calander

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  

Goraksha

National Daily

स्थानीयद्वारा टिप्पर सञ्चालन रोक

मधुसूदन गिरी
कमिरेचौर, १७ मङ्सिर । बंगलाचुली गाउँपालिकाका–३ र ४ का स्थानीयले सिमेन्ट उद्योगका टिप्पर सञ्चालनमा अनिश्चितकालीन रोक लगाएका छन् । सडक बिग्रिएको अवस्थामा समयमै मर्मत नगरिएको, पदयात्रीका लागि फुटपाथ निर्माणमा बेवास्ता गरिएको तथा नालाबाट बग्ने फोहोर पानी खानेपानीको मुहानसम्म पुग्ने समस्या टिप्परका कारण भएपछि स्थानीयले टिप्पर सञ्चालनमा रोक लगाउने निर्णय गरेका हुन् ।

स्थानीयका अनुसार सगरमाथा सिमेन्ट गोग्ली र सम्राट सिमेन्ट सतबरिया उद्योगका टिप्परका कारण पिच सडक खाल्डाखुल्डी भइरहेका छन् भने गाउँमा रहेका विद्यालयका विद्यार्थीदेखि सर्वसाधारणसम्म आवतजावतमा समस्या भएको छ । समस्याबारे पटक–पटक वडा कार्यालय, गाउँपालिका, इलाका प्रशासन कार्यालय, टिप्पर व्यावसायी समिति र सम्बन्धित सिमेन्ट उद्योगलाई १५ दिने अल्टिमेटम दिँदा पनि बेवास्ता भएपछि मङ्गलवारदेखि टिप्पर सञ्चालन रोकिएको पन्त टोल विकास संस्थाका सदस्य जागेश्वर रावतले बताए ।

उनका अनुसार पानी ट्याङ्की बिग्रिँदा बनाइदिने सहमति भए पनि उद्योगले बवास्ता गरेको स्थानीयको गुनासो छ । स्थानीय अगुवा भगराज डाँगीका अनुसार कच्चा पदार्थ बोक्ने टिप्परले निर्धारित समय, वजन र गतिसम्बन्धी नियमको उल्लङ्घन गर्दै दैनिक अत्यधिक जोखिम बढाएको आरोप छ ।

सडक कालोपत्रे भइसकेका क्षेत्रमा समेत खाल्डाखुल्डी नपुरिएको, ओभरलोड र ओभर स्पिड नियन्त्रणमा नलिइएपछि स्थानीयले मङ्सिर १५ सम्मको अल्टिमेटम दिएका थिए । यसअघि बंगलाचुली गाउँपालिका र वडा नं. ३ र ४ मा ध्यानाकर्षण–पत्र बुझाएका थिए । स्थानीय प्रशासन, प्रहरी, गाउँपालिका तथा टिप्पर व्यवसायीबिचको छलफलले बिहान ९–११ र दिउँसो ३–५ बजेसम्म टिप्पर सञ्चालन रोक्ने निर्णय गरे पनि उद्योगले पालना नगरेको बताएका छन् ।