म र मेरो चाहानाभित्र लुकेको सत्य ?
नारायणप्रसाद श्रेष्ठ
म सुख चाहन्छु । मेरो उद्देश्य सुख र खुसी हुनु हो । म यस्तो शब्द हो जसले सधैं आफू कसरी खुसी हुने र अरुरुलाई पनि कसरी खुसी बनाउने भन्ने कुरामा सधैं चिन्तित र मनन गरिरहेको हुन्छ । बिहान उठेदेखि बेलुका अबेरसम्म म केवल मेरै लागि, मेरै स्वार्थ परिपूर्ति गर्नको लागि, अहोरात्र सोचिरहन्छ ।
त्यति मात्र होइन मैले आफ्नो स्वार्थ परिपूर्तिको लागि सधै भन्ने पनि गर्छ– म चाहन्छु सर्वेभवन्तु सुखिन, सर्वेसन्तु निरामायाः । उ अरुको विचार आफूतिर आकर्षक गर्न तथा विचारसँग तालमेल मिलाउन, बाह्य आवरणमा उसैको साख्यै बन्न निकै तानावाना बुन्न पनि पछि पर्दैन । वास्तवमा उसले जुन सोच र चिन्तन बाहिर प्रवाह गरेको हुन्छ यो उसको अहंकार र घमण्डको प्रलोभन मात्र हो । तसर्थ यस कुरालाई गम्भीर रुपले चिन्तन गर्न सक्नुपर्छ ।
यो म भन्ने शब्द अचम्मको छ कहिले स्वच्छ रुपले भन्ने गर्छ, म चाहन्छु यो भुलोकमा सबैले शान्ति र सद्भावपूर्ण जीवनयापन गर्न सकुन् । म सधैं अरुको सेवा र सद्भावमा समर्पण हुन सकु । यही म र मेरो इच्छा र आकांक्षा पनि यस्तै गर्ने रहेको छ । वास्तवमा मेरो चाहना सकारात्मक भाव जागृत गराउनु पनि हो । स्वच्छ समाजको निर्माणमा आफूलाई समर्पण गराउनु हो । म मेरो चाहानाभित्र लुकेको सत्य यस्तो छ ।
जीवन जबसम्म चलायमान हुन्छ, तबसम्म यी मेरा हातहरुले सधैं अरुको चहराइरहेको घाउमा मलमपट्टी लगाउन सकोस् । जीवनको हरेक उकाली ओरालीमा सदैव मेरा पाइलाहरु सकारात्मक चिन्तनका साथ अघि बढुन्, यो मेरो प्रतिज्ञा पनि हो । म परिकल्पनाको सहरमा हैन, यथार्थ र वास्तविक धरातलमा रहेर स्वच्छ समाज, समुन्नत राष्ट्र, हाम्रो मातृभूमि बनोस्, यही चाहाना राख्छु । मातृभूमिको प्रेरणा र उत्साहले हामी सबैको जीवन सकारात्मक चिन्तन र योगदानतर्फ आकृष्ट होस्, यो पनि मेरो चाहाना हो ।
चाहान्छु, यस्तो चाहान्छु उस्तो होस यी सबै मेरो चाहनाभित्र रहेको छ । शान्ति र सद्भाव जीवनको उद्देश्य हुनुपर्छ भनी मैले सधैं चिन्तन र मनन पनि गरिरहन्छ । सदा सर्वदा सबैप्रति समभाव अपनाई जीवन र जगतलाई शान्ति र सद्भावको आधार बनाउन सबै जागृत हुन् भन्ने कामना पनि म गर्न चाहन्छ तर स्वार्थभित्र गुजल्टिएको मनभित्रको मैले सधै आफ्नो स्वार्थलाई सर्वोपरी विचारसँग आफूलाई समर्पण गराइरहेको सत्य सबैलाई महसुस गराइरहेको पनि हुन्छ ।
