Goraksha

National Daily

क्वारेन्टाइनमा बाँझो खेतको सपना : दर्केको झरी, चर्केको मन

खेमराज रिजाल
तुलसीपुर, १० असार । ‘जेठ १३ गते यहाँ छि¥यौं, २८ गते स्वाब निकालियो, रिपोर्ट कहिले हामी अन्योलमा छौं’, बाहिर रिमझिम झरी क्वारेन्टाइनभित्र बसेका नागरिकहरुको मन झरीजस्तै रोइरहेको छ । बिजौरीको जनता संस्कृत माध्यमिक विद्यालयमा व्यवस्थापन भएको क्वारेन्टाइनमा बसेकाहरुको अभिव्यक्ति हो, यो । सो क्वारेन्टाइनमा कम्तीमा एक सय मनहरु यसरी झरीझै रोइरहेका छन् ।

२–४ कठ्ठा बाँझो जग्गामा सुन फलाउने सपना बोकेर भारतीय बजारबाट घर छेउसम्म आइपुगेका असंगठित मजदुरहरु विगत एक महिनादेखि जिल्लाका विभिन्न क्वारेन्टाइनमा आश्रित छन् । जिल्लाभरी खेतीपाती शुरु भइसकेको छ ।

तर क्वारेन्टाइनमा बसेका व्यक्तिहरुको भने खेती बाँझै छ । ‘कोरोनाले माटोको माया जगाइदिएको थियो, जसोतसो नेपाल पुगेपछि गाउँमा रहेको बाँझो बारी खनजोत गरी अनिकालको जोहो गर्ने सोच बनाएका थियौं, तर हाम्रो कृषि सपना क्वारेन्टाइनमै थुनिएको छ’, तुलसीपुर उपमहानगरपालिका–१८ मनिकापुरका बसन्त बस्नेतले भने । आज रिपोर्ट आउला, भोलि आउला भन्दाभन्दै एक महिना पूरै बितेको बस्नेतको अनुभूति थियो । दर्केको झरी, चर्केको मन, रिपोर्ट नआउँदा क्वारेन्टाइनमै थुनिएका छन् ।

जनता संस्कृत माध्यमिक विद्यालय बिजौरीको क्वारेन्टाइनमा १ सय ८ जना व्यक्तिहरु बसिरहेका छन् । छाकवासको समस्या छैन, रोगको लक्षण देखिएका बिरामी पनि छैनन् । सबै व्यवस्थापन हुँदाहुँदै पनि त्यहाँ आश्रित नागरिकहरुको कृषि सपना भने अधुरै छ । बेचैन मनले मसिनो भातलाई पनि क्वारेन्टाइनभित्र स्वीकारेको छैन ।

‘पोहर सालसम्म अधिया दिन्थ्यौं, अब त आफैले खनखोरस गर्ने भनेर घर फिरेको थिएँ, मनिकापुरका बस्नेत भन्छन्– ‘तर डेढ बिगाहा बाँझो जग्गाले मलाई कुरिरहेको छ । भारतका विभिन्न शहरहरुबाट नेपाल आउँदा उनीहरुलाई कम्ती दुःख भएको थिएन ।

तर नेपालमा आफ्नै गाउँ ठाउँ आइपुगेका उनीहरुले अझै पनि घर फिर्न पाएका छैनन् । उतिबेला रेडियो र फेसबुकमा प्रधानमन्त्रीले भारतबाट आएका नेपाली श्रमिकहरुलाई कृषि श्रममा लगाउने भनेको उनीहरुले सम्झिरहेका छन् । तर रिपोर्ट आएन कोरोनाको…।

बस्नेत भन्छन्– ‘क्वारेन्टाइनमा खाएको मीठो–मसिनो दालभातले मात्र हाम्रो मन खुसी छैन ।’ भारतको दार्जिलिङमा कामको खोजीमा पुगेका बस्नेत त्यहाँ पुगेको तीन दिनमै लकडाउनमा परे । दुई महिनासम्म कम्पनीले खाना खुवाएर राख्यो । तर जब नेपाल आइपुगे, क्वारेन्टाइनको बसाई लम्बिइरहेकोमा उनको दुखेसो छ ।

