अब विद्यालयमा क्वारेन्टाइन नरहने

  •   
  •  

खेमराज रिजाल
दाङ, २१ असार । कोरोनाको भाइरसको संक्रमणसँगै संघीय सरकारका निर्देशनमा मुलुकभरीका सामुदायिक विद्यालयमा क्वारेन्टाइन बनाइएको पछिल्लो अवस्थामा भने स्थानीय पालिकाहरुले सामुदायिक विद्यालयमा क्वारेन्टाइन नराख्ने प्रतिबद्धता जनाएका छन् । त्यसका लागि सम्बन्धित स्थानीय पालिकाहरुले विकल्पसमेत खोजिएको बताएका छन् ।

विश्वव्यापी कोरोनाको संक्रमणका कारण केही समयका लागि सामुदायिक विद्यालयहरुलाई क्वारेन्टाइन र केहीमा आइसोलेसनसमेत बनाइसकेको अवस्थामा स्थानीय प्रतिनिधिहरुले भने अब कुनै पनि सामुदायिक विद्यालयमा क्वारेन्टाइन र आइसोलेसन नहुने भन्दै त्यसको विकल्पसमेत खोजिएको अभिव्यक्ति दिएका छन् ।

‘हामी सामुदायिक विद्यालयलाई क्वारेन्टाइनबाट मुक्त बनाउनेतर्फ लागिरहेका छौं, भविष्यका कर्णधारहरुले अध्ययन गर्ने थलोलाई अब क्वारेन्टाइन नराख्नेगरी आवश्यक तयारीसमेत भैसकेको छ’, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए । तुलसीपुर सरकारले स्थानीय तहमै केही विद्यालयहरुलाई मर्ज गरिसकेको अवस्थामा खालि भएका विद्यालयलाई मात्रै क्वारेन्टाइनका रुपमा उपयोग गर्न सकिने रणनीति लिएको बताए ।

त्यसले पनि नपुगेको अवस्थामा अन्य सामुदायिक भवनहरु र निजी अस्पतालका खालि भवनलाई पनि प्रयोगमा ल्याउन सकिने उनको अभिव्यक्ति थियो । ‘आशा गरौं, हामीहरु अब कोरोना संक्रमित हुने छैनौं, यदि कसैलाई संक्रमण नै भएको अवस्थामा उपमहानगरपालिकाले सामुदायिक विद्यालयबाहेकका भवनलाई प्रयोग गर्ने तयारी गरिसकेको छ’, नगरप्रमुख पाण्डेले भने ।

त्यसैगरी घोराही उपमहानगरपालिकाले पनि सामुदायिक विद्यालयहरुमा राखिएका क्वारेन्टाइन विस्तारै खालि हुँदै गएको अवस्थामा अब आउने सम्भावित संक्रमितलाई व्यवस्थापन गर्न फरक रणनीति अपनाएको बताएको छ । ‘अब कुनै पनि सामुदायिक विद्यालयहरुमा क्वारेन्टाइनका रुपमा प्रयोग हुने छैनन्, त्यसका लागि अन्य विकल्प उपमहानगरपालिकाले खोजिसकेको छ’, घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले बताए ।

भविष्यका कर्णधार बालबालिकाको पढ्ने थलोलाई अब क्वारेन्टाइनका रुपमा प्रयोग गर्न नहुने तर्कसहित विकल्प खोजिसकिएको पनि नगर प्रमुख चौधरीको अभिव्यक्ति थियो । संक्रमण फैलिइरहेको अवस्थामा अब हाउस क्वारेन्टाइनको अवधारणामा पनि घोराही उपमहानगरपालिका लागिरहेको पनि उनले बताए । कोरोनाको संक्रमणको जोखिम मात्र नभएर भविष्यमा आइपर्ने अन्य सरुवा रोगका संक्रमितका लागि पनि दीर्घकालीन क्वारेन्टाइनको व्यवस्थापनमा स्थानीय सरकार लागिरहेको पनि उनको अभिव्यक्ति थियो ।

त्यसैगरी बंगलाचुली गाउँपालिकाले पनि सामुदायिक विद्यालयहरुलाई अब क्वारेन्टाइनका रुपमा प्रयोग नगर्ने प्रतिवद्धता जनाएको छ । गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरुमा अब क्वारेन्टाइन नरहने बताएका छन् । कोरोनाको एक चरणको लडाइँमा गाउँपालिकाले जीत हासिल गरिसकेको बताउँदै अब थप यस्तै संक्रमणको अवस्था आएमा कुनै पनि सामुदायिक विद्यालयलाई आइसोलेसन र क्वारेन्टाइनका रुपमा प्रयोग नगर्ने गाउँपालिकाको नीति रहेको बताए ।

‘समयले सिकाएअनुसार हामी अघि बढ्ने हो, त्यसैले अस्पतालदेखि स्वास्थ्य चौकी भवन निर्माण गर्दा पनि क्वारेन्टाइन र आइसोलेसनको परिकल्पना गरिसकेका छौं’, गाउँपालिका अध्यक्ष वलीले भने । उनकै अभिव्यक्तिमा अब विद्यालयको साटो अस्पतालमा भएको थप भवनमा क्वारेन्टाइन निर्माण गरिनेछ । सामुदायिक विद्यालयमा अब पठन–पाठन शुरु गर्ने तयारी पनि भइरहेको अवस्थामा क्वारेन्टाइनलाई निरन्तरता दिने पक्षमा गाउँपालिका नरहेको पनि उनले बताए ।

त्यसैगरी गढवा गाउँपालिकाले पनि अब सामुदायिक विद्यालयमा क्वारेन्टाइन नराख्नेगरी विकल्प खोजिसकिएको जनाएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले पनि गाउँपालिकाले स्थायी क्वारेन्टाइनको परिकल्पना गरेको बताएका छन् । ‘हामी कुनै पनि प्राज्ञिक थलोमा क्वारेन्टाइन बनाउन चाहेका छैनौं, तैपनि भैपरी आउने अवस्थामा सामुदायिक विद्यालयको विकल्पमा क्वारेन्टाइन निर्माणको तयारीमा छौं’, चौधरीले भने ।

नेपाल सरकारको निर्णयअनुसार कोरोनाको संक्रमण नियन्त्रण गर्नका लागि सामुदायिक विद्यालयलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने गरिएको थियो । संघीय सरकारको निर्देशनअनुरुप दाङ जिल्लामा पनि कम्तीमा २ सय स्थानमा क्वारेन्टाइन व्यवस्थापन गरिएका थिए । भारतीय सीमामा रहेका अलपत्र नागरिकहरुलाई नेपाल भित्राउने योजनासँगै दाङ जिल्लामा पनि क्वारेन्टाइनमा १० हजारभन्दा बढी हाराहारीमा बसाइएको थियो । तर पछिल्लो समयमा क्वारेन्टाइन खालि हुँदै गएका छन् । हाल ५ सयका हाराहारीमा मात्रै रहेका छन् ।

अझै पनि सामुदायिक विद्यालयमा क्वारेन्टाइन रहिरहँदा एसईई परीक्षाको नतिजा जिल्ला शिक्षा विकास तथा समन्वय इकाईमा पठाउन पनि समस्या भएको छ । मुलुकभरीका सामुदायिक विद्यालयहरुमा क्वारेन्टाइन चलिरहँदा एसईई परीक्षाको नतिजा प्रकाशनमा समेत प्रशासनिक समस्या भएको विद्यालयहरुले जानकारी गराएपछि नतिजा प्रकाशनको समयसीमासमेत पछि सारिएको शिक्षा अधिकारीहरुले बताएका छन् ।