अन्योलमा एसइईको नतिजा : नतिजा बुझाउने समय बढाइयो

  •   
  •  

गोरक्ष समाचारदाता
दाङ, २१ असार । नेपाल सरकार शिक्षा मन्त्रालयले तोकेको समयभन्दा एक दिन अघि मात्रै एसइईको परीक्षा स्थगित गरेको सरकारले अझैसम्म पनि एसइई नतिजाको समयतालिका दिनसकेको छैन । यो अवस्थाले भविष्यका कर्णाधारहरु विचल्लीमा मात्र होइन तनावमा समेत देखिन थालेका छन् । यो अन्योलताले उनीहरू विसंगतिमा समेत लाग्न थाल्छन् कि भन्ने आशंका अभिभावकहरूमा देखिनथालेको छ ।
‘लकडाउन भन्दै पुरै चार महिना बित्यो, तर छोराछोरीको शिक्षाको ढोका पनि बन्द हुँदा वेलगामजस्तै बनेका छन्’—तुलसीपुर उपमहानगरपालिकाका अभिभावक राकेश बस्नेतले भने । अनलाइन कक्षाका नाममा केही स्कूलले अभ्यास सुरु गरे पनि राज्यको स्पष्ट नीति र सूचना प्रविधिको सहज उपलब्धता नहुँदा समस्या भएको पनि उनको अभिव्यक्ति थियो ।
एसइई परीक्षा हुनुभन्दा एक दिन अघि रात परेपछि कोरोना भाइरस नियन्त्रण उच्च संयन्त्रका प्रमुख समेत रहेको उपप्रधानमन्त्री इश्वर पोख्रेलको निर्देशनमा सरकारले एकाएक एसइई परीक्षा रोकेको थियो । अहिले एसइई परीक्षाका प्राप्ताङ्कको समयसीमा पनि पछि धकेलिएको छ ।
यस अघि नेपाल सरकारले परीक्षा बोर्डलाई असार २० गतेसम्म सम्बन्धित विद्यालयहरुले स्वमूल्याङ्कन गरी जिल्ला शिक्षा विकास ईकाई कार्यालयमा पठाइसक्नुपर्ने निर्देशन जारी गरेको थियो । तर यो निर्देशन अनुरुप सम्बन्धित जिल्ला शिक्षा कार्यालयहरुले केन्द्रीय ईकाईलाई यथार्थ अवस्थाको जानकारी दिन नसक्ने भएपछि समयतालिका फेरि पछि सारिएको जिल्ला शिक्षा विकास ईकाईका प्रमुख देवमणि चौधरीले बताएका छन् ।

समय तालिका ३० गते
असार ३० गतेसम्म सबै विद्यालयहरूलाई नतिजा उपलब्ध गराउने भनिएकोमा यो अवधि बढाएर असार ३० गते पु¥याइएको छ । दाङ जिल्लाका निजी तथा सामुदायिक विद्यालयहरुमध्ये अधिकांशले तोकिएको समयमा सम्बन्धित विद्यालयको नतिजा बुझाएका थिए । कसैले हार्डकपीमा त कसैले पेनड्राइभमा समेत लगेर फाइल बुझाएका थिए । तर केन्द्रीय निकायले भने तोकिएको समयमा काम गर्न नसकेपछि समयसिमा फेरि पछाडि धकेलेको छ । यो अवस्थाले विद्यार्थी र अभिभावकहरु पनि तनावमा रहेका छन् ।
‘कार्यालयले तोकेको समयमा सबै विद्यार्थीहरुको प्राप्ताङ्क बुझाई सकिएको छ, हार्डकपीले नमानेर पेनड्राइभमा समेत फाइल लिएर जिल्ला शिक्षा तथा समन्वय ईकाईमा फाइल बुझाएका छौँ, तर नतिजा अन्योलमै राख्नु दुर्भाग्य हो’—तुलसीपुरका एक निजी विद्यालयका प्राचार्यले भने । एसइई परीक्षार्थीको नतिजा प्रकाशनमै बोर्डरलाइन तोक्नु सरकारको गलत रवैया भएको पनि निजी तथा सामुदायिक विद्यालय संगठनहरुले जनाएका छन् । तोकिएको समयमा परीक्षाको परिणाम नै आउन नसक्ने अवस्थामा विद्यार्थीहरुलाई चाहना अनुसारको गन्तव्यमा पठाउन समेत समस्या भएको अभिभावकहरूको भनाई छ ।

