calander

March 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  

Goraksha

National Daily

०६४ जस्तै जनमत ०८४ मा : अध्यक्ष प्रचण्ड

खेमराज रिजाल
तुलसीपुर, १२ माघ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीलाई विसं २०६४ को आम निर्वाचनमा दिएको मत फेरि दिन आम नेपाली मतदातालाई आग्रह गरेका छन् । नेकपा माओवादी केन्द्र तुलसीपुर नगर कमिटीले आयोजना गरेको तेस्रो नगर अधिवेशन तथा जिल्लास्तरीय खबरदारी सभालाई तुलसीपुरको अरनीको मैदानमा सम्बोधन गर्दै पार्टी अध्यक्ष दाहालले यस्तो अभिव्यक्ति दिएका हुन् ।

माओवादी शान्ति प्रक्रियामा आएसँगै भएको पहिलो आम निर्वाचनमा नेकपा माओवादी केन्द्रले करिबकरिब दुईतिहाइ मत प्राप्त गरेको थियो । अध्यक्ष दाहालले आफ्नो पार्टीलाई विश्वास गरेर विसं २०६४ को आम निर्वाचनमा अमूल्य मत दिएर पहिलो पार्टी बनाएको स्मरण गर्दै जनआकाङ्क्षा अनुसार सवै काम गर्न नसकिएको बताएर आत्मालोचना समेत गरे । ‘त्यो चुनावमा जनताले दिएको जनमतको कदर गर्न हामी कहाँ चुक्यौँ, त्यो आत्मसमीक्षा गर्छौँ, तपाईँहरूले हामीलाई ०८४ को आम चुनावमा ०६४कै मत दिएर बहुमतको पार्टी बनाउनुस्’, खबरदारी सभालाई सम्बोधन गर्दै पार्टी अध्यक्ष दाहालले भने । युद्ध र क्रान्तिका बेला माओवादी र जनताबिचको सम्बन्ध अहिले किन चिसिएको छ भन्ने सन्दर्भमा पार्टीले पूरै आत्मसमीक्षा गर्ने उनले सङ्कल्प गरे ।

नेपालमा सङ्घात्मक गणतान्त्रिक संविधान निर्माण गर्न र मुलुकमा सङ्घीय व्यवस्था ल्याउन नेकपा माओवादी केन्द्रको अमूल्य भूमिका रहेको स्मरण गर्दै अब जनताका अपेक्षा अनुसार मुलुकलाई आर्थिक समृद्धिको मार्गमा लैजाने दायित्व माओवादी केन्द्रकै रहेको अध्यक्ष दाहालले बताए । नेपालका राजनीतिक दलको अलोकतान्त्रिक अभ्यास र वैदेशिक हस्तक्षेपका कारण माओवादी रातारात सरकारबाट बाहिरिन बाध्य भएको भन्दै उनले वर्तमान सरकारलाई अवैध, असंवैधानिक एवम् अलोकतान्त्रिक सरकारको रूपमा व्याख्या गरे ।

‘कुनै पनि प्रजातान्त्रिक मुलुकमा संसद्को पहिलो दल र दोस्रो दलले गठबन्धन गरेर सरकार चलाएको अभ्यास छैन, यो त नेपालमा मात्रै देखियो, त्यसैले यो सरकारलाई मैले अलोकतान्त्रिक मात्र नभएर असंवैधानिक सरकार भन्न चाहन्छु’, सभालाई सम्बोधन गर्दै प्रचण्डले भने । आफ्नो नेतृत्वको सरकार ढलेपछि संविधानको धारा ७६(२) बमोजिम सरकार बन्नुपथ्र्यो तर रातारात धारा ७६(३) अनुसारको सरकार बन्यो, जुन सरकार बनाउन मध्यरातमा माफिया व्यापारिका घरमा सहमति भएको थियो’, पूर्वप्रधानमन्त्री दाहालले भने ।

त्यो बेला धारा ७६(३)मा नगए राष्ट्रपति स्वयम्लाई संसद्बाट महाभियोगको प्रस्ताव ल्याउने समेत चेतावनी दिइएको खुलासा गरे । धारा ७६(२) अनुसार कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाको नेतृत्वको सरकार बन्छ भन्ने आफूलाई लागेको उनले बताए । उनले फेरि आफू बहुमतको सरकारमा रहँदा जनताका अपेक्षा पूरा गर्न नसकेकोमा पुनः आत्मालोचना गरे ।

