मानिसका पाँच अमूल्य आन्तरिक सम्पत्तिहरू
सुप्रिया मां
मानिसले जन्मिँदै अमूल्य र अथाह आन्तरिक सम्पत्ति लिएर आएको छ । यो संसारमा कोही पनि मानिस भिखारी, विपन्न र कमजोर जन्मिएको छैन । ईश्वरले मानिसलाई सम्पन्न, समृद्ध र अनन्त ऐश्वर्य सहित जन्म दिएका छन् । मानिस बाहिर देखिएको भौतिक शरीर मात्र होइन, नदेखिएको भित्र अभौतिक संसार अनन्त छ । मानिसको दश प्रतिशतभन्दा पनि कम बाहिर देखिएको भौतिक शरीर छ र नब्बे प्रतिशतभन्दा धेरै नदेखिएको भित्रको संसार छ । मानिसका अनन्त सम्भावनाहरु भित्र लुकेका छन् । मानिसले चाहेमा जे पनि बन्न सक्छ र जस्तो पनि हुन सक्छ, त्यो सम्भावना मानिसभित्र छ । यो आन्तरिक सम्पत्तिलाई प्रयोग गरेर भित्रका अनन्त सम्भावनाहरुलाई उजागर गर्न सकिन्छ ।
यो संसारमा जसले आफ्ना आन्तरिक सम्पत्तिहरुलाई, चिन्यो, जान्यो, बुझ्यो र आफ्ना सम्भावनाहरुलाई उजागर गर्यो त्यसले आफ्नो जीवनलाई सफल बनायो । जानेका मानिसहरुले आफ्नो जीवन यसरी नै सफल बनाइरहेका छन् र बनाइरहने छन् । नजानेका मानिसहरुले मात्र दुःख र विपन्नताको जीवन बाँचेका छन् । यस्तो अमूल्य सम्पत्ति र ऐश्वर्य लिएर जन्मिएको मानिस किन भिखारीको जस्तो जीवन बाँचेको हुन्छ ? यो मनन् गर्नुपर्ने कुरा छ । कस्तो प्रकारको अमूल्य आन्तरिक सम्पत्ति हामीभित्र छ र हामीले जन्मिँदै के लिएर आएका छौँ, यो हाम्रो आजको चिन्तनको विषय हो ।
मानिसले आन्तरिक सम्पत्ति जन्मिँदै लिएर आएको हुनाले बालबालिकाहरुमा त्यो प्रशस्त देखिन्छ । तर मानिसको उमेर बढ्दै जाँदा र जीविकोपार्जनका लागि बाहिरको संसारमा फैलिने क्रममा मानिसले विभिन्न परिस्थिति र घटनाहरुको सामना गर्दछ । मानिसले सोचेको भन्दा विपरित परिस्थिति हुन गयो, नराम्रा घटनाहरु भइदियो र यो परिस्थिति र घटनाहरुलाई शाहस, धैर्य र विवेकले सम्हाल्न सकिएन भने मनमा निराशा, बेचैनी, उदासीनता, डर, त्रास, भयजस्ता कुराले ठाउँ बनाउँछ र विस्तारै भित्रको सम्पत्तिहरु दबिँदै जान्छ ।
त्यसैगरी मनमा उठेका क्रोध, द्वेष, ईर्ष्या र प्रतिस्पर्धा जस्ता कुराहरुले पनि मनमा नराम्रो प्रभाव पार्दै जान्छ र विस्तारै यो बाहिरको प्रभावहरुले भित्रका सम्पत्तिहरु दबिँदै जान्छ । यसरी आन्तरिक सम्पत्तिहरु दबिँदै गएपछि विस्तारै मानिस आफूसँग केही पनि नभएको र सबै कुरा बाहिर माग्नुपर्ने एउटा भिखारीजस्तो बन्दछ । मानिस उच्च पद प्रतिष्ठित्, सम्पन्न, समृद्ध र एउटा सम्राट जस्तो जन्मिएको हुन्छ तर आफ्नो अमूल्य सम्पत्तिलाई नचिनेर र त्यस्ता सम्पत्तिहरु दबिएर भिखारी बन्दछ ।
