Goraksha

National Daily

‘फ्रण्ट लाइनर’को सुरक्षाको सवाल

कोरोनाको परीक्षण गर्दै जाँदा ‘फ्रण्ट लाइनर’हरूमा पनि यसले प्रभाव पारेको देखियो । दाङकै कुरा गर्दा करिब तीन महिनाको अवधिमा चार जना जनप्रतिनिधिसँगै १५ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भइसकेको छ । रोजगारीका क्रममा भारतबाट फर्किएर क्वारेन्टाइन बसेका मानिसहरू जोखिममा रहे पनि उनीहरुको व्यवस्थापन, काउन्सिलिङ र स्वाब संकलनका क्रममा स्वास्थ्यकर्मीसँगै जनप्रतिनिधिले हेलचक्राई गरी पर्याप्त पूर्व सावधानी नअपनाउँदा कोरोना संक्रमण बढ्ने गरेको छ । कोरोना विशेष अस्पताल तथा स्थानीय पालिकाहरुले निर्माण गरेका आइसोलेशन सेण्टरहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण नदेखिनु र अन्य अस्पतालमा कार्यरत स्वास्थकर्मीमा कोरोना संक्रमण देखिनु पर्याप्त पूर्व सावधानी नअपनाउनाले नै हो भन्न सकिन्छ ।

अहिलेको जोखिमपूर्ण समयमा अस्पतालमा विरामी जाँच्दा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीदेखि क्वारेन्टाइन व्यवस्थापनमा खटिएका जनप्रतिनिधिहरुले आवश्यक सावधानी नअपनाउँदा स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरुमा संक्रमण देखिएकोतर्फ सरोकारवालाको ध्यान जानु पर्ने हो । काम गर्ने व्यक्ति स्वयम्ले आफ्नो सुरक्षाको लागि गाम्भीर्यता देखाउनु त पर्छ नै, सँगै उनीहरूले कसरी काम गरिरहेका छन् भन्ने कुराको अनुगमन गर्ने र आवश्यक सामग्रीको प्रबन्ध गर्ने निकाय चुप बस्न भने हुँदैन । कतिपय अवस्थामा व्यक्तिले मानवियतालाई हेरेर अथवा भावुक भएर पनि हतारमा योगदान पु¥याइरहेको हुन्छ ।

त्यसकारण ‘फ्रण्ट लाइनर’लाई सतर्क होऊ भनेर मात्र सरोकारवालाको दायित्व पुरा हुँदैन । तथ्यहरूका अनुसार आइसोलेशन अस्पताल र आइसोलेशन सेण्टरमा कार्यरत स्वास्थ्यकर्मीहरुले अनिवार्य रुपमा सावधानी अपनाउने गरेका छन्, जसले गर्दा उनीहरुमा संक्रमण सर्नसकेको छैन । तर अन्य अस्पताल वा स्वास्थ्यचौकीमा विरामी जाँच गर्नेदेखि स्वाब संकलनका क्रममा संलग्नहरुमा संकक्रमण सरेको देखिन्छ । संक्रमण देखिएका एकजना मृतकको अन्त्यष्टिमा सामेल सैनिकमा समेत संक्रमण देखियो । यसले के संकेत गरिरहेको छ भने क्वारेन्टाइनदेखि दाहसंस्कारसम्मका सबै प्रक्रियामा ‘फ्रण्ट लाइनर’हरू स्वयम्ले पनि थप सावधानी अपनाउनुपर्ने देखियो भने सरोकारवालाहरूले पनि काम गर्ने तौरतरिकाका बारेमा समीक्षा गर्दै फरक आवश्यक परिमार्जन गर्न पर्ने देखियो ।

स्वास्थ्यकर्मी, सुरक्षाकार्मीका साथै स्वास्थ्य संस्थामा काम गर्नेहरू घरमा आउँदा परिवारका सदस्यहरूसँग घुलमेल गर्दा समेत असहज मान्ने अवस्था देखिएको छ । बच्चाबच्चीलाई मामाघर वा अन्य सुरक्षित ठाउँमा पठाउने, बृद्धबृद्धाहरूलाई पनि अलग राख्ने गरेको देखिँदै छ । यो पनि सतर्कताको एउटा पक्ष त हो, तर संक्रमण नसर्ने गरी उपचार र व्यवस्थापनमा संलग्न कसरी हुन सकिन्छ वा गराउन सकिन्छ भन्नेबारेमा पनि एउटा धारणा वा नयाँ अभ्यासको थालनी गर्नुपर्ने हो कि ? यसतर्फ पनि सरोकारवालाको ध्यान जान जरुरी छ । ‘फ्रण्ट लाइनर’लाई सुरक्षित नराखेर कोरोना विरुद्धको लडाईमा सफलता पाउन सकिँदैन भन्ने कुरामा राज्य र हरेक नागरिक सबैभन्दा पहिले स्पष्ट बनौँ । त्यसपछि नीति रणनीति बनाउँदा त्यो व्यावहारिक हुने छ ।