Goraksha

National Daily

कराँचीदेखि माउण्ट आवू हुँदै जापानसम्मको सेवामा ब्रह्माकुमारीज

ब्रह्माकुमार माधव तिमिल्सेना

सन् १९४७ अगस्तमा जब भारतदेखि पाकिस्तान अलग भयो । हिन्दु र मुस्लिमवीचको धार्मिक अहिष्ण्ुाताताको कारण मुसलमानहरुले हिन्दुहरुमाथि दुश्मनी, आक्रमण, आतंक मात्र हैन हत्यासमेत गर्ने कार्य हुन थालेपछि हिन्दूहरु आफ्नो धर्म र ज्यान जोगाउन पाकिस्तान छोड्ने कार्य आरम्भ भैसकेको थियो ।

परन्तु व्रहमाकुमारीजका संस्थापक दादा लेखराजले यज्ञवत्स आत्माहरुलाई तथा आफ्ना सदस्यहरुलाई मनमा डर पैदा नगर्न पूर्व सावधानी गराइसक्नु भएको थियो । आफ्नो अस्तित्वको रक्षार्थ मानिसहरु पाकिस्तानबाट विस्थापित भए तापनि ओम मण्डली (ब्रह्माकुमारीज) करिब ३ वर्ष अर्थात सन् १९५० को जुलाईसम्म कराँचीमै रह्यो ।

मुस्लिम समाजले ईश्वरीय कार्यलाई कुनै हानी नोक्सानी गर्ने प्रयाससम्म गरेको पाइएन बरु खुदा अल्लाह वा ईश्वर एक हुनुहुन्छ, उहाँ हाम्रो जीवन निर्विकार बनाउन यस धरतीमा अवतरित भैसक्नु भएको छ । हामी पनि उहाँको प्रेममय यादले जीवनमा सुख शान्ति ल्याउन सक्छौ र यस धरतीलाई पाक अर्थात पवित्र स्थान अर्थात भूमि बनाउन सक्छौ ।

निस्वार्थ भावले सबैको कल्याण हेतु सेवा गर्नु नै मानव जीवनको उद्देश्य हो भन्ने ज्ञान चर्चाले ब्रह्माकुमारीज सबैका लागि र विश्वमा भाइचारा एकता गर्नका लागि हुन यिनीहरुबाट कुनै अहित कार्य हुन सक्दैन यस्तो प्रभाव मुस्लिम अगुवाहरुलाई परेको थियो ।

प्रायःजसो मानिसहरुको यही सोचाई र भ्रान्ति थियो कि– ओम मण्डली संगठनलाई मुस्लिमहरुले सिन्धमा नै समाप्त गरे या त उनीहरुको अस्तित्व सकियो या अन्यन्त्रै विस्थापित भैसके । तर उनीहरु त्यतिवेला आश्चर्यमा परे कि ब्रह्माकुमारीज पाकिस्तानमा छ र त्यसलाई पवित्र संस्था मानेर स्वयं मुस्लिमहरुले संरक्षण गरिरहेका छन् ।

परमात्मा पिताको निर्देशन÷आज्ञानुसार विश्व सेवार्थ ओम मण्डली भारत जाने तय गरियो । सन १९५० मा यस संगठनका करिब ४०० जना सदस्यहरु कराँचीदेखि रमाना हुँदाको क्षण निकै रोचक थियो । सबैको सम्मान गर्ने, कुनै कष्ट नदिने र आवश्यक सम्पूर्ण प्रवन्ध राज्यस्तरबाटै गर्ने प्रतिवद्धतासहित पाकिस्तान नछोड्न त्यहाँको जनता एवं सरकारले गरेको आग्रह गरियो ।

