calander

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Goraksha

National Daily

सुखको खोजीमा भौतारिएको जीवन

नारायणप्रसाद श्रेष्ठ
मानवीय जीवन निकै उचार–चढावबीच गुज्रिरहेको हुन्छ । घरी सुख, घरी दुःख यो जीवनचर्यामा आइरहने क्षण हुन् । यति हुँदाहुँदै पनि मानिसको चाहना सधै सुखी र खुसी हुन पाए हुन्थ्यो भन्ने सोचिरहेको हुन्छ । सुखको लागि उसले आफ्नो प्रवृत्तिमा समेत नजरअन्दाज नगरिरहेको अवस्था पनि देखिन्छ ।

सधै सुख कहाँ र कसरी प्राप्त होला भनी तछाड–मछाड गरी दौडधूप गरिरहेको हुन्छ । सोच र चिन्तनमा यही रटान दोहो¥याइरहेको हुन्छ । म के हुँ ? मेरो अस्तित्व के हो ? मैले गर्नुपर्ने आचरण र व्यवहार कुन हो ? कस्तो संस्कार र संगतमा मेरो भविष्य सफल बन्न सक्छ ? यी कुराहरुले उसलाई त्यत्ति सताएको हुँदैन जति सुखको लालसमा उसले आफूलाई प्रस्तुत गर्ने जमर्को गरिरहेको हुन्छ । यही चिन्तनले उसले आफूलाई कहिले उकालो, कहिले ओरालोको सामना गरिरहनुपरेको हुन्छ ।

अनि आफूले आफैलाई गन्तव्यविहीन यात्रामा दौडाइरहेको हुन्छ । टोल, छिमेक, समाजभन्दा निहीत स्वार्थमा आफूलाई परिचालित गरिरहेको हुन्छ । आत्मसन्तुष्टि उसको चिन्तनभन्दा बाहिर रहेको हुन्छ । आफूसँगको सम्पत्तिभन्दा बाह्य आवरणमा सजाइएका नक्कली चिज, बस्तुप्रतिको उसको आकर्षण बढ्दो हुन्छ । आफ्नो अमूल्य खजानाको पहिचान नगरी अरुको क्षणिक सुखलाई आफ्नो स्वार्थभित्र परिभाषित गरिरहेको हुन्छ । ज्ञान, बुद्धि, विवेक र क्षमतालाई दबाई अरुको देखासिखीमा आफ्नो सुख खोजिरहेको हुन्छ । आफूभित्रको क्षमतालाई व्यावहारिक जीवन पद्धतिभित्र प्रयोग गर्नुको साटो अरुको क्षमता मूल्यांकन गरिरहेको हुन्छ ।

साँच्चै भन्ने हो भने आफू र आफ्नो परिवेशमा रहेको अमूल्य निधिको अवमूल्यांकन मानिस स्वयंले गरिरहेको हुन्छ । सोच र चिन्तन केवल आफ्नो स्वार्थको वरिपरि बढाइरहेको हुन्छ । आफू सुखी र खुसी हुनुको साटो अरुको खुसीमा डाहा गरिरहेको हुन्छ । यसरी जीवनले उतार–चढावको सामना गर्नुपरेको देखिन्छ । तसर्थ यसको समाधानका लागि आफूले आफैलाई हेर्न जरुरी देखिन्छ ।

मजस्तै अरु पनि हुन्, उनलाई मैले हेरी बुझिरहेको छु भने उसले पनि मलाई हेरी बुझिरहेको हुन्छ यो कुरालाई स्वीकार गर्न जान्नुपर्दछ । जसरी म आफूले अरुलाई सोच्छु त्यसरी नै उसले पनि मलाई त्यसैगरी सोचेको होला भन्ने बुझ्नुपर्दछ । यदि यस्तो अवस्थाको श्रीगणेशमात्र भयो भने पनि मानिस आफूलाई तनावमुक्त गर्न सक्छ । जब तनाव मनमा जागृत हुने अवस्था रहँदैन तब सुख, दुख, लाभहानीको सोच मनमा उठ्न सक्दैन । वातावरण प्रदूषित बन्दैन ।

