वन डढेलो नियन्त्रणमा अधिक्तम प्रयास भइरहेको छ : डिभिजन वन प्रमुख ढुंगाना [अन्तर्वार्ता]
सुख्खा मौसमसँगै हावाहुरीको रफ्तार पनि बढेपछि जिल्लामा फाटफुट रुपमा वन डढेलोका घटना देखिन थालेका छन् । डिभिजन वन कार्यालय घोराहीकै कार्य क्षेत्रमा करिब दुई÷तीन स्थानमा वन डढेलो सुरु भइसकेको छ । डिभजिन वन र वन उपभोक्ता समूहको सक्रियतामा कतैको डढेलो नियन्त्रणमा आइसकेको छ भने कहीँ कतै वन डढेलो नियन्त्रणको प्रयास जारी छ ।
जिल्लामा शून्य डढेलो अभियानका लागि करिब एक महिना अघि प्रदेश वन मन्त्रालयले वन डढेलो नियन्त्रण तथा न्यूनीकरण सप्ताह समेत सम्पन्न गरिसकेको अवस्थामा पछिल्लो समयमा जिल्लामा वन डढेलोको अवस्था कस्तो छ र जोखिम कत्तिको छ भन्ने सन्दर्भमा डिभिजन वन कार्यालय घोराहीका प्रमुख मदन ढुङ्गानासँग गोरक्षकर्मी खेमराज रिजालले गरेको कुराकानीको सार सङ्क्षेप ।
सर्वप्रथमत त तपाइलाई स्वागत छ, गोरक्ष सातावार्तामा ।
धन्यवाद, तपाई अनि तपाईको लोकपृय गोरक्ष राष्ट्रिय दैनिक पत्रिका परीवारलाई । डिभिजन वन कार्यालय घोराहीका समसामयिक गतिविधिका विषयमा केही कुरा राख्न आमन्त्रण गर्नुभएकोमा ।
प्रसंग सुरु गरौँ, वन डढेलोबाटै । अहिले जिल्लामा वन डढेलोको अवस्था कस्तो छ, तपाईको कार्यालयको कार्यक्षेत्रमा ?
समग्रमा भन्नु पर्दा चौतर्फी प्रयास गर्दा पनि शून्य डढेलोको अवस्था रहेन । केही सामुदायिक वनमा केही क्षेत्रमा डढेलो फैलिइसके पनि नियन्त्रणमा आइसकेको छ । घोराहीको दक्षिण फेदिबाट फैलिएको वन डढेलो भने नियन्त्रणमा आउन सकेको छैन । कारण त्यो क्षेत्र भनेको अन्य क्षेत्रबाट आगो फैलिँदै माथिल्लो चुरेमा फैलन क्षेत्र पनि हो । त्यसैले त्यहाँको वन डढेलो रोक्न लास्ट क्लस्टरमा हामीले अग्नीरेखा निर्माण गर्ने काम गरीरहेका छौँ । अहिलेसम्म करिब–करिब मसौट उकालो क्षेत्रको वनमा देउखुरीतर्फबाट फैलिइरहेको छ ।
घोराही उपमहानगरपालिका–२ स्थित गौरी सामुदायिक वनमा लागेको वन डढेलो नियन्त्रणमा आइसकेको छ । त्यहाँ करिब ५० हेक्टर वन क्षेत्रमा डढेलो फैलिएपछि नियन्त्रणमा ल्याउन सफल भयौँ । अर्को डढेलो बाह्रकुने दह क्षेत्रमा हो । त्यस क्षेत्रको बराहा क्षेत्र सामुदायिक वन क्षेत्रमा पनि केही हेक्टर वन क्षेत्रमा डढेलो फैलिएको थियो । सम्म क्षेत्र भएकाले त्यहाँको वन डढेलो पनि नियन्त्रणमा लिन सफल भयौँ । त्यस क्षेत्रमा सोमवार मात्रै वन डढेलो नियन्त्रणमा आएको हो । अब यो भन्दा पनि भयावह अवस्थामा वन डढेलो फैलियो भने हामीले जिल्लास्थित हरेक सुरक्षा निकायको सहारा लिएरै पनि वन डढेलो नियन्त्रणको अभियानमा जुट्ने छौँ । उच्च सुरक्षा निकायबाट पनि हामीलाई यसमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको छ ।
डढेलो नियन्त्रण तथा रोकथामका लागि के कस्ता प्रयास भइरहेका छन् ?
