अँध्यारो यात्रा
तल्लो जीवन उपन्यास अंश
यम रेग्मी
जब गोइँठे फुपूको घर गयो । यता काली सर्केनीको रातमा निद्रा हरायो । कहिले पतिवियोगको पीडाले पोल्थ्यो त कहिले ऋणले घाटी कस्न आउँथ्यो । कहिले छोराको भविष्यले छाति कोपथ्र्यो । रातभरि मन विरक्त हुन्थ्यो । टाउको भारी हुन्थ्यो, सय केजीको फलामको ढकझैँ । आँखा अनायासै रसाउँथे, विगतको स्मृतिमा । मान्छे अगाडि हिड्न डरायो भने पछाडि कोही आएको छ कि भन्दै फर्कि–फर्कि हेर्छ । काली वर्तमानदेखि डराउँथी । पटक–पटक विगततिर नियाल्थी ।
रातको तेस्रो प्रहर हुँदो हो । काली अर्धचेत निद्रामा थिई । भर्खर आँखा लोलाउन थालेका थिए ।
ढ्वाक ! ढ्वाक !! ढ्याक !!! बाहिरबाट ढोकाको आवाज अर्धचेत अवस्थामा कानमा छि¥यो, उसको ।
‘को हो हँ ? यो रातिमा ढोका हान्ने ?’ काली जुरुक्क उठी र ओछ्यानैबाट कराई ।
‘बैनी ! ए बैनी ! चाँडो ढोका खोल त ? रोल्पाल्नी बाहिरबाटै आत्तिएरै बोली ।
रोल्पाबाट केही वर्ष पहिले दाङ झरेकी थिई, ऊ । उसको वास्तविक नाम के थियो ? त्यो गाउँले कसैलाई थाहा थिएन । यही नामले परिचित थिई ऊ, छिमेकमा । ऊ रोल्पाबाट रोल्पाल्नी भएकी थिई ।
कालीले आवाजबाटै चिनी रोल्पानीलाई । जुरुक्क उठी खाटबाट । माथि सरेको शरीरको कपडा तल झारी । हतार–हतार ढोका खोली । बोली ‘के भयो दिदी ? यो रातिमा तिम्लाई ?’
रोल्पाल्नी हावामा बाँस हल्लिएझैँ हल्लिएको थिई हतास र डरले । ऊ आत्तिएर सासैबाट बोली–‘ब…ब.. बाबु । मेरो छोरो ।’
‘के भयो तिम्रो छोरालाई ?’ काली डराई ।
‘हेर न बैनी ! छोरोले रातभर वाकेर र छेरेर मर्न लाग्यो । अहिले त झन फुर्सा आँखा पल्टाइसक्यो । के गर्ने होला ? पासमा एक पैसा छैन, अस्पताल जाउँ भने ।’ बोल्दाबोल्दै उसलाई भनभनी रिँगटा लाग्यो । थचक्क भूइँमा बसी । एउटा हातका औँलाले अनुहार छोपी । अर्को हातले चुन्नीको सप्कोले आँखा पुच्दै सुक्क सुक्क गर्न थाली ।
‘बच्चा खोई तो ?’ काली आश्चार्य मान्दै ठूलो स्वरमा बोली ।
‘घरमै छ बैनी । उचालेर ल्याऊन लागे । हात लुला भए, सकेन । घरमै छोडेर तिम्लाई लिन दगुरे । म त वर्वाद भएँ बैनी । एउटा छोरो थियो बाच्ने आधार । त्यो पनि’ आवाज निकालेर रुन थाली ।
‘कस्ती लाटी हौ त तिमी पनि ? एक्लै विरामी भाको बच्चालाई कोही छोड्छ घरमा ?’ काली भित्र छिरी । फरक्क फकिई । नाङ्गा खुट्टै अघि–अघि सुन्पुरबाट वनखेततिर दगुरी । पछि–पछि रोल्पाल्र्नी दगुरी ।
काली जब बच्चालाई देखी । उसको सारा होस उड्यो । बच्चाले हातखुट्टा ल¥याङ–लुरुङ पारेको, सेता आँखा पल्टाएको, छातिमा ढुकढुकी मात्र थियो ।
काली बच्चालाई छातिमा टाँस्दै बोली–‘छिटो लैजाऊ, यसलाई घोराही । बच्चा सिकिस्त छ । जे पनि हुन सक्छ । कहीँ नदेखाएर दीपज्योति अस्पतालमै लग । त्यहाँ राम्रा डाक्टर छन् ।’