एकअर्काप्रति अटुट विश्वास रहने अवस्था जागृत हुन पुग्दछ । जहाँ विश्वास हुन्छ त्यहाँ आस्था र भरोसा उत्पन्न हुन जान्छ । भरोसाले मानिसलाई आत्मसन्तुष्टिको अनुभूति गराउँछ । उसले होइन, मैले पो गर्नुपर्दोरहेछ भन्ने बोध गराउँछ । आफ्नो खुट्टामा आफै उभिनुपर्दोरहेछ भन्ने जानकारी गराउँछ । जसरी अरुको होइन, आफ्नै विवेक प्रयोग गर्ने अवस्था रहन्छ, तब त्यहाँ गलत र अनैतिक कर्म हुने अवस्था सिर्जना हुन पुग्दैन । लोक सदा हराभरायुक्त भइरहन्छ ।

मानिस आनन्द र प्रसन्न चित्तमा बाँच्ने अवस्था हुन्छ । त्यसैले क्षणिक जीवनको असन्तोष हटाउन मानिसले स्वयं जिम्मेवार भएर प्रस्तुत हुने वातावरण बनाउनुपर्दछ । म भएर नै ऊ भएको हो भन्ने सोचाई बढाउनुपर्दछ । जीवन खुसी र उमंगका साथ जिउनुपर्दोरहेछ यो कुराको बोध गर्नुपर्दछ । जीवन अरुले होइन आफैले सपार्नुपर्दोरहेछ, यस कुराको हेक्का राख्न जरुरी हुन्छ । जीवन सपार्ने वा बिगार्ने मानिस स्वयं जिम्मेवार रहेछ, यस कुराको बोध गर्नुपर्दछ ।

जीवनलाई उतार–चढावमा होइन, आनन्द र सहज जति दिनुपर्दछ । सुखको खोजीमा भौतारिएर आफूलाई दुःखको खाडलतिर धकेल्नुभन्दा आफूभित्र रहेको सुखको पहिचान गरी आफूलाई प्रस्तुत गर्नुपर्दछ । जीवन प्रकृतिको नियमानुसार चल्ने श्रृष्टिको रचना हो । प्रकृतिमा जन्मने अनि प्रकृतिमा हुर्कने, रमाउने र प्रकृतिमा बिलाउने यो जीवनको शाश्वत सत्य हो । प्रकृतिविना न त जीवन सुरक्षित छ, न त आनन्दित र गतिशील हुने अवस्था हुन्छ ।
जब प्रकृतिमा जन्मेर प्रकृतिप्रति मानिसको धारणा गलत दिशातर्फ उन्मुख हुन्छ, तब त्यहाँ गलत प्रवृत्तिले डेरा जमाउन थाल्दछ ।

मानिस रोगी, असहाय र दुःखी बन्न पुग्दछ । घमण्ड, अहंकार र अभिमानले लिप्त हुन पुग्दछ । विचार गलत दिशातिर उन्मुख भई नियमित जीवन चरित्रलाई विखण्डनतिर धकेल्न पुग्दछ । विलासी र अहंकारयुक्त जीवनयात्रा तिर आकर्षित हुन पुग्दछ । जसले मानिसलाई असन्तोषको दलदलमा फसाउन थाल्दछ । काम, क्रोध, लोभ, मोहरुपी अग्निकुण्डमा डुबाउन पुग्दछ । जब मानिस मोहरुपी अग्निकुण्डमा होमिन पुग्दछ, अनि उसको स्वभाव, कर्म र व्यवहारमा क्रूरता प्रदर्शन हुन थाल्दछ । उसले अरु मानिसलाई तिर्न बराबर ठानी आफूलाई ठूलो र स्वाभिमान ठान्न पुग्दछ ।