सबैभन्दा पहिले डढेलोसँग जुध्न सक्ने शक्तिसँग छलफल गरेर जिल्लास्तरीय रणनीति तयार गरेका छौँ । हाम्रो वन डढेलो नियन्त्रण रणनीतिमा अग्नीरेखा निर्माणदेखि फायर फाइटर परिचालन गर्नेसम्मका रहेका छन् । यही अभियानका लागि हामीले प्रत्येक सुरक्षा निकायबाट एकजना फोकल पर्शन तोकेर तत्काल फोकल पर्शन, मिडियाकर्मी, सामुदायिक वन उपभोक्ताकर्मी समेतले वन डढेलो न्यूनीकरणका लागि सचेतनामूलक अभियान पनि सञ्चालनमा ल्याएका छौँ ।
हरेक क्षेत्रमा फोकल पर्शन तैनाथ भइसकेका छन् । सरोकारवाला निकायसँग अन्तरक्रिया र प्रचारात्मक अभियान सञ्चालन गरिरहेका छौँ । सार्वजनिक स्थलमा माइकिङ गर्नेदेखि स्कुल–स्कुलमा सचेतना अभियान पनि सञ्चालन गरिरहेका छौँ । डिभिजन वन कार्यालयमै एकजना वन डढेलो सूचना सङ्कलन गर्ने फोकल पर्शन चौविसै घण्टा स्ट्यान्डवाइ राखेका छौँ । अहिलेसम्मको स्थितिले हामी वन डढेलो नियन्त्रण गर्न तयारी अवस्थामा छौँ भन्ने पनि अनुभूति भएको छ । तैपनि प्राकृतिक विपत हो, कुनबेला के हुन्छ पूर्वानुमान गर्न सकिँदैन ।
त्यसैले डिभिजन वनको माताहतमा दशजनाको नियमित अग्नी नियन्त्रण दस्ता क्रियाशिल रहेको छ । आठवटै सव डिभिजनका कर्मचारी वन डढेलोको अवस्था बुझ्न हरेक क्षेत्रमा परिचालित भएका छन् । स्कुल सचेतना कार्यक्रमअन्तर्गत यसै साता हामीले नारायणपुरको एउटा विद्यालयमा वन डढेलो न्यूनीकरण सचेतना कार्यक्रम पनि सञ्चालन गरिसकेका छौँ । वन रहे पानी पानी रहे अन्न, अन्न फले मात्र जीवन रहन्छ भन्ने मुल मान्यता र सत्यलाई अङ्गिकार गर्दै हामीले सचेतना अभियान फैलाइरहेका छौँ ।
मैले फेरि पनि तपाईको पत्रिकामार्फत् भन्न चाहन्छुकि वनमा डढेलो लागिसकेपछि वनमा रहेका रुख बिरुवा मात्र जलेर नोक्सान हुने होइन, यसले त वन क्षेत्रमा आश्रित लाखौँ थलचर तथा चराचरुङ्गीलाई समेत नोक्सान पु¥याउँछ । वातावरणमा पनि अत्यधिक मात्रामा कार्वनडाइ अस्साइड फैलिएर वायु प्रदुषणको मात्रा भयावह हुन्छ । यसले मानव स्वास्थ्यमा समेत गम्भीर प्रभाव पार्न सक्ने पनि म यही पत्रिकामार्फत् आम नागरिक्लाई जानकारी पनि गराउन चाहन्छु । साथै वनमा डढेलो फैलिइसके पनि यसले पर्यावरणीय सन्तुलनमा पनि ठुलो नोक्सानी पु¥याउने भएकाले सकेसम्म वन डढेलो रोक्ने अभियानमा आम उपभोक्ता एवम् जिल्लाबासी जुटौँ ।
डढेलो लागिसकेपछि नियन्त्रणको सम्भावना कत्तिको रहन्छ ? दाङको भूगोलमा ?
