पढ्न आएका विद्यार्थीले चलाएको गार्मेन्ट उद्योग
नारायण खड्का
दाङ, ८ चैत । रूकुम पश्चिमको त्रिवेणी गाउँपालिका–८ का २७ वर्षीय रेशम खड्का स्थानीय जनप्रिय माध्यमिक विद्यालय, पेउघामा पढ्दादेखि नै गाउँघरका उत्पादन सङ्कलन गरेर बेच्थे । गाउँमा कागती किन्थे र आफ्नै किराना पसलमा राखेर बेच्थे । उनका बुवा प्रेमबहादुर खड्का कान्छा छोरोका त्यो प्रयास राम्रो मान्थे र प्रोत्साहित गर्थे । हाल नेपाली कांग्रेसको रुकुम जिल्लाका सहसचिव प्रेमबहादुर उतिबेला व्यापार गर्थे । किराना र फेन्सी पसल एकसाथ चलाएका थिए ।
उनकै छोरा रेशमले ६ कक्षामा पढ्दा पहिलोपटक गाउँबाट ८० रुपैयाँमा केरा किनेर स्थानीय मेलामा बेच्दा दुई सय ८० रुपैयाँ कमाए । उनको कलिलो मस्तिष्कमा व्यापारबाट पैसा कमाइ हुन्छ भन्ने गाढा छाप बस्यो । रेशम बाल्यकालमै आफ्नो खर्चको जोहो गर्थे । कक्षा ७ मा पुग्दासम्ममा शनिवार र अन्य बिदाका दिन बुवाको पसलमा बसेर सामान बेच्न थालेका थिए । पसलमा काम गर्दा पैसाको महत्व झन् बढी थाहा पाए । त्यतिबेला देशमा सशस्त्र द्वन्द्व चलेको थियो । माओवादीले चन्दा मागेर हैरान पार्थे ।
एक पटक ८० हजार र अर्कोपटक दुई लाख रुपैयाँ दिन बाध्य भएका थिए । २०५७ सालमा पसलबाट घर फर्किँदै गर्दा प्रेमबहादुरलाई माओवादीले अपहरण गरेर चार महिना बन्धक बनाए । त्यसपछि व्यापार तहसनहस भयो । रेशमको रुचि भलिबल खेलमा थियो । विद्यालयमा साथीहरूसँग भलिबल खेल्थे । उनले २०६९ सालमा एलएसली दिए, सफल पनि भए । घरसल्लाह अनुसार रेशम गाउँकै एक सहपाठीका साथ दाङ आए तर केही दिनमै ती सहपाठी पाल्पामा पढ्छु भनेर गए । साथीले छाडेर गएपछि रेशम तुलसीपुरको रजौरा स्थित माइली फुपूको घरमा बस्न गए । फुफाजु गंगालाल वली शिक्षक थिए । फुपाजुको सल्लाह अनुसार राप्ती बबई क्याम्पसमा कक्षा ११ मा उनी भर्ना भए ।
उनले क्याम्पसमा पनि भलिबल खेले । विद्यार्थी राजनीतिमा पनि सक्रिय भए । ‘नेपाल विद्यार्थी संघ’ को क्याम्पस एकाइ उपसभापति भए । पढाइमा उत्तिकै चासो दिन्थे । त्यही क्याम्पसमा वाणिज्य शास्त्र विषयमा स्नातक तहमा भर्ना भए । क्याम्पसले आयोजना गर्ने भलिबल प्रतियोगिता व्यवस्थापनको जिम्मा उनकै हुन्थ्यो । टिममा रुकुमकै कमल खत्री र अन्य साथीहरू थिए । आपसमा छलफल र परामर्श हुन्थ्यो । क्याम्पसमा यो टिम प्रभावशाली थियो । रेशम र उनको टिमका साथीहरू एकपटक आकर्षक गेमसेट खोजी गर्दै हिँड्दा तुलसीपुर बसपार्कको ‘डिबी गार्मेन्ट’ मा पुगे । गार्मेन्ट उद्योग थियो, प्रकाश वलीको । टिमले त्यही गार्मेन्टमा आवश्यक सेट किन्यो । व्यावसायिक सोचका रेशम त्यो गार्मेन्ट उद्योगबाट प्रभावित भए । यस्तै गार्मेन्ट चलाउन सके गज्जबै हुन्थ्यो जस्तो उनलाई लाग्यो ।
