Goraksha

National Daily

कर्मयोग भनेको के हो ?

सुप्रिया मां

हामीले जुन २१ तारिखलाई विश्व योग दिवसको रुपमा मनायौँ । योग मानवका लागि एउटा सर्वश्रेष्ठ वरदान हो । सामान्य अर्थमा स्वस्थ तन र मनका लागि गरिने साधनालाई योग भनेर बुझ्ने गरिएको छ । तर हाम्रा धर्मशास्त्रहरुमा उल्लेख गरेअनुसार योगको अर्थ शरीर र मनलाई स्वस्थ राख्नुसम्म मात्र सीमित नभएर व्यापक छ । योग शब्दको सामान्य अर्थ हुन्छ ‘जोड’ । विभिन्न साधनाको माध्यमबाट मनलाई लगेर आत्मामा जोड्नुलाई वा स्थापित् गराउनुलाई योग भनिएको छ । योग भनेको अज्ञानताबाट ज्ञानतर्फ, जड्बाट चेतनतर्फ, सीमितबाट असीमिततर्फ, प्रत्यक्षबाट परोक्षतर्फ र निर्बलताबाट सवलतातर्फको आध्यात्मिक यात्रा हो ।

मानिसहरुको मनको अवस्था वा मनस्थितिलाई हेरेर योगका विधिहरुलाई पनि विभिन्न प्रकारका बनाइएको छ । वास्तवमा योग भनेको एउटा मात्र हुन्छ त्यो हो, मनलाई लगेर आत्मामा स्थित गराउनु । हाम्रो मन ईश्वरको भक्तिभावमा धेरै रमाउँछ भने त्यस्तो साधनालाई भक्तियोग भनियो । मन ध्यानमा धेरै रमाउँछ भने त्यस्तो साधनालाई ध्यानयोग भनियो । मनले ज्ञानको चाहना धेरै गर्छ भने त्यस्तो साधनालाई ज्ञानयोग भनियो र मन कर्मशील छ र कर्ममा रमाउँछ भने त्यस्तो साधनालाई कर्मयोग भनियो । जुन मार्ग समातेर साधना गरे पनि पुग्ने आत्मा र परमात्मासम्म हो । मनलाई साधनाको मध्यमबाट आत्मा र परमात्मामा लगेर स्थित गराउनु नै योग हो ।

हाम्रा धर्मशास्त्रहरुमा धेरै प्रकारका योगहरुको उल्लेख गरेको पाइन्छ । भगवत् गीतामा तीन प्रकारका योगको उल्लेख गरिएको छ । ती हुन् कर्मयोग, ज्ञानयोग र भक्तियोग । योगका विभिन्न विधाहरुमध्ये आज हामी कर्मयोग भनेको के हो ? र कर्म गर्दागर्दै योगमा कसरी उपलब्ध हुने वा कर्मयोगी कसरी हुने भन्ने विषयमा केही कुरा बुझ्ने छौँ । यो हाम्रो आजको चिन्तनको विषय हो ।

समस्त प्रकृति लगातार कर्ममा लागिरहेको छ । मानिसहरुका लागि पनि कर्म गर्नु अनिवार्य छ । कर्म बिना शरीरको निर्वाह सम्भव छैन । मानिस कर्म नगरिकन एक क्षण पनि रहन सक्दैन र कर्म गर्नबाट मानिस कहिल्यै पनि बच्न सक्दैन । दैनिक जीविकोपार्जका लागि हामी केही न केही कर्म गरिरहेकै हुन्छौँ र कर्म गर्नुपर्ने हाम्रो वाध्यता पनि हो । कर्ममा व्यस्त हुनुपर्ने कारणले गर्दा छुट्टै समय निकालेर योग साधना गर्न समय नहुन सक्छ । यस्तो अवस्थामा कर्मलाई नै योग साधनाको माध्यम बनाएर आत्माज्ञानमा उपलब्ध हुन सकिन्छ र परमात्मा वा ईश्वरको अनुभूति गर्न सकिन्छ । यस्तो साधनाको नाम हो कर्मयोग । कर्मयोगले हामीलाई दैनिक जीविकोपार्जनको कर्म गर्दागर्दै ईश्वर प्राप्तितिर लैजान्छ ।