रोल्पाल्नी छोरो मरेझैँ ठूलो आवाज निकालेर रुन थाली । छोराको पीरले ।
‘नरोऊ ? रोएर निको हुन्छ र ? केही हुन्न ? बर्कोले पछाडि बोकेर हिडिहाल ।’ काली बर्को खोज्दै बोली ।
‘अस्पताल जाने एक रुपे छैन बैनी’ ठूलो आवाजमा रुन थाली रोल्पाल्नी ।
‘कत्ति पनि छैन ?’ काली कालो मुख लगाएर प्रश्न गरी ।
‘छैन । फुटेको पैसा छैन । पैसा नभएर अस्ति खाने एक बोरा चामल समेत बेचे । औषधि ल्याए रामपुरबाट । सबै सकियो । एक रुपैयाँ बचेन । सापटी माग्दा गाउँभर कसैले पनि दिन्नन् । छोरो पनि छोडेर जान लायो ।’ छोराको अनुहार रुवाई मिश्रित आवाज बोली ।
‘नरोऊ । मसँग छ दुई हजार । यस्तै बेला काम लाग्छ भन्दै राखेको थिएँ । जोगाई–जोगाई । चाँडै तयार हौ ? यही पैसा लग ।’ काली हातमा पैसा राखिदिई ।
रोल्पानीका हर्षका आँसु भरे । कालीको गुण सम्झेर । मनमा आशाको नयाँ अँकुरा पलायो । देवकोटाका यी दुई पंक्ति । झल्यास मनमा आए ।
‘क्षत्रीको छोरो यो पाउ छुन्छ घिनले छुँदैन
मानिस ठूलो डिललले हुन्छ जातले हुँदैन ।’
बर्कोले बिरामी छोरो पछाडि बोकी । घोराहीतिर बाटो लागी । ऊसँग बाटो हेरेको रहेछ क्यारे पानीले पनि । पानी दर्कन थाल्यो । तर केहीको वास्ता थिएन, उसलाई । रुझ्दै लमक–लमक हस्पिटलतिर हिडिरही ।
सिस्नेखोला पुगेकी के थिई । खुट्टा टक्क अडिए, एक्कासी बे्रक लागेको गाडीझैँ । खोलाले उग्र रूप देखाएको थियो । उताका गाडी यतै ठप्प, उताका गाडी उतै ठप्प । दुईतिर मानिसको मेला ।
खोलाको भेललाई हेरी । मन अमीलो भयो । खुइइइई लामो सुस्केरा हाली । पानी झन दर्कंदै थियो । खोलामा भेल बढ्दै थियो । छोरालाई पछाडिबाट अगाडि सारी । बर्को पञ्छाएर पुलुल्क मुख हेरी । मुखबाट सेतो फिँज छोडेको थियो छोराले ।
ला ! अब गर्ने के ? ठूलो धर्म संकटमा परी । यतातिर छोराको ढुकढुक सेलाउँदै छ । अर्कोतिर खोलाको भेल बढ्दै छ । छोराको मुख पुलुक्क हेरी । मरे पनि मर्छु भनी । सुरुवाललाई घुडाभन्दा माथि सारी । झ्वाम उर्लिरहेको भेलमा पसी ।
एउटा मान्छे च्याप्प हात समाए र अगाडि बढ्न दिएन । चर्को स्वरमा हात छोड भनी । ऊ डरायो । हात छोड्यो । ऊ अगाडि बढी ।
वारीका र पारीका मान्छेले हात उठाए र चर्को स्वरमा बोले–‘ए बौलानी ! उर्लंदो भेलमा नपस, आफू मात्र मरे पनि काखको बच्चालाई नमार ? राम ! राम !! राम !!! आज बौलानी आफै पनि मर्ने भई, बच्चालाई पनि मार्ने भई ।’
उसले कसैको वास्ता गरिन । जब उसले सहज रुपमा खोला तरी । दुईतिरबाट तररररर ताली बज्यो । खेलाडीले गोल गरेझैँ । केही अघि गाली गर्नेहरूले प्रशंसा गर्न थाले । केही पुरुष हारेको कुकुरझैँ शिर निहुराएर सडकको छेउतिर लागे ।
