प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला छनोटमा दाङ विजेता
गोरक्ष समाचारदाता
दाङ, १ माघ । प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय महिला छनोट टी–२० क्रिकेट प्रतियोगिताको फाईनलमा दाङले बाँकेलाई ४ विकेटले हराउँदै छनोट प्रतियोगिताको फाईनल जितेको छ । लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी प्रतियोगिता अन्तर्गत सोमवार भएको प्रदेशस्तरीय छनोट फाईनल खेलमा दाङ प्रतियोगितामा अपराजित रहँदै फाईनल जितेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको बाँकेले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ५ रन बनाएको थियो । सुरुवाती ब्याटर आउट हुँदै पेभेलियन फर्किएपछि बाँकेका खेलाडीलाई रन बनाउन संघर्ष गर्नुप¥यो । कप्तान मनिषा रानाले अविजित १ रन बनाउँदै टिमलाई उकास्ने कोशिस गरेकी थिइन् । सुस्मिता बजगाईले १ छक्कासहित १२ रन, सम्झना पुनमगरले ९ रन, आशिका विश्वकर्माले ११ रन, स्वस्तिका बजगाईले ६ रन, सुरक्षा पुन मगरले ५ रन, आईसा शाहीले अविजित ४ रन तथा रञ्जु श्रेष्ठले २ रनको योगदान दिइन् ।
बाँकेलाई कम स्कोरमा समेट्न आस्ना चौधरीले दोस्रो ओभरको अन्तिम बलमा रञ्जु श्रेष्ठलाई बोल्ड गरेपछि बाँकेको टिम दबाबमा परेकोे थियो । बलिङमा दाङकी अनिता चौधरी, आस्ना चौधरी र मधु डिसीले समान २–२ बिकेट लिएका थिए । सुप्रिया बुढामगरको नाममा १ बिकेट रह्यो । ८६ रनको मध्यम स्कोरको लक्ष्य पछ्याएको दाङले जित हासिल गर्न अन्तिम ओभरसम्म संघर्ष गर्नुप¥यो । १९ दशमलव २ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको दाङका लागि सरस्वती जिएमले कप्तानी पारी खेल्दै जित हासिल गरेको थियो ।
छनोट प्रतियोगितामा खेलेका चारवटै खेलमा अविजित खेलेकी सरस्वतीले फाईनल खेलमा पनि ६१ बलमा ९ चौकासहित ५१ रनको अर्धसतकीय योगदान दिइन् । मधु डिसीले १४ रन, अनिता चौधरीले ५ रन, स्मृति मगरले अविजित ४ रन बनाइन् । १२ दशमलव २ ओभरमा ५५ रन बनाएर खेलिरहेको बेला लगातार दुई बिकेट गुमाएपछि दबाबमा परेको दाङको टिमलाई उकास्न रेनु परियार र कप्तान सरस्वती जिएमले २६ रनको साझेदारी गरेपछि टिम जित नजिक पुगेको थियो ।
बाँकेका स्वस्तिका बजगाईले ४ ओभरमा १ मेडनसहित १४ रन दिएर ३ विकेट लिइन् । यसैगरी, सम्झना पुनले २ बिकेट लिँदा सुरक्षा पुनले १ बिकेट लिए । प्रतियोगितामा दाङलाई जिताउन महत्वपूर्ण भूमिका खेलेकी भएकी सरस्वती जिएम प्लेयर अफ द फाईनल भएको लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव कैलाश रोका मगरले जानकारी दिएका छन् । विजेता र उपविजेता टिमलाई शिल्ड प्रदान गरिएको थियो ।
फाईनलमा पुग्न बाँकेले रुपन्देहीलाई ९ रनले तथा दाङले नवलपरासीलाई ७९ रनले पराजित गरेका थिए । लुम्बिनीका दाङ, बाँके, बर्दिया, पाल्पा, रुपन्देही र नवलपरासी जिल्लाको महिला टिमले छनोट प्रतियोगितामा भाग लिएका थिए । प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगिता माघ १ देखि धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा हँुदैछ । प्रदेशस्तरीय छनोट हुने टिमले राष्ट्रिय खेलकुद परिषदको आयोजना, नेपाल क्रिकेट संघको समन्वय तथा सुदूरपश्चिम प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा हुन लागेको प्रधानमन्त्री कप महिला छनोट टी–२० क्रिकेट प्रतियोगितामा खेल्नेछ । प्रतियोगितामा सात प्रदेश र एक विभागीय टोली एपीएफसहित ८ टोली सहभागी हुँदैछन् ।
खेल अनुशासन कायम राख्दै अघि बढ्न आग्रह
लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगीले प्रधानमन्त्री कप लुम्बिनी प्रदेश स्तरीय महिला छनोट टी–२० क्रिकेट प्रतियोगितामा सहभागी महिला क्रिकेटरलाई खेल अनुशासन कायम राख्दै खेलमा निरन्तरता दिन दिइएको छ । लुम्बिनी प्रदेश क्रिकेट संघका सचिव कैलाश रोका मगरको अध्यक्षतामा प्रतियोगिता समापन तथा पुरस्कार वितरण समारोहका प्रमुख अतिथि उपप्रमुख योगीले छनोट प्रतियोगिता आफैमा खेलाडीको निखार ल्याउन र खेलमा समर्पण गर्ने माध्यम रहेको भन्दै गन्तव्य चुम्ने लक्ष्यमा केन्द्रित हुन आग्रह गरेकी थिइन् । कार्यक्रममा लमही ५ का वडा अध्यक्ष ओमप्रसाद सुवेदीले खेलकुदलाई राज्यले विशेष महत्व दिनु पर्ने बताए । स्थानीय सरकारले गरिरहेको प्रयासलाई खेलाडीले अधिकतम प्रयोग गर्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रमको सहजीकरण लुम्बिनी प्रदेश क्रिकेट संघका सदस्य बालकृष्ण खत्रीले गरेका थिए