‘उता त काम पाइएन, तर घरछेउको बाँझो बारीमा अन्न फलाउन चाहन्थें, तर क्वारेन्टाइनले विदा दिएन, मौसमले साथ दिइरहेको अवस्थामा पनि क्वारेन्टाइनले साथ दिएन’, बस्नेतले भन्छन्– ‘म यता रोइरहेको छु, उता घरमा डेढ बिगाहा पाखोबारी बाँझै छ ।’

क्वारेन्टाइनमै बस्दै आएका अर्का व्यक्ति बेगम पौडेलको पनि कृषि सपना क्वारेन्टाइनमै छटपटाइरहेको छ । भारतको पन्जाव राज्यमा ज्याला मजदुरी गर्दै आएका तुलसीपुर उपमहानगरपालिका १६ जहदागाउँका पौडेलको पनि खेतबारी बाँझै छ । मानो फालेर मुरी फलाउने लक्ष्य बोकेर भारतबाट निकै दुःखका साथ बिजौरीसम्म आएका पौडेल पनि करिब एक महिनादेखि क्वारेन्टाइनमै बसिरहेका छन् ।

यतिबेला पनि खेती गर्न पाएनौं भने भोलि के खाने ? भन्ने पौडेलको चिन्ता छ । २–४ कठ्ठा जमिनमा धान रोप्नका लागि उनले व्याडसमेत राख्न पाएका छैनन् । ‘खानपिनामा कुनै समस्या छैन, तर समयमा स्वाव परीक्षण नहुँदा क्वारेन्टाइनभित्रै बिद्रोह हुने पनि सम्भावना देखिएको छ’, मेस व्यवस्थापन समितिका संयोजक टीका पौडेलले भने ।

क्वारेन्टाइनमा रहेकाहरुलाई चाँडै पिसिआर परीक्षण गरी घर पठाउनेमा तीनै तहका सरकार गम्भीर देखिएका छैनन् । स्थानीय सरकारका जनप्रतिनिधिहरु कम्ती खटेका छैनन्, क्वारेन्टाइन व्यवस्थापनमा । तर उनीहरुको खटाई अर्थपूर्ण र परिणाममुखी बन्न सकेको छैन । कहिले मेसिन बिग्रनु त कहिले स्वाव परीक्षणका लागि किट र रिएजेन्ट उपलव्ध नहुनुले पिसिआर परीक्षणमा ढिलाई भइरहेको बताइन्छ । तर आवश्यक मात्रामा किट उपलव्ध गराउने सवालमा भने प्रदेश सरकार र संघीय सरकार कत्ति पनि गम्भीर नभएको क्वारेन्टाइनवासीको गुनासो छ ।

दाङ जिल्लाका क्वारेन्टाइनमा बसेकाहरुमध्ये बढीमा आधाको मात्र कोरोना परीक्षणको नतिजा आएको छ । बाँकी परीक्षणको पर्खाईमा छन् । परीक्षणमा एकरुपता पनि छैन । कतै पिसिआर परीक्षण त कतै आरडिटी परीक्षण । आरडिटी परीक्षण अर्थहीन भनिए पनि यहाँका स्थानीय पालिकाहरुले अझै पनि जिल्ला स्वास्थ्य कार्यालयमार्फत आरडिटी किट लगिरहेका छन् ।

स्थानीय तहका जनप्रतिनिधिहरुले सम्झाई–बुझाई गर्दै आएका छन् । तर पनि क्वारेन्टाइनमा बस्नेहरुको मन बुझाउन सकेका छैनन् । त्यसैले त तुलसीपुर उपमहानगरपालिका अश्वारामा व्यवस्थापन गरिएको क्वारेन्टाइनमा नाराबाजी समेत भएको छ । तुलसीपुर उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख ओमप्रकाश न्यौपाने क्वारेन्टाइनमै आएर चाँडै रिपोर्ट आउने भनेको पनि साता दिन नाघ्न थालेको छ, तर रिपोर्ट आउने टुंगो छैन ।

बस्नेत र पौडेल त क्वारेन्टाइनमा छटपटाउने प्रतिनिधिपात्र मात्र हुन् । तुलसीपुर उपमहानगरपालिकामा मात्रै यस्ता क्वारेन्टाइनमा छटपटाइरहेका कम्तीमा पनि १ हजार ६ सयको हाराहारीमा नागरिकहरु छन् । त्यसमा अधिकांशको स्वाव परीक्षणको नतिजा आएको छैन ।

