सूतपुत्र कर्ण र हाम्रो राजनीतिक चिन्तन
डा.कृष्णराज डी.सी.
कुन्तीनन्दन ‘कर्ण’ महाभारतकालीन एक वीरपुरुष त हुन् तर उनी सधैँ हस्तिनापुर राजदरबारमा उपेक्षित र अपहेलित पात्र पनि हुन् । यहाँसम्म कि उच्च जातिलार्य मात्र, अस्त्रविद्या सिकाउने दृढसंकल्प लिएका गुरुद्रोणाचार्यबाट त उनी अपमानपूर्वक तिरष्कृत नै बने तर स्वयम् विष्णुअवतार परशुरामजीबाट धनुविद्या प्राप्त गरेका कर्णले आफू सूतपुत्र भएकै कारणले ‘विद्या निष्फल होस्’ भन्ने श्राप (शाप) पनि पाए ।
यही कारणले कर्णले महाभारतको युद्धमा आफू निरस्त्र अवस्थामा रहेको बेला युद्धको नियम विपरित अर्जुनद्वारा प्रहार गरिएको वाण ढाडमा लागेर देह त्याग गे । तर, सोही युद्धमा पाण्डुपुत्र अर्जुनले कर्णपुत्र वृषसेनको वध गरेका थिए । तैपनि आफ्नो शिकार बनिसकेका युधिष्ठिर र नकुललाई कर्णले दया गरी उनको वध नगरी जीवनदान दिएका थिए । तसर्थ, उनलाई महाभारत ‘कथामा दानवीर कर्ण’ भन्ने गरिन्छ ।
आज हाम्रो खासगरी पूर्वीय सभ्यता र संस्कृतिमा महावीर कर्णको वीरगाँथा त गाइन्छ तर खालि ओठे भक्तिको रुपमा मात्र यथार्थमा होइन । सामाजिक जीवनशैली, धर्म, संस्कृति, पद–प्रतिष्ठा, राजनीतिक पद्धति आदि विविध प्रयोजनको निमित्त आज हाम्रो समाजका तमाम कर्णहरुले विवशतापूर्ण अन्याय भोग्दै आएका छन्, जुन अन्याय हिजो पनि भोगेका थिए र भोलिका दिनहरुमा पनि भोग्दै जानेछन् ।
आज पनि हाम्रो समाजका कर्णहरुलाई अगाडि सारेर वर्तमान युगका भगवान् ‘परशुराम’ र ‘द्रोणाचार्य’हरुले नै मोज र भोज मनाइरहेका छन् । कन्यापुत्र कर्णहरु लोकलाज छल्नका लागि स्वयम् कुमारी आमा कुन्तिद्वारा विवशतापूर्वक नदीमा बगिरहेका छन् । अथवा भनौा कतै बेवारिसे अवस्थामा फ्याँकिएका छन् । त्यहाँ कुनै सूतअपुत्री ‘अधिरथ’ तथा ‘राधा’को अभाव खड्किरहेको हुन्छ । तर, त्यहीँ कन्याको कुमारित्व हरण गर्ने सूर्यनारायणहरु सधैँ चम्किरहन्छन् । यस्तो छ हाम्रो सभ्यता र संस्कृति ।
जातीय समानताको गायत्रीमन्त्र घोकेका आजका अञ्जान कर्णहरु अन्तर्जजातीय प्रेम गरेकै कारणले कुमारी आमा कुन्तीको भन्दा फरक शेलीमा बगाइन्छन् फरकफरक गङ्गाहरुमा । विचरी ! गङ्गामाता विवश छिन् यी सबै प्रकारका पापहरु ग्रहण गर्नको लागि । महाभारत कालमा महाराज शन्तनुपुत्रहरुलाई गङ्गाजी स्वयम् निरीह सन्तानहरु (सूतपुत्रहरु)लाई आफ्नो गुप्तगर्भमा राख्न विवश छिन्, विचरी !