गार्मेन्ट सञ्चालक प्रकाश पनि क्याम्पसका विद्यार्थी नेता थिए । उनी क्याम्पसमा नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन ‘अखिल क्रान्तिकारी’ का अध्यक्ष थिए । रेशमको टिमसँग प्रकाश पनि लोभिए । त्यो टिमलाई उद्योगमा जोड्न सके हुन्थ्यो भन्ने लाग्यो । प्रकाश रुकुमकै थिए, पढाइकै लागि दाङ आएका थिए तर रेशम र कमलसँग चिनजान थिएन । रुकुमेली हुनुका नाताले उनीहरूलाई आपसमा नजिकिन सजिलो भयो । एक दिन प्रकाशले रेशमसँग व्यवसायको कुरा गरे । मिलेर काम गर्न चाहेको बताए । प्रकाशका साझेदारले व्यवसायबाट हात झिकेका थिए । उनी ऊर्जावान नयाँ साझेदारको खोजीमा थिए । प्रकाशले रेशम र कमलाई सँगै राखेर भनेछन्, ‘क्याम्पसमा तपाईँहरूको लोकप्रियता लोभलाग्दो छ । मेरो गार्मेन्ट उद्योगमा मिलेर काम गरौँ, उद्योग राम्ररी चलाऔँ ।’
रेशम र कमललाई कुरा उचित हो भन्ने लाग्यो । प्रकाश, रेशम, कमल र अर्का एक साथी माधव बस्नेतबिच छलफल भयो । उद्योगमा चार जनाले जनही २५ प्रतिशत शेयर रहने गरी साझदारी गर्ने सहमति भयो । यो कुरा थियो २०७५ सालको । चार जनाले जनही आठ लाख रुपैयाँका दरले रकम जम्मा गरे । उद्योगलाई चाहिने मेसिन थपे । कालीगढ थपे । केही भौतिक संरचनामा पनि सुधार गरे ।
रेशमले गार्मेन्टको आर्थिक पाटो र कमलले मार्केटिङ सम्हाल्ने जिम्मेवारी पाए । माधव आफ्नै व्यवसायमा व्यस्त थिए । रेशम ‘युनियन लाइभ इन्स्युरेन्स’ मा अकाउन्टेन्ट थिए । गार्मेन्टमा जोडिएपछि इन्स्युरेन्सको काम छोडे । उनले गार्मेन्टको हिसाबकिताब व्यवस्थित बनाए । यो साझेदारी सुरु हुँदा गार्मेन्टमा मासिक सरदर पाँच लाख रुपैयाँको व्यापार हुन्थ्यो । सबै साझेदारले आआफ्नो क्षेत्रबाट मिहिनेत गरे । कारोबार गुणात्मक बन्दै गयो । परिणामले सबै उत्साहित थिए ।
रेशम आफूले पनि मार्केटिङ सुरु गरे । रोल्पा, सल्यान, रुकुम, जाजरकोटसम्म पुगेर आफ्ना उत्पादनको प्रचार गर्थे । गार्मेन्ट उत्पादन किन्नुको फाइदाबारे बताउँथे । उता कमलले मार्केटिङमा ठुलो फड्को मारे । गार्मेन्ट उद्योग फस्टाउँदै थियो । त्यही बेला कोभिड–१९ को विश्वव्यापी कहर फैलियो । देशभर लकडाउन भइदियो । कालीगढ दाङ बाहिरका थिए । धेरैजसो कालीगढ आआफ्ना घर गए । रेशमले त्यो असहज तर फुर्सदको समय रचनात्मक बनाउने विचार गरे । उनी क्षमता विकासमा लागे । गार्मेन्ट उद्योगबारे सामाजिक सञ्जाल युट्युबमा खोजी सुरु गरे । उद्योगमा जनशक्ति कम भएको र आफूलाई फुर्सद मिलेको त्यो समयमा उनले कपडा आइरन गर्ने र प्याकिङ गर्ने काम सिके । कामले काम सिकायो । उनले कपडामा प्रिन्ट गर्न पनि सिके । युट्युब हेर्दै केही नयाँ डिजाइन सिके ।
त्यसपछि उनलाई कटिङ सिक्ने हुटहुटी जाग्यो । कटिङ मास्टर हरि भुसालसँग कटिङ सिक्न सुरु गरे । कटिङ मास्टरले सिकाए अनुसार कैँची चलाउँदै रेशमले करिब एक महिनामा कटिङको धेरै काम सिके । अभ्यास बढाउँदै जाँदा उनी आफैँ कटिङ मास्टरसरह भए । लकडाउनको समयमा अभ्यास गर्दागर्दै रेशम कटिङ, आइरनिङ र प्याकिङमा पोख्त भए । लकडाउन खुकुलो भएर काम सुरु भएपछि आफैँ अघि सरेर कामदारको खाँचो टार्न थाले । ‘मैले काम जानेपछि सजिलो भयो ।