उपमहानगरपालिकाले आरडिटी परीक्षण मात्र गरेर क्वारेन्टाइनमा बसेकालाई नपठाउने, सबैको अनिवार्य पिसिआर परीक्षण गरी नेगेटिभ आएपछि मात्र घर पठाउने भनेपछि समस्या भएको हो । ‘हामीले जनस्वास्थ्य कार्यालयमार्फत धेरै ताकेता गरिरहेका छौं, सायद यसैसाता अधिकांशको पिसिआर परीक्षणको रिपोर्ट आइपुग्ने छ’, तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश न्यौपानेले भने । पर्याप्त मात्रामा श्रोतसाधनको अभावमा समयमै स्वाव परीक्षण हुन नसकेको पनि न्यौपानेको भनाइ थियो ।

दाङ जिल्लाभरका क्वारेन्टाइनमा बसेका नागरिकहरुको स्वाव परीक्षणको काम राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हुँदै आएको छ । एकपटकमा ९६ जनासम्मको स्वाव परीक्षण क्षमताको मेसिन भए पनि दैनिक बढीमा ४ सयको हाराहारीमा मात्रै नमुना परीक्षण हुँदै आएको छ । त्यसमा पनि पर्याप्त मात्रामा किट र रिएजेन्ट उपलव्ध नहुँदा परीक्षणको दायरा बढाउन पनि समस्या भएको छ ।

प्रतिष्ठानमा एउटा अर्को पिसिआर परीक्षण मेसिन थपिएपछि भने अब दैनिक १ हजार जतिको स्वाव परीक्षण हुने दावी प्रतिष्ठानले गरेको छ । प्रतिष्ठानमा ६ नं. प्रदेशको सल्यान सुर्खेतसँगै विशेषगरी ५ नं. प्रदेशअन्तर्गत साविक राप्तीका सबै जिल्लामा रहेका क्वारेन्टाइनमा बसेकाहरुको स्वाव परीक्षण हँुदै आएको प्रतिष्ठानका निमित्त रजिष्टार कैलाशप्रसाद देवले बताएका छन् । उनले पहिले आएका स्वावको पहिले परीक्षण हुने बताउँदै अब प्रतिष्ठानमा बढीमा ४ हजार नमुना परीक्षणको पर्खाईमा रहेको पनि बताएका छन् ।

तर प्रतिष्ठानमा अझै पनि आवश्यक मात्रामा पिसिआर किट प्राप्त हुन सकिरहेको छैन । सायद किटकै अभावमा यो समाचार पाठकमाझ पुग्दा पिसिआर परीक्षण पनि रोकिन सक्ने प्रतिष्ठान श्रोतको दावी छ । ‘कम्तीमा १० हजार किट स्वास्थ्य मन्त्रालयमा माग भएको हो, तर २ हजार मात्र आयो’, प्रतिष्ठान श्रोतले भन्यो– ‘फेरि कहिले आउने टुंगो छैन ।’

स्थानीय पालिकाका अनुसार दाङ जिल्लाका विभिन्न विद्यालयमा व्यवस्थापन गरिएका क्वारेन्टाइनमा ३ हजार ८ सय ४६ जना नागरिकहरु रहेका छन् । ती नागरिकहरुमध्ये अधिकांश २५ देखि ५० बर्ष उमेर समूहका छन् । ती सबैलाई कृषि मजदुरका रुपमा उपयोग गर्न सकिने छ ।

‘सबैको स्वाब तानेर पठाइसकिएको छ, सम्भवतः आज बुधवारसम्म नतिजा आउँछ भन्ने अपेक्षा गरेका छौं, तर अझै पनि केही भन्न सक्ने अवस्था छैन’, तुलसीपुर उपमहानगरपालिका–१८ का अध्यक्ष माधव वलीले भने ।

तर बुधवार दिउँसोसम्म पनि परीक्षणको नतिजा आएको छैन । क्वारेन्टाइनमा बसाई लम्बिँदै गर्दा वडा सरकारलाई आर्थिक भार बढिरहेको अवस्थामा चाँडै स्वाव परीक्षणको व्यवस्थापनमा आफूहरु लागिपरेको पनि उनको अभिव्यक्ति थियो । खेतीपातीका बेला चाँडै उनीहरुलाई घर पठाउने आफूहरुको पनि चाहना भएको बताउँदै वडाध्यक्ष वलीले अब प्रतिष्ठानमा थप मेसिन आएकाले चाँडै रिपोर्ट आउने पनि बताए ।