तर, त्यहाँ गोताखोरहरु आएर पुनः गङ्गाजीको पाठेघरमा निर्मम कोतरिरहन्छन् । किनभने, यो एक्काइसौँ शताब्दीको उच्च वैज्ञानिक युग हो । यहाँ विभिन्न वहानाहरुमा अनेकौँ कुरुयुद्धहरु भइरहन्छन् । तर, पृथ्वीलाई मङ्गल ग्रहमा लैजाने हाम्रो वैज्ञानिक अभियान भने जारी नै छ । आज यसलाई कुनै प्रकारको सुनामीले छेक्न सक्तैन किनभने स्वयम् परशुराम नै यो अभियानमा जुटेपछि कसले छेक्न सक्छ ? सूतपुत्रहरुलाई माथि उठाउने, वर्गविहीन समाजको निर्माण गर्ने भट्टहरुको विसङ्गतीवादी नाट्य शृङ्खला पनि अब नेपालीले बुझ्योहेलाजस्तो लाग्छ ।
महाभारतको भावभूमिका चित भट्टनारायणको प्रसिद्ध नाटक वेणीसंहारमा भनिएको छ :
‘सूतो वा सुतपुत्रो वा यो वा को वा भवाम्यहम्
दैवाऽऽयतं कुले जन्म ममाऽऽयत्तं तु पौरुषम् ।’
अर्थात् म सारथि हुँ वा सारथिपुत्र, जे सुकै होऊँ, त्यससँग के प्रयोजन भयो र ? ठूलो कुलमा जन्मनु भनेको त दैवकै अधीनको कुरा भयो तर ठूलो पुरुषार्थ देखाउनु भने मेरै अधीनको कुरा हो ।
हुन त समाजको मार्जिनल समूहलाई अगाडि सारेर आफूले मोज गर्ने परम्परा पुरानै हो जो आजपर्यन्त हाम्रो समाजमा व्याप्त छ । जनतालाई लोकतन्त्रको ललिपप देखाएर अब निरङ्कुश परशुराम बन्ने महत्वाकांक्षामा हाम्रा भट्टहरुले दलविहीन लोकतन्त्रको नयाँ सपना देख्दैछन् ।
नातावादको गुन्यू लगाउने नटुवाहरु बेसुरको नृत्यलीला देखाइरहन्छन् । जातीय राजनीतिको महाभासमा डुबेकाहरुले नै बडो जातीय समानताका बेमौसमी र बेसुरका रागहरु प्रयोजनविहीन तवरले आलाप गरिरहन्छन् । श्लोकीय नीतिलेखनमा त महादानी र महावीर ‘कर्ण’को पुरुषार्थलाई प्राचीनकालदेखि नै आशीर्वचनमय श्लोकको रुपमा दशैँ टीकामा ‘….दानंसूर्यसुते …..’ अर्थात् सूर्यपुत्र कर्णजस्तै दानी हुन् भन्ने गरिन्छ ।
यी दुवै प्रसङ्गले पौराणिक पात्र दानवीर कर्णको वीरता र दानशीलतालाई उद्बोधन गर्दछन् । उता महाभारत कथामा कौरवदरबारमा दासीपुत्र भएकै कारणले महान् नीतिवान् विदुर पनि उपेक्षित नै देखिन्छन् । आफू दासीपुत्र हुनुको नाताले कौरवको राजबैठकमा उनलाई विवशतापूर्वक भुइँमै बस्नुपर्छ । आमा दासी भएकै कारणले उनी आफू कौरवसभाको कुर्सीमा बस्ने हिम्मत राख्दैनन् । यद्यपि उनलाई हस्तिनापुर राज्यमा महाराज धृतराष्ट्रले आफ्नो सल्लाहकारमन्त्री त बनाएकै हुन्छन् । तर, सत्यको पक्षमा (पाण्डवपक्षमा) लागेको कारणले उनलाई दरबारबाट गलहत्ती लगाएर निकालिन्छ ।
