२५औँ आईटिएफ तेक्वान्दोमा व्रिटिसालाई स्वर्ण
दाङ, ५ वैशाख । काठमाडौँमा भएको २५ औँ आईटिएफ तेक्वान्दो तथा दोस्रो यू–१५ विद्यालयस्तरीय राष्ट्रिय प्रतियोगिता–२०८२ मा दाङकी व्रिटिसा गुरुङले स्वर्ण पदक जितेकी छिन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै दाङको घोराही निवासी गुरुङले फाइनल खेलमा मधेश प्रदेशकी अनुष्का सिंहलाई पराजित गर्दै स्वर्ण पदक जित्न सफल भएकी हुन ।
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको आयोजनामा दशरथ रंगशालामा वैशाख ४ र ५ गते भएको प्रतियोगितामा गुरुङले लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै जुनियर ४५–५० केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् । त्यसैगरी प्रतियोगितामा दाङकै सञ्जना विकले रजत पदक जितेकी छिन् । लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सिनियर ४५–५० केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी विकले रजत पदक जित्न सफल भइन ।
प्रतियोगितामा जुनियरतर्फ सोयल अन्सारी र हुमानी रावतले काश्य पदक जित्दै लुम्बिनी प्रदेशलाई पदक जिताएका छन् । जुनियरतर्फ अन्सारीले ३०–३५ केजी तौल समूह र रावत २५–३० केजी तौल समूहमा प्रतिस्पर्धा गरेका थिए ।
बस्नेत राष्ट्रिय प्रतियोगितामा रेफ्री
यसैबीच आईटिएफ तेक्वान्दोका अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक लीलाधर बस्नेतले काठमाडौंमा भएको राष्ट्रिय प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गरेका छन् । बस्नेतले काठमाडौंमा भएको २५ औँ आईटिएफ तेक्वान्दो तथा दोस्रो यू–१५ विद्यालयस्तरीय राष्ट्रिय प्रतियोगितामा रेफ्रिको भूमिका निर्वाह गरेका हुन ।
दाङ जिल्ला आईटिएफ तेक्वान्दो संघका सचिव समेत रहेका बस्नेत त्रिभुवन आर्मीबाट लामो समय खेलेका अनुभवी खेलाडी हुन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर देशका लागि विभिन्न पदक जितिसकेका बस्नेतले दाङको घोराहीमा विभिन्न विद्यालयमा पछिल्लो समय खेल प्रशिक्षकको भूमिका निर्वाह गर्दै आएका छन्।
