स्वास्थ्यकेन्द्रको भवन उद्घाटन,नागरिकलाई वडामै प्रभावकारी स्वास्थ्य सेवा
टेकबहादुर पुन
लमही, १२ माघ । लमही नगरपालिका वडा नम्बर ७ बवगैँमा नवनिर्मित स्वास्थ्य भवनको उद्घाटन गरिएको छ । लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले शुक्रवार भवनको विधिवत उद्घाटन गरेका हुन् ।
आर्थिक वर्ष २०७७÷०७८ मा लमही नगरपालिकाको कूल ६५ लाखमा टेण्डर आह्वान गरिएको थियो । टेण्डरमार्फत् निर्माणाधीन भवन सुविधा सम्पन्न बनेको छ । किचनसहित आठवटा कोठा रहेको भवन दुई तल्लाको छ । भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले नगरपालिकाले केही गरेन भन्नेका लागि यो भवन गत्तिलो उदाहरण बनेको बताए । स्वास्थ्य जस्तो संवेदनशीललाई ध्यानमा राखी नगरले स्वास्थ्यलाई बढी प्राथमिकतामा राखेर काम गर्दै गरेको बताउँदै नगर प्रमुख चौधरीले जतिसक्यो सेवा लिएर निरोगी बन्न नगरबासीलाई अनुरोध गरे । उनले हरेक वडामा स्वास्थ्य केन्द्र खडा गरी सेवा दिइरहेको बताउँदै अझ प्रभावकारी ढङ्गले सञ्चालन गर्न सबैको सहयोगको अपेक्षा गरे । स्वास्थ्य केन्द्र सञ्चालनले टाढा जानुपर्ने बाध्यताको अन्त्य भएको र स्थानीय स्तरको केन्द्रबाट सेवा लिन नगरबासीलाई उनले अनुरोध गरे ।
कार्यक्रममा सहभागीले नगर स्वास्थ्यकेन्द्र वनगैँमा जनशक्तिको अभावले सेवामा केही ढिलाइ हुने गरेको र जनशक्ति थपका लागि आवाज उठाएका थिए । हाल वनगँै स्वास्थ्य केन्द्रमा एकजना अहेव र एकजना कार्यालय सहयोगी मात्र कार्यरत छन् । सहभागीको जिज्ञासा मेट्दै लमही नगरका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटाले सबै स्वास्थ्य केन्द्रमा कर्मचारी अभाव खड्किएको र त्यो समाधानका निम्ति प्रतिनिधिसँग छलफल गरी उपाय निकाल्ने बताए । यो भन्दा अघि वडाध्यक्षले यो समस्या सुनाइरहेको बताउँदै कार्यकारी देवकोटाले माथिल्लो दरबन्दी नआए पनि करारमा कर्मचारी भर्नाका लागि तयारी थालिने बताए । ‘स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रलाई ध्यानमा राखी भवन निर्माणसँगै उद्घाटन भएको छ, यसको अर्थ नगरपालिका विकासोन्मुख छ’, उनले भने, ‘अझै धेरै काम गर्न बाँकी छन्, हामी सबै मिलेर समृद्ध नगर निर्माणमा जुट्ने छाँै ।’
कार्यक्रममा ७ नं. वडाका वडाध्यक्ष तथा नगर प्रवक्ता मोहन गिरीले वडासँगै नगरको समृद्धिका निम्ति आफू सधैँ लागिरहने बताए । विकटताका हिसाबले वनगँैमा स्वास्थ्य केन्द्र आवश्यक रहेको र सबैको छलफल र सहयोगले स्वास्थ्यको आफ्नै भवन निर्माण भएको बताए । हाइवेदेखि करिब तीन किलोमिटरभित्र बस्तीका लागि यो स्वास्थ्य केन्द्रले सेवा दिने छ । कमानपुर, वनगँै, हसनापुर, खुटी, वनघुस्रीलगायतका बस्तीमा बसोबास गर्ने करिब आठसय घरधुरीले यस केन्द्रबाट सेवा लिनेछन् । भवन उद्घाटनको अवसर पारी वडा स्तरमा रहेर कार्यरत आठजना स्वयम्सेविकालाई उत्कृष्ट काम गरेको भन्दै सम्मान गरिएको छ । उनीहरूलाई फूलमाला, अविर, दोसल्ला र कदरपत्रले सम्मान गरिएको हो ।
सम्मानित हुनेमा धनकुमारी चौधरी, छोट्कनिया चौधरी, निर्मला शर्मा, अनु थापा, अञ्जु चौधरी, सूष्मा चौधरी, कमला कुँवर र मुना परियार रहेका छन् । वडा सदस्य उर्मिला चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा लमही नगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण शर्मा, जिल्ला समन्वय समिति दाङका सदस्य कुलबहादुर बुढा मगर, स्थानीय तथा पत्रकार किरणविक्रम शाह, वनगैँ टोल विकास संस्थाका सचिव सुवर्ण शाह, स्वर्गद्वारी हरियाली सामुदायिक वनका अध्यक्ष निरञ्जन सिंह, स्वयम्सेविका धनकुमारी चौधरीलगायतले भनाइ राखेका थिए । कार्यक्रमको सहजीकरण नगर स्वास्थ्य केन्द्र वनगँैका प्रमुख निर्मला बोहराले गरेकी थिइन् । कार्यक्रम वडाध्यक्ष मोहन गिरीको अध्यक्षता तथा नगर प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा भएको थियो ।