कर्मयोगलाई राम्रोसँग बुझ्नका लागि भगवत् गीता सबैभन्दा राम्रो पुस्तक हो । कर्मयोगको अर्थ भगवत् गीतामा यसप्रकार गरिएको छ । समत्व योग उच्चते । अर्थात् सफलता विफलता सबैमा समभाव राखेर कर्म गर्नु कर्मयोग हो । जो व्यक्ति सुख–दुःख, लाभ–हानी, जित–हार, यश–अपयश, भूत–भविष्यको चिन्ता नगरिकन कर्ममा लीन रहेर कुशलतपूर्वक कर्म गर्दछ त्यो नै कर्मयोगी हो । फेरि भनिएको छ, योगः कर्मसु कौशलम् । अर्थात् कर्ममा कुशलता नै योग हो । निष्काम भावनामा अनप्रेरित भएर, अहंकार र आशक्तिरहित कुशलतापूर्वक कर्तब्य निभाउनु नै कर्मयोग हो । आत्मस्मरणमा रहेर कर्म गर्नु कर्मयोग हो ।

कर्मको सामान्य सिद्धान्तले यस्तो भन्दछ । हामी जस्तो कर्म गर्छौं त्यस्तै फल प्राप्त हुन्छ । राम्रो कर्मको राम्रो फल र नराम्रो कर्मको नराम्रो फल प्राप्त हुन्छ । मानिसलाई ईश्वरले विवेक र बुद्धि दिएर कर्म गर्ने पूर्ण स्वतन्त्रता दिएका छन् । मानिसले चाहेमा सत्कर्म गरेर खुशी, शान्ति, सफल र आनन्दको मार्गमा अगाडि बढ्न पनि सक्छ र दुष्कर्म गरेर महादुःखमा पनि जानसक्छ । कर्म गरेपछि कर्मफल स्वतः आउने भएकोले कर्म गर्दा कर्ममा राम्रोसँग ध्यान लगाएर होसपूर्वक कुशलतम् तरिकाले कर्म गर्नु हाम्रो हातमा छ र त्यसबाट प्राप्त हुने फललाई अहोभावका साथ स्वीकार्नु पर्छ । राम्रो कर्म गर्नु हाम्रो हातमा छ र कर्म गर्न हामी स्वतन्त्र छौँ तर कर्म गरिसकेपछि प्राप्त हुने फलमा हाम्रो हात हुँदैन र कर्मफलमा हामी स्वतन्त्र हुँदैनौँ । त्यसकारणले कर्मबाट प्राप्त हुने कर्मफलमा आशक्त नभइकन कर्ममा ध्यान दिएर कुशलतापूर्वक कर्म गर्नुपर्छ, यो नै हाम्रा लागि कर्मयोग हो ।

कर्मयोगलाई अझै राम्रोसँग बुझ्नका लागि कर्मलाई तीन प्रकारमा विभाजन गरेर ब्याख्या गर्न सकिन्छ । १. कर्म, २. अकर्म र ३. विशेष कर्म ।

१. कर्म
कर्म मैले गरेको हो भन्ने कर्तापनको भवनाले कर्म गर्नु कर्म मात्र हो । कामना सहित वा सकामभावले कर्मको फलको आशा गरेर हामीले गरिने सबै कर्म यो कर्मभित्र पर्दछ । यस्तो कर्ममा कर्मको उद्देश्य हुन्छ, कर्म गरेपछि प्राप्त हुने फलको ठूलो आकांक्षा हुन्छ । हामीले दैनिक जीवनमा गरिने सबै प्रकारका कर्महरु यस्तो कर्म हो । यस्तो कर्ममा कर्म बन्धन लाग्छ वा मानिस कर्मको बन्धनले बाँधिएको हुन्छ ।

