पाण्डवहरू जुवामा सबै सम्पत्ति हारी वनबास
राधेश्याम उपाध्याय
एक दिन दुर्योधनमय दानवले पाण्डवहरुलाई बनाइदिएको भव्य अद्भूत अभूतपूर्ण सभा भवनको चर्चा सुनेर सो हेर्न इन्द्रप्रथपुरी आउँछन् । सभा भवन देख्दैमा भव्य र सुन्दरका साथै विचित्रको पनि थियो । दुर्योधनले कतै पानी रहेछ भनेर कपडा उचाल्थे तर त्यहाँ पानी हुँदैन थियो भने कतै पानी छैन भनेर जाँदा पानीमा चुर्लुम्म झिज्ने गर्दथे । याहाँ केही छैन होला भनी सरासर जाँदा सीसामा ठोकिन्थे भने कतै अवरोध रहेछ भन्ठान्दा पनि केही नहुँदा झस्कन्थे । यस्तो दूर्गति हुँदा पाण्डवतर्फ बसिरहेका व्यक्तिहरु गलल हाँसेर र अन्धाका छोरा अन्धा नै रहेछन् भन्दछन् । सो कुराले उनको मानमर्दन हुन्छ जसले गर्दा दुर्योधनको मनमा ईष्र्या, डाह, विद्रोहको भावना उत्पत्ति हुन्छ । उनी घरमा फर्के पनि उनी चिन्तित र मलिन देखिन्छन् ।
उनले भाई दुशासन र मामा सकुनीलाई आफ्नो मनको व्यथा सुनाउँछन् । युधिष्ठिरको वैभव र कीर्ति देखेर मेरो मन आतिन्छ, एक दिन सबै पृथ्वी पाण्डवको अधीनमा हुनेछ । वैभव र कीर्ति साथ राज्य गर्नेछन् । म निरीह भई बस्न वाध्य हुनेछु । यज्ञमा शिशुपालको मृत्यु हुँदा पनि कोही बोल्न सकेनन् । सबै निरीह भएर मौन बसे । मैले शत्रुको यस्तो चक्चकी र वैभव कसरी घर बसेर हेर्नु ? बरु म सन्यास लिएर जंगल जान्छु भन्न लागे । भाइहरु, मामा र कर्णले निकै सम्झाए । पाण्डवहरु तिम्रा बन्धुवान्धव हुन मिलेर बस्यौ भने फाइदै होला । ती धर्मात्मा छन्, तिम्रो कूभलो चिताउँदैनन् भन्दा पनि मानेनन् र जसरी भए पनि उनीहरुलाई कङ्गाल बनाएर आफूहरु तडकभडकका साथ राजा भएर बस्ने भन्न लागे । मामा सकुनी जो कुटील र कपटी थिए । उनी पासा खेल्न चतुरका सथै छलिया पनि थिए । उनले भने म जुवामा हुने छलका सबै विधिहरु जान्दछु ।
यसबाट शत्रुको सम्पत्ति जितेर खोसेर नङ्गा बनाई वशमा राख्न सकिन्छ । युधिष्ठिरले खेलका छलकपटहरु जान्दैनन् । तर यसका लागि तिमीले महाराजलाई खुशी पारी स्वीकृति लिनु पर्दछ र भीष्म तथा विदुरलाई परिबन्धमा पारी बोल्न दिनु हुँदैन भन्ने प्रस्ताव राख्दछन् । सबै गएर कल, बल, छल तथा सभा भवनमा भएको आफ्नो दूरगति र पाण्डवहरुको स्वीकीर्तिको वर्णन गरेर बाबुलाई वशमा पारी जुवा खेल्नका लागि स्वीकृति लिन्छन् र खेलका लागि जुवा खेल भवनको निर्माण गर्दछन् । पाण्डवहरुलाई जुवा खेल्न आह्वानका लागि विदुरमार्फत निमान्त्रणा गर्दछन् । विदुर, भीष्म, गुरु द्रोण सवैलाई वसमा पारिसकेका हुन्छन् र अरुको सल्लाह कौरवहरु सुन्न नै रुचाउँदैनन् । पाण्डवहरु पनि जुवा खेल्नका लागि हस्तिनापुर आउँछन् र राम्रो सेवा सत्कारको व्यवस्था हुन्छ । युधिष्ठिर र सकुनीको विवाद हुन्छ । विवादै विवादका बीच खेल सुरु हुन्छ । पासा विशेष किसिमका थिए । पासा सकुनीले आफ्ना स्वर्गीय पिताका हड्डीबाट तयार पारेका थिए र ती पासा सकुनीका आज्ञाकारी थिए ।
