भ्रष्टाचारको खेल, त्यसैले त घरै भयो जेल

  •   
  •  

मधुसूदन सुवेदी

यतै भ्रष्टाचार, उतै भ्रष्टाचार, माथि भ्रष्टाचार, तल भ्रष्टाचार भ्रष्टाचार । यहाँ कोही बाँकी छैनन् र कहीँ खाली छैन । धर्तिमा हात पाउ टेक्न नसकी सानो विस्तरामा खेल्ने शिशु दुई हात र दुई खुट्टा फ्याँक्दै आकाशतिर हेर्ने त्यो शिशु भ्रष्टाचार । हुर्कंदै गरेको र बढ्दै गरेको बालक भोलिका दिनमा सगरमाथा हुने कुरा बताउने त्यो बालक भ्रष्टाचार । भर्खै शिक्षा हासिल गर्दै रहेको स्कूले बालक भोलिका दिनमा संसारै हाँक्छु भन्ने त्यो विद्यार्थी भ्रष्टाचार ।

आफूले पढाएको सीप, ज्ञान, अर्ती, उपदेश तथा पाठ्यपुस्तकको कुनै दम नै जाँच नगरी आफ्ना विद्यार्थीको भविष्य निर्माण गर्छु भन्ने त्यो शिक्षक भ्रष्टाचार । आफूले सेवाग्राहीलाई वितरण गर्ने सामग्रीको गुणस्तर नै थाहा नपाई जहिले पनि उच्च मोल र भाउमा आफ्नो सामान ग्राहकलाई थमाउन आतुर त्यो व्यापारी भ्रष्टाचार । जनताको सेवामा दत्तचित्त भई निर्वाध रुपमा र निष्पक्ष रुपमा सेवा प्रदान गर्न नसकी हाजिरीपुस्तिकामा आफ्नो हस्ताक्षर गरी सरकारको नूनपानी थाप्ने त्यो कर्मचारी भ्रष्टाचार ।

देश र जनताका लागि सिन्को पनि नभाँची यो देशलाई स्वीजरल्याण्ड बनाउँछौँ भनेर स्वीच अफ ल्याण्ड बनाउने ती सबै नेता भ्रष्टाचार । कृषिप्रधान देशमा खेती नै नगरी आपत विपदको बेला भोकभोकै मर्नुपर्ने स्थितिको सिर्जना गर्ने ती कृषक भ्रष्टाचार । अधिकारको नाममा (अ) को पनि बोध गराउन नसक्ने र सम्पूर्ण प्राणीको अधिकार स्थापित गर्न नसक्ने ती अधिकारकर्मी भ्रष्टाचार ।

न्यायालयभित्रको न्याय सम्पादन र न्याय फैसला गर्ने क्रममा आँखामा कालो पट्टी बाँधेर न्यायको लागि चार्ज गर्नुपर्ने दायाँबायाँ र त्यता–यता चारैतिर नाङ्गो र उदांगो आँखाले हेरेर न्यायालयको लाठी वर्षाउने न्यायमूर्ति भ्रष्टाचार । उद्योगमा माल नपाइने र धन्दामा काम नपाइने नाम मात्रका उदोगधन्दा सञ्चालन गर्ने ती उद्यमी भ्रष्टाचार । यताको मान्छे यतै र उताको मान्छे उतै अलपत्र पारेर ओसार्ने र पसार्ने नाममा जथाभावी लतोल गर्ने यातायात सञ्चालक भ्रष्टाचार ।

मानव स्वास्थ्य खानाको महत्व र भूमिका जान्दै नजानी जसरी पनि पेट फलाउने वहानामा खोलिएका होटल व्यवासइ तथा सूर्य, चन्द्र तथा ताराको लोगो राखेका ती फुडर तथा लजर भ्रष्टाचार । वैज्ञानिक युगमा सारा विज्ञानलाई हातमा लिएर विश्व ब्रह्माण्ड हाँक्छु भन्ने दाउँ खेलेका अंशपिण्ड, अनु र परमाणुको समेत लेखाजोखा गर्ने वैज्ञानिक एउटा सानो भाइरसदेखि त्रसित र ग्रसित हुँदा उसैले बनाउको ती वैज्ञानिक भ्रष्टाचार । विज्ञानले दिएको सूत्रपातलाई ग्रहण गरी मानव स्वास्थ्यलाई संकट मोचनको जिम्मा बोकेका डाक्टर जस्ता जनशक्तिले जनस्वास्थ्यमा संवेदनशील नभई उपचारमा उत्रिने र ज्यान जाने जोखिम अवस्था निम्त्याउने ती डाक्टर भ्रष्टाचार ।