जीवनको आदर्शतालाई सर्लक्क निल्न पुग्दछ । निभ्न लागेको बत्तीको क्षणिक चमकझैँ आफू पनि बिसर्जन र अरुलाई पनि बिसर्जन हुने अवस्थामा पु¥याउँदछ । क्षणिक आनन्द नै जीवन हो भन्ने भान पर्न गई आफू पनि बर्बाद र अरुलाई पनि बर्बाद हुने वातावरण बनाउने अवस्था हुन्छ । अनि ऊ दुःखको दलदलमा आफै भासिँदै जान्छ । अनि भन्ने गर्छ, संसार झुठो छ, यहाँ स्वार्थीबाहेक कोही छैनन् । (ऊ आफू स्वयं अहंकारी र स्वार्थ छ भन्ने कुराको उसलाई हेक्का नै हुँदैन) । अनि भन्ने गर्छ– यो झुठा हो । वास्तवमा मानिसका यी गलत चिन्तन नै उसको दुःखको कारण हो । यही स्वभाव र आचरणले मानिस रोगी बनिरहेको छ ।

आफ्नो अस्तित्वभन्दा अरुको देखासिखीमा आफूलाई पतित बनाइरहेको छ । भनिन्छ, मानिस खान नपाएर दुःखी र रोगी भएको हुँदैन । खान र व्यवहार गर्न नजानेर दुःखी र रोगी भएको हुन्छ । बोल्दा प्याच्च नबोल्नु, बस्दा थ्याँच्च नबस्नू, त्यसै भनिएको होइन । बोली र व्यवहारमा देखिने आचरणबाट पनि मानिसले आफूलाई असहज परिस्थितितिर धकेलिरहेको छ । समयमा गर्नुपर्ने काम नगर्नु, खान पाएभन्दैमा आवश्यकताभन्दा बढी खान खोज्नु, व्यवहार र कर्ममा लगनशील नहुनु वास्तवमा यिनै मानिसलाई गलत दिशातर्फ लैजाने कारक हुन् ।

त्यसैले मानिसको मनभित्र उब्जने दुःख–सुख, लाभ–हानी एवं जति पनि अहंकार, घमण्ड, अभिमान, मान–सम्मान छन्, ती सबै उसको आचरण र व्यवहारबाट उब्जने प्रतिक्रिया, परिणाम हुन् । जसले विचारमा अपभ्रंश पैदा गरेको हुन्छ । यसलाई मानिसले बुझ्न जरुरी छ । मनबाट उब्जने गलत विचारको परिणामस्वरुप देखिने प्रवृत्तिहरु नै यसका मुख्य कारक हुन् । मानिस बुद्धिजीवी र विवेकशील प्राणी भएकाले उसले विचार केलाउन, छाँट्न, माझ्न सक्ने क्षमता राख्ने भएकाले यसको निराकरणका लागि स्वयं बढी जिम्मेवार भएर प्रस्तुत हुनुपर्दछ ।

हुन त सोच्ने शक्ति यो मानिसको १० इन्द्रीयसँग जोडिएको पनि पाइन्छ । तथापि वर्तमानलाई हेर्ने हो भने १० इन्द्रीयमध्ये १ इन्द्रीय यस्तो छ, जसले मानिसको मन, विचार, व्यवहार र आनन्दलाई भ्रमित बनाई गलत मार्गमा पनि लगाउन सक्ने क्षमता राख्दछ । त्यो हो, चर्मदृष्टि, छालाको आँखा । छालाको आँखाले जब मानिसले अरुलाई देख्दछ अनि उसले आफूलाई दाँज्न थाल्दछ । कमजोर भए रिस, डाहा र ईष्र्या गर्न थाल्दछ, बलियो भए अथवा धनी भए आफूलाई ठूलो र घमण्डी बनाउन थाल्दछ ।

किनकि आँखाले मनलाई, मनले विचारलाई, विचारले कर्मलाई प्रभाव पार्ने भएकाले यस कुराको विवेकशील मानिसले गम्भीर भएर सोच्नुपर्दछ ।
जीवनलाई कस्तो किसिमले गतिशील बनाउने मानिस स्वयं जिम्मेवार रहने हुँदा यस कुराको गम्भीररुपले चिन्तन गरी जीवनलाई सार्थक र आदर्शउन्मुख बनाउन मानिसले सधै आफूलाई सकारात्मक कर्म र व्यवहारतर्फ रुपान्तरण गर्न जान्नुपर्दछ । तबमात्र जीवनलाई उतार–चढावमा होइन, सहज अवतरण दिन सम्भव हुन्छ । वर्तमान यही खोजिरहेछ ।