calander

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  

Goraksha

National Daily

अख्तियारमा रोल्पाका स्थानीय तहका उजुरी बर्सेनि बढ्दै

भरत विश्वकमा
रोल्पा, १७ मङ्सिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत आर्थिक वर्ष २०८१÷०८२ मा रोल्पाका स्थानीय तहको ६४ वटा उजुरी परेका छन् । एक नगरपालिका र ९ गाउँपालिका गरी १० स्थानीय तह रहेको रोल्पामा गत आर्थिक वर्ष ०८१÷०८२ मा सो परिमाणमा उजुरी परेका हुन् ।

गत आर्थिक वर्षमा सुनिलस्मृति गाउँपालिका विरुद्धमा बढी उजुरी परेको देखिएको छ भने थबाङ गाउँपालिका विरुद्धमा उजुरी शून्य रहेको छ । अघिल्लो आर्थिक वर्षमा जिल्लाका स्थानीय तहविरुद्ध ९९ उजुरी परेका थिए । अघिल्लो आर्थिक वर्षको तुलनामा उजुरी कम परे पनि अन्य वर्षमा बर्सेनि उजुरी सङ्ख्या बढ्दै गएको देखिन्छ । गत आर्थिक वर्षमा जिल्लाको सुनिलस्मृति पालिका विरुद्धमा १८ उजुरी परेका छन् ।

गंगादेव विरुद्ध १७, त्रिवेणी र लुङ्ग्री विरुद्ध सात÷सात उजुरी परेका छन् । यसैगरी रोल्पा नगरपालिकाविरुद्ध छ, रुन्टीगढी पालिका विरुद्ध चार, माडीविरुद्ध तीन, परिवर्तन र सुनछहरी विरुद्ध एक÷एक वटा उजुरी परेका छन् भने थबाङमा उजुरी नपरेको अख्तियार बुटवल सम्पर्क कार्यालय नेपालगन्जका सूचना अधिकारी कुशल न्यौपानेले जानकारी दिए ।

अख्तियारमा उजुरी परेकामध्ये रोल्पा, लुङ्ग्री, सुनछहरी, परिवर्तन, रुन्टीगढी, त्रिवेणी गाउँपालिकाले सबै उजुरी फस्र्योट गरेका छन् भने सुनिलस्मृति, गंगादेव र माडीका एक÷एक वटा उजुरी फस्र्योट हुन अझै बाँकी रहेको सूचना अधिकारी न्यौपानेले बताए । अधिकांश उजुरीमध्ये पछिल्लो समय स्थानीय सरकारका उजुरी बढी रहेको पाइएको छ । यसले स्थानीय सरकारमा भ्रष्टाचार तथा आर्थिक अनियमितता भएको अनुमान छ ।

सर्वसाधारण नागरिकमा उजुरी कसरी गर्ने भन्ने विषयमा जानकारी नहुँदा उजुरी कम परेको हुनसक्ने बताइन्छ तर पछिल्लो समय समग्रमा उजुरी बढ्दै गएको कार्यालयले जनाएको छ । स्थानीय तहमा विकासका नाममा भएका भ्रष्टाचार तथा आर्थिक अनियमिततासम्बन्धी उजुरी बढी पर्ने गरेको जनाएको छ ।

चार वर्षमा २३७ उजुरी

रोल्पाका स्थानीय तह विरुद्ध विगत चार आर्थिक वर्षको अवधिमा दुई सय ३७ वटा उजुरी परेका छन् । यी मध्ये एक सय ८७ उजुरी फस्र्योट भएका छन् भने ५१ वटा उजुरी अझै फस्र्योट हुन बाँकी रहेको छ । अख्तियार कार्यालय नेपालगन्जका अनुसार आर्थिक वर्ष ०७८÷०७९ रोल्पाका स्थानीय तहविरुद्धमा २९ वटा उजुरी दर्ता भएकोमा १९ वटा उजुरी फस्र्योट भएका छन् ।

आर्थिक वर्ष ०७९÷०८० मा ४५ उजुरी परेकामा २२ वटा फस्र्योट भएका छन् । यसैगरी आर्थिक वर्ष ०८०÷०८१ मा ९९ वटा उजुरी परेकोमा चार वटा फस्र्योट भएका छन् । ०८१÷०८२ मा ६४ वटा उजुरी परेकोमा ६१ वटा फस्र्योट भएको अख्तियार बुटवल सम्पर्क कार्यालय नेपालगन्जका कार्यालय प्रमुख शम्भुप्रसाद रेग्मीले जानकारी दिएका छन् ।

स्थानीय तहमा बजेट तथा कार्यक्रम तर्जुमा, सार्वजनिक खरिद र निर्माण, तालिम तथा क्षमता विकास, प्राकृतिक स्रोत–साधन उपयोग, राजस्व चुहावट, सेवा प्रवाह, अनुदान वितरण कर्मचारी नियुक्ति, आर्थिक सहायता र राहत, सरकारी सवारी साधन दुरुपयोग, इन्धन दुरुपयोगलगायतका विषयमा बढी उजुरी पर्ने गरेको उनको भनाइ छ ।