पिता
पुष्पा शर्मा
ईश्वर रुपका पिता सन्तानका निमित्त हुन्
पिता नै जीवन पिता नै पालनकर्ता हुन्
कर्मयोग सिकाउने सत्कर्म बाटो देखाउने
पांग्रा एक पवित्र आदर्श पाठ सिकाउने ।
वात्सल्य छ मनभित्र सन्तानका खातिर
ऋणमा आफू डुबेर खुशी दिन छन् तत्पर
धैर्य, संयम राखेर अगाडि बढ्ने दिन्दिन
अप्रदर्शित प्यारले ढाक्दछन् घर दिन्दिन ।
छहारी हो पिता बाह्य तापबाट जोगाउने
निडर भई हरदम साँचो बाँच्न सिकाउने
अडिग वृक्षझैँ अस्तित्व घरको जोगाउने
जगमगाई सूर्यझैँ प्रकाशित तुल्याउने ।
आफूभित्र पिल्सिई सन्तानलाई हँसाउने
संसारका पीडाबाट सन्तानलाई बचाउने
पिता गुरु मानिन्छन् पिता नै वंश रक्षक
सत्पुरुष बन्न सकेमा पिता सच्चा प्रशंसक ।।