‘जब हामी मुलुकमा सुशासन कायम गर्न मुलुकका ठुलाठुला भ्रष्टाचारीको फाइल पल्टाउन खोज्दै थियौँ तब मेरो नेतृत्वको सरकारलाई मध्यरातमा सम्झौता गरी ढालियो’, अध्यक्ष दाहालले भने । मुलुकमा सुशासन कायम गर्न विद्युत प्राधिकरणमा कुलमान घिसिङलाई सिइओ बनाइएको उल्लेख गर्दै घिसिङले लोडसेडिङको अन्त्यसँगै विद्युतलाई ठुलो मुनाफा कमाउने संस्था बनाएको दाबी गरे । सभामा उनी एमाले नेता केपी शर्मा वलीप्रति बढी आक्रामक देखिन्थे । वर्तमान संवैधानिक परिषद्मा आफू अल्पमतमा पर्ने भएपछि प्रधानमन्त्री वलिले उपसभामुख इन्दिरा रानालाई हटाउन हस्ताक्षर अभियान समेत चलाएको भन्दै त्यसमा कांग्रेसको एउटा प्रभावशाली खेमा सहमत नभएकाले प्रधानमन्त्री ओलीको यो अभिष्ठ पूरा हुन नसकेको नेता दाहालले बताए । दाङ जिल्ला सहिदको इलाका र आधार इलाकाको पुल रहेको उल्लेख गर्दै आफूले सहिद र बेपत्ता परिवारको सधैँ सम्मान गर्ने बताए । उनले आफूले दाङ तुलसीपुरमा रहँदा बिहानको खाना सहिद परिवारको घरमै गएर सँगै खाएको बताए । तुलसीपुर उपमहानगरपालिका–१२ स्थित एकै घरका चारजना व्यक्तिहरूको सशस्त्र द्वन्द्वकालमा बम बनाउने क्रममा पड्केर मृत्यु भएको थियो ।

नगर कमिटी अध्यक्ष मोहन थापाको अध्यक्षतामा भएको तुलसीपुर नगरको अधिवेशनमा केन्द्रीय सदस्य रेखा शर्मा, केन्द्रीय सदस्य जगतप्रसाद शर्मा, धनबहादुर मास्कीले सम्बोधन गरेका थिए । माओवादी बरिष्ठ नेता कृष्णबहादुर महरा भने स्वास्थ्य समस्याका कारण बोलेनन् । नगर सचिव नेकपा माओवादी तुलसीपुर नगरका उपाध्यक्ष तुलाराम भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शशिकिरण ढकालले गरेका थिए । माओवादी खबरदारी सभामा सहभागी बनाउन माओवादी केन्द्र तुलसीपुरले हरेक वडाबाट बस सेवाको व्यवस्थापन गरेको थियो । सभाको पूर्वसन्ध्यामा पार्टीले तुलसीपुर बजारभरि पार्टी–झण्डा टाँगेर रङ्गिन बनाएका थिए ।

कार्यक्रम अघि बजारका विभिन्न स्थानबाट झाँकी र ¥यालिको आयोजना गरिएको थियो भने मञ्चमा विविध सांस्कृतिक प्रस्तुति देखाइएको थियो । कार्यक्रममा केहीलाई पार्टी प्रवेश समेत गराइएको थियो । पार्टी अध्यक्ष दाहाल शनिवार बिहान घोराहीको मालाइन होटलमा आयोजना हुने पत्रकार सम्मेलनमा सहभागी हुनेछन् । दिउँसो घोराहीको सभाहलमा आयोजना हुने घोराही नगर अधिवेशनमा सहभागी भएर राप्ती गाउपाँलिकामा निर्मित १५ शय्याको अस्पताल उद्घाटन गर्न राप्ती गाउँपालिकाको आमन्त्रणमा सिसहिनिया जाने कार्यक्रम रहेको माओवादी केन्द्र दाङले जनाएको छ ।