Goraksha

National Daily

द्रौपदीको उत्पत्ति र पाँच पाण्डवसँग विवाह

राधेश्याम उपाध्याय

खाण्डव वन दाह :– पहिला कुनै समयमा श्वेतकी नाम गरेका यज्ञप्रेमी शक्तिशाली पराक्रमी एवं वुद्धिमान राजा थिए । उनले ठूलो मख (यज्ञ) गरे । उक्त यज्ञमा भएको ध्यूको धारा अग्निको पेटमा पर्नाले अजीर्ण भयो । अग्निले आफ्नो व्यथा ब्रम्ह्रालाई विन्ति गरे र ब्रम्ह्राले खाण्डव वन भस्म गरेर आफ्नो पेटको अजीर्ण शान्त पार्न सुझाब दिए । अग्निले पनि ब्रम्ह्राको आज्ञा अनुसार खाण्डव वन जलाउन आँटेका थिए । यो कुरा ईद्रले थाहा पाए र ईन्द्रले जल बर्षा गराएर खाण्डव वन जलाउन दिएनन् ।

अग्निले शिवको आज्ञाअनुसार केही समय मौका पर्खेर बसेका थिए । जब श्रीकृष्ण र अर्जुन तेही बाटो हिंडिरहेको अग्निले देखे र आफ्नो व्यथा सुनाई सहयोग गर्न अनुरोध गरे । श्रीकृष्ण र अर्जुनको सहयोगबाट अग्निले पनि मौकामा आफ्नो कार्य पूरा गरे । इन्द्र क्रोधित भै युद्ध भयो । युद्धमा अर्जुनले ईन्द्रलाई खुसी पारे । अर्जुन ईन्द्रका अंश थिए । ईन्द्रले अर्जुनलाई धेरै आशिष र दीर्घायूको कामना गरे । अर्जुनलाई तिम्रो इच्छा के छ माग भन्दा शस्त्रास्त्रको ज्ञान पाऊ भन्दा समय आएमा म तिमीलाई शस्त्रास्त्रको ज्ञान दिनेछु भनी इन्द्र स्वर्ग गए । अग्नि पनि खुसी भएर श्रीकृष्णलाई कौमोदकी गदा र अर्जुनलाई गाण्डीव धनु , कहीले खालि नहुने वाण राख्ने ठोक्रो र एउटा सुन्दर रथ प्रदान गरेर आफ्नो कार्य सम्पन्न भएकाले खुसी साथ बाटो लागे ।

अग्निले खाण्डव वन जलाउँदा मयदानव, नागका छोरा अश्वसेन, चार पन्छी सारङ्गका र तक्षेक नाग बचेका थिए । तक्षेक नाग भने अर्जुनको अन्तिम वंशलाई टोकेर मार्नेछु भन्ने प्रण प्रतिज्ञा गरेर भागेर बचेका थिए । खाण्डव वन दाहको समयमा आफ्नो प्राण रक्षा गरी दिएकोमा श्रीकृष्णको आदेशमा इन्द्रप्रस्थपुरीमा अलौकिक वस्तुहरु राखेर दिब्य दरवार (सभाहल) मयले निर्माण गरी दिए ।

केही समयपछि नारदजी घुम्दै इन्द्रप्रस्थपुरीमा आउनु भयो र राजसुय यज्ञ गरी चक्रवर्ती तथा स्वतन्त्र राष्ट्रको राजा भै चारैतर्फ सुकीर्ति फैलाउन र पितृहरुको उद्धार गर्ने सल्लाह दिनुभयो । युधिष्ठिरले पनि आफ्ना वन्धुवान्धव, साथीभाइ, छिमेकी राज्यका सज्जनहरु साधुसन्त ऋषिमुनिहरु को सल्लाह लिए र सबैले आफ्नो कीर्ति र पितृहरुको उद्धारका लागि गर्ने सल्लाह दिए । अब कसरी राजसूय यज्ञ गर्ने भन्ने धर्मकुमारलाई चिन्ता भयो र श्रीकृष्णलाई बोलाउन द्वारीकापूरीमा दुत पठाए । पाण्डवहरु श्रीकृष्णका प्यारा थिए त्यसैले तत्काल आउनु भयो । पाँच पाण्डवहरुले श्रीकृष्णको पूजा अराधना गरे । युधिष्ठिरले राजसूय यज्ञ कसरी गर्ने भन्ने चिन्ता र जिज्ञासा राखे र श्रीकृष्णले भन्नुभयो राजसूय यज्ञ गर्नका लागि प्रशस्त धनको आवश्यक पर्दछ ।