उसलाई कसैको मतलव थिएन । सरासर अघि बढी । केही समयमा नै अस्पताल पुगी ।
डाक्टर हस्पिटलमै रहेछन् । मान्छेको भीडभाड थिएन । पालो कुर्नु परेन ।
डाक्टरले बच्चाको ज्वरो नापे । मुटुको ढड्कन नापे । आँखाको परेला तानी तानी हेरे । विरामीको पर्चामा लेख्दै बोले –‘बच्चाको अवस्था क्रिटिकल छ, जे पनि हुन सक्छ । हस्पितल ल्याउन ढिलो गर्नुभयो । जे–जे चेक गर्नुपर्छ पर्चामा लेखिदिएको छु । काउण्टरमा जानुहोस् । पैसा जम्मा गर्नुहोस् । बच्चाको ब्लड दिनुहोस् र इमरजेन्सीमा भर्ना गर्नुहोस् । म ६ बजे साँझ आउँछु ।’
आज्ञाकारी शिष्यझैँ डाक्टरले जे–जे भनेका थिए । त्यही गरी । बच्चालाई दिनभरि सलानी दिइयो । समय समयमा औषधि खुवाइयो । तर बीसको उन्नाइस भएन । लगेको पैसा पनि सिद्धियो ।
साँझको ६ बज्यो । निर्धारित समयमा डाक्टर आए । रगतको रिपोर्ट हेरे । पिसाबको हेरे । दिसाको हेरे । एक्सरे हेरे । अरु जे–जे जाच्न भनेका थिए सबैको रिपोर्ट हेरे । पर्चामा केही लेखे । उसको अनुहारमा हेर्दै बोले–‘बच्चा साह्रै कमजोर भएको छ । दुई तीन दिन भर्ना गर्नुपर्छ ।’
भर्नाको कुराले ऊ काली–नीली भई । होस हरायो । शरीरबाट खलखली पसिना आयो । पासमा फुटेको कौडी थिएन । न कसैले उसलाई ऋण नै पताउँथे । डाक्टर अरु विरामीतिर लागे । ऊ विरामी छोरातिर लागी ।
बेडबाट छोरालाई काखमा लिई । केहीबेर छातिमा टाँसी । आँखाबाट बगेका आँसुले छोराको पुरै शिर भिज्यो । छोरालाई अँगालोमा बेसरी कस्दै रुँदै बोली–‘थुक्क ! मेरो जीन्दगी, जीवनभरि अर्कैको लागि हाडछाला घोटेँ, पसिना बगाएँ, अरुको भाग्य बनाएँ, अरुलाई माथि पठाएँ तर आफूले भने छोरो बिरामी हुँदा औषधि गर्ने पैसासम्म पाइन । म तेरो आमा होइन छोरा । काल हुँ काल । आमा भएको भए त बचाउन सक्थेँ तँलाई । सन्तानलाई मृत्युको मुखबाट बचाउन नसक्ने आमा पनि के आमा ? म बाँच्नु धिक्कार छ ।’ ठूलो स्वरले रोई । वरपरका विरामी र बिरामी कुरुवाले मलिन मुख लगाएर उसलाई हेरिरहे ।
केही समय पछि आकाशबाट पानी थामिएझैँ थामिई । चुन्नीले परेलाका रयलपयल आँसु पुछी । घोप्टो परेर भूइँमा चप्पल खोजी र लगाई । बिरामी छोरालाई पछाडि बोकी । बेडको डल्लो परेको तन्ना मिलाई । केही छुट्यो कि भनेर पुलुक्क बेडतिर हेरी । डाक्टरको समीप गई र बोली–‘डाक्टर साप ! म मेरो बच्चालाई घरमा नै लैजान्छु, मरेपछि घरामै मर्छ । मसँग एक रुपैयाँ पनि छैन । भएका पैसा जति सबै सकियो ।’ बोल्दाबोल्दै आवाज रोकियो । आँखा रसाए । चुन्नीको सप्कोले बग्न लागेका आँसु पुछी ।
डाक्टरले एक टकले बच्चा र उसलाई हेरेको हेरै भए । धेरै भावुक बनायो उसको पीडाले । पर्चामा केही लेखिदिँदै भन्यो, ‘ठीक छ, घर लानुहुन्छ भने म के भनु र ?’
