किशोरकिशोरीका नबुझिएका समस्या
मानव जीवनका विकासका चरणमध्ये किशोरा अवस्था अत्यन्त महत्वपूर्ण र संवेदनशील अवस्था हो । मानव जीवनको बाल्यावस्था र वयस्क बिचको एउटा सङ्क्रमणकालीन अवस्थालाई किशोरावस्था भनिन्छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार १० वर्षदेखि १९ वर्षसम्मको उमेरलाई किशोरावस्था भनिएको छ । यो उमेर समूहमा पर्ने बालबालिकामा बाल्य तथा वयस्क दुवै अवस्थामा हुने विशेषता पाइन्छ । यसैले शारीरिक रुपले वयस्क जस्तै देखिने र बानी व्यवहारमा बालापन रहिरहने भएकाले यस अवस्थाका संवेग पनि मिश्रित खालका हुन्छन् । किशोरावस्थामा प्रवेश गरेपछि बालबालिकामा विभिन्न परिवर्तन देखिन्छन् ।
यो समयमा छिटो–छिटो शारीरिक तथा भावनात्मक विकास हुन्छ । शारीरिक, मानसिक, भावनात्मक, संवेगात्मक, वौद्धिक, सामाजिक, व्यावहारिक रुपले परिवर्तनको संघारमा उभिएका किशोरकिशोरीले बाल्यकाल पार गरेर नयाँ जन्म पाएको अनुभूति गरिरहेका हुन्छन् ।
धेरैजसो किशोरकिशोरी बाल्यावस्थाबाट किशोरावस्थामा प्रवेश गरेपछि पहिलेको भन्दा फरक किसिमको बानी व्यवहार देखाउन थाल्छन् । जस्तो कि तपाईँसँग नजिक हुने ती छोराछोरी उमेर बढेसँगै टाढिँदै जान्छन् । तिनीहरु कम बोल्ने, अप्ठ्यारो मान्ने, भनेको नमान्ने, जान्ने बुझ्ने टोप लिने, पढ्न खासै मन नगर्ने साथीभाइसँग धेरै नजिक हुने, अब उनीहरुलाई कसैले बालबालिकाहरुलाई जस्तो व्यवहार गरेमा पटक्कै मन पदैन ।
किशोरावस्थामा प्रवेश गरेपछि बालबालिकामा विभिन्न परिवर्तन देखिन्छन् । धेरैले यो समयमा अत्यधिक चिन्ता लिने गर्छन् । करिअर बनाउनु पर्ने, साथीभाइ छाड्नु पर्ने, परिवार र आफ्नो भविष्यको बारेमा सोच्नु पर्ने लगायत दायित्वबोध गर्न थाल्छन् । यो समयमा छिटो–छिटो शारीरिक तथा भावनात्मक विकास हुन्छ ।
किशोरावस्थामा मस्तिष्कको ‘कोग्निटिभ कन्ट्रोल सिस्टम’ को तुलनामा ‘इन्सेन्टिभ रिवार्ड सिस्टम’ छिटो विकसित हुन्छ । जोखिमपूर्ण व्यवहार न्यूनीकरणका लागि अति आवश्यक पर्ने यो नियन्त्रण प्रणालीको असन्तुलित विकासको कारण विवेकपूर्ण निर्णय भन्दा तात्कालिक आनन्दले व्यवहारलाई निर्देशित गर्ने अवस्था हो, किशोरावस्था ।
कतिपयमा यो असन्तुलन लामो समयसम्म रहन सक्छ । किशोरावस्था मानिसको जीवनको महत्वपूर्ण अवस्था हो । यो अवस्थामा उनीहरुले प्राप्त गर्ने माया, सहयोग, संस्कार, शिक्षा आदिले उनीहरुको भविष्यको आधार तय गर्दछ । राम्रो वातावरण पाएमा उनीहरु असल, सफल र सुसंस्कृत मानिस बन्न सक्छन् । अनुकूल वातावरणको अभावमा उनीहरु असफल र अपराधी पनि बन्न सक्छन् ।
