राजनीति जनतामुखी हुनुपर्छ
विनोद पोख्रेल
२०७६ फागुन १५ गते
आज वीपी कोइरालाले भन्ने गरेको र त्यही प्रभाव परेकोले होला मैले पनि धेरै पटक भनेको लेखेको विषय मनभरि छ । जिम्मेवार राजीति भन्ने शब्द मैले अरु विशेष राजनीतिज्ञहरुले त्यति भनेको थाहा पाएको छैन । जिम्मेवार राजनीति गर्नेहरुले पनि यो कुरालाई सायद भनिरहनुपर्ने सम्झेनन् । तर वीपी कोइरालाले यो कुरो धेरै पटक उठाए । आज नेपालको राजनीतिले एकपल्ट फेरि गैरजिम्मेवार भएको प्रमाणित गर्दै छ ।
हिजोका दिनहरुमा पनि खास गरेर परिवर्तनको सपना देख्ने देखाउनेहरु बढी जिम्मेवार हुन नसकेको परिणाम आज भोगिरहेका छौँ । राजनीतिलाई जादु र आफूलाई जादुगरजस्तो व्याख्या गर्नेहरुले गफमा नेपाललाई स्वीट्जरलैण्ड पनि बनाए । के–के सपना देखाए, त्यसको फेहरिस्त बनाउनतर्फ नलागौँ । के–के भोग्न वाध्य बनाए त्यो मात्रै के हामीलाई डर लागने भइसकेको छ । यहाँ राजनीति जनताको निर्णायक सहभागिताका लागिभन्दा बढी आफ्ना लहड पूरा गर्नका लागि आफ्ना पूर्वधारणाहरु स्थापित गर्नका लागि आफ्ना सोचसँग बाझ्ने शक्ति वा व्यक्तिलाई सक्नुका लागि र जसरी भए पनि आफू सत्तामा चेप्टिनका लागि भयो । सत्तामा पुग्न जनमत माध्यम भयो तर चेप्टिनलाई उचित भन्दा धेरै अनुचित तर गैर जिम्मेवार शैली अति धेरै प्रयोग भयो ।
राजनीतिमा जनताको रुची घटेकोलाई आफ्नो लागि बाटो साफ भएको जस्तो मानियो । त्यसैले यति सानो समयमा अति ठूलो विद्रोह भोग्नुप¥यो भने आम नागरिकले मतलव नै नराख्ने परिवर्तनहरु देशले भोग्नु र धान्नुप¥यो । त्यही परिवर्तनमा रमाउनेहरुका कुरा सुनेर फेरि सपनामै सीमित हुन वाध्य हुनुप¥यो । जिम्मेवारी भनेको ती परिवर्तनले देश र जनतालाई के कति राम्रो प्रभाव पा¥यो वा पारेन त्यसको मूल्यांकन हुनुपर्ने हो । राम्रो प्रभाव पार्न नसकेको परिवर्तन स्वीकार गर्न जनतालाई वाध्य नपारिनुपर्ने हो । जनताका आकांक्षाभन्दा बढी आवश्यकताहरु पूरा गर्नुपर्ने हो । तर एउटा मात्र उदाहरण आजको नेपाल सरकारले जनतालाई पिउने स्वच्छ पानी, शिक्षा वा स्वास्थ्य केको ग्यारेन्टी दिन सकेको छ भनेर प्रश्न गर्ने हो भने मात्रै पनि धेरै कुरा बुझ्न सकिन्छ । जनतालाई पिउने पानी, शिक्षा र स्वास्थ्यजस्ता कुराहरुमा सरकारकोभन्दा प्राइभेट क्षेत्रको बढी प्रभाव पर्ने देशका शासकले आफूलाई कम्युनिष्ट भन्दै छन् यो भन्दा राजनीतिक विडम्बना के हुनसक्छ ? अझ रमाइलो ती प्राइभेट क्षेत्रहरुमा उनीहरुकै प्रत्यक्ष लगानी र स्वार्थ छ भन्ने बुझेपछि थाहा हुन्छ । अरु काम धेरै छन् जसलाई उदाहरणको रुपमा पेश गर्न सकिन्छ । योभन्दा जिम्मेवारविहीन राजनीति कस्तो होला ?
