calander

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  

Goraksha

National Daily

लुम्बिनीको आन्तरिक राजस्व लक्ष्यको नौ प्रतिशत

अमरराज आचार्य
दाङ, १७ मङ्सिर । लुम्बिनी प्रदेशले चालु आर्थिक वर्ष २०८२÷०८३ को पहिलो चौमासिकसम्म लक्ष्य अनुसार आन्तरिक राजस्व सङ्कलन गर्न असफल भएको छ । चालु आर्थिक वर्षको कात्तिक महिनासम्म लक्ष्यको नौ दशमलव २५ प्रतिशत मात्रै आन्तरिक राजस्व सङ्कलन गरेको हो ।

प्रदेशमा चार महिनाको अवधिमा ४५ करोड १५ लाख ५४ हजार चार सय १४ रुपैया ८३ पैसा आन्तरिक राजस्व सङ्कलन भएको प्रदेश लेखा नियन्त्रक कार्यालयका बरिष्ठ लेखा नियन्त्रक तथा सूचना अधिकारी रविन्द्र अर्यालले जानकारी दिए । प्रदेश सरकारले चालु आर्थिक वर्षमा आन्तरिक रूपमा चार अर्ब ८८ करोड चार लाख ६५ हजार रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको छ ।

प्रदेश सरकारले उठाएको रकम राजस्व मात्र नभएर बेरुजु फिर्ता, निकासा फिर्ता र अनुदान फिर्ताको रकमसमेत रहेको सूचना अधिकारी अर्याले बताए । उनका अनुसार बेरुजु फिर्ता, निकासा फिर्ता र अनुदान फिर्ताको रकमलाई वास्तविक आम्दानीमा राखिँदैन । राजस्व सङ्कलनको यो अवस्थाले वार्षिक लक्ष्य हासिल गर्न कठिन हुने बताउँदै सूचना अधिकारी अर्यालले वार्षिक लक्ष्य हालिस गर्न नसके आन्तरिक स्रोतमार्फत् सञ्चालन गरिने आयोजना तथा कार्यक्रममा प्रभाव पर्ने बताए ।

उनका अनुसार कृषि आयमा लाग्ने करबाट छ हजार रुपैयाँ सङ्कलन भएको छ । जुन लक्ष्यको एक दशमलव १५ प्रतिशत हो । सरकारी सम्पत्तिको बहालबाट सङ्कलन भएको ५३ हजार दुइ सय रुपैयाँ लक्ष्यको शून्य दशमलव ६७ प्रतिशत हो । अन्य स्रोतबाट बाँडफाँट नहुने रोयल्टी एक लाख ४४ हजार नौ सय ६७ रुपैयाँँ सङ्कलन भएको छ ।

कृषि उत्पादनको बिक्रीबाट प्राप्त ४२ लाख ५६ हजार पाँच सय ३८ रुपैयाँँ ४० पैसा सङ्कलन भएको छ । जुन लक्ष्यको १२ दशमलव १६ प्रतिशत हो । सरकारी सम्पत्ति बिक्रीबाट राजस्व सङ्कलन हुन सकेको छैन । लक्ष्य २५ लाख लिएको छ । अन्य बिक्रीबाट पाँच हजार रुपैयाँँ राजस्व सङ्कलन भएको छ ।

यसैगरी नहर तथा कुलो उपभोगबापतको शुल्क चार हजार एक रुपैयाँँ लक्ष्यको आठ दशमलव २० प्रतिशत हो । अन्य सेवा शुल्क तथा बिक्रीबाट सङ्कलन भएको छ हजार रुपैयाँँ लक्ष्यको एक दशमलव २० प्रतिशत हो । शिक्षा क्षेत्रको आम्दानीबाट सङ्कलन भएको ३५ हजार रुपैयाँ लक्ष्यको आठ दशमलव ७५ प्रतिशत हो ।

