आज माघे सङ्क्रान्ति
बड्घर÷मतहवादेखि मञ्चसम्म
खेमराज रिजाल
दाङ, १ माघ । पश्चिम नेपालमा विशेषगरी थारू समुदायले मनाउने महान सांस्कृतिक पर्व ‘माघि’ को स्वरूप फेरिएको छ । मुलुकमा सङ्घीयता आएसँगै माघि पर्व अहिले बड्घर र मतहवाको घरमा मात्र सीमित नभएर खुल्ला मन्चमासम्म मनाइन थालेको छ । पछिल्लो पुस्ताका थारू नेताले यसलाई कल्चरल रेस्पोन्सका रूपमा लिएका छन् ।
थारू अगुवा चन्द्रप्रसाद चौधरीका अनुसार माघि पर्व एउटा पुरानो वर्षको समिक्षात्मक विदाई र आगामी वर्षका लागि कार्यगत योजना निर्माणका रूपमा मनाइँदै आएको थियो । पुस महिनामा झुमरु गाउने र माघ लागेपछि मात्र माघि पर्वलाई रोनकता दिने गरिन्थ्यो तर मुलुकमा राजनीतिक व्यवस्था फेरिएसँगै थारू समुदायमा पनि माघि पर्व मनाउने शैली फेरिएको छ । अहिले थारू समुदायको माघि समावेशी बन्दै बड्घर, मतहवा, भल्मन्सा हुँदै स्टेज कार्यक्रमसम्म रूपान्तरित भएको पनि थारू अगुवा चौधरीले बताएका छन् । यद्धपि माघि पर्व मनाउने अभ्यास माघ नलाग्दै तामधामका साथ सुरु भएको विषयलाई भने थारू संस्कृतिविदले नकारात्मक अभ्यासका रूपमा पनि लिएका छन् । खासमा पुस महिनामा माघि पर्व मनाउने चलन थारू समुदायमा थिएन । पुसमा झुमरु गाउने र माघ महिना सुरु भएपछि मात्र माघि पर्व मनाउने चलन थियो ।
यो वर्षको माघि पर्वलाई पनि थारू समुदायबाटै पुस मध्यबाटै सुरुवात गरियो । यसलाई स्थानीय सरकारले पनि निरन्तरता दिए । गैर थारू समुदाय पनि माघ नलाग्दै माघिको रौनकमा सहभागि हुने अभ्यास पनि चल्न थालेको छ । गएको पुस १८ गते नै थारू कल्याणकारिणी सभाको आयोजनामा घोराहीमा भव्य रूपमा घोराहीको शहिद मन्चमा थारू महोत्सव सुरु गरियो । यसमा लुम्बिनी प्रदेशका मुख्य मन्त्री चेतनारायण आचार्य पनि सहभागि भएर माघिको शुभकामना दिए । थारू समुदायको अधिकारलाई प्रदेश सरकारले सुनिश्चित गर्ने गरी कानुन निर्माण गर्नेसम्मका आश्वासन मुख्य मन्त्रीले दिए ।
थारू समुदायको माघि पर्व नजिकिएसँगै पश्चिम दाङको दंगीशरण गाउँपालिकाले गाउँसभाबाट बजेट नै विनियोजन गरेर पुस महिना मै माघि महोत्सव आयोजना ग¥यो । शान्तिनगर गाउँपालिकाले पनि यसैगरी पुस अन्तिम साता माघि महोत्सव सम्पन्न गरिसकेको छ । यी दुवै महोत्सवका प्रमुख अतिथि पुर्वमन्त्री तथा निर्वाचन क्षेत्र नं ३ का सांसद दीपक गिरी बने । घोराही उपमहानगरपालिकाले त माघिको अवसरमा एक दिनका लागि स्थानीय बिदा पुस महिना मै दिएको छ ।
नेकपा एमालेका प्रभावशाली नेता तथा महासचिव शङकर पोख्रेल प्रमुख अतिथि बनेर घोराहीका विभिन्न स्थानमा थारू महोत्सव पुस महिना मै सम्पन्न भए । त्यसैगरी सिसहिनिया उद्योग वाणिज्य संघले पुस २५ गते शिसहिनियामा आयोजना गरेको कृषि, उद्योग तथा व्यापार मेलामा पनि थारू समुदायका विभिन्न सांस्कृतिक गित नृत्य प्रस्तुत गरिए । मन्चाशिन पाहुनालाई ढिक्रि, खर्रे बर्रे, सिद्रा, अचार र सगुनका रूपमा अन्दिको झोल समेत प्रसादका रूपमा बाडेर थारू समुदायको माघिको झल्को प्रस्तुत गरियो । ‘यसले के देखाइरहेको छ भने मुलुकमा सङ्घीयता आएसँगै थारू समुदायको माघि पछिल्लो समयमा व्यापक अनि समावेशी पनि’, महोत्सवका विशिष्ठ अतिथि तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले भने ।
