आँशुमाथिको हाँसो
यम रेग्मी
‘थुक्क ! कुलङ्घार । का म¥याथिस् ? तीन–तीन दिनसम्म ?’ काली सर्केनी छोरालाई देखेर आगो भई । गोइठे केही बोलिन । चुक खाँदाकोझै मुख बनायो । पेटीमा गाग्रीभरि पानी थियो । लोटामा पानी सा¥यो । हात मुख धुन थाल्यो ।
‘आदा बातोमै यसका बाले राडी बनायो । आफू त म¥यो । म¥यो । न बासको हुन देओ । न घाटको । बा आम्नाले त सप्पैभन्दा भाग्यमानी यही हुन्चे भन्थे । के को राम्रो हँुदा हो ? भाग्यमा किरा प¥याको रैछ । कोएर सप्पै खस्यो भाग्य जति । डुमडुती गन्यायो आफैलाई । छोरोको चाला यस्तो छ ? कसको मुख हेरेर चित्त बुझाउन्या हो मैले ? कति अभागी रहेछु । रहन पनि ।’ काली सर्केनी गहबाट बर्रर आँसु झारी । घरको पेटीमा थचक्क बसी । उसको अगाडि भूकम्प गयो । केही बेर मरेको पतिलाई गाली गरी । केही बेर छोरालाई गाली गरी । सुक्क सुक्क गर्दै धेरैबेरसम्म रोइरई ।
गोइँठे आमाको गालीले मुर्मुरियो । तर केही बोलेन । आमाको अनुहारसम्म हेरेन । सरासर सुत्ने कोठामा गयो । खटियामा थचक्क बस्यो । गालामा हात लगाएर धेरै बेरसम्म टोलाइरह्यो ।
काली सर्केनी मनका केही बहहरू बगाई आँखाबाट । आँसुले केही सहज गरायो । पेटीबाट जुरुक उठी । धोतीको सप्कोले आँखा पुछी । तीन पटक सि.. सि.. सि.. गरेर नाकबाट पातलो सिगान फ्याकी । सरासर छोरो नजिक गई र बसी । छोरालाई सम्झाउँदै शान्त स्वरमा भनी– ‘अब त ठूलो भइसकिस् । किन यस्तो गर्छस् ?’ एक्कासी बाहिर बाँ….. बाँ…. गाई करायो । म्याँ म्याँ बाख्रा कराए माथिल्लो घर पाल्पानी बूढीको थियो । बूढी बाटोबाट कटुवालेझैँ ठूलो स्वरमा कराइन्– ‘ए काली ! काली ! काँ मरिस् र ? तेरो डाग्नालाई फुकान्नेस् ? चाँडै फुका । दाम्लो छिनाल्न लाइसके ? म त हिडेँ ग्वाला । ’
‘आएँ बजै ! आए ! एकछिन पख्नुस् ?’ काली सर्केनी जुरुक्क उठी । सरासर बाहिर आई । गाई बगालसँग चर्न जानलाई दाम्लो तानिरहेको थियो । गाईको दाम्लो फुकाई । बाख्राका फुकाई । गाई र बाख्रासँगै पाल्पाल्नीको पछिपछि लागी ।
गोइँठे जुरुक्क उठ्यो । शरीर तनन्क तान्यो र भान्सामा छि¥यो । भान्सा पनि के भान्सा भनौ र ? नाम मात्रको । बाँसको सिठाले बेरेको । अँध्यारो कुना । कोचाकोच ग¥यो भने तीन जनासम्म अट्नसक्ने । उसको थियो भान्सा कोठा । भोकले साह्रै सताएको थियो उसलाई । छामछुम गर्दै खाने चीज खोज्न थाल्यो । एक हुल माखाले आवाज निकालेर स्वागत गरे । कसैडीमा आटो भेटायो । कराईमा सिन्कीको झोल । जब कसौडीमा हात राख्यो । माखाहरू माहुरीको घारबाट निस्किएझैँ निस्किए । कराईको सिन्की हे¥यो । केही माखाहरूले आत्महत्या गरेका भेटायो । केही प्रभाह नगरी सिन्कीबाट माखा भिक्यो र मिल्कायो । सिन्की आटोको कसौडीमा खनायो । एक त हिउजस्तै चिसो आटो । त्यस माथि सिन्कीको चिसो झोल । हातले छुँदा पनि टिट्टाउने चौरासी ब्यञ्जन ? ‘भोजनभन्दा भोक मीठो भनेझै’ँ चिसो आटो मीठो मानी–मानी खायो ।