यसैगरी परीक्षा शुल्कबाट सङ्कलन भएको एक लाख ७४ हजार सात सय रुपैयाँ लक्ष्यको शून्य दशमलव १२ प्रतिशत हो । यातायात क्षेत्रबाट भएको आम्दानी चार करोड ८२ लाख ३० हजार सात सय ६५ रुपैयाँँ लक्ष्यको १६ दशमलव शून्य आठ प्रतिशत हो । अन्य प्रशासनिक सेवाबापत प्राप्त दुई करोड २० लाख ७६ हजार चार सय ७५ रुपैयाँँ लक्ष्यको २७ दशमलव ६० प्रतिशत हो ।

यसैगरी व्यावसायिक रजिस्ट्रेसन दस्तुरबाट प्राप्त दुई करोड ८१ लाख ५७ हजार नौ सय १६ रुपैयाँँ लक्ष्यको १८ दशमलव ७७ प्रतिशत हो । टेलिभिजन सञ्चालन दस्तुरबाट प्राप्त ८० हजार रुपैयाँ लक्ष्यको १६ प्रतिशत हो ।

यसैगरी चालक अनुमतिपत्र सवारीबाट प्राप्त १९ करोड चार लाख ४७ हजार तीन सय १९ रुपैयाँ लक्ष्यको १० दशमलव ५८ प्रतिशत हो । वन क्षेत्रको आय १३ करोड १५ लाख ४३ हजार सात सय ६२ रुपैया ३० पैसा लक्ष्यको छ दशमलव ६१ प्रतिशत हो । न्यायिक दण्डजरिवाना र जफतबाट भने कुनै राजस्व सङ्कलन हुन सकेको छैन ।

यसैगरी प्रशासनिक दण्डजरिवाना र जफतबाट ५२ लाख ६३ हजार ४१ रुपैयाँ लक्ष्यको दुई दशमलव ३९ प्रतिशत हो । बिमा दाबीबाट एक लाख २७ हजार छ सय रुपैयाँ सङ्कलन भएको छ । अन्य राजस्वबाट सङकलन भएको एक लाख ३३ हजार छ सय ९० रुपैयाँ लक्ष्यको छ दशमलव ६५ प्रतिशत हो ।

बेरुजुबाट सङ्कलन भएको एक करोड चार लाख १७ हजार नौ सय २१ रुपैयाँ १३ पैसा लक्ष्यको आठ दशमलव ६८ प्रतिशत हो । निकासा फिर्ताबाट ६९ लाख १५ हजार चार सय २८ रुपैयाँ सङ्कलन भएको छ । अनुदान फिर्ताबाट ३४ लाख ८० हजार तीन सय ९२ रुपैयाँ राजस्व सङ्कलन भएकोे प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

यसैगरी प्रदेश र स्थानीय तहबिच बाँडफाँड हुने राजस्व प्रदेशले उठाउने सवारी साधन करबाट सङ्कलित ६३ करोड १२ लाख ८७ हजार तीन सय ९० रुपैयाँ लक्ष्यको २१ दशमलव ७७ प्रतिशत हो । प्रदेश र स्थानीय तहमा बाँडफाँड हुने राजस्व स्थानीय तहले उठाउने घर जग्गा रजिस्ट्रेशन दस्तुरबाट प्राप्त १५ करोड ९६ लाख एक हजार ८९ रुपैयाँ लक्ष्यको छ दशमलव ९४ प्रतिशत हो ।

यसैगरी मनोरञ्जनबाट प्राप्त छ सय २२ रुपैयाँ लक्ष्यको शून्य दशमलव शून्य एक प्रतिशत हो । विज्ञापन करबाट प्राप्त तीन लाख दुई हजार एक सय ४० रुपैयाँ लक्ष्यको एक दशमलव ६८ प्रतिशत हो । दहत्तर बहत्तरको बिक्री आय ७२ लाख ७७ हजार दुई सय ९५ रुपैयाँ ८० पैसा लक्ष्यको एक दशमलव ४६ प्रतिशत हो ।