२०७६ फागुन १६ गते
मैले हिजो लेख्दा जे लेख्न सोचेको हुँ, त्यो प्रष्ट पार्न सकेन जस्तो लाग्यो । आज भन्न चाहेको कुरो पहिले नै भनिहाल्छु । विगतका गैरजिम्मेवार राजनीतिको परिणाम आज भोग्दै छौँ । तर पनि हामी कत्ति पनि सचेत भएका छैनौ । कता–कता हेर्दा अझ बढी गैर जिम्मेवार भएको जसतो पनि लाग्छ । यसले हाम्रो राजनीतिक भविष्य अझै जटिल हुने कुरा निश्चित छ । एउटा प्रजातन्त्रवादीले राष्ट्रियतालाई आधार बनाएर राष्ट्र निर्माणमा आम नागरिकलाई सकेसम्म बढी राजनीतिमा चाख जगाउन सक्नुपर्छ । त्यस्तै आम नागरिकलाई जिम्मेवारीबोध गराएर उनीहरु आफ्नो जिम्मेवारी पूरा गर्न परिचालित हुने वातावरण निर्माण गर्न सक्नुपर्छ । जहाँ पुँजी छैन त्यहाँ राष्ट्र निर्माणको स्रोत, साधन र लक्ष्य सबै आम नागरिक नै हुन्छ । अर्को कुरा अरुको देखासिकीमा आफ्नो हैसियत नबुझेर खर्च वा उपभोग गर्नेहरु कहिल्यै उन्नति गर्न सक्दैनन् । यसबाट घरपरिवारका साना विषयहरु समेत प्रभावित छन् भने राष्ट्र पनि यो नियमको विपरित जानसकेको उदाहरण छैन । यो परिवेशलाई स्वीकार गरेर भएकोलाई अझ राम्रो बनाउँदै जानुपर्नेमा आफ्नो नियन्त्रणमा नभएको परिवर्तनमा रमाउनेहरुले जहिले पनि अपरिकल्पित अप्ठेरोमा देशलाई पु¥याउने खतरा रहिरहन्छ । हाम्रो राष्ट्रको वर्तमान भोगाई यही हो । न त परिवर्तन आफ्नो नियन्त्रणमा छ न त त्यसपछिको परिवेश आफ्नो नियन्त्रणमा छ । अझ यसैसँग जोड्नुपर्ने विषय आफू अथवा आफ्नो सानो समूह सत्ताको निर्णायक स्थानमा पुगे, सबै राम्रो भएको अनुभव गर्ने चरित्र कहिल्यै जिम्मेवार चरित्र हुन सक्दैन । राजनीति जनतामुखी नहुँदासम्म यदि त्यो केही समस्याहरुको समाधान खोज्न सफल भयो भने पनि पूर्ण प्रजातान्त्रिक मान्न सकिन्न । यदि राजनीति सत्तामुखी भयो भने त्यसको परिणाम वर्तमान नेपाल हो । अब त कता–कता सप्रिने अवस्था नै नरहेको अनुभूति समेत लाग्न थालेको छ । भ्रष्टाचारका जति काण्ड बाहिर सुनिन थालेका छन् त्यसमध्ये एकचौथायी मात्रै सत्य हो भने पनि देशमा विकास सम्भव छैन । देशको सम्पत्तिको भरमा व्यक्तिले मोज गर्ने हो भने राष्ट्र निर्माणका लक्ष्य पूरा गर्ने सपना देख्नु नै बेकार छ । युवाशक्तिलाई विदेश पठाएर देश बन्दै बन्दैन । म यो विचारमा दृढ छु । सिन्की र धनियाको पात समेतमा आत्मनिर्भर बनाउन वा बन्न नसक्नेले अरु के गर्न सक्छन् भन्ने आश गर्न सकिन्छ । फेरि दोहो¥याउन मन लाग्यो – नेपालजस्तो देशमा पिउने पानीको व्यवस्था गर्न समेत नसक्ने, नचाहनेहरुले त्यो काम समेत प्राइभेट कम्पनीहरुलाई दिनेहरुले के र कस्तो राजनीतिक जिम्मेवारी निभाउन सक्ने अपेक्षा गर्ने ?
