Goraksha

National Daily

मेरो खुशी : स्थायी शिक्षकमा पोस्टिङ …

केही समय अघिको एक दिन हो, त्यो दिनको रातभर म जाग्राम थिएँ । जाग्राम हुनुको कारण मैले स्थायी शिक्षकका लागि शिक्षक सेवा आयोगमा दिएको नतिजाको प्रतिक्षा । प्रतिक्षाको फल सधै मिठो नै हुँदो रहेछ । त्यो प्रतिक्षाले मेरो परीक्षालाई सफल बनाइदिएको थियो । ‘लेखिदिनु होला, मेरो सबैभन्दा खुसीको क्षण त्यही परीक्षाको नतिजा आएको दिन’ ।

आफ्नो अविस्मरणीय खुसीको क्षणलाई स्मरण गर्दै बंगलाचुली गाउँपालिका–४ गहतेराका धनेश्वर डाँगीले भने । स्थायी शिक्षकमा नाम निकाल्दा खुसी पनि किन नहोउन् । नाम निस्केपछि स्कुलमा पोष्टिङ भएको दिनलाई उनले अविस्मरणीय खुसीको क्षणका रूपमा स्मरण गर्छन् । डाँगी शारीरिक रूपमा अपाङ्गता भएका व्यक्ति हुन् । उनका दुवै हात अपुरा छन् । डाँगीले जीवनमा सफल रूपमा चिनिन्छन् । सकारात्मक सोच, उच्च आत्मवल र मेहनतका कारण डाँगीले आफ्नो जीवनमा सफलता प्राप्त गर्दै आएका छन् ।

सानैदेखि पढाइमा अब्बल डाँगीका दुवै हात आधा मात्र छन् । जसका कारण शारीरिक बल पर्ने काम गर्न सक्दैनन् तर अध्ययन क्षेत्रमा भने अब्बल छन् । पढाइप्रति भएको मेहनत र लगनशिलताका कारण प्लस टुसम्म मात्र अध्ययन गरेका डाँगीले शारीरिक समस्याका कारण पढाइलार्ई निरन्तरता दिन सकेनन् ।

घरमै बसेर गाउँमै पढाउने काम गरे । एलएलसी पास गरेपछि घोराहीमा रहेको विद्यानिकण्ठ क्याम्पसमा ११ मा नाम लेखाएर आफूले गाउँमै आफैले पहिलो पटक अध्ययन गरेको सुर्योदय प्राथमिक विद्यालयमा पढाउने काम सुरु गरेका थिए । त्यही पढाउने काम गर्दा गर्दै प्लस टु पास गरेपछि शिक्षक सेवा आयोगको तयारीमा जुटेको बताउँछन् ।

करिब एक वर्षको कडा मेहनतपछि शिक्षक सेवा आयोगबाट लाईसेन्स प्राप्त गर्न सफल डाँगीले तेस्रो प्रयासबाट स्थायी शिक्षकमा नाम निकाल्न सफल भएको बताउँछन् । होनी मेहनतको फल साह्रै मिठो हुँदो रहेछ, डाँगी थप्छन् । शिक्षक सेवा आयोगले लिएका दुई परीक्षामा नाम निकाल्न नसकेपछि तेस्रो पटक गण्डकी प्रदेशको नवलपरासी पूर्वबाट फाराम भरेका डाँगीले नाम निकाल्न सफल भएको बताउँछन् ।

१३ वर्षदेखि निजी स्रोतका रूपमा विद्यालयमा पठपाठनको काम गरिरहेको भए पनि विगत दुई वर्षदेखि शिक्षक सेवा आयोगको तयारीमा जुटेको थिए डाँगीले भने,‘दिउँसो विद्यालयमा पढाउनु पर्ने भएकाले बिहान–साँझ घरमा अध्ययन गर्ने र बिदाको समयमा करिब एक महिना घोराहीमा तयारी कक्षा लिएको थिए । त्यहीले मलार्ई तेस्रो प्रयासमा सफलता दिलाएको हो ।’

शिक्षक सेवा आयोगले लिएको परीक्षामा प्राथमिक तहमा नाम निकालेर गण्डकी प्रदेशको नवलपुरासी पूर्व जिल्लाको हुस्सेकोट गाउँपालिका–५ रुद्रपुरस्थित बोधनी माध्यामिक विद्यालयमा पोष्टिङ भएका छन् । स्थायी शिक्षकका रूपमा जागिर सुरु गरेका डाँगीले शिक्षक सेवा आयोगले प्रकाशन गरेको रिजल्टमा आफ्नो नाम देख्दाको क्षण नै आफ्नो जीवनको ठुलो खुसीको क्षण भएको बताउँछन् ।

रिजल्ट आउँदै गर्दा नवलपरासी पूर्वको नाम आउँदा बिहान ४ बजेसम्म नसुतेर रिजल्ट हेरेका थियौँ डाँगीले आफ्नो खुसी सुनाउँदै भने,‘रिजल्ट आउँछ भनेर पर्खिएर बसेका थियौँ । बिहान ४ बजे रिजल्ट अपलोड भएको थियो, त्यसमा आफ्नो नाम देख्दा खुसीको सिमै भएन, खुसी आमालगायत घर परिवारसँग बसेर थियौ साटेर मनायौँ ।’