२. अकर्म
भगवान श्रीकृष्ण जसले महाभारत पूरै गराउनुभयो, जसको जीवन कर्म गरेरै बित्यो उहाँ भन्नुहुन्छ जीवनभरि मैले कर्म गरेकै छैन । यो कुरा हामीलाई अचम्म लाग्छ, किनकि जो व्यक्ति जीवनभरि कर्ममात्र गरेको देखिन्छ । त्यस्तो व्यक्ति कसरी अकर्ममा रहेको होला । अर्थात् कर्म नगरिकन कसरी रहेको होला । भगवान् श्रीकृष्ण अकर्मको जीवन जीउनुभएको हो र सबै मानिसहरुलाई अकर्ममा जीवन जीउन उपदेश दिनुहुन्छ । भगवान् श्रीकृष्ण परिवार र समाजमा बस्नुहुन्छ । सबै प्रकारको दायित्व लिनुहुन्छ । कति ठूलो गहन कर्ममा संलग्न हुनुहुन्छ । पूरै महाभारत गराउनुहुन्छ र डटेर कर्म गर्नु हुन्छ तर पनि अकर्ममा हुनुहुन्छ ।

कर्मयोगलाई बुझ्नका लागि यो अकर्मलाई जान्न आवश्यक छ । कर्तापनको भावनाबाट हटेर जस्तो दायित्व अगाडि आउँछ त्यसलाई कुशलतापूर्वक गर्दै जानु कर्मयोग हो । कर्तापन नै नरहेपछि कर्म बन्धन पनि रहँदैन ।

३. विशेष कर्म
कर्म र अकर्मको मध्यमा विशेष कर्म छ । विशेष कर्म भनेको हाम्रो जीवनसँग जोडिएको यस्तो कर्म हो जुन कर्म कसैले पनि गरेको छैन र त्यो स्वतः आफै कर्म भइरहेको छ । जस्तै, हाम्रो स्वास आफै चलिरहेको छ, त्यसलाई कसैले चलाएको होइन, त्यो कार्य आफै भइरहेको छ । स्वास हामीले चलाएको हो कि जस्तो लाग्छ तर होइन त्यो आफै चल्छ र एकदिन आफै रोकिन्छ पनि । हामीले चलाएको हो भने त्यसलाई केही क्षणका लागि बाहिर रोकेर हेरौँ, रोक्न सकिँदैन र भित्र पनि रोक्न सकिँदैन । जुन दिन स्वास पूरै रोकिन्छ त्यसपछि फेरि चलाउन सकिँदैन । हामीले स्वास चलाएको भए कुनै दिन चलाउन बिर्सिन्थ्यौँ पनि होला ।

हामी गहिरो निद्रामा भएको बेला स्वास चलाउन बिर्सिन्थ्यौँ होला । हामीले स्वास चलाएको होइन यो विशेष कर्म अरु नै कुनै शक्तिले स्वतः चलेको हो । हामीले खाएको भोजन आफै पचेको छ, हामीले पचाएको होइन । भोजनबाट रगतलगायत सात प्रकारका धातुहरु शरीरमा आफै बनेका छन् । शरीरमा रगत आफै चलेको छ, त्यसलाई कसैले चलाएको होइन ।

