कथा : दलबहादुर सर
पुष्पा शर्मा
आज दलबहादुर निकै खुशी देखिन्छन् । उनी बाह्र वर्षपछि आफ्नै पुरानो थलो घलेगाउँ फर्केका छन् । जातभात र छुवाछूतले जकडिएको गाउँमा हिजोको सेते दमाईको छोरो दले आज आफ्नो आमाबाको सपना पूरा गर्न दलबहादर बनेर आएका छन् । आफैँले पढेको विद्यालयमा हेडसर नियुक्त हुन पाएकोमा निकै गौरव ठानेका छन् ।
आर्थिक अवस्था कमजोर त्यसमा पनि तल्लो जात भएकै कारणले दलेले सानोमा निकै कष्ट सहनुपरेको थियो । दलेका बाआमा घलेगाउँमा आफ्नो पुख्र्यौली पेशा गरी आफ्नो गुजारा गरिरहेका थिए । उनीहरुको विवाह भएको १२ वर्षपछि मात्र दले जन्मिएको थियो । दलेको जन्मपछि उनीहरुको खुशीको सीमा रहेन ।
दिन बित्दै गयो दले पनि दिन प्रतिदिन ठूलो हुँदै गयो । हेर्दाहेर्दै विद्यालयमा भर्ना हुने दिन आयो । एकदिन आफ्नो छोरो दलेलाई बोलाउँदै बुबा सेतेले भने ‘दले ! ए दले ! यहाँ आइज त बाबु !’
‘किन बोलाउनुभएको बुबा ?’ भन्दै दले दौड्दै छेउमा आइपुग्यो ।
‘हिँड जाआँै स्कूल । अब पढ्नुपर्छ ।’ भन्दै छोरालाई पछि लगाएर सेते विद्यालयमा छोरोको भर्ना गर्न पुग्यो । दले सानैदेखि निकै बुद्धिमान् थियो । हेडसरले प्रश्न गर्नुभयो – ‘दले तिमी स्कूल किन आको ?’
दलेले जवाफ दियो– ‘पढ्न ।’
हेडसरले फेरि सोध्नुभयो ‘दले ! तिमी पढेर के बन्ने ?’ दलेले जवाफ दियो – ‘मास्टर बन्ने ।’
हेडसर खुशी हुनुभयो दलेको अठोट देखेर ।
सेतेका बुढाबूढी दुःखजिलो गरेरै भए पनि आफ्नो सन्तानलाई पढाउन निकै उत्साहित देखिन्थे । दले पनि निकै मिहिनेती र मिजासिलो थियो । पढाईमा अब्बल भएकोले गुरुहरुले पनि उसलाई निकै माया गर्नुहुन्थ्यो । साथीहरुले भने उसलाई तल्लो जातको भनेर हेप्ने, जिस्काउने गर्थे । त्यसमध्ये उसको एउटा असल र मिल्ने सहयोगी साथी रामु थियो ।
रामुले कहिल्यै पनि हेपेन दलेलाई ।
दिनहरु बितिरहेका थिए । दले राम्रोसँग पढिरहेको थियो । ऊ ६ कक्षामा पढ्ने भइसकेको थियो । दैवको लिलाको अगाडि कसको के लाग्छ र ? एकदिन दिउँसो दले चौतारीमा बसेर पढिरहेको थियो । त्यही समयमा अचानक ठूलो पानी प¥यो । नजिकैको खोलामा बाढी आयो । दले न त त्यस ठाउँबाट जान सक्यो न त चुपचाप बस्न नै । आमाबाको चिन्ताले खाइरहेकै थियो । त्यसैबेला एकाएक घरहरुसमेत बाढीले बगाएको देख्यो । यसरी आफ्ना आँखा अगाडि उसका बाआमालगायत घर पनि बाढीमै बिलाए । अब दले टुहुरो त भयो नै त्यसका अलावा उसँग बस्ने बास र खाने गास पनि रहेन ।
केही दिन त स्कूलका सरहरुले र उसको मिल्ने साथी रामुले सहयोग गरे । खाने र स्कूलमा बस्ने व्यवस्था भयो, तर सधैँका लागि सम्भव थिएन । एक दिन सरहरुको सल्लाहले दले आफ्नो जन्म थलो छाडेर सहर जाने निधो ग¥यो । जानेबेलामा आफ्नो मिल्ने साथी रामुसँग भेटेर एकअर्कालाई नबिर्सने वाचा गर्दै दले गाउँबाट आझेल प¥यो ।
सहरजस्तो ठाउँ न कोही चिनेका छन्, न कतै बस्ने ठाउँ नै छ । दले दुई÷चार कामका लागि निकै भौँतारियो । खानाको लागि हार गुहार ग¥यो, तर यो मानवता नभएको सहरमा उसको कुरा सुन्ने कोही थिएन । एकदिन बिहानै एउटा पाटीमा बसेर दले आफ्नो भाग्य सम्झँदै रोइरहेको थियो । त्यसैबेला एकजना भलाद्मी बृद्धले उसको नजिक आएर सोधे – ‘तिमी को हौ ? किन यसरी रोएर बसेको ? अनि तिम्रा आमाबा खोई ?’
