लकडाउनमा डेढ लाख बढीको कागती बिक्री
लिलाधर वली
दाङ, २३ असार । लकडाउनले तरकारी तथा फलफूल किसानहरु समस्यामा परेका बेला जिल्लाका एक किसानले लकडाउनका क्रममा डेढ लाख बढीको कागती बिक्री गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ थानगाउँमा कागती खेती गरेका रुकुम खाराका रामचन्द्र खड्काले लकडाउनको क्रममा १ लाख ८० हजार मूल्य बराबरको कागती बिक्री गरेका हुन् ।
सूर्य जैविक कृषि केन्द्र प्रालि दर्ता गरेर व्यावसायिक कागती खेती गरिरहेका उनले लकडाउन शुरु भएको चैत महिनादेखि असारसम्म १ हजार ३ सय ८७ किलो कागती बिक्री गरेको बताए । उक्त कागतीलाई प्रतिकिलो १ सय ५० देखि १ सय रुपैयाँसम्म बिक्री गरेको सञ्चालक खड्का बताउँछन् । ‘लकडाउन शुरु हँुदा सबै ठप्प रहेको थियो, त्यो समयमा प्रतिकिलो १ सय ५० रुपैयाँमा घरबाटै कागती बिक्री हुने गरेको थियो’, प्रालिका सञ्चालक खड्काले भने–‘लडकडाउन खुकुलो भएपछि बाहिरबाट पनि कागती आउन थालेपछि अहिले प्रतिकिलो १ सय रुपैयाँका दरले बिक्री हुने गरेको छ ।’
कागती जिल्ला बाहिरबाट पनि माग भए पनि आफूले लकडाउनका कारण बाहिर पठाउन नपाएका खड्काले बताए । ‘अहिले काठमाडौसँगै पोखरा, बुटवलसम्मबाट कागतीको माग आउने गरेको छ’, किसान खड्का भने– ‘अझैसम्म बाहिर पठाउनु परेको छैन तर सबै विरुवामा फल लागे पठाउनुपर्ने हुन्छ ।’ खड्काले २०७४ सालदेखि थानगाउँमा करिब २२ कठ्ठा जग्गा लिजमा लिएर उन्नत जातको व्यावसायिक कागती खेती गरेका थिए ।
उनको कृषि फर्ममा हाल १५ सय बढी कागतीका बोटहरु रहेका छन् । उनले लगाएका हाइब्रिड जातका कागतीले ६ महिनामै फल दिन थालेका थिए । वर्षमा तीन पटक फल दिने कागती स्थानीय कागतीभन्दा धेरै रस भएका कारण बिक्रीमा समस्या नहुने उनी बताउँछन् । ‘लकडाउनका क्रममा घरमै आएर कागती किन्ने गर्नुभएको छ, मलाई बिक्रीका लागि बजारसम्म जानु परेको छैन’, उनले भने– ‘तर पहिलेको तुलनामा कागतीले फल बढाउँदै गएकाले अब बिक्रीका लागि आफै हिँड्नुपर्ने हुन सक्छ ।’
उनले व्यवसायीसँगै एक र दुई किलो भनेर घरमै किन्न आउने उपभोक्तालाई समेत बिक्री गर्ने गरेको बताए । ८० लाख रुपैयाँ खर्च गरेर व्यावसायिक कागती खेती गरेका खड्काले कागतीका विरुवा कलमे बनाएर बेच्ने तयारीमा छन् । त्यसका लागि कलमे विरुवा बनाउने काम गरिरहेका छन् । ‘बजारमा कागतीको माग बढ्दै गएकाले जिल्लामा कागती खेती गर्ने किसानहरु बढ्दै जानुभएको छ’, उनले भने– ‘कागतीको फलसँगै विरुवा चाहने मानिसहरु बढ्दै गएकाले बिरुवा समेत बनाउँदैछु ।’
स्थानीय सानो जातको कागतीभन्दा हाइब्रिड कागती राम्रो भएको खड्का बताउँछन् । उनका अनुसार बाँझो जग्गा भाडामा लिएर उनले गाईभैसीको जैविक मल प्रयोग गरी व्यावसायिक कागती खेती शुरु गरेको हुन् । तीन पटकसम्म विदेश बसेका खड्काले स्वदेशमै केही गर्नुपर्छ भनेर विदेशवाट फर्किएर कागती खेती गर्न थालेको हुन् । उनले सरकारले किसानहरुलाई सहयोग गरेर कागती खेतीका माध्यमबाट स्वदेशमै रोजगारी सिर्जना गर्न सकिने समेत बताए । कागतीले राम्रो फल दिँदै गएमा कागतीको जुस बनाएर समेत बिक्री गर्ने योजना खड्काको छ ।