गाउँकै सूर्योदय प्राथमिक विद्यालयबाट प्राथमिक तहको अध्ययन सुरु गरेका डाँगीले कक्षा ३ देखि १० सम्मको अध्ययन बंगलाचुली गाउँपालिका वडा नं. ४ मा रहेको महेन्द्र माध्यामिक विद्यालय श्रीवारीमा गरेका थिए । घोराहीमा रहेको विद्यानिलकण्ठ क्याम्पसबाट शिक्षा सङ्कायबाट प्ल सटु पास गरेका डाँगी त्यसपछि जागिरको तयारीमा लागेको बताउँछन् ।

पढाइमा सानैदेखि मेहनती डाँगी कहिल्यै फेल भएनन् । शारीरिक रूपमा अपाङ्गता भए पनि पढाइप्रतिको लगानशिलता र बौद्धिक क्षमताका कारण सानैदेखि घर परिवार, पढाइ गुरुसँगै गाउँका स्थानीयले आफूलार्ई पढाइमा अघि बढ्नका लागि हौसल्ला दिलाउने काम गरेको बताउँछन् । कक्षा १ देखि ३ सम्म प्रथम द्धितीय हुने गरेका डाँगी माथिल्लो कक्षामा भने चौथोदेखि छैठौँ स्थानसम्म भएर पास भएको बताउँछन् ।

एलएलसी पासपछि गाउँमै रहेको सुर्योयद प्राथमिक विद्यालयमा करिब १३ वर्ष पढाउने काम गरेका थिए । २०४८ साल पुस २२ गते बंगलाचुली गाउँपालिका वडा नं. ४ को गहतेरामा बुबा ओमबहादुर डाँगी र आमा पद्मा डाँगीको कोखबाट पाँचौ सन्तानका रूपमा जन्मिएका थिए । डाँगीका दुइवटी आमाबाट गरेर दुर्ई÷दुई दाजु र दिदीसँगै र एक बहिनी रहेकी छिन् । २०७० सालमा प्युठान गौमुखी गाउँपालिका निवासी लक्ष्मी डाँगीसँग वैवाहिक विवाह बन्धनमा बाँधिएका थिए । फोन सम्पर्क मै प्रेममा जोडिएका उनीहरूले करिब डेढ वर्षपछि विवाह बन्धनमा बाँधिएका थिए । हाल डाँगी दम्पत्तिबाट दुई सन्तान छोरा बर्षाद र छोरी बन्दना रहेका छन् ।

शिक्षासँगै घुमफिर, मनोरञ्जन, सामान्य ज्ञानलगायतका विषयमा चासो राख्ने डाँगी गीतसंगीत प्रेमी छन् । त्यही कारण कुनै समय दाङका आधा दर्जन बढी रेडियोमा फोनसँगै चिट्ठी पठाउने गर्दथे । सामान्य ज्ञानसम्बन्धी प्रश्नको कार्यक्रमदेखि मुक्तक, भावना, गजल बाचनसँगै गीत संगीत रोज्ने कार्यक्रमका नियमित स्रोत बनेका डाँगीले रेडियो स्वर्गद्वारी एफएमको लोक सुसेली कार्यक्रममा आफ्नो नामको पत्र बाचन हुँदाको क्षण पनि खुसी भएको बताउँछन् ।

समय र प्रविधिको विकास क्रमसँगै चिठीपत्र पठाउने क्रम हराउँदै गएको भन्दै डाँगीले भने,‘एउटा समय थियो, रेडियोमा आफ्नो नामको पत्र बाचन हुँदा मन खुसी हुन्थ्यो, त्यो खुसी रेडियो स्वर्गद्वारी एफएमको लोकसुसेली कार्यक्रममा पत्र बज्दा भएको थिए, त्यो क्षण अहिले पनि सम्झनामै रहेको छ ।’ रेडियोमा विजेता भएर पाएका पुरस्कार कोठामा सजाएर राखेको भन्दै डाँगीले अहिले पनि आइक्यु सम्बन्धी ज्ञानका कार्यक्रममा फोन गर्ने गरेको बताउँछन् ।

जुनसुकै क्षेत्रमा सफलता प्राप्तिका लागि कडा मेहनत, लगनशिलतासँगै निरन्तरताको आवश्यकता रहेको भन्दै डाँगीले एक पटक असफल हुँदैमा आत्तिनु नहुने बताउँछन् । नियमित रूपमा क्याम्पस उपस्थित नभएर घरमै बसेर अध्ययन गरेर ११ र १२ पास गरेका डाँगीले स्वअध्ययनबाटै शिक्षक सेवा आयोगको परीक्षा दिएर लाईसेन्स प्राप्त गरेका थिए । स्थायी शिक्षकका लागि दुई पटक दिएको जाँचमा पनि नाम ननिस्किएपछि यो पटक घोराहीमा रहेको पाठशाला एजुकेशनमा तयारीका लागि केही समय कक्षा लिएको र त्यसले सहयोग गरेको बताउँछन् । स्थायी शिक्षकमा नाम निकालेपछि घरपरिवार, आफन्त, गुरुसँगै गाउँघरमा धेरै खुसी भएको भन्दै यसले आफूलार्ई पनि आगामी दिनमा अघि बढ्नका लागि हौसल्ला प्रदान गरेको बताउँछन् ।