त्यसैले हामीले किशोरकिशोरीको मनोविज्ञान कति बुझ्ने गरेका छौं र उनीहरुको अवस्थालाई कति महत्वले हेरेका छौँ ? भन्ने प्रश्न महत्वपूर्ण छ । उनीहरुको हुर्काइमा विभिन्न विषयले प्रभाव पारिरहेको हुन्छ । पारिवारिक वातावरण, विद्यालय, साथी, समाज आदिका माध्यमबाट उनीहरुले जीवनका चौतर्फी ज्ञानहरु सिक्ने अवसर प्राप्त गर्दछन् । यही क्रममा उनीहरुले जीवनको बाटो छान्छन् । यो अवस्थामा ध्यान पुगेन भने उनीहरु राष्ट्र निर्माता नबनेर राष्ट्रका ध्वंशकर्ता पनि बन्न सक्छन् ।
किशोरावस्थाका आफ्नै खालका विशेष रुचि, अभिलाषा, प्राथमिकता, आवश्यकता, समस्या, बानीव्यवहार, मनोवृत्ति आदिको सही ढंगले सम्बोधन र व्यवस्थापन गर्ने विभिन्न सरोकारवाला जस्तै सरकार, विद्यालय, र परिवारको महत्वपूर्ण भूमिका रहन्छ । विश्वको बदलिँदो स्वरुप जहाँ भूमण्डलीकरणको कारणले साँघुरिँदै परिवारको रुपमा परिवर्तित भइरहेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्रालयले सन् २०१२ मार्चमा गरेको किशोरकिशोरी तथा युवासम्बन्धी सर्वेक्षणमा किशोरकिशोरी तथा युवाहरुको ५० प्रतिशत सूचना र जानकारीको स्रोत संचारमा ध्यम भएको उल्लेख छ । यो पहिलेको भन्दा निकै भिन्न अवस्था हो ।
अघिल्लो पुस्ताले आमाबाबु, गुरु वा आफन्तबाट आर्जन गर्ने गरेको ज्ञानलाई अब सञ्चार माध्यमले विस्थापित गर्दै लगेको देखिन्छ । त्यसैगरी आजका किशोरकिशोरीले शिक्षकबाट २५ प्रतिशत ज्ञान ग्रहण गर्दछन् भने साथीबाट १२ प्रतिशत ज्ञान आर्जन गर्ने गरेका छन् । यो परिवर्तनलाई विश्वव्यापिकरणको प्रभाव मान्न सकिन्छ ।
सञ्चार माध्यममा किशोरकिशोरीको पहुँच सहज बनेको कारणले रेडियो, टेलिभिजन, पत्रपत्रिका, चलचित्र, इन्टरनेट जस्ता विभिन्न प्रकारका सञ्चार माध्यमहरुले उनीहरुलाई सजिलै आकर्षित गरेको छ । यसबाट सकारात्मकसँगै नकारात्मक प्रभाव पनि पारेको पाइन्छ । त्यसैले सञ्चार माध्यमले आफ्नो जिम्मेवारी बोध गर्दै सतर्कता अपनाउनु पर्ने देखिन्छ । उनीहरुका लागि उपयोगी हुने कार्यक्रम निर्माणमा गम्भीर रुपमा ध्यान पु¥याउनु पर्ने देखिन्छ ।
विज्ञान र उच्च प्रविधिको चमत्कारको सबैभन्दा बढी उपभोग गर्छन् । उनीहरुको सोच, दृष्टिकोण, बौद्धिक क्षमता, सिर्जनशीलता, कार्यकुशलत, व्यवहार, क्रियाकलाप आदिको आँकलन गर्ने गाहृो बन्दै गइरहेको छ । त्यसैले पनि उनीहरुको अलग पहिचानका लागि सरकार गहिरिएर सोच्ने बेला आएको छ ।
त्यसैले त शिघ्र किशोरकिशोरीहरुको क्षमता, ऊर्जा, शक्तिको सही परिचालन गर्न उनीहरुलाई हरेक क्षेत्रमा समान सहभागी र साझेदार बनाउनका लागि विदेशी सहयोगमा सञ्चालित कार्यक्रममा मात्र भर नपरेर राष्ट्रको आवश्यकता र किशोरकिशोरीहरुको चाहनाको कदर हुुने गरेर राष्ट्रिय एजेन्डा निर्माण गर्नुुपर्छ । यो समूहलाई उपेक्षा गरिएको खण्डमा किशोरकिशोरीहरुमा भएको अथाह ऊर्जा नकारात्मक बन्दै जाने खतरा छ ।
