Goraksha

National Daily

आतंकित नबनौँ, सावधानी अपनाऔँ

भूवन पोख्रेल

नेपालमा लगभग ३ महिनापछि लकडाउन अलि खुकुलो भएको छ । उद्योगधन्दा, कलकारखाना, व्यापार, व्यवसाय र कार्यालय खुलेका छन् । मजदुर अभावले उद्योगधन्दा सञ्चालन गर्न कठिन छ । भारतीय मजदुरको अभावमा उदोगमा दक्ष जनशक्तिको र प्राविधिकको अभाव छ । भारतीय श्रमशक्तिको अत्यधिक प्रयोग हुने ठाउँमा विदेशबाट फकिएर बेरोजगार भएर आएका नेपाली जनशक्तिको पहिचान, प्रबद्र्धन र तालिमप्राप्त गराउन सक्ने हो भने स्वदेशी जनशक्ति व्यवस्थापन हुने थियो ।

लकडाउन खुकुलो बनाउनु सरकारको वाध्यता भएको र चौतर्फी आवाज उठेको विषय हो । अहिले लकडाउन खुकुलो भएपछि संक्रमण फैलिन्छ भनेर आलोचना गर्नुभन्दा सबैले आतंकित नबनी सावधानी अपनाएर आफ्नो दैनिक जीवनचर्या सञ्चालन गर्न आवश्यक छ । सरकारी कार्यालयमा सामाजिक दूरी कायम भएको छैन, यसले जोखिम अझै बढ्ने देखिन्छ । कतै पनि सामाजिक दूरी कायम छैन । माक्स पनि लगाएको छैनन् । सबै काममा फर्किएका छन् ।

लकडाउन खुकुलो महामारी सकिएर होइन अर्थतन्त्रलाई चलायमान गराउन र जनजीवन सहज बनाउन अपनाइएको वाध्यात्मक कदम हो । कोरोना भाइरसको डर जनतालाई छैन । संक्रमित बढेको बढ्यै छन् र भीडभाड पनि बढेको बढ्यै छ । सचेत बन्ने र सावधानी नअपनाउने हो भने महामारी नियन्त्रणभन्दा बाहिर जाने देखिन्छ । सामाजिक दूरी कायम गराउन गोलो घेरा छ ।

लाइनबद्ध गराउन डोरी पनि टाँगिएको छ, तर सेवाग्राहीलाई त्यसको कुनै अर्थ छैन । सेवाग्राहीलाई न कोरोनाको डर छ न त सामाजिक दूरी अपनाउनुपर्छ भन्ने भावना नै । सेवाग्राही समूह वा झुण्ड बनाएर झुम्मिएका हुन्छन् । लाइनमै भए पनि सामाजिक दूरी अपनाउन सकिएको छैन । सेवाग्राहीको चाँप नबढोस् भनेर दुई सिफ्टमा कार्यालय सञ्चालन गरिएको छ ।

वार अनुसार सेवा तोकिएको छ तर पनि भीड उस्तै कोही झ्याल र ढोकामा सामाजिक दूरी कायम नगरी झुम्मिएका छन् । संक्रमणको संख्या बढेको बढ्यै छ र लकडाउनको असर पनि उस्तै छ । अरुबेला जस्तो सहज अवस्था छैन । कोरोनाकै कहरकै बीचमा काम गरिरहेका छन् । मानिसमा कतै आक्रोश, कतै भोक र कतै शोक देखिन्छ । कोरोना महामारीले नेपालको स्वास्थ्य प्रणाली कसरी चलिरहेको छ भन्ने छर्लङ्ग पारिदिएको छ ।

नेपालको स्वास्थ्य प्रणाली कति कमजोर र अव्यवस्थित छ भन्ने सर्वविदितै छ । सेवाको गुणस्तर र उपचारको प्रविधिका बारेमा जतिसुकै गफ र प्रचारबाजी गरिए पनि अधिकांश अस्पतालमा सेवाग्राहीले आधारभूत स्वास्थ्योपचारको सेवा पनि पाउन सकेका छैनन् । अस्पतालभित्र पिउने पानी, हात धुने ठाउँ, सफा शौचालय, फोहरको सुरक्षित व्यवस्थापन हुने जसता सुविधा छैनन् ।

बरु फोहरका कारण संक्रमण फैलाउने थलो बनिरहेका छन् । शौचालय बाहिरैबाट नाक थुन्नुपर्ने अवस्था छ । हाम्रा स्वास्थ्य संस्थाहरुमा न्यूनतम मापदण्डअनुसार अस्पतालको फोहर व्यवस्थापनका लागि आवश्यक पूर्वाधारमा ध्यान दिइएको छैन । झन महामारीको यो समयमा अस्पतालमा फोहर व्यवस्थापनको उचित प्रबन्ध मिलाउनुपर्ने नितान्त आवशयकता देखिन्छ । अहिलेको भयावह स्थितिमा स्वास्थ्यकर्मीहरु नै सबैभन्दा चाँडो संक्रमणको शिकार बन्न पुगेको तथ्यांक बाहिर आएको छ ।

