भर्चुअल शिक्षण अबको आवश्यकता
मन्सु बस्नेत
कोभिड–१९ संक्रमणको जोखिमका कारण यतिबेला नेपाललगायत विश्व बन्दाबन्दीमा छ । र, यसै कारण देशभरका विश्व विद्यालय, विद्यालय बन्द गरिएका छन् । विद्यार्थी भर्ना गर्नुपर्ने र त्रैमासिक परीक्षा सञ्चालन भइसक्ने समय हुँदा पनि महामारीको कारण विद्यालय बन्द छन् ।
यस्तो विषम परिस्थितिमा पठनपाठन कसरी सञ्चालन गर्ने कुराको चुनौती उत्तिकै छ । मानव इतिहासमा यस्तो महामारी फैलिएको यो पहिलो भने होइन । आगामी दिनहरुमा पनि यस्ता महामारी नआउलान् भन्न सकिन्न । यसर्थ समय–समयमा विद्यालय बन्द गर्नुपर्ने अवस्था नआओस् भन्ने उद्देश्यले भर्चुअल शिक्षा अबको आवश्यकता प्रष्ट देखिन्छ । जब भर्चुअल शिक्षाको कुरा उठ्न थाल्यो हाम्रो समाजमा विभिन्न भद्दा मजाक पनि बनाइए लाठी लाएर पढाउँदा त नपढ्ने विद्यार्थीले कसरी पढ्छ भन्ने हास्यास्प्रद तर्क पनि दिइयो ।
क) भर्चुअल शिक्षण विधि नै किन ?
कोरोना भाइरसले विश्व व्यवस्थामा परिवर्तन ल्याइदिएको छ । आर्थिक, सामाजिक, सांस्कृतिक अवयवहरू प्रभावित भएका छन् । मूलतः शिक्षा क्षेत्रमा यसको सिधा असर परेको छ । कोरोना परिस्थितिले शिक्षा क्षेत्रको शिक्षण पद्धति र प्रणालीमा नयाँ प्रयोग र परीक्षणको अनिवार्यता थोपरिदिएको छ । लाइन बिजनेसको विकल्पमा नलेज बिजनेसको जवर्जस्त राजमार्ग बनाउनुको विकल्प छैन । शिक्षामन्त्रालय तथ्याड्ढअनुसार देशभर ८१ लाख विद्यार्थी अध्ययनरत छन् । लाखौं विद्यार्थी घरमै थुनिएका छन् । विद्यालय र विश्वविद्यालयमा बन्दाबन्दीमा छन् । लामो समय यही परिस्थितिमा शिक्षा क्षेत्रलाई बन्धक बनाइराख्नु विकासको गियरलाई रोक्नु हो ।
यसर्थ नलेज बिजनेसको प्रयोगबाट शिक्षा क्षेत्र अघि बढाउनु पर्छ । नलेज बिजनेसको अर्थ शिक्षामा नयाँ प्रयोग हो । यसको मुख्य आधार सूचना प्रविधिको प्रयोगबाट शिक्षण गरिनु हो । सूचना प्रविधिको युग भएकोले पनि इन्टरनेट माध्यम अबको शैक्षिक दुनियाको अश्त्र हो । तर, नेपाल जस्तो मुलुकमा इन्टरनेट पहँुच पहिलो शर्त हो । कालोपाटी चक, ह्वाइट बोर्ड र मार्कर हुँदै प्रोजेक्टरमा आइपुगेको शिक्षण विधि अब इन्टरनेटमा पुगेको छ । कोरोनाले यो बाध्यकारी अवस्था ल्याइदिएको छ । कोरोना कहरले नलेज बिजनेसको युग सुरु भइसकेकोले भर्चुअल शिक्षण विधिको खोजी भएको हो ।
ख) नीतिगत प्रयास
सूचना प्रविधिको दुनिया हो । सूचना प्रयोग र पहँुचलाई समृद्धिको एक आधार मानिएको छ । सूचना प्रविधिको तीब्र विकास भइरहेको बेला पछिल्लो समय कोरोनाले थप बल मिलेको छ । कोरोनाकै कारण शैक्षिक जगत धरासायी भएपछि यसको विकल्पको खोजी भएको हो । यद्यपि, सरकारले डिजिटल नेपालको अवधारणा समेत कार्यान्वयन चरणमा छ । १५औँ योजनाले पनि सूचना प्रणालीलाई सुदृढीकरण गर्ने भनेको छ । सूचना प्रविधिको सुदृढीकरण गर्दै प्राथमिक तहदेखि उच्च शिक्षासम्मको शिक्षण पद्धति र विधिलाई अपनाउन भनेको छ । मानवीय जनशक्तिको विकास गर्दा पनि कम्यूटर प्रविधि र सीपको माध्यमबाट शैक्षिक जनशक्ति उत्पादन गर्न भनेको छ ।
राष्ट्रिय शिक्षा नीति २०७६ ले पनि संघीय तथा प्रदेश स्तरमा पनि भर्चुअलको विषयमा बोलेको छ । भर्चुअल कक्षा कोठा र शिक्षण सिकाईमा आधारित एप्सहरुको विकास गरी प्रयोगमा ल्याउने नीतिगत प्रावधान छ । नेपालका शैक्षिक विकासको इतिहास पल्टाउँदा लामो भए पनि शैक्षिक जनशक्ति उत्पादनमुखी भन्दा प्रमाणपत्रमुखी छ । विश्वविद्यालयहरु शैक्षिक प्रमाणपत्रका कारखाना बन्दै गएका छन् । जसले शैक्षिक बेरोजगार बढाउँदै लगेको छ । वर्षेनी ४ लाख मानिस श्रम बजारमा आउने गरे पनि अत्यन्तै न्यूनले मात्रै आन्तरिक रोजगारी प्राप्त गरेको अवस्था छ ।
