वन्यजन्तुको अस्तित्व र मानवीय जिम्मेवारी
भुपेन्द्र सुवेदी
बिश्वमा रहेका विभिन्न बन्यजन्तुहरु आ–आफ्नै विशेषता, रुपरङ र बसोबासका कारण अनेकौँ नामले चिनिन्छन् र ती नामहरुले नै हरेक जनावरलाई छुट्टै पहिचान दिएको हुन्छ । हाम्रो भूगोलमा पाइने हात्ती, गैँडा, बाघ, भालु, चितुवा, हिउँ चितुवा, ध्वाँसे चितुवा, ब्वाँसो, जङ्गली कुकुर, जङ्गली बदेल, अर्ना, मगर गोही, गौरी गाई, अजिङ्गर, कस्तुरी मृग, न्यूरी मुसा, स्याल, गुनाको मृग, बाँदरजस्ता जीवले नेपाललाई बन्यजन्तुका दृष्टिले समृद्ध बनाउँछन् ।
यिनै जनावरका कारण नेपाल बिश्वसामु पहिचान बनाइरहेको छ र विदेशी मुद्रासमेत आर्जन गर्ने महत्त्वपूर्ण आधार बनेको छ । नेपालका निकुञ्ज तथा संरक्षित क्षेत्रमा हुने गणना, संरक्षण र अध्ययन अनुसन्धानका कार्यक्रमहरु बिश्व बन्यजन्तु दिवसको अवसरमा सञ्चालन गरिनु यसको उदाहरण हो ।
नेपालका संरक्षित क्षेत्रहरुको जिम्मा नेपाली सेनाले सम्हाल्ने गरेको भए पनि ती निकुञ्ज वरिपरिका बासिन्दा भने सधैंजसो समस्यामा पर्ने गरेका छन् । दाउरा, घाँस, चौपाया चराउने स्थान, खेतबारीको सुरक्षा र दैनिक जीवनका सामान्य काममा समेत प्रतिबन्ध र अवरोध परेकाले स्थानीय जनता र निकुञ्ज प्रशासनबीच कहिलेकाहीँ तीव्र तनाब उत्पन्न हुन्छ ।
बर्दिया, चितवन, शुक्लाफाँटा तथा अन्य निकुञ्ज क्षेत्रमा बाघ वा चितुवाजस्ता जनावरका आक्रमणका घटना बारम्बार देखिन्छन् र ती घटनाले मानव जीवन तथा पशुधनमा गम्भीर क्षति पु¥याउँछन् । क्षति भोगेका स्थानीयले राहत पाउने प्रक्रिया अत्यन्तै जटिल रहेको गुनासो पनि वर्षौँदेखि दोहोरिँदै आएको छ ।
बिश्व बन्यजन्तु दिवस नेपालमा फागुन १९ गते मनाइन्छ, जुन अन्तरराष्ट्रीयरुपमा मनाइने मार्च २ तारिखसँग मेल खान्छ । यही दिनको अवसरमा बन्यजन्तु संरक्षणका चुनौती, जैविक बिविधताको मूल्य, मानव र प्रकृतिबीचको सम्बन्ध, स्थानीय समुदायको भूमिका तथा आगामी पुस्ताका लागि बनाइने मार्गचित्रका बारेमा विशेष चर्चा गरिन्छ । यिनै प्रसङ्गलाई दृष्टिगत गर्दै यो लेख लेखिँदैछ, जसमा स्वदेश र बिदेशका विविध पक्षलाई समेट्दै संरक्षणप्रतिको चेतना जगाउने प्रयास गरिएको छ ।
पृथ्वीमा रहेका हरेक जैविक प्रजाति वास्तवमै मानवका लागि प्रकृतिले दिएको अनुपम उपहार हुन् । मानव सभ्यताको आरम्भदेखि नै मानिस र प्रकृतिबीच अविच्छिन्न सम्बन्ध रहँदै आएको छ । मानिसले आफ्नो जीवनका हरेक चरणमा बोटबिरुवा, वनस्पति, प्राणी र प्राकृतिक स्रोतहरुसँग सहजीवन गर्दै आएको छ ।
यिनै जैविक विविधताले पृथ्वीको वातावरण सन्तुलित राखेको छ र मानव सभ्यताले विकासका तीव्र सिँढी चढ्न सफल भएको छ । यसैले बन्यजन्तु तथा बनस्पतिको संरक्षण केवल आवश्यकता मात्र होइन, प्राकृतिक अस्तित्वको आधारका रुपमा पनि अनिवार्य विषय बनेको छ ।
