जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
गोरक्ष समाचारदाता
दाङ,४ बैशाख । तुलसीपुर उपमहानगरपालिका–१७ स्थीत बेलझुण्डी रंगशालामा १६ औं दाङ जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्लास्तरीय रनिङशिल्ड प्रतियोगिताको शुक्रवार लुम्बिनी प्रदेशका जलस्रोत उर्जा तथा सिँचाइ मन्त्री सीता चौधरीले उद्घाटन गरेकी थिइन ।
जिल्लाका दशवटै स्थानीय तहका खेलाडीहरुको सहभागीता सुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री चौधरीले खेलकुदका माध्यमबाट आफुसँगै आफ्नो ठाउँ र देशलाई अन्तराष्ट्रिय क्षेत्रमा चिनाउने गरि तयारीमा लाग्न खेलाडीलाई आग्रह गरेकी थिइन । खेलकुदको विकासका लागि प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै कार्यक्रमकी प्रमुख अतिथि चौधरीले खेलाडीलाई अनुसासित भएर आफ्नो क्षमता विकासमा ध्यान दिन आग्रह गरेकी थिइन ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले खेलकुद क्षेत्रको विकासका लागि लगानी बढाउन आवश्यक रहेको बताए । तीनै तहका सरकारले खेलकुदलाई प्राथमिकतामा राखेपनि आवश्यक लगानी गर्न नसकेको भन्दै खेलकुद क्षेत्रको विकासका लागि लगानी बढाउन आवश्यक रहेको बताए । कार्यक्रममा प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव तिरणदाज गौतमले खेलकुद क्षेत्र र खेलाडी क्षमता विकासका लागि भौतिक पूर्वाधार, प्रशिक्षणसँगै नियमित प्रतियोगिता हुन आवश्यक रहेको बताए । तर राज्यले खेलकुद क्षेत्रका लागि प्रयाप्त बजेट बिनियोजन नगर्दा पूर्वाधार अभावसँगै नियमित प्रशिक्षण र खेलकुदका प्रतियोगिता हुन नसकेको बताए ।
खेलकुद विकास समिति दाङका कार्यालय प्रमुख राकेश परियारको अध्यक्षतामा भएको कार्यक्रममा बंगलाचुली गाउँपालिका अध्यक्ष सुवास पुनले खेलकुद क्षेत्रको विकासले खेलाडीहरुमा अनुशासनको विकाससँगै नेतृत्वदायी भूमिकाको विकास गर्ने भएकाले लगानी गर्न आवश्यक रहेको बताएका थिए । खेलकुद विकास समितिका पूर्व अध्यक्ष हुकुम बस्नेतले नयाँ खेलाडीलाई आफनो खेल क्षमता प्रर्दशन गर्ने राम्रो अवसर राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता भएको बताए । बैशाखको ४, ५ र ६ गते तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल, कवडी, तेक्वान्दो, कराते, उसुसँगै एथलेक्टिसका खेलहरु हुनेछन् ।
प्रतियोगिताको उद्घाटन सत्रमा प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने तुलसीपुर उपमहानगरपालिका, बङ्गलाचुली गाउँपालिकालगायतलाई सम्मान गरिएको छ । कार्यक्रमको सहजीकरण पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए । प्रतियोगिताको उद्घाटन पूर्व खेलाडीले मार्चपास गरेका थिए । प्रतियोगितामा जिल्लाका दशवटा स्थानीय तहका करिव एक हजार बढी खेलाडीले विभिन्न खेलमा प्रतिष्पर्धा गर्नेछन् ।