यद्यपि कराँचीदेखि ओखा बन्दरगाहाका लागि स्टीमरको व्यवस्था भयो । स्वेत वस्त्रधारी ब्रह्माकुमार ब्रह्माकुमारीहरुको शक्तिदललाई विदाई गर्दा स्टीमर चल्ने समयमा पुष्प वर्षा भएको थियो । ओखा बन्दरगाहामा समेत पाण्डव शिवशक्तिहरुको खुल्ला हृदयले भव्य स्वागत गरियो ।

यसरी क्रषिमुनिहरुको तपोभूमि, एकान्तको वातावरण, योग तपस्या लागि सुन्दरस्थल आवुदेखि ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयको माध्यमबाट परमात्मा शिवले ब्रह्मा तनद्वारा कल्पपहिले मुताविक सत्ययुग स्थापनार्थ कार्यले निरन्तर गति लियो । महाभारतमा लेखिएको छ– पाण्डवहरुले १२ वर्ष वनवास र १ वर्ष अज्ञातवास गर्नुपरेको थियो । तर यथार्थमा हैदरावाद सिन्धमा १२ वर्ष अलग अलग र १ वर्ष संयुक्तरुपले अहिंसक पाण्डव

सेना र शिवशक्तिहरुले (ब्रह्माकुमार ब्रह्माकुमारी) गहन योग तपस्या र साधना गरेको यादगार हो । गहन योगानुभूतिबाट बदलिएको संस्कार पवित्रताको बलले आज यस संस्थाले एक विशाल रुप लिई विश्वमा ख्यातिप्राप्त आद्यात्मिक शैक्षणिक संस्थानको मान्यता पाउन सफल भयो ।

माउण्ट आबूमा स्थानान्तरण भएपछि अनेकौं समस्याहरुसँग जुध्नुपर्ने विवशता भए तापनि आत्मिक स्थिति तथा ज्ञाननिष्ठ अवस्थाको बलमा परिस्थितिहरुलाई अनुकूल बनाउने प्रयास भयो । हैदरावाद सिन्ध र कराँचीको मौसम वातावरण भन्दा आबूको खानपान जलवायु परिवर्तन पनि ब्रहमा वत्सहरुलाई एक परीक्षाको रुपमा देखियो ।

प्रायःजसो संस्थामा समर्पित सदस्यहरु÷यज्ञ वत्सहरु खानदानी सम्पन्न परिवार एवं घराना कूलमा पलित र भौतिक सुविधाले पूर्ण हुनुहुन्थ्यो । सिन्धमा रहँदा ईश्वरीय ज्ञानमा आएपछि लालन पालन अथवा भरण पोषण सात्विक र उच्च थियो । समयान्तरसँगै कराँचीमा रहँदा १५ दिनसम्म बेगरी पार्ट अर्थात केवल जौर महीको भरमा दिनचर्या चलाउनुपर्ने अवस्था आउँदासमेत कन्या माता एवं भाइहरु निःसंकल्प भएर शिवबाबाको यज्ञप्रसाद, ब्रह्माभोजन सम्झेर ग्रहण गर्नुपरेको अनुभव संस्थाका वरिष्ठ राजयोगिनी दादी दिदी र राजयोगी भ्राताहरु सुनाउनु हुन्छ ।

नित्य ज्ञानस्नान आन्तरिक खुशी र प्रतिकूल स्थितिमा समेत स्वस्थिति, सबल सशक्त र अचल अडोल बनाउने शिक्षाले यज्ञसेवा अटल र अविरलरुपमा चल्न सम्भव भएको हो किनकि यो कार्य कुनै मनुस्यको नभै स्वयं सर्वशक्तिमान विश्व नियन्ता परमात्मा शिवको थियो । तसर्थ यसको सञ्चालन र रक्षाको जिम्मेवार पनि परमात्मा रहेको विश्वास र दृढ निश्चय हुनुको कारण ईश्वरीय सेवामा समर्पण तथा अपनत्वले सबैको मन जित्न सफलता मिलिरहेको थियो ।