नेपालमा परापूर्वकालदेखि नै सिकारलाई निरुत्साहित गर्ने, बन्यजन्तुप्रति सम्मान गर्ने र तिनलाई धार्मिक मूल्यसँग जोड्ने परम्परा रहिआएको छ । हिन्दु तथा बौद्ध संस्कृतिमा जीव हत्या पाप मानिन्छ र धेरै जनावरलाई देवी–देवताको वाहानका रुपमा बुझिन्छ । गाईलाई लक्ष्मी, मुसालाई गणेशको साथी, सिंहलाई दुर्गाको तेज, बकुल्लालाई विष्णुको प्रतिक, मोरलाई कुमारीको पवित्रता जस्ता विश्वासले बन्यजन्तुप्रति श्रद्धा र संरक्षणको भावना बढाएको छ ।
तर समय बदलिंदै जाँदा मनोरन्जन, प्रतिष्ठा र धनका लागि जनावरको सिकार हुने क्रम पनि बढ्यो । दुर्लभ जनावरका छाला, हाड, दाँत वा अन्य भाग बहुमूल्य वस्तुको रुपमा बिक्न थालेपछि तस्करीले विश्वभर ठूलै जालो फैलायो र नेपाल पनि यसका असरबाट अछुतो रहन सकेन ।
हिउँ चितुवा, बाघ, गैँडा, कस्तुरी मृग तथा अन्य बहुमूल्य जनावरहरुको अवैध व्यापार बढ्दै गएपछि ती प्रजाति लोपोन्मुख बन्न पुगे । जिन्दगीको मूल्यभन्दा व्यापारको मूल्य बढी देख्ने मानसिकताले प्रकृतिको सबैभन्दा सुन्दर धरोहर नै जोखिममा पारेको छ ।
मानव लोभ, अवैध बजार, सिमानापारिको तस्करी तथा सहयोगीहरुको जालो हटाउन कठिन चुनौती बन्न पुगेको छ । आजका दिनमा जैविक बिविधताको ह्रास बिश्वकै गम्भीर समस्या बनेको छ । वातावरणीय सन्तुलन बिग्रँदै गइरहेको छ र पृथ्वीलाई बाँच्नै नसक्ने अवस्थामा पु¥याउने खतरा बढ्दो छ ।
यस्तो समस्याको सामना गर्न बिश्वमा अनेकौँ प्रयास भइरहेका छन् । राष्ट्रहरुबीचका सन्धि, नियम, प्रतिबद्धता, अनुगमन, अनुसन्धान तथा संरक्षणकार्य निरन्तर अघि बढिरहेका छन् । नेपालमा पनि निकुञ्ज, संरक्षण क्षेत्र, सामुदायिक वन, स्थानीय उपभोक्ता समिति, सरकारी निकाय, गैरसरकारी संस्था लगायत धेरै संस्थाहरुले बन्यजन्तु तथा बनस्पतिको रक्षा गर्न महत्वपूर्ण योगदान दिँदै आएका छन् ।
तर यी सबै प्रयास अपेक्षाकृत प्रभावकारी हुन सकेका छैनन् । संरक्षणका कार्यक्रम धेरै छन्, तर दिगो कार्यान्वयनमा चुनौती रहिरहेकै छ । नेपालमा घरपालुवा जनावर बाहेक प्राकृतिक अवस्थामै बसोबास गर्ने प्राणीलाई बन्यजन्तु भनिन्छ । स्तनधारीदेखि लिएर किरा फट्यांग्रासम्म सबै नै बन्यजन्तु समूहमा पर्छन् ।
राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षणसम्बन्धी ऐनले बन्यजन्तुको विस्तृत परिभाषा दिएको छ, जसअनुसार कुनै पनि प्राकृतिक पर्यावरणमा पाइने जीव, पन्छी, सरिसृप, उभयचर, जलचर वा कीराफट्यांग्रालाई बन्यजन्तुका रुपमा मानिन्छ । साथै, बीउ–बिउँजोसहित बोटबिरुवालाई पनि सो व्याख्याभित्र राखिएको छ ।
