Goraksha

National Daily

पार्टीमा कलह, पाटामा सलह, बाटामा…

मधुसूदन सुवेदी

पछिल्लो समय कुनै पनि हिसाबले अनुकूल छैन । हरेक हिसाब र हरेक पक्षले अहिलेको वर्तमान समय पनि कूल बन्दैछ । राजनीतिक हिसाबले, दलगत हिसाबले वा पार्टीगत हिसाबले यतिबेला देश हाँक्ने राज्य व्यवस्था सञ्चालन गर्ने, देश र जनतालाई मलहमपट्टी गर्ने बहुमतको जम्बो पाटीृमा घर–झगडा मच्चिएको छ । देशलाई स्वीटजरल्याण्ड बनाउने लक्ष्य बोकेका र बाचा–कसम खाएकाहरु यतिबेला देश स्वीच–अफ–ल्याण्ड हुँदासम्म पनि चाल नपाई कानमा रुई कोचेर कलहमा उत्रिएका छन् ।

आजको यो बहुमतको सरकारलाई विश्वले ठेस नपु¥याउने र आँच नपु¥याउने गफ दिएका शीर्षस्थ नेताहरु यतिबेला देशी–विदेशी शक्ति हावी भएको भ्रम पोख्दैछन् । कुनै समयमा नेकपाभित्रको यो बन्धम राम बन्धन उद्घोष गरेका नेताहरु यति सबैका लागि हराम बन्धन भन्दैछन् । यो राम बन्धन आफैमा जाम बन्धन हो र यो बन्धनलाई कुनै शक्ति र स्रोतले फुस्काउन नसक्ने सपना देखेका नेताहरु आजभोलि दिउँसै सबैले बालुवाटारको सपना देख्न थालेका छन् ।

एकता केका लागि ? सहकार्य केका लागि ? सहमति केका लागि ? सहबन्धन केका लागि ? बहुमत केका लागि ? आदि–इत्यादि सार्थकविहीन बन्दैछन् । देश सधै संक्रमणकालीन अवस्थामा गुज्रिरहँदा सिंगो देश–विकासमा परेको क्षति, हानि, नोक्सानी र खतीलाई मध्यनजर गर्दै भएको नेकपाको यो एकता यतिबेला एता कि उता, न यता, न उता ? कता हो कता ? जस्तो भएको छ ।

देश र जनता आदि दैविक तथा आदि भौतिक संकटमा गुज्रिरहेको बेला पार्टीभित्रको यो कलहले व्यक्तिगत स्वार्थका अगाडि र दलगत स्वार्थका अगाडि राष्ट्रगत स्वार्थ छायाँमा पर्दोरहेछ भन्ने पुष्टि र प्रमाणित पनि भएको छ । विकास र समृद्धि भनेको व्यक्ति, शक्ति, समूह, संगठन, दल, मोर्चा र पंक्तिको मात्र रहेछ । देश र जनतालाई साक्षीमा राखेर यिनलाई भजाएर खाने अभियानमात्र रहेछ भन्ने कुरा पनि थाहा लागेको छ ।

जब देशमा अप्ठेरो र संकटको अवस्था सिर्जना खडा हुन्छ ठीक त्यतिबेला व्यक्ति र शक्तिको कलह सिर्जना गरी सारा जनमानसको ध्यानलाई मोडिदिने वास्तविक संकटलाई किनारा तथा थाँती लगाएर अवास्तविक कुराको पछि दौड्ने बहुत सरक र सरल बाटो रोजेका छन् । जनताका अनेकौँ प्रश्न एवं जिज्ञासा मेटाउन असमर्थ भएको दल यतिबेला कलहमा तात्तिएको छ, मात्तिएको छ र आत्तिएको छ ।

जसरी बहुमतको पार्टी देशको राजनीतिक थलोमा कलह बनेको छ, त्यसरी नै आज हरेक किसिमको खेतीपाती उब्जाउने पाटामा (बारी) मा लाखौं संख्यामा सलह भित्रिएका छन् र सम्पूर्ण किसानलाई नै आतंकित र भयभीत बनाएका छन् । कुन बेला कुन पाटामा कति संख्यामा सकल प्रवेश गर्ने हुन् र पाटाको बाली सखाप पार्ने हुन् भन्ने चिन्ता र चासो बढिरहेको छ ।

लाखौं–लाख जनमत प्राप्त गरेको पार्टीको कलह र लाखौं लाख संख्यामा बारीका पाटामा भित्रिने सलहले यतिबेला देश र जनताका दिमाग चाटिरहेका छन् । जसरी सलहले पाटाको बाली सखाप पार्नेछ त्यसैगरी पार्टीको यो कलहले पनि नेपालको राजनीति सखाप पार्नेछ । देश, विदेश र विश्व कोभिड–१९ को परम जोखिममा रहेको बेलामा नेपालमा पछिल्लो समयमा उत्पन्न कलह र सलहले बारी नै गन्ध आउने भएको छ ।