त्यसैगरी हाम्रो जन्म आफै भयो, युवावस्था आफै आयो, वृद्धावस्था आफै आउँछ र एक दिन मृत्यु पनि आफै आउँछ । हामीले गरेको भए बृद्धावस्था र मृत्युलाई रोक्थ्यौँ होला तर त्यो सम्भव छैन । हामीले एउटा विज जमिनमा रोप्छौँ त्यो आफै उम्रिन्छ, ठूलो हुन्छ र आफै फल लाग्छ । यसरी हेर्दा यो संसारका र हाम्रो जीवनसँग सम्बन्धित धेरै प्रकारका विशेष कर्महरु आफै स्वतः भइरहेका छन् । यहाँ कार्यहरु आफै भइरहेको छ र यो संसार यसरी नै अनादिकालदेखि नै चलिरहेको छ । अस्तित्वमा सबै कुराहरु आफै भइरहेको छ ।

त्यसैगरी हाम्रो जीवनमा आइपरेका सबै कुराहरु स्वतः भइरहेको छ । हाम्रो जीवनका धेरै कर्महरु आफै भइरहेका छन्, हामी त्यसका निमित्त मात्र हौँ । हामीद्वारा कर्म हुन्छ तर हामीले गरेको होइन । यो कुराको बोध हुनु नै अकर्मको स्थितिमा हुनु हो र कर्मयोगमा हुनु हो । हामी सबै कुरा थाहा पाउने साक्षी र द्रष्टा मात्र हौँ, हामी कर्ता होइनौँ ।

यो गहिरो सत्यलाई मनन् गरेर त्यसलाई आत्मासात गर्दै कर्तापनको भावनाबाट मुक्त हुनु नै अकर्म वा कर्मयोगमा हुनु हो । प्रकृतिले कर्म गर्न हामीलाई एउटा निमित्त मात्र बनाएको छ । जस्तो प्रकारको दायित्व पूरा गर्न हाम्रा अगाडि आउँछ, त्यसलाई कर्तव्य सम्झेर गर्दै जाने हो । मेरो माध्यमबाट कर्म भइरहेको छ, तर कर्ता म होइन भन्ने भावनाले कर्म गर्नु कर्मयोग हो ।

कर्तापनको भावनालाई हटाएर कर्म गर्दा हामीलाई कर्म गर्दा नै आनन्द आउँछ र हाम्रो मन शान्त रहन्छ । कर्मयोगमा जीवन जीउन थालेपछि हामीलाई तनाव, निराशा, वेचैनी र थकाई पनि लाग्दैन । जस्तै गाडीभित्र रहेको एउटा यात्रीले गाडी मेरो बल र शक्तिले चलेको छ भनेर भित्रबाट बल लगाएर पसिना–पसिना हुनुको कुनै अर्थ छैन । त्यसले शरीरको ऊर्जा मात्र सकिन्छ । गाडी अरु नै शक्तिले चलेको हुन्छ, यात्रीको बलले चलेको हुँदैन । गाडी ग्यास, पेट्रोल वा बिजुलीको शक्तिले चलेको हुन्छ । गाडीभित्र रहेको यात्रीले बल लगाएर तनाव, वेचैनी र निराश हुनुको सट्टा प्रकृतिको आनन्द लिँदै विश्रामपूर्वक यात्रा गर्नु बुद्धिमानी हुन्छ । त्यसैगरी यो विशाल ब्रह्माण्डका हामी यात्री हौँ र हामीले यो सुन्दर प्रकृतिको आनन्द लिँदै जीवन यात्राको आनन्द लिने हो ।

जस्तो प्रकारको दायित्व हाम्रा आगाडि आउँछ, त्यसलाई अहंकार र कर्तापनबाट हटेर कुशलतापूर्वक समत्वको भावनाले सबैको कल्याण हुने गरी कर्म गर्नु नै कर्मयोग हो । यो नै धर्मको सार पनि हो । कर्म गरिरहनु तर अकर्मको भावनामा रहनु कर्मयोग हो । ध्यानमा हुनु भनेको पनि अकर्ममा हुनु हो । अकर्ममा हुनु भनेको ध्यानमा हुनु बराबर हो । आजलाई यति नै, हरि ॐ !

सुप्रिया मां आनन्दपथ संस्थाका संस्थापक हुनुहुन्छ ।