छ । यसरी रातदिन समयले आफूलाई यसरी नै चलायमान बनाइरहेको हुन्छ । यो निरन्तर गतिशील भइरहने प्रक्रिया हो ।

जसरी दिन र रात भयो त्यसरी नै ३० दिनमा एक महिना भएर महिना दिन बित्छ भने १२ महिना भएपछि एक वर्ष बित्छ । यसै समयमा ऋतुले पनि आफूलाई बसन्तदेखि शिशिर ऋतु भएर हिउँद, वर्षा, ठन्डी, गर्मी हुँदै बिताउँछ । यसै क्रमले दिन महिनामा, महिना वर्षमा र वर्ष शताब्दी भएर बितिरहन्छ । यो समयको गति कहिल्यै रोकिँदैन । चिसो, तातो उसको नियम हो । यसरी नै प्रकृतिले पनि आफूलाई यसरी नै बिताइरहेको हुन्छ ।

यसप्रकार सृष्टिचक्रको इतिहास दोहोरिरहन्छ । पृथ्वी, आकाश, जल, वायु, अग्नी स्वरुप भएर समयले आफूलाई निरन्तर गति दिइरहेको हुन्छ । ३० दिनमा एक महिना भएर जसरी समय गुज्रिरहेको हुन्छ, त्यसरी नै त्यही ३० दिनमा १५ दिन औँसी कृष्णपक्ष र १५ दिन पूर्ण शुक्लपक्ष भएर बितेको हुन्छ । औँसी पक्षमा अध्यारोको प्रवलता हुन्छ भने शुक्लपक्षमा उज्यालोको आगमन हुन्छ । यो निरन्तर चलिरहन्छ । कृष्णपक्षको अँध्यारोपछि शुक्लपक्षको उज्यालो यो प्रक्रिया जबसम्म यो पृथ्वी रहन्छ तबसम्म चलिरहन्छ ।

यो सुरुदेखि नै यसरी चलिरहेको हो र चलि पनि रहेको छ । अँध्यारोपछि उज्यालो र उज्यालोपछि अँध्यारो त्यो प्रकृतिको नियम हो । यो न त विश्राम गर्छ न त यो फेरबदल नै भइरहन्छ । यसरी नै जीवनको गति पनि समयानुकुल गतिशील भइरहन्छ । जन्म लिइसकेपछि जनवात शिशु हुँदै बाल, वयस्क, युवा बृद्ध हुँदै जीवनको अन्त्य पनि हुन्छ र यो पुनर्जीवन पनि हुन्छ । सृष्टिको रचना यसरी भइरहन्छ । जीवनले जन्मने मर्ने यो प्रक्रिया समयको चक्रअनुसार भोगिरहन्छ । जसरी थोपा–थोपा पानी मिलेर खोलानाला नदी हुँदै समुद्रमा पानीको सतह भरिएको हुन्छ ।

पुनः वाफ बनेर हावाको वेगसँगै आफूलाई बादलमा घुलमिल गराई पुनः वर्षा भएर खोलानाला हुँदै समुद्रमा पुगेको हुन्छ । यो नियम सुरुदेखि अन्त्यसम्म यसरी नै घुमिरहेको हुन्छ । यो कोहीकसैको दबाबमा कहिल्यै विचलित हुँदैन । त्यसरी नै समय पनि आफ्नो गतिमा निरन्तर गतिशील हुँदै अघि बढिरहेको हुन्छ । समयचक्र पनि परिवर्तन हुँदै गरेको हुन्छ ।

यसरी सरसर्ती हेर्ने हो भने यहाँ कुन अवस्थालाई परिस्थितिसँग गाँसेर जीवनमा समस्या आयो ? दिनपछि रात र रातपछि दिनलाई परिस्थितिको संज्ञा दिने हो भने यो समयचक्रको निसानी नै हो । किनकि सूर्यको उदाउने र अस्ताउने प्रक्रियासँग सम्बन्ध रहेको हुन्छ । यो जबसम्म पृथ्वीले सूर्यलाई परिक्रमा गरिरहन्छ तबसम्म यो चलिरहन्छ ।

कृष्णपक्ष र शुक्लपक्षलाई परिस्थितिभित्र व्याख्या गर्ने हो भने यो पनि दिनपछि रात र रातपछि दिन भएर अँध्यारो र उज्यालो हुँदै यसले आफूलाई गतिशील बनाइरहेको हुन्छ । समयलाई परिस्थितिसँग गाँसेर व्याख्या गर्ने हो भने यो निरन्तर गतिशील भइरहने प्रक्रिया हो । यो न त कसैको प्रतीक्षामा आफूलाई रोक्छ न कसैको आफवाहमा आफूलाई परिवर्तन गर्छ । शब्दार्थको व्याख्या गर्ने हो भने परले टाढाको स्थिति भन्ने बुझाउँछ थितिले अवस्थालाई बुझाउँछ ।