दले झन् भक्कानिएर रुन थाल्यो । केही क्षणमा आफ्नो आँसु पुछ्दै आफ्नो व्यथा सुनायो । दलेको कुरा सुनेर बृद्ध भलाद्मीको मन पग्ल्यो । ती भलाद्मीका छोराछोरी सबै विदेशमा बस्दारहेछन् । बुढा र बूढी एकअर्काका सहारा भएर बसेका रहेछन् । यसो दुःख, विरामी हुँदा औषधि, पानी लिन दौड्ने मान्छे कोही पनि थिएन । ती सबै अवस्थाले दलेलाई आफूसँग लाने सोचेर सोध्छन् –‘तिमी मसँग जान्छौ त ? अलि–अलि सकेको घर, घरबाहिरको काम गर्नुपर्छ, तिम्रो इच्छाअनुसार पढ्न पाउँछौ ।’
दलेलाई के खोज्छस् कानो आँखो भनेझैँ भयो । त्यस्तो कुरा सुनेपछि दलेलाई त ढुङ्गा खोज्दा देवता भेटेझैँ भयो र ऊ खुशी भएर ती भलाद्मीका साथमा गयो ।
दले घरमा आएदेखि बुढाबूढी निकै खुशी देखिन्थे । दले पनि माया, सहारा पाएर परेको सबै काम खुशी–खुशी गथ्र्याे । सहरको विद्यालयमा पनि ऊ निकै मिहिनेत र लगनशील भएर पढ्दै गयो । एसइई पनि राम्रो अङ्क ल्याएर पास ग¥यो । कलेजमा छात्रवृत्तिमा नाम निकाल्न सफल भई दलेको परिश्रमले बीए पास ग¥यो । पढाईलाई स्थगित गरी जागिरको लागि आयोग लड्ने सोचेर तयारी गर्न थाल्यो । तयारी गर्दा दुई पटकसम्म ऊ सफल हुन सकेन तर पनि हार नमानी निरन्तर लागिरह्यो । तेस्रोपटकमा ऊ सफल पनि भयो ।
‘आज मेरो अन्तर्वार्ता छ, मलाई आशीर्वाद दिनुहोस्’ भनेर भलाद्मी बुढाबूढी छेउमा गयो । उनीहरु पनि आफ्नो सानो सहयोगले आज दलेको जिन्दगी सुखी भएको देख्न पाउँदा धेरै खुशी भए । उसलाई सधैँ यसरी प्रगति गर्दै जाने आशीर्वाद दिए ।
अन्तर्वार्ताको नतिजा आउने दिन दलेको खुट्टा भूइँमै थिएन । आज फेरि लामो समयपछि ऊ खुशीको आँसु रोएको छ । भोलि नै ऊ आफ्नो कार्य क्षेत्रमा जानुपर्ने हुन्छ । संयोगले त्यो कार्यक्षेत्र आफ्नै घलेगाउँको विद्यालयमा परेछ । अब आजसम्म सहारा दिएका बाआमासरहका व्यक्तिलाई छाडेर जान उसको मन मानिरहेको छैन तै पनि जानु त छँदैछ ।
एकाबिहानै दले हातमा झोला लिएर आफ्नै गाउँ फर्कन्छ । बाल्यकालका एकएक घटना आँखा अगाडि झल्झली अउन थाल्छ । हिँजोको तल्लो जात भनेर हेपिएको दलबहादुरलाई आज तिनै गाउँलेले सर नमस्कार भनेर सम्मान दिएका छन् । फूल, अविर र मालाले उसको अनुहार ढाकिएको छ । आज आएर दलबहादुरका बाआमाको आत्माले शान्ति पाएको छ, छोरो मास्टर दलबहादुरलाई पाएर ।