तर त्यही समयमा जसले आफूलाई बदल्न सक्नु भएन उहाँहरु यज्ञ छोडेर सांसारिक जीवन व्यतित गर्नुभयो । ब्रह्माकुमारीजको नामै सुन्न नचाहनेहरु, श्वेत वस्त्रलाई घृणा गर्नेहरु साथै स्वच्छ पवित्र जीवन अपनाउन विरोध गर्नेहरुमा समेत विस्तारै संस्थाप्रति सम्मान र सहयोगी भावना पनि बढिरहेको थियो ।

ब्रह्माबाबा प्रशिक्षण दिने सिलसिलामा भन्नुहुन्थ्यो– बच्चे जुन ज्ञान तिमीलाई अहिले प्राप्त भएको छ, यो अनमोल एवं अद्भूत छ । जब तिमीले अरु आत्माहरुलाई यो ज्ञान सुनाउने छौ तब उनीहरु खुशी हुँदै प्रभुमा न्योछावर हुनेछन् । साना–साना कन्या कुमारीहरले योगस्थित भएर ठूला–ठूला विद्वान महोदयलाई ज्ञानको वाणले घायल पार्नेछिन् ।

जो स्वयंलाई शिव मानेर बसेका छन् र आत्मालाई नै परमात्मा मान्ने गर्दछन्, उनीहरु समेत ज्ञान श्रवण गर्नेछन् र झुक्नेछन् । विश्व नाटकमा तिमी प्रभु रतनहरु अज्ञान निन्द्रामा सुतेका कुम्भकर्णहरुलाई ज्ञान शंख बजाएर जगाउने तथा भक्तहरुको मनोकामना पूरा गर्ने माध्यम तिमीहरु नै बन्नेछौ ।

यस्ता महावाक्य एवं प्रेरणादायी अमृतधाराले कन्या माताहरुलाई अथक सेवा गर्ने प्रवल ईच्छा जागृत हुने गरेको कुरा तत्कालीन समयका तपस्वीमूर्त यज्ञका रतनहरुको अनुभवले बताउँछ । ब्रह्माकुमारीज विश्वमा महिलाहरुद्वारा सञ्चालित सबैभन्दा ठूलो आध्यात्मिक संगठन हो । ब्रह्माकुमारीहरूले विश्वको अन्य सबै आध्यात्मिक र धार्मिक संस्थाहरूबीच छुट्टै अस्तित्व कायम राखे ।

उनीहरुको नेतृत्वले निरन्तर आफ्नो साहस, धैर्यता, क्षमता र एकताप्रति उनको गहिरो प्रतिबद्धता रहेको प्रमाणित गर्यो । यो सम्मान, समानता र नम्रतामा आधारित सहभागिता र सहमतिसहित नेतृत्वको आदर्श हो । यो कुशल र सामञ्जस्यपूर्ण अधिकारको प्रयोगको उदाहरण हो । चेतना र आत्म अनुभूति, परमात्मासँगको सम्बन्ध र घनिष्ठता, कर्मको सिद्धान्तहरु, समयचक्र जीवनरुपी बृक्ष तथा आध्यात्मिक जीवन शैली ब्रह्माकुमारीज संस्थामा दिइने प्रारम्भिक प्रशिक्षणका विषय हुन् ।

ज्ञानसागर शिवबाबाको महावाक्य (मूरली) ब्रह्मा मुखकमलद्वारा सुन्ने शिवशक्ति पाण्डवहरु जसले सांसारिक सुख सयललाई त्यागे । दैहिक सम्बन्धीहरुबाट अलग भए । तन एवं जनको हरेक विध्न सहे, अत्याचारलाई सामना गरे । स्वाद अनि स्वजनलाई किनारा गरे । प्रतिफलमा पवित्रता र अतिईन्र्दिय सुख बरदानको रुपमा मिल्यो ।