कटिङ मास्टर अनुपस्थिति रहेका दिन काम नरोकिने भयो’, उनले भने, ‘म आफूले काम जानेपछि कसैले छलछाम गर्न पनि सक्ने भएन ।’ लकडाउनका कारण व्यापार ठप्प भयो । तयार लुगा उद्योगमै थुप्रो लाग्यो । बजारमा रहेको बक्यौता उठ्न सकेन । उद्योगमा आर्थिक सङ्कट आइलाग्यो । केही कामदार परिवारसहित उद्योगमै थिए । तिनको दैनिक गुजारा चलाउनु उद्योगको जिम्मेवारी थियो । सङ्कट टार्न रमेश मल्ल र विर्जुनाथ योगी शेयरधनीका रूपमा थपिए । शेयरधनी ६ जना भए तर व्यापार नभएपछि घाटा बढ्दै गयो । कोभिडको दोस्रो लहरपछि उद्योग थला प¥यो । शेयरधनीहरू निराश भए । चार जना शेयरधनीले उद्योग छोड्ने निर्णय सुनाए । त्यसै अनुसार जनही ६ लाख रुपैयाँ लिएर बाहिरिए । त्यो रकमको भार रेशम र प्रकाशले लिए । त्यसअघि नै ३५ लाख रुपैयाँ ऋण लागेको थियो । स्थिति असजह भए पनि यी दुई युवाले हिम्मत छाडेनन् ।
उनीहरूले अर्डर लिएर मात्र उत्पादन गर्ने नीति लिए । कोभिडका कारणले आर्थिक समस्यामा पर्न थालेका सर्वसाधारण उभोक्ताहरू तुलनात्मक रूपमा सस्तो पर्ने गार्मेन्ट लुगा खोज्न थाले । बिस्तारै बजारमा माग बढ्यो । उत्पादन पनि बढाउँदै गए । लकडाउन पूर्णरूपमा अन्त्य भई बजार सामान्य भयो । रेशमका अनुसार त्यसयता सामाजिक सञ्जालमार्फत् अर्डर आउने गरेको छ । धेरैजसो भुक्तानी डिजिटल माध्यमबाटै हुन्छ । गत माघ ११ गते नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्योगको औपचारिक उद्घाटन गरे ।
उद्घाटनकै क्रममा उद्योगका उत्पादनको ब्रान्ड नाम ‘डासोब’ राखिएको घोषणा भयो । हाल उद्योगले मासिक ५० हजार रुपैयाँ भाडा तिर्ने गरेको छ । सिलाइ मेसिन ३० वटा छन् । बटम रिप बनाउने र रङ्गीन स्वेटर बुन्ने मेसिन एकएक वटा छन् । कर्मचारी २७ जना छन् । हालसम्ममा उद्योगको कूल लगानी दुई करोड रुपैयाँ नाघेको छ । प्रकाशका अनुसार उद्योगको न्यूनतम खर्च चल्न मासिक कम्तिमा २० लाख रुपैयाँको व्यापार हुनुपर्छ । हाल मासिक कम्तिमा २५ लाख रुपैयाँको व्यापार हुने गरेको रेशमको भनाइ छ ।
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–३, खाराका प्रकाश गाउँमै आठ कक्षाको पढाइ पूरा गरेर दाङ झरेका थिए । दाङमै २०६२ सालमा एसएलसी (कक्षा १०) उत्तीर्ण गरेर स्नातक तहसम्मको पढाइ पूरा गरे । उनका बुवा गुमानसिंह रुकुममै होटेल चलाउँथे । चार छोराछोरीमध्ये जेठा प्रकाश बाल्यकालमै सिजन अनुसारका फलफूल किनेर बेच्थे । मेलामा सुन्तला बेच्थे । नाफा भएको मध्ये थोरै पैसाको जेरी किनेर खान्थे । दाङमा पढ्दा तुलसीपुर बसपार्क नजिकै ‘प्रकाश अर्गानिक खाद्य घर’ नामको पसल खोलेका थिए । पछि त्यो पसल बेचे । उनले तुलसीपुरको पुलचोकमा ‘प्रकाश मोबाइल पसल’ नाममा मोबाइल फोनको पसल पनि खोलेका थिए तर त्यसमा मन अडिएन ।