आज लकडाउनको समयमा अधिकांश मानिसले प्रयोग गर्दै आइरहेको अवस्थामा बालदेखि बृद्धसम्म र बौद्धिकदेखि सामान्यस्तरसम्मको जोसुकैका मुखबाट पनि निस्किने शब्द भनेको देशको ऐतिहासिक पार्टीको कलह नै हो । कैयौं समय अघिदेखिको राजनीतिक विकृति एवं विसंगतिलाई तोड्ने, फोड्ने, भत्काउने, चर्काउने, दर्काउने एक उत्कृष्ट आशा एवं अभिलाषा बोकेर जुटेका नेकपा यति चाँडै घरले जा–जा र वनले आइज–आइज भन्ने अवस्थामा पुग्लाजस्तो लाग्दैनथ्यो । आज जे नहुनु थियो त्यो भएरै छाड्यो ।

त्यसैगरी वि.सं. २०१६ सालतिर नेपालमा भित्रिएको एक अनौठो र अपूर्व फट्याङ्ग्रा प्रजातिको किरा सलह जसको नाम (एस–१०) सालमा जन्मेका बाहेकलाई सानो–सानो स्मरणबाहेक अरु कसैलाई पनि थाहै थिएन र पत्तै पनि थिएन । त्यो अपूर्ण किरो जो बाली–नालीका लागि महाशत्रु नै मानिन्छ र भनिन्छ । त्यो सहल पनि यतिबेला नै नेपालमा भित्रियो । संयोग निकै कठोर र कहालीलाग्दो प्रकृतिको मानिन्छ र ठानिन्छ ।

किनभने एकातिर २००७ साल, २०१७ साल, २०४६ साल हुँदै २०६२।०६३ सालको सबै राजनीतिक अपारदर्शितालाई विश्राम दिने लक्ष्य राखेको र उद्देश्य बोकेको ऐतिहासिक सरकार नै ग्रह कलहको दबदबामा रुमलिएको छ भने अर्कोतर्फ २०१६ सालपछिको खेतीपाती शानकशत्रु सहल पनि नेपालमा बर्सिएको छ । यी दुबै घटना देश र जनताका लागि सडक सताउने बाटो बनेको छ । यतिबेला नेपालका धारा–पधेरा तातेका छन् ।

यतिबेला नेपालका मेलापात ताकेका छन् । यतिबेला नेपालका गल्ली–चौतारा तातेका छन् । यतिबेला नेपालका खेतबारी तातेका छन् । यतबिेला नेपालका बस्ती–छिमेकी तातेका छन् । यतिबेला नेपालका गाउँ–समाज तातेका छन् । यतिबेला नेपालका यत्रतत्र र सर्वत्र तातेका छन् ।

के हो यो ? किन भयो यो ? किन हुँदैछ यो ? देश के हो ? जनता को हुन् ? धर्म के हो ? कर्तव्य के हो ? दायित्व के हो ? मर्यादा के हो ? संस्कार के हो ? संस्कृति के हो ? पद्धति के हो ? मूल्य के हो ? मान्यता के हो ? आदर्श के हो ? संयमता के हो ? विकास के हो ? समृद्धि के हो ? सुख के हो ? शान्ति के हो ? सधै छलफल र छलकपटमै समय बित्ने र बिताउने हो ? छलफल किन र केका लागि ? छलकपट पनि पटक–पटक किन र कसका लागि ? सुयोग्य शासक हुन मन लाग्दैन ? विधिको शासन चलाउन रहर लाग्दैन ? समृद्धशाली देश र जनता हेर्न मन लाग्दैन ? नेपाल भूमिलाई स्वर्गसमान बनाउने जोश जाग्दैन ? देशको मुहार बदल्ने हिम्मत बढाउन मन लाग्दैन ? चर्चित र लोकप्रिय शासक बन्न मन लाग्दैन ? हामी देश र जनताकै हौ भनेर पुष्टि गर्न मन लाग्दैन ? खाली जतिखेर पनि नाटक, अभिनय, स्वाङ पार्ने, चर्तिकला देखाउने, बहाना गर्ने, बाजी गर्ने, आरोप–प्रत्यारोप गर्ने, असहमति गर्ने, विग्रह गर्ने हो भने शासक किन बन्ने ? शासकका केका लागि ? रक्षकका लागि कि भक्षकका लागि ? अब जनतालाई जवाफ देऊ– यो व्यवस्था टिक्न वा टिक्दैन ?