१४ वर्षको गहन तपस्याले संसारलाई परिवर्तन गर्नसक्ने उँचो लक्ष्यका साथ शक्तिदल क्रियाशील देखियो । ईश्वरीय विद्याको अध्ययनले मनुस्य जीवनमा नम्रता, प्रेम, खुशी, अनाशक्त भाव एवं अरुप्रतिको करुणा तथा कल्याणी स्वभाव जागृत भयो । ब्रह्मा बाबाले माहात्मा गान्धी, रविन्द्रनाथ टैगोर, चक्रवर्ती राजगोपालचार्यलाई आत्मा निश्चयविनाको मनुस्य जीवन कौडीतुल्य हुन्छ ।

अन्धश्रद्धामा आधारित भक्तिले मनुस्यलाई झन भ्रष्ट र पतित बनाउँदै लियो । पूर्ण स्वराज्य प्राप्ति ईश्वरीय ज्ञान र दिव्य साक्षात्कारको बलबाट मात्र सम्भव हुन्छ । आत्मिक बलले विज्ञानलाई समेत जित्न सकिन्छ । वर्तमान यस धर्मग्लानिको समयमा परमात्मा पिता पुनः यस धरामा आदि सनातन देवी देवता धर्मको स्थापनाको कार्य गर्दै हुनुहन्छ ।

महाभारतको काल चलिरहेको छ । यस्ता अद्यात्मपरक सन्देश लेखी पठाउनु भएको त्यसैगरी संस्थाकी प्रथम प्रशासिका जगदम्बा सरस्वतीले बेलायतकी महारानी एलिजावेथलाई पत्रमार्फत भविश्यमा सृष्टिमा महासंकटको घडी आउनेछ, आत्मीय बल हुनेहरुले भयावह स्थितिलाई सामना गर्न सक्नेछन् । अब जुन विश्वयुद्ध हुँदैछ त्यसको परिणामले आम जनमानसमा निराशा मात्रै ल्याउनेछ ।

दैवी स्वराज्यको स्थापनाको समय शुरु भैसक्यो तसर्थ तपाई पनि आत्मानुभूति तथा विश्व दैवी स्वराज्य प्राप्त गर्ने माध्याम बन्नुहोस् भनी लेखिएको कुरा संस्थाको इतिहासबाट देखिन्छ ।

जुन समयमा नारीलाई समाज, सन्यासी तथा गृहस्थीले सदैव निम्न कोटीमा राखे, कम महत्व र तल्लो स्थान दिए । जो माता मनुस्यकी प्रथम गुरु हुन् उनैको पल–पल तिरस्कार गरियो । पतिव्रताको कुरा सुनियो तर पत्नीब्रताको बारेमा कहीँकतै उल्लेख छैन । अपहेलित नारी पतिको निधनपछि अर्को विवाह गर्दिनन् ।

पुरुषले चाहेमा घरमा पत्नी हुँदाहुँदै अर्को पत्नी भित्रयाउँछन् । मृत्युवरण भएको पतिको चितामा जल्न बाध्य पारिन्छ । सन्यासी जसले नारीलाई ज्यूँदै विधवा बनाएर घरवार छाडी जंगल जान्छन् र फेरि उपदेश दिन्छन् कि पति नारीका गुरु पनि हुन भने परमेश्वर पनि । नारीको यस्तो अवस्था देखेका ब्रह्माबाबाले कन्या माताको उद्धारका लागि सदैव चिन्तन चलाउनुहुन्थ्यो ।

तसर्थ आफ्नो समस्त चल–अचल सम्पत्ति एउटा ट्रष्ट बनाएर नारीलाई सञ्चालन गर्नेगरी समर्पण गरिदिनुभयो । ब्रह्माकुमारीज संस्थाको संस्थापक आफू भए पनि कन्या मातालाई ज्ञानको कलश हस्तान्तरण गर्नुभयो । नारी अवला हैनन सवल हुन्, नारी नरकका द्वार हैनन स्वर्गको गेट खोल्ने सूत्रधार हुन् । नारी जग कल्याणी र नर उद्धारक हुन्, मातृशक्तिबाट कलियुगी दुनियाँलाई रामराज्य स्वर्ग वा वैकुण्ठ बनाउन सकिन्छ भन्दै सञ्चालनको बागडोर सुम्पिनुभयो ।