यहाँको भूगोल हेर्दा वन डढेलोको उच्च जोखिममै छ भन्दा अतियुक्ति नहोला । यो जिल्लाको भूगोल हेर्दा दक्षिण चुरे क्षेत्र अत्यधिक सुख्खा क्षेत्र हो । प्रायः देउखुरीको फेदी तिरबाट फैलने वन डढेलोका कारण जिल्लामा अघिल्ला वर्षमा व्यापक क्षति भएको तथ्याङ्क पनि हामीसामु छ । पुरन्धारा क्षेत्र पनि वन डढेलोको उत्तिकै जोखिमको क्षेत्र हो । बंगलाचुली क्षेत्रमा पनि भिरपाखा प्रशस्त भएकाले वन डढेलोको जोखिमनै छ भन्नु पर्छ ।
अर्को चुनौती भनेको हाम्रा अधिकांश वन क्षेत्र आन्तरिक पर्यटनसँग पनि जोडिएका छन् । मानिसको धेरै भिडभाड हुने स्थानमा कसैको सामान्य त्रुटिका कारण पनि वनमा डढेलो फैलन गरेको छ । जहाँ मानिसको धेरै भिडभाड हुन्छ, त्यहाँ वन डढेलोको जोखिम पनि उत्तिकै बढी हुन्छ । यस्ता जमघटमा सहभागी हुनेले पनि वन डढेलो नियन्त्रणको अभियानलाई गम्भीरतापूर्वक लिएर शून्य त्रुटिको अवस्था सिर्जना गर्न पर्दछ भन्ने मलाई लाग्छ । अहिलेको अवस्था हेर्ने हो भने पनि घोराहीको बराहा क्षेत्र सामुदायिक वनमा लागेको वन डढेलो भाइरल रोड किनाराबाटै फैलिएको देखिन्छ ।
दाङ जिल्लामा वन क्षेत्रको अवस्थाका विषयमा केही जानकारी गराइदिनुस् न ?
जिल्ला जिल्लाभरी वनको क्षेत्रफल भनेको एक लाख पाँच हजार हेक्टर हो । हामीले हेर्ने क्षेत्र भनेको घोराही डिभिजन अन्तर्गतको सामुदायिक तथा सरकारी गरी जम्मा ८८ हजार चार सय १७ हेक्टर हो । समग्रमा हेर्दा जिल्लामा करिब ६० प्रतिशत वन समुदायलाई हस्तान्तरण भइसकेको छ । आवश्यकता परेमा वा संरक्षण र व्यवस्थापनका लागि उपयुक्त देखिएमा अन्य थप वन क्षेत्र पनि उपभोक्तालाई हस्तान्तरण गर्न सकिन्छ ।
वनमा डढेलो सल्काउनेको पहिचान वा कानुनी कारबाहीका विषयमा पनि केही बताइदिनुस् न ?
भर्खरै भएका वन डढेलोको कारण पहिचान गर्न हामी लागिपरेका छौँ । वनमा डढेलो आफै लाग्दैन, लगाउने सम्भावित व्यक्तिको अनुसन्धान समेत भइरहेको छ तर अहिलेसम्म वनमा डढेलो लगाउनेको पहिचान हुन सकेको छैन । अर्को कुरा कानुनी कारबाहीका विषयमा पनि केही बताउन चाहन्छु । वनमा आगो लगाउने व्यक्ति पहिचान भएमा उसलाई वन ऐनले तोकेको सजाय हुन्छ । वन ऐनमा वनमा डढेलो लगाउने व्यक्तिलाई ६० हजार रुपैयाँ जरिवाना वा ३ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने छ ।
अन्तमा गोरक्ष दैनिकमार्फत् आम जिल्लाबासीलाई केही भन्न चाहनुहुन्छ ?
हामी जिल्लालाई नै शूुन्य डढेलो क्षेत्र बनाउने महान अभियानमा छौँ । सचेतनादेखि अग्नीरेखा र अग्नी नियन्त्रण दस्ता समेत बनाइसकेका छौँ । आगजनी नियन्त्रण गर्न सामुदायिक वन उपभोक्ता, डिभिजन वनका कर्मचारी तथा सुरक्षा निकायले मात्र पनि सम्भव नहुन सक्छ । यसमा आम नागरिकले आफूलाई साक्षी राखेर मैले वनमा आगजनी फैलाउने भुल गर्ने छैन भन्ने प्रतिबद्धता मनैदेखि गर्नु हुने छ भन्ने पूर्ण विश्वास पनि छ ।
विपत बाजा बजाएर आउने होइन । यो जुनसुकै बेला पनि आउन सक्ने भएकाले सधै सचेत भएर आगजनी नै हुन नदिनेतर्फ हामी सबैले हातेमालो गर्न आवश्यक छ । अर्को कुरा वनमा डढेलो लगाएर घास सप्रन्छ, पालुवा सप्रन्छन्, च्याउ उम्रन्छ भन्ने भ्रम मात्रै हो । यसैले जानी–जानी वनमा डढेलो लगाउने काम कसैबाट पनि हुने छैन । वन डढेलो न्यूनीकरण र रोकथामको अभियानमा सबै नागरिकलाई जोडिन पनि आह्वान गर्दछु ।
