‘लोकतन्त्रलाई जीवन्त बनाउन सूचनाको हक’
दाङ १७ असार । नागरिकलाई बलियो बनाउन र राज्यलाई पारदर्शी बनाउनका लागि सूचनाको हक सम्बन्धि कानुनलाई बढी भन्दा बढी प्रचलनमा ल्याउनु पर्नेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् ।
सामाजिक तथा आर्थिक रुपान्तरणका लागि युवा समूहले आयोजना गरेको भिडियो कन्फरेन्स मार्फतको अन्तरक्रियामा बलियो नागरिक र पारदर्शी शासन प्रणालीले मात्र लोकतन्त्रलाई जीवन्त बनाउने भएकाले यो कानुनलाई अत्यधिक प्रचलनमा ल्याउन सूचनाको हकका अभियन्ता विपुल पोख्रेलले आग्रह गरे । ‘नागरिक आफैले राज्यसँग सबै कुरा सोध्न पाउँछ र राज्यले हरेक नागरिकको सबै जवाफ जिम्मेवार ढंगले दिनुपर्छ’ पत्रकार महासंघका उपाध्यक्ष समेत रहेका पोख्रेलले भने,‘कानुनले सूचना दिने पक्षलाई व्यबस्थित बनाइदिएको छ, अब माग गर्ने पक्ष शसक्त भएर आउनु पर्दछ ।’
कार्यक्रममा घोराही उपमहानगर पालिकाका सूचना अधिकारी भिम चौधरीले सूचना माग गर्न आउनेहरूलाई सहज रूपमा उपलब्ध गराउन आफूहरू प्रतिबद्ध रहेको बताए । उनले सूचना माग गर्ने संस्कृति अझै बस्न नसकेको बताएका थिए ।
सोही छलफलमा सहभागि भएका बरिष्ठ पत्रकार भगिरथ योगिले सूचनाको हक नागरिकको अधिकार भएको चर्चा गर्दै बेलायतमा पत्रकार भन्दा नागरिकले यो हकको प्रयोग गर्दै आएको जानकारी गराए । उनले राज्यलाई पारदर्शी बनाउन यो कानूनको प्रयोग अत्यधिक हुनुपर्ने बताए । कार्यक्रमको सहजिकरण संस्थाका प्रकाश गिरीले गरेका थिए भने संयोजन संस्थाका अध्यक्ष किरण थापाले गरेका थिए ।