धर्मकुमारले मणिजडित माला आभूषण प्रशस्त रत्नहरु थापे, कपटीपूर्ण पासाले गर्दा सबै मेरो जित भयो भन्दै सोहे्र । पाण्डवहरुले सबै सम्पत्ति हारे । विदुरलाई यो सैह्य भइरहेको थिएन । जुवा खेल दुवैका लागि फाइदाजनक नभएकाले रोक्नका लागि नीतिगत कुराबाट सम्झाउँछन् तर राजाले सम्झन नै चाहँदैनन् । किनकि उनी पुत्रमोहमा परिसकेका हुन्छन् । दुर्योधनले विदुरको बेइजत गर्दछन् । तिम्रो सल्लाह हामीलाई चाहिँदैन, चाहँदा नचाहँदै पनि तिमी किन सल्लाह दिइरहन्छौ । सक्छौ भने नूनको सोझो गर सक्दैनौ घरमा गएर बस, जुन थालीमा खान्छौ उसैमा छेद गर्दछौ, तिमीलाई अलिकति पनि शर्म तथा राजाको डर छैन भनी अपमानजनक कुरा भन्दछन् । सञ्जयले यसरी निकै सम्झाउँदा पनि उल्टै दुव्र्यवहार र अपमान सहेर बस्नुप¥यो । युधिष्ठिरले सबै राज्य वैभव छलमा हारे । द्रौपदीका पाँचै भाइ छोरा थापे त्यो पनि हारे । सहदेवलाई थापे त्यो पनि हारे क्रमशः नकुल, अर्जुन, भीम र अन्तमा आफू थापिए त्यो पनि हारे र अन्तमा पाञ्चालीलाइ थापे त्यो पनि हारे ।
पासा नै कपटी थिए, यो कुरा पाण्डवहरुले बुझ्न सकेनन् । पाञ्चालीलाई दासी भनेर बेइजती गर्ने मनसायले सभामा बोलाउन आदेश दिन्छन् । विदुरलाई असैह्य हुन्छ उनले आफ्नो बेइजतीको प्रवाह गर्दैनन् र भन्छन् हे मूर्ख दुर्योधन यो कूल नाश हुने समयको सूचक हो । यो धुुर्त खेल होइन यो वंश नाश हुने खेल हो । यसमा जालझेल तथा अनीति भइरहेको छ, यसबाट कूलको नाश हुनेछ । पाण्डवले भाइ र आफूलाई समेत जुवामा हारिसकेपछि हारेको दास व्यक्तिले पाञ्चालीलाई जुवामा थाप्न पाउँदैन अर्को पाञ्चाली पाँच भाइकी पत्नी हुन युधिष्ठिरले मात्र पनि जुवामा थाप्न पाउँदैनन् यो नीति विरुद्ध छ । अब अति नगर अति गरे खति हुन्छ भनी निकै सम्झाउँछन् तर दुर्योधन विजयमा उन्मत्त थियो । सबै औपचारिकताका सीमा नाघेर दूतलाई द्रौपदीलाई लिन पठाए । दूत गएर सबै कुरा जनाए, सभामा बोलाउँछन हिड्नुहोस् भन्छ । दूतसँग पाञ्चाली आउँदिनन् । दुर्योधनको आदेशमा दुशासनले द्रौपदीको चुल्ठो पकडेर लतार्दै ल्याउँछ । द्रौपदीले पहिला आफू हारेर मलाई हार्नुभयो कि मलाई हारेर आफू हारिनुभयो भनि सोध्छिन् । सबै सभासदहरुले घोसे मुन्टो लगाई केही बोल्दैनन् । भीष्म बोल्छन् तर उनी पनि प्रष्ट कुरा राख्न सक्दैनन् । दुर्योधनको एउटा भाइ विकर्णले पनि दुर्योधनहरुको विरोध गर्दछ । द्रौपदी पाँच भाइकी पत्नी हुन् भने एक भाइले हार्दैमा कसरी हारिइन् त्यसैले द्रौपदी दासी हुदैनिन् भन्दा कर्णले उसलाई तिमी बच्चा छौ चुप लाग भनेर बोल्न दिएनन् । दुर्योधन बोल्दै गयो हे दुसासन दासदासीहरुको लुगा फुकाल भन्दा पाण्डवहरु पाँचै भाइले आफ्ना राजर्षी कपडा आफै खोलेर राखिदिन्छन् । द्रौपदीको कपडा दुष्ट दुःसासनले तान्न थाल्यो ।