नेपालको स्वास्थ्य प्रणालीको सक्षमता अभिबृद्धि गर्नुपर्ने वर्तमान अवस्थाको टड्कारो आवश्यकता हो । स्वाब संकलन गरेको एक महिनापछि परीक्षण नतिजा आउनु विडम्बना हो । डाक्टर नर्सहरुको पनि संख्या अत्यधिक न्यून छ । त्यसमा पनि स्वास्थ्यकर्मी संक्रमित हुँदै जाने र अस्पताल सिल गर्दै जाने हो भने थपिएको थपियै गर्दा विरामीको उपचार कसले गर्ने ?

अन्तर्राष्ट्रिय उडान बन्द छन् । नेपाली जाने श्रम गन्तव्य मुलुकमा रोजगारी छैन । वैदेशिक रोजगारमा जानेको संख्याभन्दा नेपाल फर्कन चाहने धेरै छन् । कोरोनाको प्रभाव विश्व श्रम बजारमा प्रत्यक्ष रुपमा परेकाले श्रमिक आपूर्ति ठप्प छ । वैदेशिक रोजगारीमा जान चाहनेलाई सरकारले छिट्टे श्रम स्वीकृति नदिने हो भने मुलुकमा बेरोजगारी समस्या विकराल बन्दै जाने छ । लामो लकडाउनले गर्दा मानिसको आम्दानी शून्य छ ।

दैनिक ज्यालामजदुरीमा आश्रित व्यक्तिहरुलाई दैनिक छाक टार्न धौ–धौ परेको छ । महामारी बल्झेको बल्झ्यै छ । यो तुरुन्तै नियन्त्रणमा आउने छनक छैन । मुलुक आर्थिक संकटमा छ । रेमिट्यान्स घटेको छ । यस्तो अवस्थामा लकडाउन अन्तिम विकल्प होइन । सधैँ घरभित्र बसेर सबैलाई हातमुख जोड्न पुग्दैन । अब जीवन यापन सहज बनाउन कोरोनासँगै सामाजिक दूरी कायम गर्दै बाँच्न अभ्यस्त हुनुपर्छ । महामारीमा पनि बल्छी थापेर बस्ने मन्त्रीहरुले गर्दा सरकार तनावै तनावमा छ ।

उता सरकार नयाँ पुस्ताको आन्दोलनको चपेटामा छ । तनाव व्यवस्थापन एक–एक गर्दै जानुको साटो तनाव बल्झिएको छ । प्रधानमन्त्रीको चाहिनेभन्दा बढी बोल्ने बानीले गर्दा उहाँलाई विवादतर्फ तानेको छ । कोरोना महामारीकाबीचमा प्रधानमन्त्री बोल्दा जनताले धेरै आशा राखेका हुन्छन् तर प्रधानमन्त्रीका हल्काफुल्का टिप्पणीले जनता सरकारसँग आक्रोशित छन् । हेल्थ टिप्स प्रधानमन्त्रीबाट जनताले खोजेका छैनन्, बरु राहत टिप्स चाहेका हुन् । हेल्थ टिप्स स्वास्थ्य मन्त्रालयलाई जिम्मा लगाउनुहोस् । यही मन्त्रिमण्डल सच्चिने हो भने अर्को सरकार र दल चाहिँदैन । प्रधानमन्त्रीको सम्बोधनमा जनताले आशा र सम्भावनाको झिल्को खोजेका हुन्छन्, घण्टौँ लामो बेसार, अदुवा, लसुन प्रवचन सुन्न चाहँदैनन् ।

एकातिर सरकारले यो महामारीमा कर नउठेको र सरकार चलाउन गाह्रो भएको भनेको छ भने अर्कोतिर प्रदेश सरकारले आफ्नो मन्त्री, राज्यमन्त्रीका सेवासुविधा बृद्धि गर्ने भएको छ । सरकारले भारतबाट आउनेलाई अव्यवस्थित ढङ्गले बनेका क्वारेन्टाइनमा राख्दा ती कोरोना संक्रमणका केन्द्र बनिरहेका छन् । अस्वस्थ खाना, खानपिनको कमी, अव्यवस्थित बसाई, फोहरमैला, लामखुट्टे आदिले गर्दा कोरोनाभन्दा अन्य रोग संक्रमित भई मर्ने सम्भावना बढेको छ ।

