Goraksha

National Daily

निन्दनीय आक्रमण

अज्ञात व्यक्तिहरुको समूहले मंगलवार पश्चिम दाङको शान्तिनगर गाउपालिका–२ का वडाध्यक्ष फर्साराम डाँगीमाथि सांघातिक आक्रमण गरेको छ । दिनदहाडै कार्यकक्षमै प्रवेश गरेर सो समूहले वडाध्यक्षमाथि आक्रमण गर्नु र आक्रमणकारीको पहिचान हुन नसक्नु अवश्य पनि दुःखद् घटना हो । यसमा पनि एउटा राजनीतिक दलको संलग्नता जोडिनु अझै निन्दनीय अवस्था हो । कार्यालय समयमा जनताका काम गर्न कार्यकक्षमै रहेका व्यक्तिमाथिको आक्रमणले थप असुरक्षाको अवस्था समेत सिर्जना गरेको छ । यद्यपि वडाध्यक्षमाथिको आक्रमणको जिम्मा विप्लव माओवादीले लिएको छ । चन्दा नदिएकै कारण उनीमाथि आक्रमण भएका समाचारहरु पनि बाहिर आइरहेका छन् । जननिर्वाचित प्रतिनिधिलाई कार्यकक्षमै प्रवेश गरेर आक्रमण गरिनुले सुरक्षा चुनौतीलाई समेत गम्भीर बनाएको छ । यद्यपि आक्रमणकारीलाई पहिचान गरी पक्राउ गर्न सुरक्षा निकाय अझै सफल हुनसकेको छैन ।

दाङ जिल्ला आपराधिक घटनाहरुमा सधैँ अगाडि रहेका बेला पछिल्ला केही महिनायता यस्ता आपराधिक घटनाहरु समेत दिनदिनै बढिरहेका छन् । सांघातिक आक्रमणमा केही व्यक्तिले ज्यान समेत गुमाउनु परेको अवस्था रहेको छ । सुरक्षा निकायले केही घटनामा सफलता हासिल गरेको अवस्था हुँदाहुँदै पनि केही घटनाका अभियुक्तहरुलाई अझै पनि पहिचान गरी पक्राउ गर्न सकिएको छैन । नागरिकको सुरक्षित भएर बाँच्न पाउने अधिकारलाई यसले चुनौती दिएको छ । जनमानसमा असुरक्षाको अनुभूति बढ्दै पनि गएको छ । जन निर्वाचित सरकारका अधिकारीहरुमा समेत असुरक्षा महशुस हुन थालेको छ । यो विषयमा सुरक्षा निकाय थप गम्भीर हुन आवश्यक छ ।

धेरै लामो संघर्षपछि मुलुकमा संघात्मक गणतन्त्र आएको छ । यसमा सबै जातजाति, लिङ्ग, धर्म र राजनीतिक दलहरुले आफ्ना राजनीतिक गतिविधिहरु शान्तिपूर्ण रुपमा राख्न पाउने छन् । कसैले पनि भौतिक आक्रमण र व्यक्ति–हत्याको अवस्था ल्याउनु हुँदैन भन्ने मान्यतालाई आत्मसात गर्न आवश्यक छ । त्यसो त जनप्रतिनिधिको आक्रमणमा एउटा राजनीतिक पार्टीको संलग्नता पनि जोडिएको छ । भूमिगत रुपमा रहेको पार्टीका कार्यकर्ताबाट भौतिक आक्रमण भएको अवस्थामा आक्रमणकारीलाई पक्राउ गर्नेतर्फ सुरक्षा अधिकारीहरु पञ्छिनु अर्को दुर्भाग्य हुने छ । कुनै पनि राजनीतिक आवरणमा व्यक्ति–हत्या र आक्रमण हुनु हुँदैन । घटनाको जिम्मा जोसुकैले लिए पनि त्यसमा सुक्ष्म अनुसन्धान र छानवीन गरी अपराधीलाई पक्राउ गर्न सुरक्षा अधिकारीहरुको प्रमुख जिम्मेवारी हो । अपराधलाई ढाकछोप गर्नु वा भूमिगत राजनीतिक दलका नाममा अनुसन्धानको गहिराईमा पुग्न कुनै पनि कसुर बाँक राख्नु हुँदैन भन्ने आम नागरिकको चाहना हो । आक्रमणकारीलाई पहिचान गरी कानुनी कारवाहीको दायरामा ल्याऊ ।