मित्रहरु यी सबै भावनाहरु केवल म र मेरो चाहना र इच्छाभित्र रहेका भावना हुन् । तर, यहाँ भन्न खोजेको के कुरा हो भने, म सुख चाहन्छु । म खुसी चाहन्छु । म आराम चाहन्छु । म सधैँ सही गोरेटोमा हिँड्न चाहन्छु । म सधै शान्ति चाहान्छु । यहाँ उल्लिखित विचारमा मलाई विश्लेषण गर्ने हो भने प्रथम त मेरो चाहना म मा सीमित रहेको छ । म के गर्छु, चाहन्छु, खुसी ।
म दुःखभित्र रोमलिन चाहँदैन म सुख, खुसीभित्र रहन चाहान्छु । म शान्ति र सद्भाव चाहान्छु । यी सबै कुरालाई गहिरेर अध्ययन गर्ने हो भने यहाँ तीन वाक्य छन् । म खुसी र चाहन्छु । यसले के देखाउँछ भने म चाहन्छु । यसको मतलब म मा स्वार्थ भाव छ । किनकि मैले सधैं एउटै कुरा भनिरहन्छु म चाहन्छु ।
वास्तवमा म भन्ने शब्द अहंकारको पर्यायवाची शब्द हो । चाहन्छु मेरो स्वार्थबाट अल्झिएको भावना हो । यसरी सरसर्ती पढ्दा म र चाहन्छुले स्वार्थ र अहंकारको विजारोपण गरेको देखिन्छ । किनकि माथि जति पनि विचार सम्प्रेषण गरिएका छन्, ती सबै व्यक्तिगत र स्वार्थपरक विचारमा आधारित सत्य मात्र हो । त्यहाँभित्र अहंकार र स्वार्थ लुकेको पाइन्छ । सर्बजन हिताय, सर्वजन सुखाय भन्ने भाव यहाँ देखिएको छैन ।
यहाँ केवल म चाहन्छु । भित्र सबै लुकेको छ । तसर्थ जबसम्म म, मैले र मेरोले वास्तविक अन्तरसत्यको उजागर गर्न सक्दैन, तबसम्म यो मैले मलाई सधैं स्वार्थ र अहंकारभित्र रोमलिरहन्छ । जबसम्म मेरो अन्तरसत्यको भावलाई म अहंवादले बुझ्न सकिँदैन, तबसम्म त्यहाँ कहीँ न कतै स्वार्थ र अहंकारले मानिसको विचारलाई दिगभर्मित गराइरहेको अवस्था रहन्छ । तसर्थ जीवनलाई सही र सत्य मार्गमा लगाउनु छ भने प्रथम त आफूले आफैलाई म को हुँ ।
म किन यहाँ आए । मेरो उद्देश्य के हो । मैले अरुलाई किन सहयोग गर्ने । म किन खुसी र सुख चाहने । त्यो कुराको अन्तरसत्यभित्र लुकेको भावलाई बुझ्न जरुरी छ । शान्ति मेरो चाहना मात्र होइन यो त सबैको चाहना पनि हो तर पनि मानिस एक अर्काबिच काटमार झै झगडा गरिरहेको पाइन्छ ।
एकले अर्कालाई खुट्टा तान्दै तछाडमछाड गरी लुछाचुडी गरेको अवस्था विद्यमान रहेको छ । यस्तो अवस्थामा आफ्ना विचारलाई सम्प्रेषण गर्दा बहुजनहिताय, बहुजन सुखायको मान्यतामा प्रदर्शन हुन दिनु पर्दछ तर यस्तो हुन नसक्ने हो भने त्यहाँ म आफूले आफूलाई पहिचान गरेको ठहर्दैन । त्यसैले जीवन छ त जगत छ ।