नेपालका ग्रामीण बस्ती नजिकका वन क्षेत्रबाट निकुञ्ज भित्रिएका वा बाहिरिएका बन्यजन्तुले खेतबारी नष्ट गर्ने, पशुधन मार्ने, मानिसमाथि आक्रमण गर्ने जस्ता घटना बढ्दो छ । क्षति हुँदा राहत पाउने व्यवस्था भए पनि प्रक्रिया झन्झटिलो हुँदा धेरै नागरिकले असन्तोष व्यक्त गर्ने गरेका छन् । सरकारी निकाय, स्थानीय प्रशासन र संरक्षण इकाइबीचको दूरीले समस्या झनै गम्भीर हुने गरेको छ ।
यसलाई समाधान गर्न सरोकारवालाहरुबीच निरन्तर संवाद, स्थानीय समुदायको सहभागिता, वैज्ञानिक विधिको उपयोग, जनचेतना विस्तार र राहत वितरण प्रक्रियामा सुधार अनिवार्य छ । नेपालले संविधानमार्फत नागरिकलाई स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार दिएको भए पनि बन्यजन्तु तथा बनस्पतिको सुरक्षित बासस्थानको अधिकारलाई पर्याप्त प्राथमिकता दिन सकेको छ भन्ने गुनासो उठ्ने गरेको छ । प्रकृतिका जीव पनि मानव सरह बाँच्न चाहन्छन् र उनीहरुको बासस्थानमा मानवीय चाप बढ्दै जाँदा उनीहरु संघर्षमा धकेलिन्छन् ।
दुर्लभ बन्यजन्तु तथा बनस्पतिको संख्या घट्दै गइरेका कारण सरकारले वैज्ञानिक आधारमा एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण, प्रजनन केन्द्र स्थापना, चोरीसिकार नियन्त्रण, ग्रामीण क्षेत्रमा सुरक्षा पूर्वाधार निर्माण जस्ता कार्यक्रमहरु अगाडि बढाइरहेको छ । समुदाय स्तरमै जनचेतना विस्तार, विद्यालयमा प्रकृति शिक्षा, गाउँ–गाउँमा बन संरक्षण समूह गठनले केही हदसम्म सकारात्मक परिणाम पनि दिइरहेको छ ।
अहिले बिश्वभरि प्रकृतिको अधिकारको कुरा उठिरहेको छ । मानव अधिकार जत्तिकै महत्त्वपूर्ण रुपमा जीव–जनावर तथा बनस्पतिको अस्तित्वलाई सम्मान गर्ने धारणा मजबुत हुँदै गएको छ । पृथ्वी केवल मानवको लागि मात्र होइन, प्रत्येक जीवको साझा घर हो भन्ने चेतना विस्तार हुँदै जानु नै बिश्व बन्यजन्तु दिवसको मूल सार हो । मानव मात्र बाँच्दा पृथ्वी बाँच्दैन तर मानवसहित समस्त प्राणी बाँच्न पाए पृथ्वी पनि सन्तुलित र सुरक्षित रहन्छ ।
यही सोचका साथ, प्रकृतिको संरक्षण मानव सभ्यताको अस्तित्व र दायित्व दुवै हो । बन्यजन्तु, बनस्पति, जल, माटो, हवा, पहाड, खोला सबै मिलेर पृथ्वी सुन्दर र वासयोग्य बनेको छ । जति हामी प्रकृतिलाई माया गर्छौं, प्रकृतिले पनि उति नै उदारतापूर्वक हामीलाई जीवन दिन्छ । यही परस्पर सम्बन्ध जोगाइराख्न सके मात्र भविष्यका पुस्ताले सुरक्षित वातावरणमा बाँच्न पाउँछन् । यही सन्देश फैलाउँदै विश्व बन्यजन्तु दिवसले प्रत्येक वर्ष हामीलाई प्रकृतिप्रति कृतज्ञ बन्न प्रेरित गर्छ ।
अन्त्यमा प्रकृतिलाई सम्मान गरौँ, बन्यजन्तुलाई सुरक्षित बनाऔँ, बनस्पतिको रक्षा गरौँ र भविष्यका पुस्तालाई जीवनयोग्य पृथ्वी हस्तान्तरण गरौँ भन्ने मनोकामना व्यक्त गर्दै यस लेखको समापन गर्दछु ।
