सरकार पार्टीको निर्देशनमा चल्ने हो ?
विनोद पोख्रेल
२०७६ चैत ६ गते
कत्ति शंका नभएको त होइन तर पनि अनपेक्षित निर्णय वर्तमान सरकारले ग¥यो । दिउँसो कक्षा १ण् को जाँचको सबै तयारी पूरा भएको भनेर केही निर्देशनसमेत विज्ञप्ति राष्ट्रिय परीक्षा बोर्डले निकाल्यो । साँझ कक्षा १० को परीक्षासमेत सबै शैक्षिक गतिविधिहरु चैत मसान्तसम्मका लागि बन्द गरेको विज्ञप्ति निकाल्यो । ज्यान र परीक्षाको तुलना हुन सक्दैन ।
यसमा केही पनि विवाद छैन । तर यस्ता कुरा समय छँदै किन निर्णय हुँदैनन् ? यस्ता निर्णयले विद्यार्थी र उनका अभिभावकहरुमा ल्याउने तनाव अलग हुन्छ । त्योभन्दा बढी कतै साँच्चै महामारी भित्रिसकेको हो कि ? सरकारले अहिलेसम्म ढाँटेकै हो कि ? अथवा निर्णय लिने क्षमता सरकार र राष्ट्रिय परीक्षा बोर्डसँग नभएको हो कि ? यस्ता धेरै प्रश्नहरु उठ्नु स्वाभाविक हुन्छ जसले बढी त्रासको वातावरण सिर्जना गर्छ । यति घचक्कै पारेर त होइन तर परीक्षा हुन्छ भन्ने बेलामा नसोचेरै सरेको अनुभव भएकाहरुलाई थाहा हुन्छ परीक्षा सर्नुको पीडा ।
म त्यस्तै एकजना हुँ, जसले यो पीडा ब्यहोर्नुपरेको थियो । त्यसैले सबै तयारी गरेर परीक्षा दिन तयार भएका ४ लाखभन्दा बढी किशोर–किशोरीहरुको भावनासँग मेरो भावना पनि जोडिएको महसुस गरेको छु । मेरो ध्यान एउटा अर्को पक्षतर्फ पनि गएको छ । परीक्षा स्थगित गर्ने भन्ने कुरा केही दिन पहिले सदनमा समेत उठेको थियो । सरकार मौन बस्यो र केही चिन्ता नभएको कुरा गरिरह्यो । तर हिजो जति कुरा सञ्चार माध्यमबाट आयो त्यसअनुसार सत्तारुढ दलको माथिल्लो निकायको बैठकले सरकारलाई परीक्षा स्थगित गर्ने सल्लाहको नाममा निर्देशन दिएपछि परीक्षा स्थगित गरियो । यो प्रक्रियाका बारेमा प्रश्न उठ्नुपर्छ ।
यहाँ सरकार स्वतन्त्र छ या पार्टीको निर्देशनअनुसार चलिरहेको छ ? प्रजातन्त्रमा कुनै एउटा दलको निर्देशनमा सरकार चल्दैन, चल्नु हुँदैन । सरकारका आफ्ना कार्यक्षेत्र हुन्छन्, विधि हुन्छ, नियम–कानुन हुन्छ र ऊ यिनको आधारमा काम गर्न स्वतन्त्र हुन्छ । दलको निर्देशन पर्खिनु पर्दैन । तर यहाँ निर्णय गर्ने र लागू गर्ने प्रक्रियामा समेत शंका गर्ने ठाउँ बन्यो । फेरि एकपल्ट एउटा प्रजातन्त्रवादी झस्किने र सतर्क हुने बेला भएको जस्तो अनुभव पनि भयो । कुनै पनि यस्ता ठूला समूहलाई गहिरो प्रभाव पर्ने निर्णय गर्न लाग्दा पहिले नै केही समय छँदै गर्नुपर्ने हो अथवा केही सस्पेन्स मात्रै बनाएर राखेको भए पनि त्यति दुःखको अनुभव गर्नुपर्ने थिएन ।
जे भए पनि परीक्षा स्थगित भएको छ । अब सबैलाई सुरक्षित घरमा पुग्न पनि समयमै सूचना गर्दा राम्रो होला । नत्र भोलि बिहानदेखि यातायात बन्द भनेर अघिल्लो दिन साँझ ८ बजे निर्णय गरेर धेरैलाई अलपत्र पार्नेजस्ता कुराहरु नहोऊन् । संक्रमणबारे सत्य सूचना आम नागरिकलेृ पाइरहनुपर्छ ।
२०७६ चैत ७ गते
कहिले काहीँ अलि अलग कुरा मनमा आउँछ । भौतिक विकासतर्फ यत्रो आकर्षणको मतलब के छ ? जबकि अहिलेकै कुरा गर्ने हो भने एउटा भाइरस रोग कोरोनाले मानिसको जीवनलाई विश्वस्तरमै च्यालेन्स गरिरहेको छ । यो कुरो पनि भौतिकरुपले विकसित मानिने देशहरुमै बढी भएको छ भनेर उनीहरुले नै भनिरहेका छन् । जो सञ्चारदेखि पर, विकासदेखि पर, शुद्ध प्रकृतिमा छ, उसलाई केही चिन्ता छैन । अर्को पक्ष रुघा लाग्ने, ज्वरो आउने जस्ता रोगले विश्वलाई त्यति धेरै प्रभावित पार्न सक्छ भने मानव जीवनको लागि भएकै के पो रहेछ त !