देशको धर्मआचरण, संस्कृति, सभ्यता र गुणलाई टेकाउन र बचाउन नसक्ने सम्पूर्ण धर्मधारी र कर्मकारी धार्मिक जन जति भ्रष्टाचार । को छैन भ्रष्टाचार ? व्यक्ति चोखो देख्न सकिन्न । कहाँ छैन भ्रष्टाचार ? ठाउँ चोखो देख्न सकिन्छ । यति सानो देशमा यति ठूलो भ्रष्टाचार भएपछि सारा भ्रष्टाचारीलाई लैजाने कहाँ ? सामानय तहमा र सामान्य संख्यामा छ, त्यतिमै भ्रष्टाचार भएपछि लैजाने जेल कहाँ त ? त्यसैले यो समयमा स्वयम् व्यक्तिको घर नै जेल भएको छ र सबैले आफ्नै घरमा जेल जीवन यापन गरिरहनुपरेको छ ।

यो कोरोना भाइरसका कारण मात्र हो । त्यसको मूल जड भ्रष्टाचार नै हो । यहाँ भ्रष्टाचारमा नेपाल मात्रै माथि रहेनछ अरु देश पनि छन् । जस्तो बुद्धको ज्ञान मान्ने देश चीनले बुद्धको अहिंसा परमो धर्म भन्ने गुणलाई त्यागेर कीरा, फट्यांग्रा, चमेरा, भ्यागुतालगायतका (१४०) प्रजातिका जीवजन्तुको मासु खाने देश त्यो पनि भ्रष्टाचार नै हो । त्यस्तै भारत पनि प्रशिद्ध छ । ऊ आफू हिन्दुस्तानी हुँदाहुँदै पनि एउटा हिन्दुले अर्का हिन्दूको भूमिमाथि आँखा गाड्ने त्यो भारत पनि भ्रष्टाचारी भयो ।

यी देशवाहेक बाँकी तेस्रो मुलुकका देशहरु पनि आफ्नो समाजवादी खडा गर्न र आफ्नो शक्ति प्रदर्शन गर्न आफूभन्दा साना देशलाई दाहिने हातमा माछा देखाएर वायाँ हातले भ्यागुतो समाइदिने ती देशहरु पनि भ्रष्टाचारी नै हुन् । यहाँ कोही व्यक्तिगत स्वार्थमा लागेर भ्रष्ट भएको छ । कोही दलगत स्वार्थमा लागेर भ्ष्ट भएको छ भने कोही राष्ट्रगत स्वार्थमा लागेर भ्रष्ट भएको छ । यसरी विश्व नै भ्रष्टाचारको दलदल र भूमरीमा फसेपछि जेल कहाँ जाने त ? आज आफ्नै घरभित्र आफै एउटा चोरी डकैती कुकुर गुण्डा अपराधी शैलीमा किन थुनिनु परेको छ । जवाफ कसैसँग छ ? यो सबै भ्रष्टाचारको खेलले हो ।

प्रकृति विवकै भ्रष्टाचार देखेर जाहाम भयो जसले ऊ वाध्य भयो र एउटा शस्त्र अस्त्ररुपी भाइरस छोड्यो । जुन भाइरसले आफ्नै घरलाई जेलमा परिणत गरिदियो । यो कुरालाई सबैले स्वीकार्ने कि नस्वीकार्ने ? कि त यो कोरोना भाइरस मैले वा मेरो देशले बनाएको हो भन्न सक्नुप¥यो कि त यो हाम्रो सबै भ्रष्ट भएकै कारण जेलको सजाय दिएको कुरा स्वीकार्नु प¥यो । यो सामान्य कुरा छैन । यतिबेलाको यो चुनौतीलाई आत्मसात नगरी समीक्षा नगर्ने हो भने भोलिको स्थिति कसैको वशमा हुने छैन । यतिबेला त घरमात्रै जेल बनेको छ । यो भन्दा अझै भ्रष्ट बन्ने र बनाउने हो भने भोलि सिङ्गो धर्ति र सिङ्गो आकाश नै जेल नबन्ला भन्न सकिन्न । तसर्थ भ्रष्टाचारलाई निर्मुल पार्ने र जेलरुपी अहिलेको बसाईलाई चाँडै तोड्ने वाचा गरौँ ।