लकडाउनकै उपज : नगर प्रमुखको वहुउद्देश्यीय करेसाबारी …

  •   
  •  

शरद रेग्मी
तुलसीपुर, २१ असार । कति मिलेको भिरालो र पारिलो जग्गा । एउटा कुनामा दुईवटा ठूला माछापोखरी छन् । अलि पर केही सानो माछापाखेरी । अर्को कुनामा कागती खेती, भर्खरका विरूवा हुर्कँदैछन् । अरु तीन महिनामा फल दिने तयारीमा छन् वाह्रमासे कागतीले । ‘यो वहुउद्देश्यीय नमुना एग्रोप्लट हो, यसलाई मैले लाकडाउनकै अवधि सुरु भएपछि परिकल्पना गरेको हँु’—तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे बताउँदै थिए ।

माछापोखरीमा राखिएका भुरा हुर्कँदै छन् । एउटै माछा करिब दुई किलो पुग्ने पनि छन् । ती पोखरीमा विभिन्न प्रजातिका कम्तिमा एक हजार मंगुर प्रजातिका भुरा राखिएको नगर प्रमुख पाण्डेले बताएका छन् । त्यसका लागि घरेलु दाना प्रयोग गर्छन्, पानीको प्राकृतिक वहावको व्यवस्थापन छ । हावापानी सुहाउँदा माछाका प्रजाति राखिएका छन् । त्यसैगरी उनले लौकाट र बट्टाईँका लागि भिन्नै खोर निर्माण पनि गरिरहेका छन् । उनले ती बट्टाईलाई हिमालय आर्गानिक बट्टाईँ भनेका छन् । बिजौरीको थानगाउँमा पुगेर उनले कागती खेती सिके । अन्तका माछा पोखरीमा पुगेर माछा हुर्काउन सिके अनि छरछिमेक र गाउँघरमा देखिने लौकाट र बट्टाईँले पनि उनलाई मोहित बनायो ।

बट्टाईँले अण्डा पारिसकेका छन् । केही सातामा ती अण्डाहरु कोरलिने छन् । थप चल्ला हुर्काउन नयाँ खोर निर्माण गर्दै छन् । ‘लगानीको एकिन छैन, धेरैजसो आफ्नै घरपरिवारको मिहिनेत परेको छ, जग्गा लिजमा लिएरै व्यावसायिक किसान बन्न पनि खोजेको होइन’– पाण्डेले भने– ‘व्यवसायिक बन्नका लागि भन्दा पनि व्यावसायिक प्रेरणाका लागि मेरो मिहिनेत हो, मेरो करेसाबारी कृषि पर्यटनको एउटा सुरुवात पनि हुने छ, तैपनि तीन जना हेरालु अनकलमा करार सेवामा कार्यरत छन् । आवश्यक परेकाबेला मात्र उनी करेसाबारीमा आउँछन् । खाली समय अन्यत्र काम गर्न पनि जान पाउँछन् ।’ तनेबोडीदेखि भिण्डी, खुर्सानी र तीतेकरेला लगायतका तरकारी लटरम्म फलेका छन् करेसाबारीमा ।

वडा–वडामा पुगेर प्रमुख पाण्डेले स्मार्ट कृषिका कुरा गर्थे, आन्तरिक उत्पादनलाई बजारीकरण गर्न स्थानीय सरकारले सहयोग गर्ने बताउँथे, तर आफै गरेर देखाउने अवसर भने उनलाई लकडाउनले जुरायो । जुनबेला लकडाउन अति कडा थियो, नगरपालिकामा पनि त्यति धेरै कामकाज थिएन । मास्क र ग्लोव नलगाई हिड्नै त्रासको अवस्था थियो । सामाजिक भेटघाटको परिकल्पना समेत गर्न सकिँदैनथ्यो, त्यही मौकामा उनले नमुना एग्रोप्लटको परिकल्पना मात्र गरेनन्, व्यवहारमा पनि हुन्छ कि हुन्न भनेर नतिजा खोज्न थाले । त्यसैले त उनले आफ्नो खेर गएको जग्गामा वहुउद्देश्यीय करेसाबारीको परिकल्पना गरे ।

पोखरीमा उत्पादन भएका माछा अहिल्यै बजारमा लगेर आय आर्जन गर्ने भन्ने उनको सोच होइन रे । यो त अन्य बेरोजगार युवा र गृहिणीहरुलाई पनि देखाउनका लागि हो । ‘खुर्सानी र बेसार मात्रै करोडौँको रुपैयाँमा भारतलगायत अन्य मुलुकबाट आयात गर्नुपर्ने अवस्थालाइ सुधार गर्न स्थानीय तहमै कृषि उत्पादन बढाउनु उपयुक्त बाटो हो भन्ने प्रमाणित गर्न पनि यो काम सुरु गरेको हुँ’– नगर प्रमुख पाण्डेले बताए । गुजारामुखी कृषिभन्दा पनि निर्यातमुखी कृषि अर्थतन्त्रमा नेपालले धेरै फड्को मार्नसक्ने पनि उनको अनुभव थियो । त्यसो त पाण्डे वन र वातावरणका विज्ञ पनि हुन् । जनप्रतिनिधि बनेपछि उनलाई वन क्षेत्रमा त्यति ध्यान नपुगे पनि लकडाउनमा करेसाबारी बनाउन भने धेरै मौका दियो ।

निर्भरमुखी कृषि अर्थतन्त्रलाई सुधार गरी निर्यातमुखी कृषि अर्थतन्त्र निर्माण गर्न हरेक कुना कन्दरामा रहेका नागरिकको उत्तिकै भूमिका हुने भएकाले पनि आफूले यो अभियान सुरु गरेको पनि उनको अभिव्यक्ति थियो । ‘जग्गाका लागि हामीलाई समस्या छैन, खाली काम गर्ने इच्छाशक्तिको मात्र हो, बाँझो जग्गामा सुन फलाउन सकिन्छ’– नगर प्रमुख पाण्डेले भने ।

उनले कृषि अर्थतन्त्रलाई मजवुत बनाउनका लागि कोरोना भाइरसको लकडाउन पनि एउटा अवसर भएको उनको भनाई थियो । ‘हामीले मोवाइल र टेलिभिजन बनाएर निर्यात गर्न नसकौँला, तर टिमुर र मालागेडीलाई निर्यात गर्न त सक्छौँ नि ।’– पाण्डे अलि भावुक बने ।

यहाँ रहेका हजारौँ मूल्यवान जडिबुटी भारतमा टनका रुपमा विक्री हुने र उताबाट ग्रामका मूल्यमा आउने अवस्था रहेको स्मरण गर्दै पाण्डेले आफूले थालेको नमुना एग्रो अभियानमा अनुकरणीय भूमिका निर्वाह गर्न पनि उनको सुझाव थियो ।