क्वारेन्टाइन व्यवस्थापनको जिम्मा कसले लिने भन्ने कुरामा अन्योलमा सिर्जना भएको छ, सबै जिम्मेवारीबाट पञ्छिएका छन् । स्वाब संकलन भएको १५÷२० दिन पुग्दा पनि परीक्षणको नतिजा नआउँदा सबै परीक्षणबिनै घर फर्किंदै छन् । यसबाट पनि सरकार कोरोना नियन्त्रणमा असफल देखिएको छ ।

सरकारका अघि कोरोना रोग, सीमा विवाद, नागरिकता विधेयक, एमसिसी आदि चुनौतीका रुपमा थपिएका छन् । यी समस्यालाई समाधान गर्न सरकार चुक्दै जाँदा तनावमाथि तनाव थपिएको छ । सरकारले चुनौतीलाई अवसरको रुपमा लिनुको साटो समस्याको रुपमा हेर्ने गरेको छ । जनताको मनोबललाई उच्च बनाउनुको साटो सरकारले निराश बनाएको छ । कोरोनाले सबै क्षेत्रलाई आक्रान्त तुल्याएको छ ।

यस्तो अवस्थामा सबैले बाँच र बचाऊ भन्ने नीति चाल्नु पर्छ । अब कोरोना संक्रमितहरु क्वारेन्टाइनमा मात्र छैनन् । संक्रमणको जोखिम समुदायमा पर्न लागेको छ । जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, पत्रकारहरुलाई संक्रमण देखिएको छ । संक्रमणको दर बढेको बढ्यै छ । संक्रमित थपिएको थपियै गर्दा यसको संक्रमण समुदायमा फैलिने हो कि भन्ने सम्भावना बढेको छ । जोखिम बढ्दो अवस्थामा अग्रपंक्तिमा उभिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई संक्रमण देखिनु नौलो कुरा होइन । संक्रमितको दिन प्रतिदिन बढिरहेको छ ।

कोरोना विरुद्धको लडाईमा जे जति व्यवस्थापन गर्नु पर्दथ्यो तर नेपाल जस्तो मुलुकमा व्यवस्थापनमा देखिएका त्रुटिका कारण संक्रमण भयावह रुपमा देखिँदै गएको । कोरोनालाई पराजित गर्दै घर फर्किनेहरुको दर पनि उल्लेख्य बृद्धि भएको छ । क्वारेन्टाइनमा बसेकाहरु पनि स्वाब संकलन भएको महिना दिन पुग्दासम्म पनि नतिजामा ढिलाई भएको भनी क्वारेन्टाइनबाट बाहिर निस्कने, आन्दोलित हुने गर्दा झनै संक्रमणको जोखिम बढ्ने सम्भावना देखिन्छ ।

स्थानीय सरकार र जनप्रतिनिधिहरु कन्ट्याक्ट ट्रेसिङ राम्रोसँग नगर्ने, सुटुक्क विदेशबाट आउने घर पसिरहेका छन् । न तिनीहरुलाई क्वारेन्टाइनमा राखिएको छ न स्वाब संकलन गरी परीक्षण गरिएको छ । खाली घरमा आइसोलेशनमा बस्न मात्र भनिरहँदा संक्रमण समुदाय स्तरमा पक्कै फैलिन सक्छ । नेपालमा कोरोना भाइरस संक्रमितलाई अपराधीलाई जस्तो व्यवहार किन गरिन्छ ? यो रोग उच्च जिम्मेवार पदाधिकारीहरुदेखि न्यून स्तर जोसुकैलाई लाग्न सक्छ । आफूलाई रोग नै लाग्दैन कि जस्तो व्यवहार गर्नु हुँदैन ।

कोरोना संक्रमित विरामीलाई तिरस्कृत होइन सहानुभूति र सहयोगको खाँचो छ । अमानवीय व्यवहारले संक्रमितको मनोबल घट्छ र कोरोना विरुद्धको लडाईमा जित हासिल गर्न गाह्रो पर्छ । आजको दिनमा कोरोना भाइरसको जुन डर, त्रास फैलिएको छ त्यसबाट बच्नका लागि सुरक्षात्मक उपाय अपनाउन जरुरी छ । रुघाखोकी र ज्वरो आउँदैमा कोरोना भयो कि भनेर आतंकित बन्न पुग्दछौँ तर त्यसो होइन अरु भाइरल इन्फेक्सन भएको पनि हुनसक्छ । यो साधारण रुघाखोकीको लक्षण हो ।

यदि कोरोनाको लक्षणसँग मिल्दो आफूमा लक्षण देखियो भने आफू आइसोलेशनमा बस्ने र अरुसँग अलग राखौँ, सावधानाी अपनाऔँ, आतंकित नबनौँ । फोन गरेर मेडिकलसम्बन्धी सल्ला लिऔँ, सकभर सानोतिनो विरामी हुँदैमा अस्पताल नजाऔँ, सुरक्षित बसौँ ।