त्यसैले पृथ्वीका सबै राजाहरुलाई जितेर धेरै धन सम्पत्ति जम्मा गर्नु पर्दछ । त्यो भन्दा पहिला मगध राज्यमा जरासन्ध नामको दुष्ट, उद्दण्ड, दूराचारी दुर्बुद्धी पापी राजा छ जसले शम्भुलाई खुसी पार्न एक शय मानव वली दिन्छु भनी पृथ्वीभरीका ८६ राजाहरुलाई थुनेर राखेको छ । त्यसलाई जितेर ती राजाहरुलाई मुक्त गराउनु पर्दछ । काम जटिल छ किन भने म पनि त्यसका डरले भागेर द्वारीका गयर बसेको छु । तर उसलाई कुनै युक्ति लगाएर मार्नुपर्दछ त्यसपछि राजसूय यज्ञमा कुनै बाध पर्ने छैन र राजसूय यज्ञ कुनै अवरोध नभएर सम्पन्न हुने छ ।

जरासन्धको जन्म मृत्यु :– मगध राज्यमा बृहद्रध नाम गरेका राजा राज्य गर्दथे । ती राजा सेनाका स्वामी वीर क्षमताशील रुपवान धनवान शक्ति सम्पन्न र यज्ञहरु गर्ने याज्ञिक पनि थिए । तीनले काशिराजकी दुई सुन्दरी कन्यालाई विवाह गरेका थिए तर दुवैबाट सन्तान भएनन् । पुत्रेष्ठी यज्ञ आदि गरे तापनि पुत्र प्राप्ति भएनन् । सन्तान नभएका कारण राजा बृहद्रध तिन्तित थिए । राजा चिन्ताले बिरक्तिएर राजपाठ छोडी जङ्गलतर्फ लागे ।

जङ्गलमा गौतम ऋषिका छोरा चण्डकौशिकसँग भेट हुन्छ । राजाले आफ्नो दुखनिवारणका लागि अनुरोध गर्दछन् । उनको पुकार सुनेर ऋषिमा करुणा जाग्दछ । ऋषि त्यस समयमा तपस्याबाट आएर आँपको रुखमुनि बसेर भगवत आराधना गर्दै थिए । ऋषिका योगबलले एउटा आँपको फल उनको हातमा आयो र उक्त फल मुनीले अभिमन्त्रण गरेर राजालाई दिँदै भने यो फल लगेर रानीलाई खान दिनु एउटा बलवान पुत्रको जन्म हुनेछ । राजा खुसीले गर्दा दुईटी रानीलाई कसरी खुवाउने वा दुईटी रानीलाई खुवाउने कि नखुवाउने सोधेनन् । राजा रानी दरबार फर्किए । राजाले आँपको फलबीच बाट चिरेर दुवै रानीलाई खान दिए । दुवै रानी गर्भवती भए ।

राजा रानी खुसी भए । दिनमास पूरा भयो । दुवै रानीबाट आधा–आधा शरीर भएका पुत्रहरु जन्मिए । ऋषिले एउटा पुत्रको मात्र आशिष दिएका थिए । राजा रानी डराएर महल बाहिर फालिदिए । त्यही बाटो भएर जरा नामकी राक्षसनी आउँदै थिई त्यसले बच्चा रोइरहेको सुनी र खानलाई उठाइ तर बच्चाहरु रोइरहेकाले उसलाई दया लागेर आफ्ना मायाले जोडेर बचाई । सो राक्षसनीले राजा बृहद्रधलाई सम्मान गर्दथी त्यसैले बच्चा राजालाई दिइ र आफ्नो बाटो लागि । राजाले जरा नामकी राक्षसनीले आफ्नो मायाले जोडेकाले त्यसको नाम जरासन्ध राखे र छोरा बनाई राखे ।

केही समयपछि महर्षि चण्डकौशिक मगध देशमा आए र तिम्रो पुत्र वलवान तेजस्वी ओजस्वी रुपवान हुनेछ । यससँग कसैले मुकाबिला गर्न सक्ने छैन भनि आफ्नो आश्रमतर्फ लागे । राजाले जरासन्धलाई राज्यभार सुम्पियर राजा रानी वनतर्फ लागे । जरासन्ध कृष्णका मामा कंशको ससुरा थिए । उसको अनन्य मित्र काल्यवन थियो । उसको शय राजा शिवलाई बली चढाएर चक्रवर्ती राजा बन्ने तीव्र ईच्छा थियो । बलीका लागि ८६ राजालाई बन्दी बनाइसकेको थियो । कृष्णले मामा कंशलाई मारेपछि जरासन्ध आफ्ना ज्वाइँको हत्यारा कृष्णप्रति साह्यौ क्रुध थियो ।

