आज असार १५ अर्थात धान दिवस

  •   
  •  

अमरराज आचार्य
दाङ, १४ असार । नेपाली कृषकहरूका लागि असार १५ एउटा मौलिक पर्व हो । दही च्युरा खाने दिनका रूपमा, हिलो छुने दिनको रूपमा यो दिनको महत्व रहँदै आएको हो । नेपाल सरकारको २०६१ साल मंसिर २९ गतेको मन्त्रीस्तरीय नीति निर्णयअनुसार प्रत्येक वर्षको असार १५ गतेलाई ‘राष्ट्रिय धान दिवस’को रूपमा मनाउने घोषणा गरिएको हो । त्यसैअनुसार आज देशभर १७औं राष्ट्रिय धान दिवस मनाइँदै छ ।

कोरोना संक्रमणको जोखिम रहेकाले यस वर्ष अघिल्ला वर्षमा जसरी नमनाइने भएको छ । यो दिवसलाई यस पटक दाङमा सामान्यरुपमा मनाइने कृषि ज्ञान केन्द्रका प्रमुख सन्देश धितालले जानकारी दिए । जिल्लाका स्थानीय तहहरुले आ–आफ्नो तहमा दिवस मनाउने भएका छन् । यस वर्षको राष्ट्रिय धान दिवसको नारा ‘धान उत्पादनमा बृद्धि आत्मनिर्भरता र समृद्धि’ तय गरिएको छ ।

जिल्लामा अहिले ३५ देखि ४० प्रतिशत धान रोपाइँ सकिएको प्रमुख धितालले बताए । जिल्लाको देउखुरी क्षेत्रका धेरै स्थानमा धान रोपि सकिएको उनको भनाइ रहेको छ । यस वर्ष समयमै वर्षात भएको कारणले धान रोपाइँ छिट्टै शुरु भएको ज्ञान केन्द्रले जनाएको छ । यस वर्ष जिल्लामा गत वर्षभन्दा थप करिब २ हजार ५ सय देखि ३ हजार हेक्टरमा धान खेती हुने अनुमान कार्यालयले जनाएको छ ।

नेपालको सन्दर्भमा धानखेतीको चर्चा गर्दा समुन्द्री सतहबाट तराईमा ६० मिटरदेखि संसारको सबैभन्दा उच्च स्थान जुम्लाको छुमचौरमा ३ हजार ५० मिटर उचाइसम्म धानको खेती गर्ने गरिन्छ । नेपालमा मौसमको आधारमा वर्षे धान, चैते धान, भदैया धान, घैया धान र हिउँदेधान (बोरो) को रुपमा धानखेती हुने गरेको छ । नेपालमा खेती गरिने कूल क्षेत्रफलको ४७ प्रतिशत जमिनमा धान खेती गरिन्छ, जसमध्ये क्षेत्रफल र उत्पादनमा तराई क्षेत्रको हिस्सा ७० प्रतिशतभन्दा बढी हुने गरेको कृषि विभागले जनाएको छ ।

नेपालमा बार्षिक करिब १.५ खर्ब रुपैयाँ बराबरको धान तथा यसका उपउत्पादनहरु प्राप्त हुने गर्दछ । मुलुकको कुल ग्राहस्थ्य उत्पादनमा २६.५० प्रतिशत अंश कृषिको रहेकोमा धानको कृषि क्षेत्रको ग्राहस्थ्य उत्पादनमा १५.३५ प्रतिशत योगदान रहेको तथ्यले धानले नेपालीको खाद्य तथा पोषण सुरक्षाको सुनिश्चिता कायमका साथै राष्ट्रिय अर्थतन्त्रलाई चलायमान बनाउनमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको कृषि विभागका महानिर्देशक कञ्चनराज पाण्डेले बताए । आ.व. २०७६÷०७७ मा १४ लाख ५८ हजार हेक्टर क्षेत्रफलबाट ५५ लाख ५० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । अघिल्लो वर्षको तुलनामा धानको क्षेत्रफल र उत्पादनमा क्रमशः २.२० प्रतिशत र १.०५ प्रतिशत कमी भए पनि अघिल्लो वर्षको तुलनामा उत्पादकत्व १.२ प्रतिशतले बृद्धि भएको उनको भनाइ रहेको छ ।

रासायनिक मलखाद तथा उन्नत बीउ–बिजनको समयमै उपलब्धता, कृषि प्रविधिमा आएको समयानुकूल सुधार उत्पादकत्व बृद्धिका प्रमुख आधारहरू रहेको उनी बताउँछन् । तथापि, यस उत्पादकत्व बृद्धिलाई आगामी वर्षहरुमा समेत कायमै राख्नुपर्ने चुनौतीहरु रहेको छ ।

उत्पादन वृद्धिका लागि उन्नत जातको प्रयोगलाई बढावा दिन हालसम्म नेपालमा तराई, मध्यपहाड र उच्च पहाडको लागि सूचित गरिएका खुल्ला सेचित र हाइब्रिड गरी जम्मा १ सय ३० वटा धानका जातहरु सिफारिस भइसकेका छन् भने बर्णशंकर जातको बढ्दो मागलाई सम्बोधन गर्न २ वटा स्वदेशी हाइब्रिड धानका जातहरु सूचित हुने प्रक्रियामा रहेका छन् । धानको उत्पादकत्व बृद्धिका लागि रासायनिक मलको सहज तथा सुलभ उपलब्धताको लागि अनुदानमा मलखाद वितरणलाई विशेष प्राथमिकतामा राखिएको उनको भनाइ रहेको छ ।