मनिसभित्र रहेका आन्तरिक सम्पत्तिहरु दबिन्छ तर हराउँदैन । त्यो हामीभित्र नै दबिएर रहेको हुन्छ । हामीभित्र रहेको त्यो सम्पत्ति हाम्रो आफ्नो स्वभाव पनि हो । स्वभाव भनेको अनन्तकालदेखि हामीले आफूभित्र सँगै लिएर आएको र त्यो कहिल्यै पनि नहराउने तत्व हो । बाहिरको प्रभाव धेरै हुनगयो भने हाम्रो त्यो स्वभाव विस्तारै दबिँदै जान्छ । बाहिरको प्रभावलाई हटाएर भित्रको स्वभावलाई फेरि उजागर गर्न सकिन्छ । त्यसलाई फेरि उजागर गर्नुपर्छ र हामीले चाहेमा त्यसलाई फेरि उजागर गर्न सकिन्छ, किनकि त्यो हराएको छैन बाहिरको प्रभावले दबिएको मात्र हो । हामीले जन्मिँदै लिएर आएको पाँच प्रकारका आन्तरिक अमूल्य सम्पत्ति के के हुन ?
१. खुशी
खुशी हामीले जन्मिँदै लिएर आएका छौँ र हामी खुशी भएर बाँच्नका लागि बाहिरको कुनै पनि कुरा हामीलाई चाहिँदैन । खुशी हामीभित्रै छ र हामीले चाहेमा अहिले र यहीँ खुशी हुन सकिन्छ । खुशी हुनका लागि भोलि भन्नु पर्दैन र अनन्त खुशी हामीभित्रै भएकोले त्यो जति बाढ्यो त्यति बढ्दै जान्छ । मानिस खुशी हुनका लागि छुट्टै कुनै परिस्थिति र घटना बनिरहनु पर्दैन र कुनै मानसम्मान, पद प्रतिष्ठा र भौतिक समृद्धि पनि भइरहनु पर्दैन । याद गरौँ त हामी सानो हुँदा कति खुशी थियौँ । हामीलाई खुशी हुनका लागि केही पनि चाहिँदैनथ्यो, किनकि खुशी हामीभित्र थियो, उजागर थियो र त्यो कुनै कुराले पनि दबिएको थिएन । साना–साना बालबालिकालाई हेर्दा उनीहरु कति खुशी देखिन्छन् । साना–साना कुराहरुमा पनि कति रमाएका हुन्छन् र उनीहरुलाई खुशी हुन ठूलो कुरा केही पनि चाहिँदैन ।
हामी सानो हुँदा हाम्रो खुशी दबिएको थिएन किनकि बाहिरको प्रभाव हाम्रो मनमा पर्न पाएको थिएन । जीविको पार्जनका लागि व्यवहारमा लाग्नु परेको थिएन । पद, प्रतिष्ठाका लागि प्रतिस्पर्धा गर्नुपरेको थिएन । विभिन्न घटना र विपरित परिस्थितिको सामना गर्नुपरेको थिएन । विस्तारै जीवनमा उत्तरदायित्व थपिँदै गयो । जीवन जीउने क्रममा असफलता, निराशा, बेचैनी, नकारात्मक सोचविचार, भय, त्रासजस्ता कुराहरु बढ्दै गयो । जीवनमा चुनौतीहरु थपिँदै गए । हामीले राम्रोसँग जीवन जीउन नजानेको कारणले हाम्रो मनमा भ्रमको दुःख थपिँदै गयो र हामीभित्र रहेको यो अमूल्य सम्पत्ति खुशी दबिँदै गयो ।