यसरी देवलोकदेखि मानवलोकसम्मका यी विविध वर्गीय र जातीय विभेदको अन्त्यका लागि पुनः रामराज्यको परिकल्पना गर्नुपर्ने हो कि ? के हाम्रो समाजमा आज दलित, दमित, शोषित, उत्पीडित वा सीमान्तकृतवर्ग (मार्जिनल समूह)को पक्षपोषण गर्ने व्यक्तिहरुको पङ्क्तिमा ‘विदुर’ वा ‘कर्णहरु’ छन् त ? म त परशुराम र द्रोणाचार्य वा दुर्योधन र सकुनीकै सिंहनाद सुन्दैछु त ? पाण्डव र कौरवको बीचमा विचरा ! भीष्मपितामहको अर्थहीन दौडधुपमात्र देख्दछु । अथवा कवि भूपीले भनेझैँ ‘यहाँ ……हामी महाभारतको कथामा वर्णित एकलव्य हौँ, प्रत्येक पिँढीको द्रोणाचार्यले हामीलाई उपेक्षा गर्छ’, उसले आफ्नो नभएको चेला एकलव्यसँग दायाँ हातको बूढी औँलालाई गुरुदक्षीणा मागेको देख्दछु ।
आज हाम्रो समाजका भीष्मपितामहहरु पनि पुत्रमोहमा फसेर ‘धृतराष्ट्र’ र गान्धरीकै मनोविज्ञानले ग्रसित बनेको देख्दछु ! अनि उनीहरु नै राजनीतिक रथ हाँक्ने सारथि श्रीकृष्ण बनेको देख्दछु । अनि, लाग्दछ के यही हो कृष्णलीला ?
वर्तमान विश्वमा पनि रङ्गभेदनीतिको अवशेष छँदैछ । विचरा ! नेल्सन मन्डेलाले रङ्गभेदनीतिको अन्त्यको लागि सत्ताइस वर्ष लामो जेल जीवन भोगे, दलित नेता अम्बेडकरले जातीय विभेद देखेकै छन्; शान्तिक्षेत्रमा घोषणा गरियोस् नेपाललाई’ भन्नेहरुले अब कतै अशान्ति क्षेत्रमा घोषणा गरियोस् भन्नुपर्ने विवशता उत्पन्न होला कि ? भन्ने सन्देह जाग्दै छ यतिखेर भगवान् बुद्ध र उनका अनुयायीहरुमा पनि ! यो आजको समयले भोग्दै आएको कुन नियति वा वाद हो ? विसङ्गतिवाद, उत्तरधाधुनिकतावाद वा विनिर्माणवाद ? उपर्युक्त विज्ञासाको उत्तर खोज्न ‘अल्बर्ट कामु’ ज्याकडेरिडा वा नेपाली विद्वान् डा.गोविन्दराज भट्टराईकहाँ जाने कि ?
आज पनि ‘धृतराष्ट्र’ र गान्धारीकै पुत्रमोहको कारणले दुर्योधन, दुसासन र सकुनीको अराजकता दिन प्रतिदिन बढ्दै छ । पाण्डवहरु वनवास गएर पनि सुख पाएका छैनन् । सकुनीपासामा परेर तिनले गुमाइसके सर्वस्व । द्रौपदीहरु आज पनि चीरहरणमा परेका छन्, महाबली दानवीर कर्णको वीभत्स हत्या रहस्यमय बनिसक्यो, शीखण्डीको पछाडि लुकेर अर्जुनले भीष्मपितामहलाई आज पनि मारिरहेका छन् तर कृष्णजी बजाइहरन्छन् बाँसुरी !