०००
कुरो चार महिना पछिको हो । गोधुलीको बेला थियो । थारू टोल बाहेका सबैका बस्तुभाउ गोठमा बाँधिसकेका थिए । साँझको पारिलो घाम । पाण्डवेश्वरी मन्दिरको डाँडामाथि पुगेर अस्ताउने तरखरमा थियो । ‘भाउजू ! ए भाउजू ! गोपाल ! ए गोपाल ! कोइ छैनन् क्या हो घरामा ?’ गोमा बोल्दै घरभित्र पसी ।
काली सर्केनी भान्सामा थिई । साँझको खाना तयारीको लागि । दिउँसोको पानीले दाउरा भिजेका थिए । ऊ आगो बाल्न खोज्दै थिई । आगो निभ्न खोज्दै थियो । कोठा धुवाले कोइरी मन्डोल थियो । कालीले घाटी तनक्क तानी । फुलुक्क ढोकामा हेरी । धेरै दिन पछि आफ्नै नन्दलाई देखी । मुसुक्क हाँसी र बोली– ‘आउनुस् नानी भित्रै । गोमा सरासर भित्र आई । नजिकैको चकटी तानी । त्यस माथि थचक्क बसी ।
‘आरामै हुनुहुन्छ नानी ? आज त दिउँसै चन्द्रमा उदायो ।’ काली हाँसेर बोली । दिउँसै चन्द्रमा कहाँ उदाउला भाउजू । बाहिर हेर्नु तो ? रात परी सक्यो । गोमा पनि हाँसेर बोली ।
हाँ…हाँ… हाँ… । धेरै दिनपछि घरले हाँसोको स्पर्स पायो ।
काली चिसा दाउरा चलाउँदै बोली– ‘आगोले हत्य पा¥यो नानी । दिनभरिको मुसलधारे पानी । चिसा दाउरा । म ग्वाला । गोइँठेले ओतै राखिनछ ।’ धेरै पटक फु … फू गर्दै फुकी । बढो मुस्किलले आगो सल्काई ।
‘गोपाल खै भाउजू ?’ गोमा बाहिरतिर हेर्दै बोली ।
‘त्यही कोठामा त म¥या होला । बाउ मरेदेखि यो केटो त साह्रै बिग्रियो नानी । कहिले राति घरमा आउछ । कहिले घरमै आन्न । केही राम्रा कुरा ग¥यो कि झनक्क रिसाउँछ । कसैको कुरा सुन्दै सुन्दैन । कि त हिँडेको हिडै हो । कि त घरमा बसेर टोलाइरहन्छ । दिउँसो काममा सघाउला । रात्रि पढ्ला । अक्षर चिन्ला । आशाले रात्री स्कुलमा पसासे भर्ना गरिदिए । स्कुलै जान मान्दैन । जानै छोडिगो ।
’काली कराईका काउलीको तरकारी झ्वाई पार्दै सुस्तरी बोली ।
‘बाबु ? गोपाल ? यहाँ आउ त ? को आ’छ आज तिम्रा घरामा’ गोमा भान्साबाट बोली । धेरै महिनापछि । आज उसले सक्कली नाम सुन्यो । धेरै प्रसन्न मन भयो उसको । मनमा खुसीका आँकुरा पलाए । शरीर चङ्गा भयो । सरासर आयो । फुपूको खुट्टा तान्यो र ढोगी दियो । फुपूको नजिक बस्यो ।
काली हातमा टुक्की दिई । हल्लाई । जिब्रो टोक्दै भनी– ‘ला ! तेलै रैनछ । सन्ज्या बेला भइसक्यो ।’ छोराको मुखमा पुलुक्क हेरी । बोली, ‘ए गोइँठे ! जा जा पसलमा जा । एक लिटर मटितेल किनेर ल्या र आ तो ?’