बाहिरको प्रभावलाई हाम्रो विवेक, समज र आध्यात्मिक ज्ञानले हटाएर त्यो खुशीलाई फेरि उजागर गर्न सकिन्छ । खुशीलाई उजागर गर्ने र बढाउनेतिर हाम्रो ध्यान जानु पर्छ । हामी जीवनभरि खुशी भएर, रमाएर बाँच्नका लागि र त्यो खुशीलाई अझै बृद्धि गर्नका लागि यो संसारमा आएका हौँ । हाम्रो जन्म त्यसका लागि भएको हो । जीवनभरि खुशी भएर बाँच्ने हाम्रो जीवनको उद्देश्य हुनु पर्छ । यो खुशी हाम्रो अमूल्य आन्तरिक सम्पत्ति हो, यसलाई बनाइराख्नु पर्छ र त्यसलाई बृद्धि गर्नतिर ध्यान दिनु पर्छ । जसको खुशी दबिएको छ त्यो व्यक्ति जीवनमा सफल हुने सम्भावना रहँदैन । जो व्यक्तिहरु खुशी छन् उनीहरु नै बाहिरको संसारमा पनि सफल, समृद्ध, सम्पन्न र स्वस्थ छन् ।
२.उत्साह
उत्साह भनेको कुनै पनि कार्य गर्न उत्प्रेरित भइरहनु हो । यो उत्साह हामीले लिएरै जन्मिएका छौँ र त्यो हाम्रो आन्तरिक अमूल्य सम्पत्ति हो । उत्साहलाई ऊर्जावान र मनोबल पनि भन्न सकिन्छ । आलस्यको विपरित हो उत्साह । हामीभित्र अनन्त दिब्य ऊर्जा छ । ईश्वरले हामीलाई अनन्त दिव्य ऊर्जा दिएर पठाएका छन् र हामी त्यसलाई लिएर जन्मिएका छौँ । अंग्रेजीमा उत्साहलाई Proactive वा Dynamic पनि भनिन्छ । कुनै पनि सिर्जनाको कार्य गर्दैमा आनन्द लाग्नु हो उत्साह भनेको । जो व्यक्ति आल्छी छैन र कर्म गर्नुमा आनन्द मान्दछ त्यो नै उत्साहले भरिएको व्यक्ति हो । हामीले उत्साहको ऊर्जा लिएरै जन्मिएका छौँ । साना–साना बालबालिकालाई हेर्ने हो भने उनीहरु कुनै पनि कार्यमा कति उत्साहित भएर लागेका हुन्छन् र घण्टौँसम्म थाक्दैनन् पनि । बालबालिकाहरुको कार्य गर्नुको कुनै पनि उद्देश्य हुँदैन र कुनै कामना पनि हुँदैन तर पनि कुनै एउटा कार्यलाई धेरै पल्ट बिगार्ने र बनाउने कार्य गरिरहन्छन् ।
खेल खेल्नमा लागेका बालबालिकाहरु कति उत्साहित हुन्छन् र घण्टौँसम्म थाक्दैनन् पनि । किनकि भित्र अनन्त ऊर्जा छ । बालबालिकाहरुलाई आलस्य हुँदैन र उनीहरुलाई केही गर्नुमा नै आनन्द आएको हुन्छ । किनकि त्यो दिव्य ऊर्जा भित्र छ र त्यसले केही गर्न प्रेरित गरिरहन्छ । प्रकृति निरन्तर नयाँ सिर्जनाको कार्यमा लागिरहेको छ । प्रकृतिमा आलस्य भन्ने कुरा कतै पनि छैन । मानिसले पनि जीवनभरि उत्साहको सम्पत्तिलाई दबिन दिनु हुँदैन र कुनै पनि कार्यमा प्रेरित भएर लागिरहनु पर्छ ।