फेरि केही बेर घोरिँदै बोले ‘ल ! त्यसो हो भने यी औषधि लगेर खुवाउनु होला ।’ बिरामीको पर्चा मागे । पर्चा औषधि लेखिदिए र हातमा थमाइदिए ।
रोल्पाल्र्नी डाक्टरको हातमा पर्चा फिर्ता दिँदै बोली, ‘यो पर्चा पनि हजुरले नै राख्नुहोस् । चाहिन्न मलाई यो दुई हजारको पर्चासर्चा । यो पर्चाले मेरो छोरो बाँच्ने होइन क्यारे । म औषधि किन्न नसक्नेलाई यो पर्चाको के काम ?’ इमरजेन्सी वार्डबाट बाहिर निस्किई ।
‘ए ! बैनी पख्नुहोस् ?’ डाक्टर भित्रैबाट बोले । ऊ टक्क रोकिई ।
‘ल, मेरो पछि आउनुहोस् ?’ डाक्टर सरासर आफू बिरामी जाँच्ने बार्डतिर लागे । ऊ छोरो बोकेर पछि–पछि लागी ।
एउटी नर्स डाक्टरको प्रतीक्षामा वार्डमै थिई । नर्सलाई पर्चा दिँदै बोले–‘सिस्टर यी औषधि फार्मेसीबाट छिटो ल्याउनुहोस् त ।’
नर्स सरासर गई, भन्या जति औषधि ल्याई । डाक्टरको टेबुलमा राखिदिई ।
डाक्टरले नजिक बोलाए । नजिक गई । डाक्टर औषधिको खाने समय बताउँदै बोले– ‘हेर्नुहोस् औषधि खाने समय कभरमा नै लेखिदिएको छु । यो खैरो कभरको गोली खाली पेटमा विहान एक गोली । साँझ एक गोली ।
यो रातो कभरको गोली विहान, विहान दूधसँग प्रत्येक दिन एक–एक गोली ।
यो पहेँलो कभरको गोली विहानको खाना र साँझको खानपछि एक–एक गोली । पैसा म तिरिदिन्छु, ठीक छ ? लग्नुहोस् औषधि ।’ औषधिको प्लास्टिक हातमा राखिदिए ।
ऊ प्लास्टिकबाट औषधि निकाल्दै बोली ‘खाली पेट खाने औषधि कुन हो रे डाक्टर साप ?’
‘यही हो, हेर्नुस् खैरो रँगको ।’ डाक्टर प्लास्टिकको औषधिलाई औँलाले छुँदै बोले ।
–यो नि ?
–दूधसँग खाने ?
–यो नि ?
–साँझ विहानको खानापछि खाने ?
रोल्पाल्नी हातमा एउटा मात्र औषधि छोपी र बोली–‘मैले खाली पेट खाने औषधि मात्र लग्छु डाक्टर साप । यी औषधिहरू अरु कसैलाई दिनुहोला । धर्म लाग्छ । म लग्दैन ।’
‘किन ?’ डाक्टर छक्क पर्छन् । अनौठो दृष्टिले अनुहारमा हेर्छन् र प्रश्न गर्छन् ।
ऊ जीवनदेखि थाकेको अनुहारले बोली, घरमा अन्नको दानो छैन । निमेक गरेर खाने हो । त्यसमा पनि काम पाउन गाह्रो छ । भएको चामल पनि छोरोको औषधि गर्दागर्दै सकियो । यस्तो विरामी छोरालाई घरमा एक्लै छोडेर काम खोज्न कहाँ जाउँ ? आमा हुँ, मरे मर भन्न मनले सक्दो रहेनछ । साँझ कसैले दया गरेर दे खाने हो नदे भोकै सुत्ने हो । यी औषधि लगेर के काम मलाई ?’ चुन्नीले आँखा पुच्दै कोठाबाट बाहिर निस्किई ।
बाहिर झमक्क रात परिसकेको थियो । बिजुलीको लाइन थिएन । अस्पतालमा उज्यालो भए पनि बाटो पुरै अन्धकार थियो । एकछिनमा ऊ अँध्यारोमा हराई । अँध्यारो जीवन बोकेर । डाक्टर टेबुलमाथिका उसले छोडेका औषधि निकै बेर टोलाएर हेरिरहे । कहिले नदेखेको अनौठो जीवलाई हेरझैँ । क्रमशः