अहिले किशोरकिशोरीलाई विभिन्न किसिमका जोखिम छन् । लागू औषध दुव्र्यसनमा लाग्ने, हतियार ओसारपसारमा प्रयोग हुने, यौन दुव्र्यसनवहार आदि उनीहरुका सामु उपस्थित चुनौती हुन् । त्यस्तै किशोरीहरुका लागि छाउपडी, बालविवाह, बेचबिखन, बलात्कार जस्ता भयावह रुप लिने खालका जोखिम छन् ।
इन्टरनेट तथा मोबाइलको प्रयोगले पनि उनीहरु यौन हिंसामा पर्दछन् । प्रेम प्रस्तावबाट सुरु भएको व्यवहार यौन हिंसा, बलात्कार र कहिले काहीँ हत्यामा समेत पुगेका धेरै उदाहरण छन् । एउटा ठुलो जमात एसएलसीमा फेल भएर अगाडिको बाटो नपाउँदा अलमलमा परेको छ । उनीहरुकोे जीवनमा वितृष्णा अथवा निराशा पैदा भएको छ, जसले सामाजिक समस्या समेत उत्पन्न गराउँदै छ ।
आफूमा भइरहेको परिवर्तनबारे किशोरकिशोरी एकातिर अनभिज्ञ हुन्छन् भने अर्कोतर्फ समाज तथा परिवारले उनीहरुको मनोभाव बुुझेर सल्लाह, सुुझाव र सहयोग दिनुको सट्टा कमजोरी औंल्याउने, टिकाटिप्पणी मात्र गर्ने हुुँदा परिवार र किशोरकिशोरीहरुबिच दूरी पैदा भएको छ । अहिले सामाजिक वातावरणमा अप्रत्यासित परिवर्तन आएको छ ।
त्यसैले आफ्ना जमानाका उदाहरण दिएर वर्तमानको असहज परिवेशमा हुुर्किरहेका किशोरकिशोरीहरुलाई लगाम लगाउँछुु भन्नुु मृगतृष्णा जस्तै हो । किशोरकिशोरीहरु हरेक नयाँ विषयमा निकै उत्सुक हुन्छन् । तर उनीहरुको उत्सुकतालाई परिवार, समाज, विद्यालयले कसरी हेर्छन् र कसरी सम्बोधन गर्छन् भन्ने प्रश्न महत्वपूर्ण हुन्छ ।
त्यस्तै पारिवारिक निर्णयमा उनीहरुलाई सहभागी नगराउँदा पनि उनीहरु घर परिवारबाट टाढिन पुग्छन् र आफूहरु उपेक्षित भएको महसुस गर्दछन् । संवादहीनताले पनि उनीहरु र आमाबाबु बिचको दूरी बढ्न गएको हुन्छ । उनीहरुलाई गाली गरेर वा निरंकुश उपदेश दिएर समस्या सुल्झाउने अत्यन्त गलत तरिका हो ।
कुन राम्रो र कुन नराम्रो भन्ने थाहा नहुँदा उनीहरु दिग्भ्रमित भइरहेका हुन्छन् । हामी अभिभाव कहौं, हामीले भनेको मान्नै पर्छ भनेर आफ्नो निर्णय लाद्न खोजेको खण्डमा यो समूह दश हात पर भाग्छ । कुुनै कुुरालाई विस्तारमा सम्झाएर, बुुझाएर, तर्क दिएर किन सही र कसरी गलत भन्ने वातावरण बाल्यकालदेखि नै सिर्जना गर्नसकेमा यो समूह परिवार तथा समाजको अनुुशासनभन्दा पर कदापि जाँदैन ।
एकले अर्कोको भावनाको कदर गरेर समझदारी बनाउन जरुरी छ । त्यसैले बूढाहरु भन्छन् ः युुवाहरु मान्दैनन्, युुवाहरु भन्छन् ः बूढाहरु जान्दैनन् भन्ने सोचमा परिवर्तन ल्याउनुु आजको आवश्यकता हो । उनीहरुलाई आदेश र उपदेशभन्दा पनि सही दिशा निर्देशको आवश्यकता छ । यसका लागि पारिवारिक माया, समाजले गर्ने सकारात्मक व्यवहार, शिक्षकले दिने वैज्ञानिक शिक्षा, सञ्चार माध्यमको असल भूमिका तथा राज्यको प्रगतिशील नीति आवश्यक पर्दछ ।
(लेखक गैरसरकारी संस्था सामाजीक तथा आर्थिक रुपान्तरणका लागि युवा समूहका कार्यकारी निर्देशक हुन् ।)