प्रकृतिमा हेर्ने हो भने सबै आफ्नो कार्यमा निरन्तर लागिरहेका छन् । सूर्यले आज मलाई आलस्य लाग्यो र आज उदाउँदिन भन्दैन । त्यसैगरी हावाले आज आलस्य लाग्यो आज म बग्दिन भन्ने हो भने यो संसारमा के होला ? हामीभित्र धड्किएको मुटुले आज काम गर्दिन मलाई आलस्य लाग्यो भन्ने हो भने हाम्रो के हाल होला ? प्रकृतिमा त्यस्तो हुँदैन किनकि सबैसँग अनन्त ऊर्जा छ र त्यो ऊर्जाले निरन्तर कार्य गर्न प्रेरित गरिरहन्छ ।
मानिसको उत्साह कुनै कारणले दबिँदै गयो भने त्यसलाई फेरि उजागर गर्नुपर्छ । जीवनमा आलस्य किन आयो, उत्साहलाई बनाइराख्न र त्यसलाई बढाउन मैले के गर्ने भनेर त्यतातिर ध्यान दिनुपर्छ । जसको उत्साह हराउँछ वा दबिन्छ त्यो व्यक्ति उमेर नहुँदै बृद्ध भएको हो । उत्साहित व्यक्ति जति उमेर भए पनि त्यो युवा नै हो । जुन कुराले उत्साहलाई दबाउँछ त्यसलार्ई हटाउनु पर्छ ।
भित्र मनबाट आफू प्रेरित हुने कार्य गर्ने, सात्विक र सन्तुलित भोजन लिने, योगाशन र व्यायाम गरेर शरीरलाई स्वस्थ राख्ने, प्राणायाम र ध्यान गरेर मनलाई स्वस्थ राख्ने गर्नुपर्छ र बाहिरको विपरित परिस्थितिले मनोबललाई घट्न दिनु हुँदैन । जो व्यक्ति कुनै पनि कार्य गर्न सधैँ उत्साहित छ त्यो व्यक्ति नै बाहिरको संसारमा पनि सफल, समृद्ध, सम्पन्न र स्वस्थ पनि छ ।
३. उमङ्ग
प्रकृतिमा भइरहेको चमत्कार र सौन्दर्यलाई देखेर हृदय आलादित वा गद्गद् हुनु हो, उमङ्ग भनेको । हृदयमा आहा ! लाग्नु हो उमङ्ग भनेको । यो उमङ्गलाई पनि हामीले जन्मँदै लिएर आएका छौँ । त्यसकारणले बाहिरको प्रकृतिको रमाइलो नदेखिए पनि हाम्रो हृदय आलादित भइरहन्छ र हुनुपर्छ । हृदयमा उमङ्ग हुनु हाम्रो स्वभाव हो र यो हाम्रो आन्तरिक अमूल्य सम्पत्ति हो ।
ईश्वरले प्रकृतिको माध्यमबाट एउटा रमाइलो खेल खेलिरहेको छ । यो खेललाई हेरेर रमाउन हामी यो संसारमा आएका हौँ । प्रकृतिले गरेका सबै कुराहरु चमत्कारले भरिएको छ, अर्थात त्यसलाई हाम्रो बुद्धिले विश्लेषण गर्न सक्दैन । प्रकृतिका सबै कुराहरु कति सौन्दर्यले भरिएको छ । विभिन्न थरिका प्राणीहरु, विभिन्न थरिका वृक्षहरु, फूल र फलहरु, नदी, पहाड, हिमाल यो सबै कुराहरुले हृदयमा आलादित गराउँछ । कुनै पनि कुरा रमाइलो लाग्दैन वा आहा ! लाग्दैन भने हाम्रो उमङ्ग दबिएको छ र त्यसलाई फेरि उजागर गर्नुपर्छ ।
बालबालिकाहरुलाई हेर्ने हो भने उनीहरु एउटा पुतलीलाई मात्र देखेर पनि कति आलादित हुन्छन्, किनकि उनीहरु भित्र उमङ्ग उजागर भएको हुन्छ । हामीलाई आफ्नै जीवन देखेर पनि आहा ! लाग्नुपर्छ । जीवन जीउन जानिएन भने हामी भित्र रहेको यो उमङ्ग दबिन्छ र हामीलाई संसारको जुनै ठाउँमा गए पनि रमाइलो लाग्दैन ।
