वन्यजन्तुको आतङ्कले किसान हैरान
भरत विश्वकर्मा
रोल्पा, ६ वैशाख । सुनिलस्मृति गाउँपालिका–२ खुंग्री महेन्द्रीकी किसान तिला विक वन्यजन्तुको आतङ्कबाट आजित छिन् । बारीमा लगाएको बाली सप्रन नपाउँदै वन्यजन्तुले खाइदिँदा उनी चिन्तामा परेकी हुन् । यस भेगमा बर्सेनि बारीमा लगाएको बालीनाली वन्यजन्तुले सखाप पार्ने गरेका छन् । दिनमा बाँदर आतङ्क र रातमा बँदेल, रातेलगायतका जंगली जनावरले किसानलाई सताउने गरेका छन् ।
‘बाँदरले धेरै समस्या गरेको छ यहाँ मकै, तरकारी अन्नबाली खाने गरेको छ’, तिला विकले भनिन् ‘एक त सिँचाइ सुविधा प्रशस्त छैन त्यसमाथि थोरै–थोरै पानी जम्मा गरेर घरमा खानका लागि लगाएको तरकारी पनि बाँदर आएर एकैछिनमा सकिदिन्छ ।’ जंगली जनावरले हैरानीमा पारेको उनको भनाइ छ । ‘अहिले बारीमा लगाएको आलु एक दाना पनि लैजान पाएनौँ हामीले,’ उनले थपिन्, ‘बारीमा जे लगाए पनि बाँकी राख्दैनन्, खेती गर्नु दुःख मात्र हुन्छ ।
बारीमा लगाएको तरकारी, अन्न बाली मात्र होइन बाँदरले त घरभित्र पसेर समेत क्षति पु¥याउन थालेको छ । ‘बारीमा लगाएका सबै खान्छ प्याज लसुन, जे पनि खान्छ त्यति मात्र नभएर घरभित्रै पस्छ, यहाँ त केही गरे पनि नहुने भयो गहुँ, अदुवा मकै जे लगाए पनि आएर खाइदिहाल्छ,’ अर्की किसान कली सुनारले दुःखेसो पखिन् । ‘राति बँदेल आएर खाएर खान्छ, दिनभर बाँदर उब्जनी पनि खासै हुँदैन,’ उनले भनिन्, ‘बाँदर, बँदेल नआउने उपाय गरिदिए हुन्न्थ्यो ।’
पछिल्लो समय वनमा वन्यजन्तु बढिरहेको छ । जंगलमा वन्यजन्तुको लागि प्रशस्त मात्रामा आहार नहुँदा किसानले लगाएको बालीमा समेत वन्यजन्तुले क्षति पु¥याउन थालेको छ । बारीमा लगाएको बाली वन्यजन्तुले क्षणभर मै सखाप पार्न थालेपछि सुनिलस्मृति–२ खुंग्रीस्थित महेन्द्री, हरिगाउँलगायत आसपासका बस्तीका किसान बसाइँसराइ गरी अन्यत्र जाने जोखिमसमेत बढ्न थालेको छ ।
सुनिलस्मृति–२ खुंग्री महेन्द्रीकै अर्का किसान चन्द मरमथानीको गुनासो पनि उस्तै छ । वन्यजन्तुको कारण बारीमा भएको खेतीपाती सबै सखाप हुने गरेको उनी बताउँछन् । ‘यस विषयमा तारजालीका लागि बजेट माग्ने भनेर हामी प्रदेश सरकार स्थानीय सरकार, वन कार्यालयलगायतको निकायमा गएका थियौँ तर केही भएन,’ उनले भने, ‘यस विषयमा यहाँ वनको कोषबाट अक्षयकोष छ त्यसबाट हामीलाई क्षतिपूर्तिका रूपमा दिने भनेको छ तर दिएको थाहा पाइएको छैन ।’
बाँदरको विकल्पमा अरू खेती गरे पनि बँदेल, राते, मयुरलगायतका वन्यजन्तु पनि आउने भएकाले यो एकदमै चुनौती भएको उनी बताउँछन् । ‘पहिले त धेरै समस्या थिएन अहिले त धेरै भयो,’ उनले भने, ‘वन्यजन्तु मार्न पनि नपाउने, बन्देज गर्न पनि नपाउने भएर होला वन्यजन्तुको संख्या बढेको ।’ खेतीपातीबाट लगानी अनुसारको फल प्राप्त नभए पनि किसान विस्तापित नै हुन थालेको उनले बताए ।
लागत नै उठाउन मुस्किल भएकाले खेतीबाट किसान विस्थापित भइरहेको उनले बताए । जसको कारण बसाइँसराइको जोखिम बढेको छ भने अन्य देशमा गएर रोजगारी गरी रोजीरोटी चलाउनु परेको उनले बताए । वन्यजन्तु नियन्त्रणको माग गर्दै यहाँका किसानले स्थानीय सरकार, प्रदेश सरकार, वन कार्यालयलगायत सम्बन्धित निकायमा पटक–पटक जानकारी दिँदा पनि सुनुवाइ नभएको किसानको गुनासो छ ।
सुनिलस्मृति गाउँपालिका–२ की वडा सदस्य दिना सोनी वन्यजन्तुको आतङ्कको विषयमा पालिकामा छलफल भएको बताइन् । ‘बस्तीको चारैतिरबाट तारजालीका लागि भनेर कुरा गाउँपालिकासम्म पनि पुगेको छ,’ उनले भनिन् । वन्यजन्तुको आतङ्कले किसान हैरानीमा छन् । मेहेनत गरी खेतीपाती ग¥यो क्षणभरमै वन्यजन्तुले सखाप पारिदिने यस्ता समस्याबाट आजित भएका किसान यसको विकल्पको खोजी गरिदिन अनुरोध गरेका छन् । यस गाउँका करिब दुई सय घरधुरी यसको प्रत्यक्ष मारमा छन् । पछिल्लो समय जंगल नजिकका बस्ती वन्यजन्तुले क्षति गरिहाल्ने भएकाले बाँझै रहन थालेका छन् ।
