दानको महत्व
एकराज शर्मा अधिकार्री
आजकाल सबै मानिस धन कमाउनमा व्यस्त छन् । कसैलाई पनि एकछिन फुर्सद छैन । धन के को लागि ? बाच्नको लागि । सर्वप्रथम गाँस चाहिन्छ, अनि बास चाहिन्छ । भोकै पेट कसैले केही गर्न सक्दैन । यो कलियुग हो, यो कलियुगमा ज्ञानकोभन्दा धनको महत्व छ । धनले आमाबाबु बाहेक सबैथोक पाइन्छ । धनले नै विद्या आर्जन गर्न सकिन्छ । ठु–ठुला महल बनाउन सकिन्छ । मिठो खान राम्रो लगाउन सकिन्छ । यो सत्य कुरा हो तर विवेकशील मानिसले भन्ने गर्छन्– धनको सदुपयोग हुन नसके पतनको कारण पनि हुन्छ ।
फेरि धन कति संग्रह गर्ने ? त्यसको कुनै सीमा छैन । आफूलाई पुगेर भएन, छोराछोरी, नाति, पनाति, सन्तान, दरसन्तानलाई पनि चाहियो । मानिसले धनबाट सुख चाहन्छ, यो मानिसको नकारात्मक सोचाई हो । हामी देखिराखेका छौ । धनबाट को सुखी भएको छ र ? स्वर्गका राजा इन्द्रलाई पनि धन पुगेको छैन । राजा बलीलाई पनि धनले पुगेको थिएन भने मानिसलाई पुग्ने त कुरै भएन । त्यसैले विवेकी मानिसले धनले सुख हुँदैन, दुःख दिन्छ भन्ने कुरा बुझेका हुन्छन् । धन कमाउनु हुँदैन भनेको होइन, धन कमाउनु पर्छ तर जतिले आफूलाई खान, लगाउन पुग्छ त्यति कमाउनु पर्छ । बढी कमाएको धन परोपकारमा लगाउनुपर्छ ।
हाम्रो हिन्दु समाजमा आफूमात्र खानु हुँदैन दान पनि गर्नुपर्छ भनेको छ । दान धेरै किसिमका हुन्छन् । जस्तो श्रमदान, ज्ञानदान, धनदान, बलिदान, विद्यादान हो । शास्त्रले पनि आफूले कमाएको धनबाट दश प्रतिशत दान गर्नु भनेको छ तर त्यो दान सत पात्रलाई दिनुपर्छ । तर, आजकाल सत पात्रलाई दिने मानिस कम भेटिन्छन् । सकबर आफ्नै नातागोतालाई दिने चलन छ । श्रमदान गर्ने बानी हट्दै गएको छ । पहिले–पहिले हाम्रो पूर्वजहरुले चाडपर्व आउनुभन्दा पूर्व हरेक वर्ष गाउँलेहरु मिलेर बाटोघाटो, कुवा पँधेरो सफा गर्ने गर्थे । श्रमदान गर्ने बानी बसेको थियो । आजकाल सबैले सरकारको मुख ताक्छन् । आफूले श्रमदान गर्दैनन् । अहिले श्रमको मूल्य तोकिन्छ । सामुहिक खेती गर्ने चलन हराउँदै गएको छ । पर्मो लगाएर काम गर्ने चलन पनि हटेको छ ।
हामीसँग पाखुराहरु छन् । धनदान, ज्ञानदान दिन नसक्नेले श्रमदान दिनुपर्छ । आजभोलिका मानिसले दान पुण्य गरेको मन पराउँदैनन् । हामीले देखिराखेका छौँ, धन थुपार्ने मानिसको दुर्गति । आजकाल मानिसले दान दिन्छन्, चार पुस्ते मठमन्दिरमा नाम लेखाएर । दान दिनेलाई खादा ओडाएर सम्मान गरिन्छ, अभिर घसिन्छ, बाजा बजाएर मन्दिर घुमाइन्छ । यस्तो दान आडम्वरी दान हो, देखावटी दान हो । यस्तो दानले दानको अस्तित्व हट्छ । यो ख्याती प्राप्त मनसायले दिएको दान हो । दान त्यस्तो हुनुपर्छ जो एक हातले दिएको दान अर्को हातले थाहा नपाओस् । त्यस्तो गोप्य दान दिनुपर्छ । त्यो दान सार्थक दान हो । सर्वश्रेष्ठ दान हो ।
मानिसले जन्मदेखि नै तीनवटा ऋण बोकेर आएको हुन्छ । देवताको ऋण, ऋषिको ऋण, पितृको ऋण । ती ऋणबाट मुक्त हुन दान निस्वार्थ दिनुपर्छ । प्रकृतिबाट दानको महत्व बुझ्नुपर्छ । निस्वार्थ दिएको दान कालान्तरमा लाखौँ गुणा वृद्धि भएर फर्कन्छ । धन दान दिएर घट्दैन कोही गरिब हुँदैन । बरु धनी हुँदै जान्छ । जसले धन कमाएर दान पनि गरेन आफूले भोग पनि गरेन त्यो धन नष्ट भएर जान्छ । अर्को कुरा धन धेरै भोग गरेआफै रोगी हुन्छ । जति आफूलाई हलुंगो बनायो त्यति आनन्द हुन्छ । दान दिने बानी गर्नुपर्छ । दान दिने बानी भएन भने जति धन भए पनि मुठी खुल्दैन । मानिसलाई धन कमाउन जति गाह्रो हुन्छ । त्यो भन्दा बढी धन जोगाउन गाह्रो हुन्छ । धन भनेको स्वइच्छाले गरिने त्याग हो । जबरजस्ती गरिने दान, दान होइन ।
आजकाल राजनीतिक पार्टीहरुले पनि डर देखाएर चन्दा उठाउँछन् । दान देउ भन्छन्– त्यो दान, दान होइन । हामीले मानव सेवाका लागि प्रत्येक घरले एक–एक रुपैयाँ प्रत्येक दिन उठाउने हो भने प्रशस्त रुपैयाँ जम्मा हुन्छ । त्यसलाई मानव सेवामा लगाए ठुलो काम हुन्छ । घरमा पैसा नहुनेले पनि आफूले दैनिक खानाबाट खर्च कटाएर पनि दान गर्न सक्छौँ । धनदानले गर्न नसक्ने काम श्रमदानले गर्नुपर्छ । दिनमा एक घण्टा समाजमा निस्वार्थ श्रमदान गर्ने बानी बसाल्नुपर्छ । यो युग धर्म हो ।
श्रमदान बिना देश परिवर्तन हुन सक्दैन । उहिलेका ऋषिसँग धन थिएन । उनीहरुले ज्ञानदान दिन्थे । जीवनभरीको आवश्यकता पूरा गर्ने दान ज्ञानदान हो । ज्ञानदान कहिले नाश हुँदैन, विद्यादान कहिले नाश हुँदैन । त्यसले सबै मानिसको कल्याण हुन्छ । उपहार दिने क्रममा पनि सकेसम्म ज्ञानदान स्वरुप उपयोगी पुस्तक दान गर्ने बानी बसाल्नुपर्छ र आफ्ना सन्तुष्टिलाई पनि दान गर्ने बानी सिकाउनुपर्छ । यसमा सबैको कल्याण छ ।