कुनै बेला थारू समुदायलाई बधुवा मज्दुरका रूपमा लिइन्थ्यो । माघि मनाएसँगै अर्को वर्षका लागि को कसकोमा कमैया बस्ने वा कमलरी बस्ने, कसले कसको खेत अधिया लगाउनेलगायतका विषयमा मतहवाका घरमा छलफल हुन्थ्यो । त्यसरी नै थारू समुदायमा अघिल्लो वर्ष भएका कामको आलोचनात्मक समीक्षा र आगामी वर्षका लागि समुदायगत कार्ययोजना निर्माण हुन्थे । यही अवसरलाई थारू समुदायले माघिका रूपमा मनाउँदै आएका थिए तर पछिल्लो समयमा कमैया तथा कमलरी मुक्त भए पनि यसको स्वरूप अलिक फेरिएको थारू अगुवा नेता तथा ब्याकवार्ड सोसायिटि एजुकेशनका संस्थापक अध्यक्ष तथा लुम्बिनी प्रदेशका पूर्व मुख्य मन्त्री डिल्लीबहादुर चौधरीले बताए ।
‘माघिको स्वरूप फेरिए पनि यसले खासमा थारू समुदायको संस्कृतिलाई जगेर्ना गर्न प्रशस्त रूपमा मद्दत गरेको छ, अब थारू समुदायको जातीय एवम् संस्कृतिक अधिकारका लागि प्रदेश सरकारले कानुन नै बनाउने अभ्यासमा छ’, थारू नेता चौधरीले भने । त्यसो त बेसको स्थापनानै कमैया कमलरी मुक्ति आन्दोलनको पृष्ठ भूमिमा भएको थियो । कमैया मुक्ति आन्दोलनका अभियन्ता नै हुन् डिल्लीबहादुर चौधरी तर पुस महिनादेखि नै माघि पर्वका विभिन्न कार्यक्रम हुनुलाई उनले नकारात्मक पक्ष हाबी भएको रूपमा स्वीकार गरेका छन् ।
थारू संस्कार र संस्कृति अनुसार माघ १ गते थारू समुदायले मातिने गरी रक्सी खाने र मतहवालाई गाली गर्ने छुट हुन्थ्यो तर माघ २ गतेदेखि भने मतहवाले भनेको सबैले मान्नु पर्ने चलन थियो । तर समय र व्यवस्था परिवर्तनसँगै यो चलन हराउन थालेको छ । संस्कृति समेत अपभ्रमित हुन थाल्दै बड्घर, मतहवा, भलमन्सादेखि स्टेज प्रोग्रामसम्म माघि पुगेको छ । आधुनिकता र परम्परा दुवैलाई साथ साथै लैजानु अहिलेको सबैभन्दा ठुलो चुनौती रहेको पनि थारू अगुवा नेता चुर्णबहादुर चौधरीको भनाई छ ।
त्यसो त माघिलाई मकर सङ्क्रान्तिका रूपमा मनाउने थारू इतरका समुदाय पनि छन् । बाहुन क्षेत्री समुदायमा माघे सङ्क्रान्तिलाई पवित्र नदीमा नुहाएर शुद्ध हुने, पोषिलो परिकार चाकु, सेल रोटी तरुल, गन्जी खाने र रमाइलो गर्ने पर्वका रूपमा पनि लिइन्छ । त्यसैगरी मगर समुदायमा पनि भिन्न–भिन्न संस्कृति माघिमा देखिन्छन् । धनुषबाणले भित्तामा रोटि राखेर तिर हान्ने प्रतियोगितासम्म पनि कतै–कतै मगर समुदायमा देखिने गरेको छ । यही कारण माघिलाई पछिल्लो समयमा राज्यले पनि सम्मान गर्न थालेको छ ।
दाङका स्थानीय सरकारले माघि पर्वको अवसरमा एक दिन स्थानीय बिदा दिएसँगै लुम्बिनी प्रदेश सरकारले पनि माघि पर्वमा दुई दिन बिदा दिएको छ । त्यसैगरी सङ्घीय सरकारले पनि एक दिन माघि पर्व भन्दै राष्ट्रिय बिदा दिन थालेको छ तर पर्व भन्दैमा पुसदेखि नै तडक भडक सुरू गर्ने, बढी खर्चिलो एवम् उत्ताउलो हुने गरी नमनाउन पनि थारू अगुवाको माघिको शुभकामना सहितको सुझाव रहेको छ । सुखद् रहोस् माघि । यसैबिच लुम्बिनी प्रदेश सरकारले माघ २ गते प्रदेश भर सार्वजनिक बिदा दिने भएको छ । माघे सङ्क्रान्ति तथा माघ पर्वको अवसर पारेर प्रदेश सरकारले हरेक वर्ष सार्वजनिक बिदा दिँदै आएको हो ।
यस वर्ष पनि माघे सङक्रान्ति तथा माघ पर्वलाई मध्यनजर गर्दै माघ २ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका वरिष्ठ शाखा अधिकृत गंगाधर पाण्डेले जानकारी दिए । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को २०८० चैत २० गते बसेको बैठकले माघे सङ्क्रान्ति तथा माघ पर्वको अवसरमा सार्वजनिक बिदा निर्णय गरेको थियो ।