उ छ र म छु । हामी छौँ र हाम्रो समाज, राष्ट्र र मातृभूमि छ भनी सोच्ने हो भने प्रथम त म भन्ने अहंकारलाई हटाउन जरुरी छ । जब म हट्छ, तब त्यहाँ केवल दुई शब्द सुखी वा खुसी चाहन्छु, रहेको हुन्छ । त्यसबेलामा पनि यदि हामीले चाहन्छु भनेर स्वार्थ प्रदर्शन गर्ने हो भने त्यहाँ पनि हाम्रा विचारलाई स्वार्थ केन्द्रित विचार हो भन्ने अवस्था रहन्छ ।
त्यसैले म हटाइसकेपछि बाँकी रहने खुसी र चाहन्छु भन्ने शब्दमा चाहन्छु भन्ने शब्द यदि हटाउने सामथ्र्य हामीले जागृत गर्न सक्यौ भने तब मात्र त्यहाँ खुसी रहन्छ । वर्तमानको अवस्थालाई हेर्ने हो भने मैले सबै गर्छु भन्ने अहंकार युक्त परिवेश निकै जवरजस्त हिसाबले आएको देखिन्छ । यसरी म भित्र लुकेको अहंकार र चाहनाभित्र लुकेको स्वार्थले समाजलाई अहंकारतिर डो¥याइरहेको देखिन्छ ।
तसर्थ यस कुरालाई गम्भीर भएर चिन्तन गर्नुपर्छ । जब हामी यसलाई तिलाञ्जली दिने संकल्प गर्न सक्छौँ, तत्पश्चात हामीभित्रको अहंकार र स्वार्थ स्वत बिलय हुने स्थिति हुन्छ । र अन्तर्मनको सत्यले खोजेको यथार्थ धरातल पत्ता लाग्दछ । हाम्रो मातृभूमिले खोजेको पनि यही हो । गौतम बुद्ध त्यसै बुद्ध बनेका होइनन् ।
उनले आफू सबै कुराले सम्पन्न भएर पनि भौतिक सत्यलाई छोडी अन्तर आत्माको सत्य थाहा पाउन जपतप ध्यान योगको साहारा लिइ अन्तर मनको सत्यलाई पहिचान गरी सत्य, धर्म, शान्ति प्रेम र अहिंसालाई अंगाली बुद्धत्व प्राप्त गरी बुद्ध सन्देश सर्वत्र फैलाउन सफल भएको पाइन्छ । त्यसैगरी अन्तर मनको दैलोमा रहेको सत्य पहिचान गर्न जरुरी छ । बाआमा खोजेर पाइने चिज वस्तु होइन र पाइँदैन पनि ।
संसारमा जति पनि प्राकृतिक सत्य छ, चराचर जगत छ । त्यहाँ भौतिक सुख सुविधा मात्र छ । यी सबै हाम्रो चाहनालाई आकर्षण गर्ने माध्यम हुन् । हामी जन्म दिने बाबुआमा र कर्म दिने सामाजिक वातावरणलाई जबसम्म बुझ्न सक्दैनौं, तबसम्म हामी अध्यारोमै रोमलिरहन्छौं । त्यसैले म मैले भन्ने शब्द जस्ता अहंकारी भावलाई हटाई खुसी, सुखी भन्ने शब्दलाई मात्र आत्मसात गरेर एक अर्काबिच सहयोग र सद्भावबाट सिक्ने र सिकाउने अवस्थामा पु¥याउन जरुरी छ ।
तब मात्र त्यहाँ शान्ति र सद्भाव पाइन्छ । त्यसको लागि हामीले आफूलाई र आफ्नो अन्तरसत्यको भावलाई बुझ्न जरुरी छ । जसै हामी हाम्रो पहिचानलाई सर्वजन हितायः सर्बजन सुखायः को मान्यतामा आफूलाई समर्पण गर्ने अवस्थामा पुग्ने सामर्थ राख्न सक्दछौं तब मात्र मातृभूमिप्रतिको जिम्मेवारी बहन गरेको अवस्था रहन्छ ।