गोइँठे खालि जर्किन च्याप्प छोप्यो । पसलतिर खालि खुट्टै कुद्यो । दौड प्रतियोगीझैँ ।
ऊ कुर्दै तेल बोकेर घर फर्कदै थियो । एक्कासी बाटोमा । भेट भयो चार जना युवासँग । साघुरो बाटो । एकतिर गहिरो खोलो । अर्कोतिर अग्लो बार । भाग्ने कोसिस ग¥यो । सकेन । सबै रक्सीको मातमा थिए । टिप्परझैँ बाटो पुरै कब्जा गरेर हिँडेका थिए ।
गोइँठे टक्क रोकियो । पहिलो हुरीको बेला बाँस हल्लिएझैँ हल्लिएर बोल्यो,‘ को हो यो हँ ?’ दोस्रो उही गतिमा भन्यो, ‘के ल्याछस् जर्किनमा हँ ?’ गोइँठे रोउलाझैँ ग¥यो । रुन्चे स्वरमा भन्यो, ‘मतिटेल’
तेस्रो झनै गर्जियो । अश्लील शब्दसहित । बोल्यो, ए ! त्यही काली सर्केनीको बान हो । पोइ टोकुवा को ? यो गाउँमा तल्लो जातको नाम निशाना नै थिएन । एक घर सार्कीले गाँउ नै बिल्टो भयो यार । खरानी पार्दे सर्केनीको छाउरोलाई आगो लगाएर ?’
चौथो लट्पटिएको जिब्रोले बोल्यो– ‘एस ! एस ! सही कुरा ग¥यो यार । आज बामेले । त्यही मट्टितेल खनाएर जला सालेलाई ।’ गोइँठे डरले धामीझैँ लुगलुगी हल्लियो । परेलीबाट गाला हुँदै बर्रर आँसु झा¥यो । कट्टुबाट साप्रा हुँदै तर्तर पिसाब छोड्यो । निस्प्राण भयो भयको महासागरले । टक्क अडियो । बीचमार्गको प्रतिमाझैँ । शुन्य भयो । अन्नतः गगनझैँ । न केही देखे नयनले । न केही सुने कानले । न केही बोले अधरले । न केही सोच्यो मगजले । रित्तो ! रित्तो !! रित्तो !!! केवल रित्तो । महा रित्यो भयो ऊ ।
पहिलोले भ्याप्प गालामा बजायो । गोइँठे खग्रिन भयो । खराब सपनाबाट ब्यूझिएझैँ । कपडा निथु्रक्क भिजेको थियो डरले । ऊ क्वा क्वा गर्दै रुन थाल्यो ।
‘अझ रुन्छस् लाम्टा ? चुप लाग ?’ चौथौ दम्कायो । गोइँठे सुक्क गर्दै आँसु पुच्यो । पहिलोले दासीलाईझैँ आदेश दिँदै बोल्यो– ‘जर्किन बिर्को खोल ?’
बल गरिगरी खोल्यो । ‘कपालमा मट्टितेल खना ?’ दोस्रो बोल्यो । बच्चाले पिसाब फेरेझैँ । तुर्रर कपालमा खनायो । शिरदेखि खुट्टासम्म निथु्रक भिज्यो ।
तेस्रोले झ्यार सलाई को¥यो । एउटा खिल्ली खुकुरी चुरोट सल्कायो । बलेको सलाई काटी स्वाट्ट गोइँठेको शरीरमा फाल्यो ।
पहिलो बिचैमा सलाई काटी च्याप्प छोप्यो । भ्याप्प काटीको मा¥यो । तेस्रोलाई एक लात जमायो । बारमा घुसन पुग्यो । बारतिर हेर्दै भन्यो– ‘दलितलाई यातना पो दिन ला हो र ? यसको पीडामा आनन्दको लिन ला हो । के मार्न ला हो र ? सलाई फाल्छस्, दलित माथि ? मारी नै दिने हो भने कसको लागि शासन गर्ने ? कसलाई कजाउने ? कसको पसिना खाने ? ऐले तेरो बा जलेको भए । पुलिसले बाँकी राख्थ्यो हाम्लाई । जाक्थ्यो खोरमा ।’ उसले गोइँठेतिर पुलुक्क हे¥यो । भन्यो,‘ ए केटा ! जा घरमा ? ठूलो कालले बाचिस् आज ।’ कालको मुखबाट फुत्किएको मानिसझैँ गोइँठे बेगले घर कुद्यो ।
तल्लो जीवन (उपन्यास अंश)
क्रमश …