स्थायी क्वारेन्टाइनको परिकल्पना गरिएन
एसइईको नतिजा प्रकाशनका सवालमा पनि सामुदायिक विद्यालयहरुले विद्यालयमा क्वारेन्टाइन राखिँदा समस्या भएको दबाब दिइएकाले परीक्षाको नतिजाको बोर्डरलाइन सारिएको सरकारले जनाएको छ । यद्यपि यहाँका कुनै पनि पालिकाले स्थायी क्वारेन्टाइनका लागि उपयुक्त स्थान विद्यालय वाहेक केही प्रस्ताव गरेका छैनन् । स्थानीय सरकारको नीति र कार्यक्रममा पनि स्थायी क्वारेन्टाइनको परिकल्पना पनि गरिएको छैन ।
स्थानीय सरकारले सम्बन्धित विद्यालयमा राखिएको क्वारेन्टाइनलाई विस्थापन गर्ने नीति नल्याएसम्म विद्यालयका शैक्षिक मात्र होइन प्रशासनिक गतिविधिहरु समेत ठप्प भएका छन् । ‘हामीले एक चरणका लागि विद्यालयलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्न दिएका हौँ, तर सधैँभरि विद्यालयमा क्वारेन्टाइन बसोस् भन्ने हाम्रो चाहना होइन’—जनता संस्कृत मावि बिजौरीका प्राचार्य टीका पाख्रेलले भने । स्थायी क्वारेन्टाइनका लागि स्थानीय सरकारले भिन्नै स्थान खोज्नुपर्ने पनि उनको सुझाव थियो । उनको जस्तै अभिव्यक्ति जिल्लाका अन्य सामुदायिक विद्यालयका पदाधिकारीहरुले दिइरहेका छन् । तर नेपाल सरकार शिक्षा मन्त्रालयले यो विषयमा कुनै पनि सम्बोधन गरेको छैन । एउटा सामुदायिक विद्यालयमा क्वारेन्टाइन चलिरहँदा विद्यार्थीको मूल्याङ्कन वितरण कसरी पठाउन सकिन्छ भन्ने विद्यालयका अधिकारीको आवाजलाई सरकारले सम्बोधन गर्नसकेको छैन ।
‘गन्तव्यविहीन र बाटो विराएको जस्तै सरकार हो यो, तोकिएको समयमा परीक्षाको नतिजासम्म पनि प्रकाशन गर्न नसक्नु र थप समयलाई पनि म्याद थप्दै जानुले सरकार निकम्मा भइसकेको छ’—तुलसीपुर उपमहानगपालिका—१७ का अभिभावक रामकुमार रिजालले भने । संकटको समयमा एक छाक भोकै बस्न आफू तयार रहेको बताउँदै रिजालले शिक्षा क्षेत्रमा कोरोना क्याम्प राख्न नहुने पनि बताए ।
हाम्रो कमजोरी होइन ः निजी विद्यालय संगठन
यसैबीच आफू मातहतका सबै विद्यालयहरुले जिल्ला शिक्षा समन्वय ईकाईमा नतिजा पठाइसकेको एनप्याब्सनले जनाएको छ । प्याब्सन र एनप्याब्सन दुवैले एसइईको प्राप्ताङ्क पठाइसकेका छन् । हार्डकपी र सफ्टकपी पनि पठाइसकेको अवस्थामा नतिजा प्रकाशनका लागि फेरि बोर्डर टाइम थपिनु दुर्भाग्य भएको पनि एनप्याव्सनका दाङ अध्यक्ष बिमल गौतमले बताए । यसैगरी एनप्याब्सनका मातहतका विद्यालयहरुले पनि एसइईको नतिजा जिल्ला शिक्षा समन्वय ईकाईमा बुझाइसकेको अवस्थामा फेरि समयसीमा बढाइएको हो, आफूलाई जानकारी नभएको पनि गौतमको भनाई थियो ।
यसैगरी निजी विद्यालयहरुको संगठन प्याब्सनले पनि निजी विद्यालयहरुले सबै विद्यार्थीहरुको प्राप्ताङ्क पठाइसकेको जनाएको छ । तर जिल्ला शिक्षा विकास ईकाईले भने जिल्लाभरको एकीन तथ्याङ्क अझै प्राप्त नभइसकेको जनाएको छ । सरकारी निकायको यो अवस्थाले नीति एकतिर, विद्यार्थीहरु अर्कोतिर र सरकारी कर्मचारीहरुलाई समेत अन्योल भएको छ । ‘किन थपियो बोर्डरलाइन ? हामीले यही उत्तर चाहिरहेका छौँ’– शिक्षासेवी एवं शिक्षा मन्त्रालयका पूर्व सहसचिव विष्णुकुमार देवकोटाले प्रश्न सोधिरहेका थिए, ‘कहिले आउला एसइईको नतिजा ?’