अर्थात् भविष्य आफैमा अनिश्चित हुन्छ, के हुन्छ, के हुँदै छ यो कसैको वशमा रहँदैन । यसरी परिस्थितिको अर्थ र परिभाषालाई बुझ्ने हो भने यसले अर्कै दिशा निर्धारण गर्न पनि सक्छ । त्यसैले मानिसले आफ्नो अवस्था र प्रकृतिको नियमलाई बुझ्न जरुरी हुन्छ । जब अवस्था र प्रकृतिको नियम एकअर्काप्रति दाँजिने अवस्था रहन्छ त्यसबेला उत्पन्न हुने अवस्थालाई परिस्थिति मान्ने हो भने यो त समयचक्रअनुसार घुमिरहन्छ । जब विचार र सोचमा भिन्नता हुन्छ कर्म र व्यवहारमा पनि भिन्नता देखिने अवस्था आउँछ । त्यसबेलाको अवस्थालाई परिस्थिति भन्ने हो भने यो पनि मनको भ्रान्ति हुनसक्छ ।

तसर्थ यसरी सरसर्ती हेर्ने हो भने मानिस परिस्थितिको दास कहिल्यै बनेको हुँदैन । समय त आफै आफ्नै किसिमले गतिशील भइरहेको हुन्छ । कुन समयमा कस्तो अवस्था उत्पत्ति भयो र मानिस परिस्थितिको दास बन्न पुग्यो ? त्यसैले यस कुरालाई गम्भीर भएर सोची परिस्थितिले मानिसलाई दास बनाएको नभई उसभित्रको अहंकार र मोहले उत्पन्न हुने प्राप्तिको विषयले ल्याएको क्षणिक आनन्द प्राप्ति गर्ने मानव चरित्रतर्फ पनि यस कुरालाई हेर्न सकिन्छ ।

अर्को अर्थमा मानिसमा जुन किसिमले आफूलाई परिचालन गर्नुपर्ने हो त्यो नगरेको कारणले पनि मानिसले यस्तो भन्ने गरेको देखिन्छ । मानिसको सोच र चिन्तन नै मानिसको दुःख र सुखको कारण स्वयम् भएर पनि उसले परिस्थितिलाई दोष किन दिने ?

जुनकुनै कार्य गर्दा वा त्यसको नतिजा प्राप्त गर्दा जसरी मानिसले परिस्थितिलाई दोष दिने प्रवृत्ति देखिन्छ, वास्तवमा त्यो उसको सोच र चिन्तन हो । जहाँ स्वच्छ विचार र चिन्तन हुन्छ त्यहाँ कुनै पनि समस्याले मानिसलाई अप्ठेरो बनाउन सक्दैन । निराशावादी र गलत सोच्ने यसको कारक हुनसक्छ । जति पनि विकृति र विसंगति छन् ती सबै मानिसका सोच र चिन्तन हुन् ।

जीवनको सफलता र असफलता यही सोचको परिणाम हो । हिजो, आज र भोलि जसरी यो प्रक्रियाले निरन्तर गति लिएको छ त्यसैले जीवनले पनि गति लिने हो । त्यसैले यस कुरालाई मनन् गरी परिस्थितिले होइन मानवीय सोच र चिन्तनले मानिसलाई दुःखी र सुखी बनाएको हुन्छ र विचारले दास बनाएको हुन्छ । यो नै समस्याको कारक हो । कर्म, अकर्म र विकर्म मानिस आफ्नै सोचको कारणले हुने गर्छ ।

जहाँ स्वच्छ र पवित्र विचार हुन्छ त्यहाँको कर्ममा पनि पवित्रता हुन्छ, मानिस दुःख बन्नु पर्दैन । त्यसैले आफ्नो असक्षमतालाई परिस्थितिसँग गाँसेर भ्रामक विचार ल्याउनु आफैलाई गलित बनाउनु हो । बुद्धिमान मानिसले कहिल्यै पनि यस्तो सोच सोच्नै सक्दैन । फूलको स्वभाव अरुलाई आफूतिर आकर्षित गर्नु हो । फूलले आफूभित्रको विविधता र गुणलाई आफै छुट्याउन सक्दैन । उसको गुण अरुले छुट्याइदिएका हुन्छन् ।

त्यसैगरी मानिसले पनि आफूले आफू मपाई गर्नु कदापि असल विचार होइन । प्रकृति आफैमा बगैचा हो । मानिस बगैचाको माली हो । यसको सून्दरता मानिसको सोच, कर्म र व्यवहार हो । सेवाले परिणाम दिएपछि नै यसको सार्थकता हुन्छ । विचारले मानिसलाई दास बनाएको हुन्छ परिस्थितिले होइन । समस्या आफै आउँदैन मानिसको विचार र कर्मले ल्याउँछ । यस कुराको हेक्का राख्न जरुरी छ । वर्तमानले यही खोजिरहेको छ ।