सूतपुत्र दानवीर कर्णहरुको यशोगान गर्ने तर खालि आफ्नो सत्तास्वार्थको लागिमात्र अन्तरहृदयदेखि होइन भन्ने कुराको पुष्टि रुकुमको सोती नरसंहारले पनि गर्दछ तर यो एउटा उदाहरणमात्र हो । यस्ता अनन्त दृष्टान्तहरु हाम्रो समाजवादी चिन्तनमा अनन्त नै छन् । नेपाली युद्धवीर कर्णहरुको कमान्डीङ गर्ने परशुरामहरु आज कुन स्थानमा छन् ? हेक्का रहोस् तिनैले चेला कर्ण विरुद्ध आफ्नो प्रिय अस्त्र बन्चरो प्रहार (कुठाराघात) गरिरहेका छन् । विचरा ! कर्णहरु कि कतै माछाको भोजन बनेका छन् अथवा कि कतै मातृभूमिको गर्भभित्र चिहानघरमा निदाइरहेका छन् । कतिपय कर्णहरु वीर त छन् तर बुद्ध छन् । तसर्थ, उनीहरु ‘भिक्टोरियाक्रस’ र ‘भारतपर्व’ले सुसज्जित बनेका छन् ।
किनकि, उनीहरुले आफ्नो वीरता स्वजननीको निमित्त प्रस्तुत गर्नसकेका छैनन् खालि दालरोटीको लडाइँमात्र उनीहरु गर्दैछन् । यसो गर्नु उनीहरुको विवशता पनि हो भन्ने कुरा पनि हामीले भुल्नु त हुँदैन । तर, यी सूतपुत्रहरु आर्यपुत्रहरुको हैसियतमा पुगने कुनै दिन आउला र ? त्यसको लागि धनयुद्धको मनोविज्ञानले सदाको लागि बिदा लिएर जानु पर्छ कि ? होइन भने नेपाली राजनीतिमा ‘छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेढी’ भन्ने लोकोक्तिले सार्थकता पाइरहनेछ । किनभने, यहाँ दलको सदस्यता ग्रहण गर्न पैसा, दलको तर्फबाट उमेदवारी पाउन पैसा, चुनाव जित्न पैसा यदि नभई हुँदैन भने कर्णहरुका सुदिन वा कुदिन के आउँछन् ? आफैँ हामी चन्तन वा अनुमान गरौँ । कवि भीमनिधि तिवारीले भनेझै ः ‘भेडा पेडा खान्छन् यहाँ बाच्छा भोकै मर्छन् ।’
तसर्थ, आजको राजनीतिमा दुर्योधन र दुसासनकै बोलवाला छ । विचरा ! कर्णहरु त खालि दुर्योधनस्वार्थका लागि नै कौरवसेनापति बनाइन्छन् । अन्त्यमा गुरु परशुरामकै श्राप (शाप) पाउन विवश हुन्छन् कर्णहरु, कारण एउटै छ सूतपुत्र हुन् । आज नेपाली राजनीतिमा प्रयुक्त जातीय समानताको खोक्रो ढ्वाङ मूर्खहरुलाई बेकुफ बनाउने एउटा चटके कलामात्र हो भन्ने कुरा कम्तीमा सूतपुत्र कर्णहरुले बुझ्नु नितान्त जरुरी छ । हेक्का रहोस् । महाभारत कथामा लक्ष्य भेदन गर्नसक्ने क्षमतावान् कर्णलाई स्वयंवरसभामा द्रौपदी स्वयंले ‘आफूले सूतपुत्रसँग विवाह नगर्ने …’ दृढ प्रतिज्ञा गरी कर्णलाई लज्जापूर्ण तवरले स्वयंवर विवाहबाट रोकिदिएकी थिइन् ।
स्वयंवरको शर्त तल पोखरीमा भएको पानीमा हेरेर माथि चक्रमा घुमिरहेको माछाको आँखाको भेदन गर्नुपर्ने थियो जा काम अर्जुनले मात्र होयन महाबली सुतपुत्र कर्णले पनि गर्नसक्थे । तर, विचरा ! सूतपुत्रहरु आज पनि विविध अवसरहरुबाट वञ्चित छन् । किनभने, सूतपुत्र हुनु नै उनीहरुको निमित्त महाअभिशाप भएको छ । यदि सूतपुत्रहरुले कुनै सुअवसर प्राप्त गरे भने पनि अनेकन सकुनी जालहरु जुर्मुराइरहन्छन् । आज सूतपुत्रहरुको (कर्णहरुको) नेतृत्वपङ्क्तिमा पनि ‘अम्बेडकर’लाई निषेध छ त्यहाँ त परशुराम, द्रोणाचार्य, दुर्योधन, सकुनी र दुसासनकै हालिमुहाली चल्छ ।