४. मानसिक शान्ति
मानसिक शान्ति हाम्रा लागि नयाँ शब्द होइन । यो हामीले जानिरहेको कुरा हो । मानसिक शान्ति पनि हाम्रो आन्तरिक स्वभाव हो र यो हाम्रो अमूल्य सम्पत्ति हो । मन शान्त हुनु हाम्रो स्वभाव हो, यो हामीले जन्मिँदै लिएर आएका छौँ । हामीले जीवन जीउन नजानेर बाहिरका प्रभावहरुले मनलाई अशान्त बनाउँछ र हाम्रो मनको शान्ति हराउँछ वा दबिन्छ । बाहिरका कुराहरुलाई बाहिरकै जगतमा छोड्न सक्नुपर्छ र मानसिक शान्ति आफूभित्र बनाइराख्नु पर्छ । त्यसो गर्ने हो भने मनमा विचलन आउँदैन । हामी बाहिरबाट सक्रिय र भित्रबाट शान्त हुनुपर्छ । हामी यो संसारमा मनलाई शान्त राखेर जीवन जीउनका लागि आएका हौँ र त्यो शान्तिलाई आफूभित्र बनाइराख्नु पर्छ ।
५. आनन्द
सुखमा सकारात्मक उत्तेजना र दुःखमा नकारात्मक उत्तेजना हुन्छ । आनन्द हो सुख र दुःख भन्दा माथि उत्तेजनारहित शान्त चेतना । आत्मानुभूतिमा जुन आनन्द हुन्छ त्यसैलाई हाम्रा धर्मशास्त्रले आनन्द भनेको छ । आनन्द भनेको ईश्वरीय अनुभव पनि हो । अर्थात् ईश्वर परमानन्द स्वरुप छन् र हामीभित्र छन् । हामीले यो आनन्द तत्वलाई लिएरै जन्मिएका छौँ । मानिससँग ऐश्वर्यका मालिक ईश्वरसँगै छन्, त्यसकारणले मानिस कसरी भिखारी वा विपन्न हुन सक्छ ? त्यो सम्भव छैन । यो आनन्द तत्व पनि बाहिरको प्रभावले दबिएको हुन्छ र त्यसलाई पनि फेरि उजागर गर्नुपर्छ ।
सत्संग र ध्यानले हाम्रो आनन्दलाई उजागर गरिदिन्छ । हामी ईश्वरको अनुभूति गर्दै परमानन्दले जीवन जीउन यो संसारमा आएका हौँ । यो हाम्रो जीवनको मूल लक्ष्य हो । जसले आनन्दको अनुभूति गरिरहन्छ उसको जीवनमा खुशी, उत्साह, उमङ्ग र मानसिक शान्ति स्वतः आएको हुन्छ ।
खुशी, उत्साह, उमङ्ग, मानसिक शान्ति र आनन्द हाम्रा आन्तरिक अमूल्य सम्पत्तिहरु हुन् । हामीले गर्ने सबै प्रकारका कार्यहरु यही आन्तरिक सम्पत्तिलाई उजागर गर्ने हुनुपर्छ । यसलाई हामीभित्र बनाइराख्नु पर्छ र बाहिरको कुनै पनि प्रभावले दबिन दिनु हुँदैन । आध्यात्मिक साधनाले हामीभित्र रहेका यस्ता पाँच प्रकारका आन्तरिक सम्पत्ति उजागर गर्न र बढाउन सहयोग गर्न । जसले आफ्ना यस्ता सम्पत्तिलाई उजागर गर्छ र बढाउँछ त्यो व्यक्ति जीवनभरि परम स्वस्थ रहन्छ र त्यो व्यक्तिले जीवनमा सबै प्रकारका सफलता प्राप्त गर्छ र अब मानिसको जीवनमा पाउनुपर्ने कुराहरु केही पनि बाँकी रहँदैन । आजलाई यति नै, हरि ॐ !
सुप्रिया मां आनन्दपथ संस्थाका संस्थापक हुनुहुन्छ ।
