हिलो कुच्दै मनाइयो धान दिवस

  •   
  •  

मानव कल्याण तथा वातावरण संरक्षण केन्द्र दाङले घोराही उपमहानगरपालिका वडा नं १७ को क्वाडीमा धान रोपाई गरेर राष्ट्रिय धान दिवस मनाएको छ । कार्यक्रम केन्द्रका अध्यक्ष भरतराज देवकोटाको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्ष खुशीराम चौधरीको प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोख्रेलको विशिष्ट आतिथ्यतामा भएको थियो । कार्यक्रमको सहजीकरण केन्द्रका सचिव कुमारराज श्रेष्ठले गरेका थिए । त्यस अवसरमा सहभागीहरुले सामूहिक रुपमा धान रोपेका थिए ।

यसैबीच लालमटिया, राप्ती गाउँपालिकाले धान रोपेर धान दिवस मनाएको छ । दिवसको अवसरमा लालमटियामा धान रोपेर दिवस मनाएको हो । त्यस अवसरमा बोल्दै राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले सम्पूर्ण कृषकलाई शुभकामना समेत दिएका थिए । धान रोपाईमा गाउँपालिकाका अध्यक्ष सुवेदी, उपाध्यक्ष जगदम्बाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल, वडा नं २ का वडाध्यक्ष जगतबहादुर थापालगायतले सामूहिक रुपमा धान रोपेका थिए । कृषक युवराज न्यौपानेको नेतृत्वमा एक विघा १५ कट्ठामा रोपाई सुरुवात गरिएको खेतमा लालमटिया गाउँका अधिकांश घरपरिवारको समेत सहभागिता थियो । यस वर्ष समयमा वर्षात भएको कारण राप्ती गाउँपालकाका धेरैजसो भागमा रोपाई सकिएको छ ।