यसरी कृष्णले राजसूय यज्ञ पूरा हुने उपाय भनेपछि युधिष्ठिरको आदेशअनुसार श्रीकृष्ण, भीम र अर्जुन मगधराज्यतर्फ लागे । विभिन्न अवरोधहरु पार गर्दै ब्राह्मणरुपमा श्रीकृष्ण, भीम र अर्जुन राजा जरासन्धका नजिक पुगे । त्यसबेला मगध राज्यमा उत्पातहरु भए जसलाई ब्राह्मणहरुद्वारा स्वस्तिशान्ति गराए । ब्राह्मण ठानेर राजाले अतिथिको पूजा गर्नका लागि जरासन्ध नजिक आए त्यो देखेर श्रीकृष्णले यी ब्राह्मण अहिले मौन ब्रत मा छन् रात्रीमा बोल्दछन् अनि पूजा गर्नुहोला भने सोही बमोजिम राजा जरासन्धले पनि अतिथिको राम्रो व्यबस्था गरेर राखे । रात्रिमा जब अतिथिको पूजाअर्चना गर्न जरासन्ध गए त्यहाँ अलौकिक छटा, दृक्ष्य देखे र आश्चर्य माने र सोधे नढाटी भन तिमीहरु को हौ ? आफूलाई ब्राह्मण भन्दछौं, ब्राह्मण भेषमा आएका छौं तर तिमीहरुको चालढाल र चिन्ह ब्राह्मणको जस्तो देखिँदैन । क्षेत्रीय योद्धाहरुको जस्तो हातमा धनुर्वाणको ठेलाहरु छ शारीरिक बनोट पनि ब्राह्मणको जस्तो छैन ।

मुख्य ढोकाबाट नआएर पर्खाल फोडेर आएका छौं तिमीहरुको कुरा र व्यहार फरक छ । भनेर सोद्धा कृष्ण भन्नुहुछ । हे राजा जरासन्ध तिमीले ठिक भन्यौ शत्रुको घरमा आउँदा सोझै मुख्या ढोकाबाट आउनु हुँदैन यो नीतिले भन्दछ । त्यसैले हामी सोझै मुख्य ढोकाबाट नआएर तिम्रो पर्खाल फोडेर आएका हौं । म तिम्रो पुरानो शत्रु कृष्ण हँु र यी युधिष्ठिरका भाइ भीम र अर्जुन हुन् । तिमीले पृथ्वीका ८६ राजाहरुलाई थुनेर राखेका छौं तिनी निर्दोष छन् तिनीहरुलाई छोडी देऊ । हैन भने युद्ध गर्न आऊ भनेर भन्दा जरासन्ध लडन तयार भए र भीम र जरासन्धको कार्तिक कृष्ण प्रतिपदाका दिनदेखि साईस दिनसम्म लगातार मल्लयुद्ध भयो । कृष्णले भीमलाई सङ्केत गर्दै एउटा सिन्का बीचबाट चिरेरविपरीत दिशातर्फ फालिदिन्छन् । भीमले कृष्णको सङ्केत बुझदछन् र जरान्धको एउटा खुट्टा आफ्नो खुट्टाले दवाउँछन र अर्को खुट्टालाई हातले शरीरको बीचबाट चिर्दै दुई फ्याक पारेर विपरीत दिशातर्फ फालिदिन्छन् । यसरी जरासन्धलाई भीमले मारेर त्यहाँका बन्दी ८६ राजाहरुलाई थुनामुक्त गरी जरासन्धको छोरा सहदेवलाई बोलाएर राजा बनाई प्रशस्त धन सम्पत्ति लिई थुना मुक्त राजाहरुलाई साथ लिई इन्द्रप्रस्थपुरी फर्कन्छन् ।

यो सुनेर युधिष्ठिर खुसी भए माधवलाई सोधे हे माधव अब साजसूय यज्ञ गर्नका लागि के गर्नुपर्ला भन्दा चारै भाइलाई चार दिशा पठाएर पृथ्वीका सम्पूर्ण राजाहरुलाई जिती धन जम्मा गर्न श्रीकृष्णले सल्लाह दिनुभयो र युधिष्ठिरले चारै भाइलाई बोलाएर अर्जुनलाइ उत्तर, भीमलाई पूर्व, सहदेवलाई दक्षिण र नकुललाई पश्चिम दिशातर्फ पठाए । चारै भाइ चारै दिशातर्फ गए र सम्पूर्ण राजाहरुलाई जिती प्रशस्त धन सम्पत्ति जम्मा गरी ल्याए ।

क्रमशः