श्रीलंकाको कोलम्वो शहरमा भएको अन्तर्राष्ट्रिय सर्वधर्म सम्मेलनमा ब्रह्माकुमारीज संस्थाले पठाएको सन्देशमा उल्लेख गरिएको थियो– जबसम्म विश्वमा हरेक व्यक्तिले स्वयंलाई जान्दैन अर्थात आत्मानुभूति हुँदैन र आत्मा निश्चय भएर कार्य गर्दैनन् तवसम्म विश्वमा शान्ति स्वप्न समान हुन्छ । वास्तवमा धर्म एक छ, आत्माको धर्म वा स्वधर्म । पवित्रता एवं शान्ति नै सच्चा शान्ति हो ।

आजको संसारमा अनेकौ धर्महरु छन् जहाँ कलह र झगडा मात्र भइरहेको छ । आत्मा र आत्माको पिताको पहिचान नहँुदा हामी अनेकतामा विभाजन भएका छौं । अब फेरि विश्व एकता एक विश्व परिवारको भावना जागृत गर्न आद्यात्मिक सशक्तीकरणको जरुरी भइसकेको छ । यसैगरी देश विदेशका विशिष्ट व्यक्तित्वहरुलाई माउण्ट आबू दर्शन गर्न र ब्रह्माकुमारीजका गतिविधिहरुलाई जानकारी लिन निमन्त्रण दिने क्रम पनि जारी रहेकै थियो ।

भारतका तत्कालीन राष्ट्रपति डा. राजेन्द्रप्रसादलगायत नेपालका राजा त्रिभुवन, राणा प्रधानमन्त्री जंगबहादुर राणा, सेनाध्यक्ष हिरण्य शमशेरसमेत दैवी धर्म स्थापनाका लागि सहयोगी हुन आह्वान गरिएको थियो । यता भीम शमशेरको राज्यारोहण तथा मेजर सुवर्ण शमशेरको छोराको विवाहमा पिताश्री ब्रह्माबाबालाई राजकीय सम्मानसहित आमन्त्रण गरिएको साथै भारतका प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरु र इन्दिरा गान्धीलाई भेटेर प्रभु सन्देश दिएको कुरा जीवन पलटानेलावी एक अद्भूत जीवन कहानी भन्ने पुस्तकमा लेखिएको छ ।

एउटा निश्चित समूह र सीमाभित्र रहेको संस्थाको ज्ञान प्रचार अब विभिन्न समुदाय गाउँ शहरसम्ममा फैलिन थालेको थियो । सेवाको विस्तार बम्वई, दिल्ली, कानपुर, लखनउ, अमृतसर, पटियाला र बैंग्लोरजस्ता मुख्य शहरहरुमा हँुदै थियो ।

शिवान्दजी महाराजको निमन्त्रणामा ऋषिकेशमा भएको विश्व शान्तिका लागि धर्म सम्मेलनमा दिदी मनमोहिनी र सन्तरी दादी, गंगे दादी र राजयोगी आनन्द किशोर सहभागी भै ईश्वरीय ज्ञान सम्प्रेषण गर्नुभयो । विभिन्न सतसंग र धर्मशालाहरुमा ज्ञान चर्चा हुन थाल्यो । इलाहावादको कुम्भ मेलामा ब्रह्माकुमारीद्वारा सम्बोधन गर्दै भनियो कि गंगा स्नानले शरीरको सफाई त हुन्छ परन्तु मनको स्वच्छताको लागि ज्ञान स्नानको आवश्यकता पर्दछ ।