ग) नेपालमा सूचना प्रविधिको इतिहास
नेपालमा सूचना प्रविधिको इतिहास हेर्दा सन १९७२ मा पहिलो पटक कम्यूटर औपचारिक रुपमा भित्रिएको पाइन्छ । सूचना र सञ्चार प्रविधिको विकास सन् १९८५ मा नेपाल टेलिभिजनले सञ्चार प्रवाहको औपचारिकता सुरु गरेको हो । सूचना प्रविधिको विकासको हिसाबले सन् १९९० देखि नेपाल खुला बजारमा प्रवेश गरेसँगै नेपालको सूचना र सञ्चार प्रविधिको विकास भएको पाइन्छ । यसपछिका दिनदेखि विश्वजगतसँगको सम्बन्ध थप विस्तार भएको हो । विश्वजगतसँग सम्बन्ध विस्तारसँगै प्रविधि र पर्यटनको उल्लेख्य विकास भएको छ । प्रविधि हस्तान्तरणका कारण नेपालले पनि प्रविधिको क्षेत्रमा फड्को मारेको छ ।
नेपालमा सन् १९८९ मा पहिलो पटक वल्र्ड भ्यू नेपाल र नेपाल वातावरण पत्रकार समूहले इन्टरनेटको प्रयोग गरेको पाइन्छ । अहिलेसम्म अमेरिकामा बस्ने नेपालीले सञ्चालनमा ल्याएको द नेपाल डाइजेष्ट पहिलो अनलाइन हो । यद्यपि नेपालमा अनलाइन पत्रकारिता सन् १९९५ मा द काठमाडौं पोष्टलाई लिइन्छ । यसले के प्रष्ट्याउँछ भने नेपालमा अनलाइनका विकास सन् १९९० यतादेखि सुरु भएका हो । सन् १९९८ मा आधिकारिक अनलाइन पत्रकारिता नेपाल न्यूज पहिलो हो । विशेष गरी करिब गएको दश वर्ष यता हेर्दा सूचनाको प्रयोगमा अत्यधिक विकास भएको छ । यद्यपि सूचना प्रविधिको उपयोगबाट व्यावसायिक ज्ञान र जीवनोपयोगी नभएको पक्कै हो ।
सन १९६० को दशकयता विश्वमा सूचना साम्राज्यको जालो दुनियामा जेलिएको छ । विश्व नै एक गाउँमा जोडिएको छ । पछिल्लो समय सामाजिक सञ्जालले सूचना पहँुचमा समेत आइसब्रेक गरिदिएको छ । सूचना पाउन मानिसहरुलाई डेटलाइन कुर्नु पर्दैन । जुनसुकै सूचना प्राप्त गर्न अनलाइनको व्यापक विकास भएको छ । यद्यपि शैक्षिक पद्धति र प्रणाली अझै पुरानै ढर्राबाट चल्दै आएको छ । तर, पछिल्लो समय कोरोनाले समग्र विश्व व्यवस्थामै उथलपुथल ल्याइदिएपछि शिक्षा क्षेत्रमा जवर्जस्ती नवीन सोचको विकास भएको हो । त्यो सोच भनेको नै लाइन बिजनेसको विकल्पमा नलेज बिजनेसको विकास हो ।
घ) अबको बाटो के ?
कोरोना कहरले शिक्षा क्षेत्र थलिएपछि यसको दिगो समाधान प्रविधिमैत्री र प्रविधियुक्त शिक्षण विकासको थालनी गरिनुको विकल्प छैन । विगतको निरन्तरतामा जवर्जस्ती कोरोनाले आइसब्रेक गरेपछि सूचना प्रविधिको माध्यमबाट शिक्षण गर्नु अनिवार्य भएको छ । तर, भर्चुअल शिक्षाको बहस गरिररहँदा आवश्य पूर्वाधार र पहँुच कति छ ? भन्ने मूल प्रश्न हो । पछिल्लो सरकारी तथ्याड्ढअनुसार करिब १८ प्रतिशत मात्रै इन्टरनेट पहँुच छ । इन्टरनेट पहँुचसँगै आवश्यक कम्प्यूटर प्रविधिको खरिद क्षमता, कक्षा शिक्षणको विकल्प अनलाइन शिक्षणको व्यवस्थापन चुनौती, प्रविधि सीपयुक्त मानव संसाधनको अभाव छ ।
हाल साढे २५ लाख विद्यार्थी निजी विद्यालयमा अध्ययन गरिरहेका छन् भने ५५ लाख ८३ हजार विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययनरत रहेका छन् । ३१ प्रतिशत विद्यार्थी हुनेखाने परिवारका हुन् । ६९ प्रतिशत विपन्नवर्गका विद्यार्थी हुन् । यी तथ्याड्ढले के प्रष्ट्याउँछ भने विपन्नहरु इन्टरनेट तथा कम्प्यूटर प्रविधिको पहुँच बाहिर छन् । यी मुख्य समस्यालाई सम्बोधन गर्ने गरी कम्प्यूटर र इन्टरनेटको विकास र विस्तार गर्न सकेमा बदलिँदो परिस्थितिअनुसार शिक्षा क्षेत्रलाई इन्टरनेट पहुँचमा पु¥याउन सकिन्छ ।
यसर्थ, आवश्यक पूर्वाधारको विकास गरेर मात्रै भर्चुअल शिक्षण पद्धतिलाई लाखौँ विद्यार्थीको भविष्यका लागि उपयोग हुनसक्छ । अन्यथा आन्तरिक तयारी बिनाको भर्चुअल शिक्षण लहडमै सीमित हुनसक्छ ।