रुघा, ज्वरोले यसरी कहालिनेहरुले चन्द्रमामै घर बनाए पनि कति सफल वा कति प्रगति गरेको मान्ने ? अर्को कोणबाट हेर्ने हो भने प्रकृति जहिले पनि मानव मस्तिष्कभन्दा सशक्त र रहस्यमयी छ । उसले चाहे जे पनि गर्न सक्छ । उसको प्रतिद्वन्दिता प्रकृति नैसँग हुने त भएन । त्यसकारण कुनै रहस्यमयी अज्ञात शक्ति अथवा दैवसँग मात्रै हुने गर्छ भनेर बुझ्नुपर्ने हो कि ! केही महिना पहिलेको अस्टेलियाको आगो निभाउन आकाशबाट बर्षा नै हुनप¥यो र भयो ।
मानिसले केही गर्न नसकेकै हो । त्यस्तै स्वाइन फ्लु, इबोला भाइरस आदि सामयिक उल्काहरुको समाधान जति मानिसले खोज्यो त्यति नै प्रकृतिले पनि खोजिदिएको देखिएको छ । यही कोरोना भाइरसकै कुरा गर्ने हो भने पनि डाक्टरकै कुरा सुन्दा गर्मी बढ्यो भने भाइरस त्यो तापक्रमले आफै मासिन्छ । यो चिसोमा नै बलियो हुन्छ । यदि हो यसरी नै पुसमै विस्फोट भएको भए के हुन्थ्यो होला ? अब गर्मी बढ्ला र प्रकृतिले यसलाई यिन्त्रण गर्ला भन्ने आशामा विश्व छ । अर्को पक्ष पनि छ । कतै यो जीव वैज्ञानिक हतियार त होइन ? कुनै दुष्ट प्रवृत्तिले प्रयोग गरेको पो हो कि ? जे भए पनि यस्ता रहस्यहरु समय–समयमा आफै विकसित हुन्छन् र पूरै चित्त बुझ्ने गरी उत्तर नभेटिएरै जाने गरेका छन् । यो एक प्रकारको नियमितताजस्तै बनेको छ ।
यसले मानवीय चरित्र पनि उदांग पारिदिने रहेछ । कहाँ मानिसको जीवन बचाउने कुरा छ, विश्व संक्रमणमा छ । त्यस्तो परिवेशमा केही बहादुरहरु १५÷२० रुपैयाँको मास्क र मुख ढाक्ने कपडाको कालोबजारीमा व्यस्त छन् । मर्ने वा दुःख पाउनेभन्दा केही रुपैयाँ कमाउने धुनमै छन्, उनीहरु । कति गलत, कति अमानवीय, कति नीच र कति संकीर्ण स्वार्थ हो ? यस्तो स्वार्थ रहँदासम्म मानवता र भौतिक विकासको सकारात्मक पक्षलाई जोडेर हेर्न सकिँदैन । जबसम्म मानिसको सोचको विकास हुँदैन तबसम्म के विकास भएको भन्नु ? जबसम्म मानव जीवनलाई सुरक्षित बनाउन सकिँदैन तबसम्म विकासको यो रुपलाई कसरी सकारात्मक रुपले व्याख्या गर्ने ? कमसेकम विकासको परिणाम मानव जीवनको सुरक्षा गर्न सक्ने त हुनैपर्ने हो ।