त्यसबेला ट्युसन सेन्टर खुब चल्तीको व्यवसाय थियो । उनले गणितमा स्नातकोत्तर तहको पढाइ पूरा गरेर काठमाडौंबाट फर्केका मामा अर्जुन खड्कासँग सल्लाह गरे । मामाभान्जा मिलेर पुल्चोकमै ‘दाङ भ्याली कम्युनिकेसन एन्ड ट्युसन सेन्टर’ खोले । ट्युसन सेन्टर निकै राम्ररी चल्यो । आम्दानी राम्रै भयो तर अर्जुन लोक सेवा परीक्षा तयारी गर्ने भनेर काठमाडौं गएपछि ट्युसन सेन्टर बन्द भयो । ट्युसन सेन्टरमै भएको चिनजानले प्रकाशको बिहे पनि भयो । प्रकाश २०७३ सालमा विदेश जाने विचारले काठमाडौं गए । उनका जेठान दीपेन्द्र भण्डारी काठमाडौंको गोंगबुमा होटेल चलाउँथे ।
दीपेन्द्रले प्रकाशलाई गोंगबुको एउटा गार्मेन्ट उद्योगमा पु¥याए । त्यो गार्मेन्ट उद्योग देखेपछि प्रकाशको विचार बदलियो । उनले तुलसीपुरमा त्यस्तै गार्मेन्ट उद्योगको सपना देखे । जेठानसँग सल्लाह गरे । प्रकाश र दीपेन्द्र मिलेर २४ लाख जुटाए । कम्पनी रजिस्ट्रारको कार्यालयमा ‘डिबी फेसन गार्मेन्ट उद्योग प्रालि’ दर्ता गराए । काठमाडौंबाट तुलसीपुर फर्कँदा प्रकाशले १० वटा मेसिन ल्याए । १० जना कालीगढ पनि पु¥याए । त्यसबेला तुलसीपुरमा दुईवटा गार्मेन्ट कारखाना थिए । ती दुबै स्कुल युनिफर्मको मात्रै काम गर्थे । प्रकाश सुरुदेखि नै फेन्सी उत्पादनमा लागे तर अपेक्षा अनुसार व्यापार भएन । ऋण लिएर कालीगढ टिकाउँदै अघि बढ्दा करिब २४ लाख रुपैयाँ ऋण लाग्यो । २०७४ को अन्तिमतिर दीपेन्द्र उद्योगबाट बाहिरिए, प्रकाश एक्लै भए । कालीगढले पनि छाडे ।
उनी अन्योलमा परेका थिए तर ठिक त्यही समय एनएमबी बैंकका कर्मचारी उद्योगमा आएर खाता खोल्न सहमत गराए । एउटा मौका हुनसक्ने ठानेर प्रकाशले ऋण लिने प्रक्रिया अघि बढाए । उनको योजना स्वीकृत भयो, ३५ लाख रुपैयाँ ऋण पाए । त्यसबाट व्यक्तिको ऋण तिरे, बचेको पैसा उद्योगमै लगाए । प्रकाशले कटाइ सिलाइ काम गर्ने स्थानीय महिला खोज्दै उद्योगमा ल्याए । फेन्सीसँगै स्कुल युनिफर्मका काम थाले । उद्योगले गति लियो । हाल उद्योगमा १८ महिला कालीगढ छन् । कोभिडले ल्याएको सङ्कट टरेपछि व्यापार बढ्दो छ । हालका साझेदार प्रकाश र रेशमले २०८२ सालको अन्त्यसम्ममा उद्योगमा कालीगढको सङ्ख्या ४० पु¥याउने लक्ष्य लिएका छन् ।
प्रकाशका अनुसार दाङमा दक्ष कटिङ मास्टर पाउन कठिन छ । उनी भन्छन्, ‘पुरुषहरू कालीगढी सिक्नै चाहँदैनन् बरु लाखौँ रुपैयाँ खर्च गरेर विदेश जान्छन् । महिला कालीगढ अनुशासित र काममा इमानदार हुन्छन् ।’ यिनै प्रकाशसँग जोडिन पुगेका थिए रेशम । यसमा उनी निकै सन्तुष्ट देखिन्छन् । प्रकाश त ‘उद्योगपति’ भनेर चिनिन थालेका छन् । उद्योगमा महिला कालीगढको सङ्ख्या बढ्दै गएकोमा खुसी देखिन्छन् । उद्योगका लागि आवश्यक कच्चा पदार्थ काठमाडौं, वीरगन्ज र विराटनगरबाट मगाउँछन् । अझै नपुग भए भारत र चीनबाट पनि मगाउँछन् । रेशम हालै बबई क्याम्पसमा स्नोतकोत्तर तहमा भर्ना भएका छन् । कुनै दिन उनले बैंकको जागिरे हुने सपना देखेका थिए । अहिले उद्योगमा रमाएका छन् ।