कोही केही बोल्न सकेनन् । द्रौपदी एक छिन केही नबोली रुन थालिन् र श्रीकृष्णको पुकारा गर्न थालिन् । भगवान् श्रीकृष्ण गोप्य रुपमा आएर अम्बरावतारको रुपमा सुन्दर वश्त्रद्वारा द्रौपदीको लाज छोप्न लागे । दुशासन द्रौपदीको साडी तान्दा तान्दै थकित भयो तर निरवश्त्र गर्न सकेन । साडीको थुप्रो पहाड जत्रो भयो । द्रौपदीको यस्तो अवस्था देखेर भीम क्रोधित भए । दुष्ट दुशासनलाई युद्धमा मारेर रगत पिउनेछु भन्ने प्रण गरे । यही मैकामा द्रैपदीले पनि यो मेरो केश कपाल दुशानको रगतले नुहाएर मात्र बाँध्नेछु अन्यथा खुल्ला रहनेछ भन्ने प्रण गर्दछिन् । सबै कौरव डराए । कर्ण अझ बोल्दै थियो । हे दुशासन ! अब पाँच भाइ पाण्डवले मिलेर राखेझै पाञ्चालीलाई तिमी सय भाइहरुले पनि मिलाएर पत्नी बनाएर राख्नु भन्दछन् । दुर्योधनले सुरो हुँदै हाँस्दै द्रौपदीलाई दुवै जाङ देखाउँदै हे दासी यहाँ आएर बस भनेर भन्दछन् । भीम क्रोधित भएर युद्धमा तेरो जाङ भाँचेर मार्नेछु भनी प्रण गर्दछन् । विदुरले अब कुलको नाश हुने भयो भनेर राजालाई निकै सम्झाए र राजाले द्रौपदीलाई बोलाएर सम्झाए । के माग्छौ माग भनेर भन्दा द्रौपदीले सम्पूर्ण हारेको सपत्ति, राज्य फिर्ता र पतिहरुको दासत्वबाट मुक्ति मागिन । धृतराष्ट्रले युधिष्ठिरलाई नीतिपूर्वक सम्झाए र सबै हारेको सम्पत्ति, राज्य तथा दासत्वबाट समेत मुक्त गरिदिए । पाँचै भाइ तथा द्रौपदी इन्द्रप्रस्थ फर्किए ।
तर कौरवहरुलाई यो सैह्य भएन र पुनः पाण्डवहरुलाई बोलाएर पहिले नै जसले जुवा हार्दछ उसले बाह्र वर्ष बनवास र एक वर्ष गुप्तबास बसेपछि राज्य तथा सम्पत्ति फिर्ता पाउने गुप्तबासको थाहा लागेमा पुनः बाह्र वर्ष वनबास र एक वर्ष गुप्तबास दोहरिने शर्तमा जुवा खेल्न बसे । चारै भाइ भीष्म, द्रोण, कृप, विदुर सबैले जुवा नखेल भनेर निकै सम्झाए तर दैवको लीला । जुवा खेल्न बसे । सकुनीका पासा कपटी थिए पुनः सबै सम्पत्ति राजपाठ हारे र आफ्नो राजर्षी लुगाहरु उतारेर कृष्णमृगचर्म धारण गरी वन जान तयार भए । कर्णले निकै व्यङ्ग्यवाण प्रहार गरे, अर्जुनले युद्धमा तँलाई मार्नेछु भन्ने प्रण गरे । सहदेवले सकुनीलाई मार्ने प्रतिज्ञा गरे । विदुरजी कुन्तीलाई लिएर पाण्डवहरुलाई भेट्न आए । पाँच पाण्डवसँग भेट गरी बिदा भई कुन्तीलाई विदुरले आफ्ना घर लगि बसाए । धृतराष्ट्र भविष्यको कल्पना गरी डराए । कौरवहरु खुशी भए ।
वनतर्फ जाँदा क्रोध गरेर हेर्दा संसार जलेर भष्म होला भनेर युधिष्ठिरले आफ्नो मुख छोपेर गए । आफ्नै बन्धुहरु भए पनि धृतराष्ट्रका सय भाइ छोरालाई एक–एक गरी युद्धमा मार्नेछु भनी भीमले आफ्नो बाहुबलमा भरोषा गर्दै आफ्ना पाखुरा हेर्दै युधिष्ठिरका पछि लागे । युद्धमा बालुवा छरेझैँ वाणको वर्षा गरेर शत्रुको नाश गर्नेछु भनी अर्जुनले बालुवा छर्दै वनतर्फ लागे भने माद्रीकाका दुई भाइले हामीलाई कसैले नचिनून् भनी शरीरमा माटो पोतेर वनतर्फ लगे । द्रौपदीले आफ्नो केश खुल्ला छोडेर हिडिन् । सबै नगरवासी पाँच पण्डवका पछि लागेर वन जान लागे । यो थाहा पाएर युधिष्ठिरले नीतिपूर्वक सवै नगरवासीलाई सम्झाएर घरतर्फ फर्काए र आफूहरु आफ्ना कूलगुरु धौम्यका साथ वनतर्फ लागे ।
क्रमशः …