त्यसैले यहाँ के भन्न खोजिएको छ भने सर्ब प्रथम आफूले आफैलाई चिह्न सक्नु पर्छ । बुद्ध त्यसै बुद्ध बनेका होइनन् । उनले मार्गनिर्देश गरेका जति पनि विचार छन् उनले छोडेका जति दर्शन छन्, ती केवल कुरा र भाषणमा होइन, अन्तरमनको सत्यभित्र पु¥याएर व्यावहारिक जीवन शैलीमा उतार्ने खालका छन् । यो कुरा हामीले बुझ्न सक्नु परेको छ ।
जीवन कोरा कागज सरह हुन्छ । यहाँ जे लेखिन्छ त्यही पढिन्छ । त्यही आचरण र विचार बढ्दै जान्छ । तसर्थ जन्ममरणको इतिहासभित्र रहेको यो चोलामा हामीले केवल आफूले आफैलाई पढ्न सक्नुपर्छ । आफ्नो अन्तर मनको सत्यलाई पहिचान गर्न सक्नुपर्छ । जीवनको गोरेटोमा मार्ग निर्देशन गर्ने सामाजिक वातावरणलाई स्वच्छ र सफा हराभरा प्राकृतिक सत्यको यथार्थभित्र गुञ्जायमान गराउने संकल्प गर्नुपर्दछ ।
हामी जे गर्छौ, जे बोल्छौ, जुन कुराको हामी सधैं चिन्तन मनन गर्छौं, यी सबै सामाजिक वातावरणले हामीलाई पारेको प्रभाव स्वरुप हाम्रा आचरण उजागर भएका मात्र हुन् । त्यसैले आफूले आफैलाई आफ्नो सामाजिक रुपरेखालाई बदल्न अहंकार र स्वार्थका भावनालाई तिलाञ्जली दिई, स्वच्छ समाज समुन्नत राष्ट्रको परिकल्पनालाई साकार बनाउन आफूभित्रको सत्यको पहिचान गर्न सिकौं ।
एक अर्काबीचका राम्रा भावनालाई समेट्दै विकृति र विसंगतिलाई निर्मूल गर्ने कुरातर्फ हाम्रो ध्यान आकर्षण गरौं । समयले यही खोजिरहेको छ । हाम्रो आचरण र व्यवहारलाई शुद्ध बनाई आफू र आफ्नो भविष्यको गोरेटोलाई सकारात्मक भाव उन्मुख बनाउ । यो हामी सबैको जिम्मेवारी हो । म व्यक्ति नभई आत्मा हुँ भनी जब हामीले म को अर्थ बुझ्दछौ, तब त्यहाँ म को स्वार्थपरक दुर्गन्ध स्वतह समाप्त रहने अवस्था आउँछ ।
जुन अवस्थामा हामीले हाम्रो मनको सत्य थाहा पाउछौँ तब मात्र जीवनले खोजेको सत्य बाहिर आउँछ । तसर्थ यो सत्य बुझ्न जरुरी छ । आत्माको न त स्वरुप हुन्छ न त रंग नै हुन्छ । यो त त्यो शक्तिहो जो निराकार छ । जब हामी यो कुरा बुझ्दछौ । न आदि न अन्तको परिभाषा बुझ्न थाल्दछौ । तब त्यहाँ र त्यहाँभित्र लुकेको स्वार्थपरक चिन्तन, विस्तारै समाप्त हुँदै जान्छ ।
त्यसैले म र स्वार्थभित्र लुकेको चाहानालाई पर सारी आत्मा अनुभूति गर्ने दिशातर्फ अब हामी सबैको ध्यान जान जरुरी छ । म बाट हामी र मेरोबाट हाम्रो भन्ने भावना जबसम्म हामीले आत्मबोध गर्न सक्दैनौ तबसम्म हाम्रा विचार स्वार्थभित्र लुटपुटी रहेको हुन्छ । तसर्थ यस कुरालाई बुझेर मलाई हटाउन सक्नु परेको छ । समयले पनि यही खोजिरहेको छ । चेतना भया ।