आत्मा ज्ञानस्नानले मात्र पावन बन्न सक्दछ र पतित पावनी गंगा होइन परमात्मा हुनुहुन्छ । आत्मा निर्लेप हुँदैन । परमात्माले कन्या मातालाई उच्च सम्मानसहित ज्ञान कलश (कुम्भ) दिनुभएको छ । वर्तमान समय संगमयुग आत्मा परमात्मा मिलन महाकुम्भ आबू पर्वतमा चलिरहेको छ । यस प्रकारको ज्ञान प्रवाहमा अनेकौ आत्माहरु प्रभावित भए ।

भक्तहरुले परमात्मा शिवलाई जन्म जन्मान्तर पुकारे, मन्दिर गुरुद्धार, तीर्थ पर्वत एवं गुफामा निर्जन जंगलमा र हृदयको अन्तरमा खोजे परन्तु कही पाउन सकेनन् परन्तु मनको सच्च मित, प्रियतम् ब्रह्माको साधारण मानवीय तनमा प्रवेश गरी ब्रह्मामुखकमलबाट अनमोल ज्ञान रतनको वर्षा गर्दै आफ्नो परिचय स्वयं दिनुभयो जुन मूढमती आत्माहरुले ग्रहण गर्न सक्दैनन् ।

परमात्मा मिलनको अनुभव पूर्व मुख्य प्रशासिका डा. दादी जानकीको यस्तो थियो– जब ब्रह्माबाबाको नेत्ररुपी झयालबाट शिवबाबा आत्माहरुलाई मीठे बच्चे भन्नुहुन्थ्यो त्यसमा चुम्बकजस्तै आकर्षण भै जन्म जन्मान्तरको थकान दूर भएको आभास मिल्थ्यो । अशरिरी हल्कापन र आन्तरिक उमंग एव. उत्साहको सञ्चार हुन्थ्यो ।

यस संसारको कुनै पनि संकल्प विकल्प, मनमा कुनै ईच्छा या तृष्णा रहँदैन्थ्यो । उक्त पल कति सुखद् अवर्णनीय थियो । दादी हृदयमोहिनी यसरी व्यक्त गर्नुहुन्छ– आत्मामा शान्तिको गहिरो स्पर्श, दृष्टिमा विचित्र स्नेह, नेत्रमा सर्चलाइट, आत्मीय खिंंचाव र स्वयंमा प्रकाश तथा हल्कापनको अनुभूति, खुशीको लहर साथै दिव्यताको स्पन्दनको प्रत्याभूति हुन्थ्यो ।

सर्वशक्तिमान ज्ञान सागर शिवबाबाको ज्ञानको आधार न त कुनै शास्त्र छ, न त कुनै प्रचलित विचारधारा । ज्ञानको सीमा न एक जाति या काल विशेष छ न त धर्म विशेष नै । सबै देश पर्ग धर्म काल या समय । यसोरी निस्वार्थ एवं अलोकिक प्यार एक दिव्य प्रभाव एक विचित्र आकर्षण तथा वातावरणमा शान्ति र आनन्दको लहरको अनुभव गर्दै मुरलीको विशेषतामा ध्यान दिने जो कोहीलाई निश्चय हुन्थ्यो कि यो ज्ञान पढाउनेवाला स्वयं भगवान शिवबाबा नै हुनुहुन्छ ।

यसरी सन् १९५० को दशकका ब्रह्माकुमारीजको विभिन्न सभा सम्मेलन मिडिया जगतमा समेत देखियो । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयको विदेश सेवाको शुरुवात सन् १९५४ जापानमा भएको अन्तर्राष्ट्रिय धर्म सम्मेलनमा प्रतिनिधिमण्डलको रुपमा सहभागिताबाट भएको देखिन्छ । समग्रमा विश्व समुदायमा यस संस्थाले प्रवेशता पाएर समाज रुपान्तरणको अभियानमा सक्रिय रहेको पाइयो । क्रमशः ओम् शान्ति ।

लेखक डिभिजन वन कार्यालय, दाङका अधिकृत एवं ब्रह्माकुमारीज संस्थासँग आवद्ध एक आद्यात्मिक अभियन्ता हुन् ।